College Times : Educational Magazine: संघर्षको कथा
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label संघर्षको कथा. Show all posts
Showing posts with label संघर्षको कथा. Show all posts

मध्य कोसीमा टाइटानिक सम्झना

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:51 AM


  • चन्द्र घिमिरे

‘अब तँ पब्लिक पढन जाने’ कुनै आफन्तको यो भनाइ भुइँमा नखस्दै मैले सुनें । ठुलै मान्छेमा दरिएँछु भन्ने लाग्यो । दुई वर्षअघि मात्रै भारतबाट आएका थियौं । बुबाले बङ्गलादेशको लडाइँको कारणले नागाल्यान्डबाट ल्याएर हामीलाई एक्कासी धरानमा छाडेर फिर्नुभएको थियो । छाड्नुअघि ल्याब्रोटोरी नाम गरेको धुले स्कुलमा भर्ना गर्दिनुभयो । त्यसपछि लाउरे बुबा सोही लडाइँमा कस्सिएर जानुभयो । प्राथमिक विद्यालयको नयाँ सेटअपमा म मच्चिने क्रम सुरु भयो । लर्बरिँदै जाँदा चार कक्षादेखि मेरो दाखिला पब्लिक स्कुलमा भयो । पढ्न जान स्कुलतर्फ फ्याउरोेझैं दगुर्थें । पूर्वाञ्चलको पुरानो र नामी स्कुल भन्थे । स्कुले बाटामा आजभोलिको जस्तो बेलायती सडक र घरहरू फिजिएका थिएनन् । बरु ठूल्ठूला चौरी र मकैबारी हुने गर्थे । चार र पाँच क्लास त सुटुक्कै बितेछ मेसै नपाई । वरिपरिका डाँडाकाँडा नाप्दैमा गुज्रेछ । सर्दु खोला तर्दैमा, विजयपुर उक्लँदैमा र चारकोसे जङ्गल धाउँदैमा चिप्लेछ । त्यतिखेर जङ्गल, खोला र विजयपुरतिर बरालिएको आरोप खेपें मैले । 

पछि नयाँ भेउ पाएँ, पश्चिम बङ्गालमा शान्ति–निकेतन जाँदाखेरि । यही निकेतनमा गुरुदेव रविन्द्रनाथ टेगोरले गुरुकुल शिक्षा थालेथे, जहाँ उनले विद्यार्थीलाई पर्खालभित्र राखेनन् । खुला आकाशमुनि पढाए । जसरी धेरै वर्ष पूर्व जिन ज्याक रुसोले ‘एमिल’ पुस्तकमार्फत् वकालत गरेथे, ‘विद्यार्थीहरूलाई प्रकृतिसँग नजिक्याऊ, सोअनुसारको शिक्षा प्रणाली बसाल ।’ टेगोरले त्यो भनेर हैन, गरेरै देखाए । रुखका बोटमुनि कक्षा राखेर प्रकृतिसँग साक्षात्कार गराए । कता–कता मेरो डाँडाकाँडा विचरण पनि एकप्रकारले गुरुकुल नै थियो कि ! मैले धरान वरपरका डाँडाकाँडा रगरगी चाहारेको पनि स्कुलिङ नै थियो कि ! 

जब मैले छ कक्षाको जस्केलो नाघे, परें दारीवाला सरको फेला । उहाँ हुनुहुन्थ्यो, चन्द्रमणि अधिकारी । होचो कद । मुखमा पान । गुरु भनेर के गर्नु ? थिए सप्पैलाई थर्काउने । ‘ऐ गोविन्दे !’ उनले क्लासको हाम्रो डनलाई हरेक पटक लतार्थे । गोविन्देको सास्तीले सताइएका हामी सप्पै जनाले केही राहत पाउने सुदिन आयो । आखिरी फाइनल जाँचमा गोविन्द फेल भएको रिजल्ट आयो । त्यो बेला आफू पास भएभन्दा ऊ फेल भएकोमा बढी दङ्ग परियोे । ‘गोविन्द आतङ्क’बाट त्राण पाइने भो भन्ठानेर । 

म तिनै गुरुतिर लहसिँदै गएँ । एकदिन उनले बोलाएँ । ‘तँ लाइब्रेरी हेर्छस ?’ म छक्क परें । पब्लिक स्कुलमा पुस्तकालय पनि रैछ । जागेश्वर सर, देवलाल सर, रेवती सरहरू मात्रै देखेथें पैले । ‘आजदेखि लाइबे्ररी तैंले सञ्चालन गर्ने’ भनेर ढोकाको साँचो जिम्मा लाए । त्यसपछि पुस्तकहरू मेरो जिन्दगीमा आए । 

बिस्तारै पुस्तकको लत बस्यो । म अधिकांश समय स्कुले दिनहरूमा पुस्तककोे भूगोलभित्र घुम्न लागें । त्यस्ले साहित्य र विश्वतर्फको विभिन्न गोलार्धमा मलाई बिस्तारै डुलाउँदै लग्यो । टेक्स्ट बुकहरूबाट निक्लेर म अरूतिर लम्कन लागें । हाजिर–जवाफ पनि खेल्न लागें । साहित्यिक रचनामा सल्बलाउन थालें । बिस्तारै मैले स्कुल र समाजमा नेतृत्व गर्न थालें । त्यो वास्तवमै चन्द्रमणि सरको नर्सरीबाट टिपेको फूल थियो । पब्लिक स्कुलबाट सिकेको । त्यसो त हामी पनि कम हरामी थिएनौं । हाम्रा अघिल्ला पुस्ताका दाइहरूले हामीलाई हस्तान्तरण गरेका थुप्रै जोकहरू थिए । गुरुहरू देवलाल श्रेष्ठ, जागेश्वर झाहरूका बारेमा । उनीहरू मिस्टर बिन जस्तै हामी रम्ने पात्र थिए । पक्कै हामीले वहाँहरूको ‘इमोसनल–अत्याचार’ गरेकै थियो । तथापि उहाँहरूको स्कुले उपस्थितिले हामीलाई मनग्गे कुतकुती लाउँथ्यो । कहिलेकाहीं अलि प्राक्टिकल समस्या पथ्र्यो हामीलाई । जोकको बीचैमा स्वयम्प्रकाश आइदिने, हाम्रा गफ सुन्न । बिचरो ऊ थियो देवलाल सरको सहोदर छोरो । पढ्थ्यो हामीसँग एकै कक्षामा । 

एकदिन चाहिँ सत्यानाशै भो । सरस्वती पूजाको भोलिपल्ट । सबैजना मूर्ति सेलाउन जाने भन्ने उर्दी थियो । माघ–फागुनको त्यो बिहान । एउटा ट्रकको जोहो भएको रहेछ । हामी अलि जुनियर खाले पनि उक्लियौं । सिनियर दाइहरू त छँदै थिए । गुरिल्लाझैं हल्ला गरियो बाटोभरि । आखिर मुकाममा पुग्यौं । चतराको कोसी किनार । मूर्ति सेलाएपछि फुर्सद मिल्यो । खाली दिमाग सैतानको बास भनेझैं भयो । गाइड गर्ने मास्टर नभएपछि विद्यार्थीहरू रमाइलो गर्नेतिर लागे नदीमा । एउटा नाउ फेला परिगो । जम्जमाएर त्यसमा चढ्न भ्याउने उक्लिए । भ्याउने  ८–१० जनाको हुलमा म पनि परेंछु । 

थुइक्क... नाउमा प्वाल रैछ । त्यसैले पो लावारिस रैछ । बीचमा पुगेपछि ‘पल्ट्यो पल्ट्यो... भाग भाग’ आवाज आयो । आननफाननमा केही हेरिएन । देखिएन पनि । जसोतसो हाम फालिएछ । कसो–कसो गरेर म वारि हैन, पारि निक्लेंछु । मजस्तै दुई–चार जना रैछौं निक्लिनेमा । तर, अरू तीन–चार जना हराए । त्यो पनि सिनियर दाइहरू । खोजी भो । पुलिस आयो । माझी झिकाइयो । आखिरमा दुई जनाको लास निकालियो । केही बेहोस हालतमा निकालिए । हामी भुरा रुँदै फर्कियौं । त्यसबेलाको राष्ट्रिय न्युज बनेको त्यो घटनाले मलाई पछिसम्म तर्साइरह्यो । पब्लिकका दिनमा खेपेको ठूलो ‘सक’ त्यही थियो । निजी जीवनमा महासागरमा ‘टाइटानिक’ डुबेकोभन्दा भयावह अनुभूति ।

२०३६ सालको विद्यार्थी आन्दोलनले हामीलाई पनि बाँकी राखेन । हामी भुरा नै सही । एकदिन स्कुल हड्ताल गरिछाड्यौं । पब्लिक र बालिका हाइस्कुलका विद्यार्थी लिएर हिँड्यौं । नारा लगायौं बजारभरि । पब्लिक स्कुलले हामीलाई राजनीतिक चेतनाको पुरिया पनि दिन भ्याएछ । त्यो काममा खुराक दिने खासमा गुरुबा चन्द्रमणि अधिकारी र गुरुआमा कुन्ता शर्मा हुनुहुन्थ्यो । दुवै जना पढाउँदा पढाउँदै हामीलाई सलाई लगाएर बाल्ने गर्नुहुन्थ्यो । हामी पनि सुकेको परालजस्तो सल्कन तयार थियौं । अल्मा–मातेरबाट म छुट्टिएको पनि ३१ वर्ष पो भएछ । कति हावा–पानी खायो होला त्यसले ? के गर्दै होला त्यो स्कुल ? तप्कने शीतले मलाई यस्तै–यस्तै गरी केरकार गर्छ । यसबीच कैयौं सरहरू रहनुभएन । त्यो सुन्दा हिक्काको सुनामी उठ्छ आफैभित्र । त्यस लर्कोमा पर्ने चन्द्रमणि सरलगायत सप्पैलाई सलाम... पापी समयलाई पनि सलाम । मेरो अल्मा–मातेर ‘पब्लिक’लाई पनि सलाम ।

संयमले बनाएका भीम

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:45 AM

छोटो समयमै आर्थिक उन्नति गरेर आफ्नो परिचय बदल्न सफल व्यवसायीमा पर्छन्, भीम पौडेल । इटहरीलाई कर्मक्षेत्र बनाएका पौडेलको सफलता पछाडिको रहस्य भने मर्मस्पर्शी छ । १५ वर्षको उमेरमा २०४६ सालमा एसएलसी परीक्षा दिएर भारतको आसाम छिरेका पौडेल बडाबाको घरमा शरण लिन पुगे र एक वर्षसम्म खेतीपातीमा बिताए । खेतीमा उनको इच्छाले जरा गाड्न सकेन र फर्किए पुख्र्यौली घर तेह्रथुम । फुर्सदिला बस्न नसक्ने उनलाई के गरौं–कसो गरौं भयो ।
त्यतिबेला एसएलसी पास गरेका युवाले सहजै जागिर पाउने र खाने लहर चलेको थियो । उनले पनि ताप्लेजुङमा मुखियाको जिम्मेवारी पाए । तर, जागिरले उनको इच्छामा इँटा थप्ने काम गरेन । छोटो समयै जागिर छाडेर, सत्यनारायण प्रसाईसँग मिलेर तेह्रथुममा २०४७ देखि २०५२ सालसम्म साल्ट टे«डिङको डिलर सञ्चालन गरे ।
काम गर्न कहिल्यै अल्छी नमान्ने पौडेलले हरेक अवसरलाई सदुपयोग गर्दै गए । अवसरको खोजीमा लागेका उनले २०४७ सालमा भैंसी पाल्न भनेर नेपाल बैंकबाट ऋण लिए तर भैसी पालेनन् । त्यो पैसाले तेह्रथुमको बसन्तपुरमा किराना पसल खोले । त्यही पसलले उनलाई निजी व्यापारबाट हुने आर्थिक लाभको रहस्य पत्ता लगाउन सघायो ।  आठ हजारमा सुरु गरेको पसलबाट पाँच वर्षमा चार लाख ५० हजार रूपैयाँ हात प¥यो । व्यापारको यही सफलताबाट हौसिएर ठूलो व्यवसाय गर्न विराटनगर झरेका उनले जीवनमा पछाडि फर्कनुपरेको छैन ।
नयाँ व्यवसायको उत्साह बोकेर विराटनगर झरेका पौडेलले सङ्गत भेटे विनोद रिजाल र देवराम प्रसाई । रिजाल र प्रसाईको सङ्गतमा खाद्य संस्थानको ढुवानी जिम्मा लिँदै काठमाडौं हानिए । काठमाडौंमा एक वर्षसम्म
काम गरे ।
त्यसपछि कृष्ण प्रसाईसँग दुई वटा ट्रक पाँच लाख ५० हजार रूपैयमा किने । गाडी खरिद गरेपछि दुई वर्ष उनको कार्यक्षेत्र विराटनगर बन्यो । त्यही क्रममा साल्ट ट्रेडिङको ढुवानी र डिलर लिए । र, २०५५ सालदेखि इटहरीलाई कार्यक्षेत्र बनाए । इटहरी सरेपछिका दिनमा उनले झन ठूलो सङ्घर्ष र मेहनत गर्नुप¥यो सफलताका लागि । सुरुवातमा इटहरीकै रमेश पौडेलसँग पार्टनरमा काम गरे । रमेशसँग काम गर्दा उनीसँग नौ लाख पँुजी थियो । रमेशसँग १८ महिना काम गर्दा त्यो घटेर दुई लाख ५० हजारमा झ¥यो । त्यसपछि रमेशसँग अलग्गिए । त्यो बेला उनीसँग धन–सम्पतिका नाममा दुई लाख ५० हजारबाहेक केही थिएन । तिनै दिनमा उनले नुन बेचे । साल्ट ट्रेडिङको ढुवानी र अन्य एजेन्सीको काम पनि सम्हाले । चिनी, नुन, घिउ, ढुङ्गागिट्टीको काम मुख्य थियो । काम गर्दा लोड–अनलोड गर्ने क्रममा आफैं खट्थे ।
यो बेलामा १८ घन्टासम्म काम गरेको सुनाउँदै उनले भने, ‘बिहान तीन बजेको मिठो निद्रा र सुनौलो सपना त्यागेर काममा खटें । अहिले पनि कामलाई त्यसरी नै निरन्तरता दिँदैछु ।’
अचेल १८ घन्टासम्मै व्यस्त भए पनि उनको काम गर्ने शैली परिवर्तन भएको छ । निरन्तरको कामले पौडेलको आर्थिक अवस्था उक्सिदै गयो । २०६१ सालमा इटहरी–४ मा आठ लाख ४० हजारमा घडेरी र २०६२ सालमा घर जोडे । उनले २०५७ सालमा दुई वटा गाडी किनेका थिए । २०५८ सालमा बैंकको ऋण लिएर अरू ट्रक–टिपर थपे । अहिले उनका तीसभन्दा बढी ट्रक–टिपर छन् ।
२०६२ सालमा उनले कुमारी बैङ्कबाट एक करोड एक लाख रूपैयाँ ऋण लिएर इटहरीमा राधाकृष्ण पेट्रोल पम्प खरिद गरे । २०६२–६३ मा मोरङ जिल्ला विकास समितिको ठेक्कापट्टा सेयरमा लिए । २०६५ मा ओमश्री क्रसर उद्योग खोले । त्यही वर्ष पिपुल्स नर्सिङ कलेज इटहरीको लगानी ‘पार्टनर’ भए । मितेरी बैंकको १३ प्रतिशत शेयर खरिद गरे । २०६६ मा मोरङ जिल्ला ढुङ्गागिट्टीको कर सङ्कलनको ठेक्का लिए । त्यो चार वर्षसम्म चल्यो । २०६७ सालमा इटहरी हलगडामा बैंकको ऋण सहयोगमा अठ्ठाइस कठ्ठा जग्गा खरिद गरे । यसरी, पहिले स्वरोजगारका लागि निकै घाम–पानी खेपेका उनले अहिले सात सयभन्दा बढीलाई रोजगारी दिएका छन् । ‘बुद्धि लगाएर सही काम गर्दा अवश्य सफल भइँदोरहेछ,’ उनका शब्दमा भन्दा, ‘व्यापार–व्यवसाय गर्दा सहनशील, इमानदार र खट्न सक्ने हुनुपर्छ ।’ प्रस्तुति  : अम्बर

जीवनले आफै बाँच्न सिकाउँदो रहेछ

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:14 AM



झापाको  दुवागडीमा  २०२४ सालमा कृष्णमणी र दीपा प्याकुरेलका माइला छोरामा रूपमा जन्मिएका  गणेश प्याकुरेल बिराट हेल्थ फुड प्रोड्क्स प्रा.लिको सञ्चालक र एशियन थाइ फुड्सको महाप्रबन्धक हुन । खाद्य विशेषज्ञता हासिल गरेका प्याकुरेलले यो हैसियत बनाउँन गरेको सङ्र्घष उनकै शब्दमा :

त्रिभुवन विश्वविद्यालयअन्तर्गत खाद्य तथा प्रविधि क्याम्पस हात्तिसारबाट २०४७ सालमा वी.टेक.पढिसक्दा नेपालमा खाद्य उद्योगहरू कम थिए । पढाइ सकेर पनि जागिर पाउन समस्या थियो । झण्डै एकवर्ष काठमाण्डौका गल्लि–गल्लि घुमेपछि नेता चक्रप्रसाद बाँस्तोलासँग सम्पर्क भयो । उहाँकै सहयोगमा चौधरी ग्रुपका विनोद चौधरीसँग भेट भयो । नेपाल थाइ फुड्स प्रालिका तात्कालिन महाप्रबन्धक दीपक बाबु तिवारीलाई अन्तर्वार्ता दिएपछि मैले जागिर पाएँ । तर खाद्य प्रविधीमा नभएर प्रशासकीय अधिकृतको रूपमा । त्यसपछिका दिनहमा उत्पादन, गुण नियन्त्रणलगायत केन्द्रिय कार्यालयमा समेत बसेर कच्चा पदार्थ खरिद र एल.सी. सम्बन्धी कामहरू गरेँ । मैले नेपाल थाई फुड प्रा.लि.मा चार वर्ष जागिर खाँदा एउटा कारखाना प्रबन्धकले जान्नु पर्ने प्रायः सबै कुराहरू सिक्ने मौका पाए । त्यसले मेरो आत्मविश्वास दरिलो बनायो ।
जागिरकै दौरान मेरो जीवनमा एउटा रोचक मोड आयो । काठमाण्डौ ल क्याम्पसमा पढ्दै गरेकी पूर्णिमा उपाध्यायसँग सम्पर्र्क बढ्दै गएपछि २०५१ साल बैसाख १० गते लगन गाँठो कसियो । त्यसपछि आफैले पकाएर खानु पर्नेलगायत घरका धेरै कामबाट छुटकारा पाएपछि काममा बढी ध्यान दिन थालेँ ।  
मैरै परामर्शमा पोखराको गण्डकी नुड्ल्सले आहा नामको चाउचाउ बजारमा ल्यायो । बालाजु औद्योगिक क्षेत्रमा मल्टी फुड इन्डष्ट्री प्रा.लि.को मिनमिन ब्राण्डको चाउचाउ कारखाना सञ्चालनमा आएपछि २०५२ सालमा चौधरी ग्रुपको जागिर छोडेर गण्डकी नुडल्समा कारखाना प्रबन्धक भई दोस्रो जागिर सुरु गरेँ । 
त्यहाँ पाँच वर्ष काम गरेपछि बिराटनगरका उद्योगपतिहरू महेश जाजु, पवन शारडा र बिनोद राठीसँग भेट भयो । उहाँहरूकै अग्रसरतामा २०५७ साल फाल्गुन महिनादेखि एशियन थाइ फुड्स प्रा.लि. सञ्चालनमा आयो र मैले त्यसको महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेँ ।
एशियन थाइ फुड्सले रमपम नामक लोकप्रिय ब्राण्डको चाउचाउ उत्पादन गर्छ । अन्य चाउचाउले ओगटेको बजारमा रमपमलाई स्थापित गर्न निकै कसरत गर्नुप¥यो । समयमा सुरुमा दैनिक १५ मेट्रिक टन उत्पादन क्षमता भएको मेसिन राखियो । त्यसको एक वर्षपछि नै एकपछि अर्को गर्दै चारवटा मेसिन जडान गरियो । १५ मेट्रिकटन उत्पादनबाट सुरु भएको एशियन थाइ फुडस प्रा.लि. १३ वर्षपछि दैनिक ६० देखि ७० मेट्रिकटन उत्पादन गर्ने देशकै दोस्रो ठुलो कारखाना बन्न पुगेको छ र देश र विदेशमा समेत शाखा बिस्तार गर्ने योजनामा छ ।
प्रालिबाट मेरै सक्रियतामा चाउचाउ, चिजबल, कुर्कुरेलगायत ४० भन्दा बढी ब्राण्डका खाद्य पदार्थहरू उत्पादन गरी बिक्रि बितरण भइरहेको छ । जापानको ओसाका शहरमा गुण नियन्त्रणसम्बन्धी एक महिने तालिम लिने क्रममा जापानका टोयोटा, नेशनल पानासोनिक, डेन्सोलगायत विश्व प्रसिद्ध उद्योगहरूको अवलोकन भ्रमण गर्ने मौका मिल्यो । यसरी तालिम, मेसिन खरिद र विदेशमा भएका औद्योगिक प्रदर्शनीको अवलोकनले नयाँ ब्राण्ड र मेसिनसम्बन्धी अवलोकन, अध्ययनका साथसाथै र आइडिया लिने अवसर पाइयो ।
जागिरलाई निरन्तरता दिँदै अहिले केहि व्यवसायीहरूसँग मिलेर विराट हेल्थ फुड प्रोड्क्स प्रा.लि.समेत सञ्चालन गरिरहेको छु । यो उद्योगबाट सन्तुलित ब्राण्डको बच्चाको लिटो, चनाको सातु, फापरको पिठो, बेसन, मकैको ग्रिट, न्युटे«लालगायतका खाद्य पदार्थहरू उत्पादन हुन्छ । चाँडै बच्चा र बिरामीहरूले खान मिल्ने स्वास्थ्यबद्र्धक पौष्टिक चामल साथै पौष्टिक खाजा र विभिन्न किसिमका खाद्य पदार्थ उत्पादन गर्ने लक्ष्य लिएका छौं । पौष्टिक चामल सम्भवतः दक्षिण एसियाकै पहिलो उत्पादन हुनसक्छ ।
केहि पाउनका लागि केही गुमाउनु पर्दोरहेछ । सुरु सुरुमा जागिर खाँदाका दिनहरूमा राती राती काम गर्नुपर्ने कहिले घर पुग्दा रात तीन बजेको हुन्थ्यो । कहिले काहि स्कुटर बिग्रिँदा नख्खु पुलदेखी घिसारेर मैतिदेवी पु¥याइयो, बाटो नदेखेर कति पटक लडियो । जीवनले आँफै बाँच्न सिकाउँदो रहेछ । मैले पनि जीवनबाट पाठ सिकेको छु । जहाँ गएर जस्तो काम गरे पनि कामलाई समय बिताउने जागिर मात्र नसम्झेर जीवनकै महत्वपूर्ण सिकाइको अवसर मान्न सके पक्कै उन्नती हुन्छ ।

बुढेसकाल पनि शिक्षणकै लागि

Written By Neplee on Wednesday, April 24, 2013 | 10:52 PM


विराटनगरको शैक्षिक विकासमा योगदान पु¥याउने गुणराज ढुङ्गेलले शिक्षण गरेको ५० वर्ष नाघिसकेको छ । ६६ वर्षीय उनी अहिले पनि बिहान छ बजेदेखि साँझ छ बजेसम्म शिक्षण तथा व्यवस्थापनकै काममा व्यस्त हुन्छन् । उनले ३६ वर्षभन्दा बढी त महेन्द्र बहुमुखी कलेज विराटनगरमै शिक्षण गरेका थिए ।
‘मेरो सम्पत्ति भनेकै विद्यार्थी हुन्, बूढो भएर असक्त भएँ भने मेरा विद्यार्थीले हेरविचार गर्छ
न्जस्तो लाग्छ,’ ढुङ्ेगले भने, ‘गुडविल भएपछि त्यो नै मान्छेको सम्पति हो ।’
यो पाँच दशकको अवधिमा उनले पढाएका विद्यार्थी असङ्ख्य छन् । उनले पढाएका विद्यार्थीमध्ये ११ जना मन्त्री, दुई जना मुख्य सचिव, तीन जना सचिव, तीन जना प्रहरीमा एआइजी भएको उनलाई सम्झना छ । असङ्ख्य विद्यार्थी भएकाले अरू को–के गर्छन् भन्नेबारे पूर्ण जानकारी छैन ।
उनको यो उमेर भनेको बूढेसकाल लागिसकेकाले जो–कोहीले रिटायर्ड लाइफ बिताउनुपर्ने भनेर सोच्छन् । तर, उनी भने बिहानको खानासमेत मजाले खान भ्याउँदैनन् । ‘बिहानै छ बजे काममा आउने गर्छु, हतार–हतारमा बिहान खान जान्छु अनि औषधि खाएर फेरि काममै लाग्ने गर्छु,’ उनले भने, ‘जीवनको हरेक क्षण कर्तव्यले भरिएको हुँदा  मान्छेले कहिल्यै खाली बस्नुहँुदैन ।’
उनले शिक्षाक्षेत्रमा योगदान गरिरहँदा पनि निरास भएपछि सात जनाको लगानीमा मेरिल्यान्ड कलेज सञ्चालन गरेको सुनाए । यो कलेजका उनी अध्यक्ष छन् । अहिले उनी आफ्नो सोही कलेजमा शिक्षण र व्यवस्थापन व्यस्त रहने गर्छन् ।
उनले विराटनगरमा शैक्षिक विकासका लागि निजी क्षेत्रमा २०३७ सालमा कन्या क्याम्पस, २०३८ सालमा आदर्श रात्रि कलेज र २०४० सालमा ल कलेज खोल्न भूमिका निर्वाह गरेका छन् । तीनवटै कलेज खोल्न अन्यसहित ढुङ्गेलको पनि संलग्नता रहेको थियो । यीमध्ये आदर्श रात्रि कलेज २०४६ सालपछि डुब्यो भने कन्या क्याम्पस र ल कलेज अहिले पूर्वाञ्चल विश्वविद्यालयले लिइसकेको छ ।
ल क्याम्पस र कन्या क्याम्पसको भवन बनाउँदा विराटनगर भन्सारमा एक सय रूपैयाँका ११ वटा आइटम सामानबाट १० पैसा लिएर बनाएको उनले सुनाए ।
आदर्श रात्रि कलेज सञ्चालनका लागि शिक्षक–शिक्षिकालाई तलब खुवाउन उनले मिनी मेला लगाएको, त्यो मेलामा आफैंले हाउजी बिङ्गो खेल खेलाएर तलबका लागि रकम जुटाएको सुनाए । उनका अनुसार व्यवस्थापन प्रभावकारी नभएकैले २०४६ सालमा आदर्श रात्रि कलेज बन्द भएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनका लागि तीन पटकसम्म डेलिकेसन जाने टोलीमा उनी पनि सहभागी थिए । त्रिभुवन विश्वविद्यालयलाई बढी भार भएको तर्क गर्दै पूर्वाञ्चल विश्वविद्यालयका लागि उनीसहितको टोलीले तत्कालीन राजा वीरेन्द्र साहलाई दबाब दिएको उनले सुनाए  ।
शैक्षिक क्षेत्रमा प्रवेश गर्नुअघि  उनले स्नातकोत्तर अध्ययन गर्दागर्दै चिया व्यवसाय पनि सञ्चालन गरे । चिया व्यवसायबाट घाटा हुनेबित्तिकै उनले शिक्षण थालेका थिए । ‘सुरुमा असल व्यवसायी हुने सोचले चिया व्यवसाय गरेँ तर घाटा लाग्यो,’ उनले भने । उनले केही समय लकडी व्यवसायको अनुभव पनि गरेका थिए ।
कामकै सिलसिलामा उनले ठेकेदारी पनि गरे । ‘मैले ठेकेदारी गर्दा अरूले काम गरेको मापदण्ड मलाई देखाइदिन्थे,’ उनले भने । शिक्षण सहजीकरणका लागि मुख्य समय दिएका उनले गरेका सबै अतिरिक्त काम छोटो समयका, खासगरी अनुभव हासिल गर्ने तहका मात्र रहे ।
उनी शिक्षाक्षेत्रमा राजनीतिको दबाब हुन नहुने बताउँछन् । ‘राजनीतिक दबदबाले देशलाई नै पूरै बिगारेको छ, २०३० सालताका पनि नयाँ शिक्षा लागूभएपछि शिक्षकले आफूले पढाएको बिषयवस्तुमा आफैंले मूल्याङ्कन गर्ने जिम्मेवारी दिएको थियो,’ उनले भने, ‘तर, सरकारले शिक्षकलाई विश्वास गरेर दिएको जिम्मेवारी हामी शिक्षकले र्नै थेग्न सकेनौं ।’ ढुङ्गेलसँग पत्रकारिताको पनि अनुभव छ । उनी २०३१ सालदेखि तीन वर्ष विराटनगर प्रेस क्लबको अध्यक्षसमेत भएका थिए ।

मलेसियामा जन्मेर नेपालमा काम

Written By Neplee on Saturday, March 16, 2013 | 6:13 PM


व्रिटिस गोर्खा सैनिकको परिवारमा हुर्किए पनि उनलाई कहिल्यै गोर्खा सैनिकमा भर्ती हुने रहर पलाएन । धेरै युवाहरू अहिले मलेसिया, कतार पुग्छन् रोजगारीका लागि । तर, मलेसियामा जन्मेर पनि उनले नेपाललाई कर्मथलो बनाए । उनका उमेरका धेरै साथीभाइले आर्मीमा भर्ती भएर मनग्ये कमाए अनि मानपदवी पनि बटुले । तर, उनले भने आफ्नै देशका तीन हजार बढी युवालाई काम गरेर खानसक्ने बनाएका छन् । उनी हुन् सुनसरी टेक्निकल कलेजका संस्थापक अध्यक्ष लेखीराज सुब्बा ।
सैनिकका लागि लामबद्ध हुने उमेरमा पनि आफ्नै देशमा केही गरेर देखाउनुपर्छ भन्ने अडान लिएका उनी अन्ततः त्यही उचाइनजिक पुगिरहेका छन् । स्वदेशमा बसेर केही गर्ने अठोट लिएका लेखी बर्सेनि सयौं युवालाई सक्षम बनाइरहेका छन् । यो सङ्ख्या बढ्दो छ । उनलाई आफ्नै देशमा केही गर्न पाएकोमा गर्व लाग्छ ।
मलेसिलाको क्वालालाम्पुरमा १९६० डिसेम्बर २८ मा जन्मिए पनि उनले औपचारिक शिक्षाको प्रारम्भ भने ताप्लेजुङको डुम्रिसेबाट गरे । डाक्टर बन्ने सपना गुथेका उनी त्यो लक्ष्यमा पुग्न कहिले बुबाआमसँगै सिङ्गापुरमा, कहिले नेपालको घोपा धरान, हुँदै डिपो माविबाट एसएलसी पूरा गरे ।
डाक्टर पढ्नकै लागि राजधानीको महाराजगन्जस्थित इन्सिच्युट अफ् मेडिसनबाट प्रवीणता प्रमाणपत्र पूरा गरे । ‘त्यो बेलामा इन्टरमिडिएट पूरा गरेपछि अनिवार्य तीन वर्ष जागिर खानुपर्ने बाध्यता थियो, उनी भन्छन् ‘जागिर पूरा गरेपछि मात्रै एमबिबिएसमा पढ्न पाइने भएकाले त्यही सिलसिलामा धनकुटा आइपुगेँ ।’ उनले धनकुटामा प्राविधिकमा सुब्बासरह जागिर खाए, त्यतिबेलाको तलब पाँच सय ३५ रुपैया थियो ।
उनले धनकुटाकै क्याम्पसबाट बिए अध्यापन पूरा गरे । त्यसै बेला अचानक बुबाको देहान्तपछि उनको जीवनमा डाक्टर बन्ने सपना केवल सपनामै सीमित भयो । त्यसबेला बुबा घोपामा गोर्खा सैनिकका छोराछोरी तथा गोर्खा सैनिकलाई दिइने मेडिकल शिक्षा अहेबमा इन्स्टक्टरका रूपमा काम गर्दागर्दै देहान्त भएपछि उनमा घर–परिवार सञ्चालन गर्ने जिम्मेवारी थपियो । ‘एमबिबिएस एप्लाई गर्ने बेलामा बुबाको देहान्त भयो, जसको कारण पढाइलाई ब्रेक गर्नुप¥यो’, उनले भने । उनले तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पताल (हालको बिपी प्रतिष्ठान, धरान) मा एक्सरे प्राविधिकका रूपमा काम केही वर्ष काम गरे । त्यहाँको तीन बर्से अनुभवपछि धरान–९ पुतलीलाइनमा सवनम मेडिसिन सेन्टर सञ्चालनमा ल्याए ।
मेडिसिन सेन्टरबाट विस्तारित गर्दै उनले त्यसैबेला त्यसलाई पोलिक्लिनिक हुँदै डाइग्नोसिस सेन्टरको रूपमा विकास गरे । ‘त्यसबेला धरानमा सबै प्रकारका रोगको उपचार गर्ने एक मात्रै सेन्टरको रूपमा विकास गरेका थियौं’, उनले सुनाए ।तर, लगानीकर्ताको मनमुटावले गर्दा उनी त्यसबाट पछि हटे अनि २०५२ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २०५३ बाट सुनसरी टेक्निकल कलेजको स्थापना गरे । त्यसो त परिवारको जिद्धिकै कारण उनले ११ दिनका लागि भए पनि आर्मीको जागिरमा जानुप¥यो । ‘बुवा आर्मी भएकाले म पनि आर्मी नै हुनुपर्छ भन्ने परिवारको इच्छा थियो,’ उनले सुनाए, ‘केही दिन काम गरेँ पनि । पछि, मन लागेन र छोडिदिएँ ।’
अनमी र ल्याब असिस्टेन्टका कक्षाबाट सुरु गरिएको उनको कलेजमा सिएमए, डिप्लोमा कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा फार्मेसी, डिप्लोमा सिभिल इन्जिनियरिङ्ग, ल्याब टेक्निसियन, बिएसी माइक्रोबायलोजी, जेनरल बिएसी, बि फार्मेसी, बिएस्सी फुड टेक्नोलोजी, एमएस्सी माइक्रोबायोलोजी, एमएस्सी बायोटेक्नोलोजीको समेत अध्यापन हुने गरेको छ ।
अध्ययनशील लेखीलाई अहिले पनि अध्ययन गर्न मन लाग्छ । खेलकुद र भ्रमणका सोखिन उनले धरान गल्फ क्लबसँगको सम्झौतामा सुनसरी टेक्निकल ओपन गल्फ खेलाउने गरेका छन् । सुब्बा हालै सम्पन्न नेपाल अटोमोबाइल्स स्पोर्ट एसोसिएसन (नासा)को आयोजनामा भएको राष्ट्रिय कार रेसमा प्रथमसमेत बनेका थिए ।
भोजराज श्रेष्ठ

‘आफ्नो जीवन फरक लाग्छ’

Written By Neplee on Wednesday, February 13, 2013 | 11:38 PM


लाहुरेका श्रीमती भन्नेवित्तिकै सुखी जीवन बिताउने अनि ऐस–आराममा रमाउने हुन्छन् भन्ने अधिकतरको सोचाइ हुने गर्छ । तर, इटहरीकी लक्ष्मी थेबेले गरेको सङ्घर्ष भने उदाहरणीय बनेको छ ।
ताप्लेजुङ्को फुङ्लिङ्(५ मा जन्मिएकी लक्ष्मीको १७ वर्ष टेक्न नपाउँदै किरण टी लिम्बूसँग विवाह भयो । टेस्ट परीक्षा दिएर आमबोटे प्राविमा शिक्षण गर्दागर्दै परिवारकातर्फबाट उनको विवाहको निर्णय भएको थियो । उनले विवाहपछि एलएलसी परीक्षा दिएकी हुन् ।  एसएलसीपछि आदर्श प्राथमिक विद्यालय आम्बेगुदिनामा आठ महिना पढाइन् ।
त्यसपछि उनी कलेजमा पढ्न धरानतर्फ आइन् । ढिलो गरी आएकाले गर्दा भर्नाको समय गुज्रिसकेको थियो । त्यही भएर उनी विराटनगरको कन्या क्याम्पसमा भर्ना भइन् । ‘दोस्रो वर्षको परीक्षा जसोतसो गरेर दिएँ, त्यो बेला चार महिनाकी छोरी पनि भएकाले सारै दुःख गरेर परीक्षा दिएँ,’ उनले भनिन् । परीक्षा सकेर उनी हङकङ गइन् । त्यहाँ ब्रिटिस फोर्स बोर्डकास्टिङ सर्भिसमा दुई वर्षसम्म काम गरिन् । झन्डै तीन वर्ष हङकङ बसाइपछि उनी नेपाल फर्किन् । इटहरीमा घर बनाइन् । ताप्लेजुङबाट ससुरालाई पनि यहीँ ल्याएर राखिन् ।
यतै, काम गरेर बस्ने सिलसिलमा सबैभन्दा पहिले उनले इटहरीमा साझेदारीमा पिसिओ व्यवसाय सञ्चालन गरिन् । ‘मैले पार्टनरसीपमा खोलेको पिसियो नै इटहरीको पहिलो पिसियो हुनुपर्छ,’ उनले भनिन्, ‘तर, पार्टनरले कुटनीतिज्ञ रोल खेलेकाले धेरै समयसम्म म त्यो व्यवसायमा टिक्न सकिनँ ।’
पिसियो व्यवसायमा ‘धोका’ पाएपछि नयाँ काम गर्ने अभियानका क्रममा कम्प्युटर सिक्न थालिन् । कम्प्यूटर सिकिरहेकै समयमा खनारमा ‘कमटेम्पो वेयर प्राइभेट’ भन्ने गार्मेन्ट उद्योग खुल्यो । उनले त्यो उद्योगमा चार वर्षसम्म कार्यालयीय काम गरिन् ।
काम गर्दागर्दै मजदुर युनियन गठन भइसकेको थियो । सोही बेला विभिन्न खाले अवरोधले गर्दा उद्योग बन्द हुने दिनगन्तीको पर्खाइ हुन थाल्यो । त्यसतो अनिश्चित वातावरणले गार्मेन्टको कामप्रति मन मर्दै गयो । त्यहीबेला बिरामी ससुराको स्याहार गर्ने मान्छे घरमा कोही नभएपछि उनले गार्मेन्टको काम छाडिन् । तिनै दिनमा उनले घरमा कुखुरापालनको काम गर्न थालिन् ।
कुखुरा फर्म चलाइरहेका बेला कनटेम्पो गार्मेन्टमै रहेका एक लगानीकर्ता र अन्य मिलेर खनारमै अमी अप्रिल्स ग्रामेन्ट खोले । अमी अप्रिल्समा चिनजानका धेरै साथी भएकाले फेरि काम गर्न बोलाए । उनले त्यहाँ पनि दुई वर्ष काम गरिन् ।
एकपछि अर्को काम गरेर अनुभवले खारिने क्रममा उनले २०५८ सालमा पेन्सन पेइङ अफिस धरानमा काम गर्ने अवसर पाइन् । सुरुमा सानो पदमा प्रवेश गरेकी उनी अहिले त्यहीँ पेन्सन पेइङ इन्फर्मेसन अफिसरका रूपमा कार्यरत छिन् ।
आफ्नो जीवन अरूकोभन्दा पृथक लाग्ने गरेको बताउने उनले भनिन्, ‘लाहुरेनीहरू बढी सोखिन हुन्छन् भनेर अहिले पनि कतिपयले आलोचना गरेको सुन्छु तर मलाई समाजमा आफ्नै नाम र मिहिनेतले चिनिन पाएकोमा गर्व छ ।’
थेबे बाबुको प्रेरणा र पतिको प्रोत्साहनबाट आफू सङ्घर्षशील भएको बताउँछिन् । ‘मेरो बाबु राणाशासन र पञ्चायती व्यवस्थामा जेलको हाकिम हुनुहुन्थ्यो तर पनि दुःख र मिहिनेत गर्नुपर्छ भावना थियो, अनि मेरो लोग्नेले पनि टिभी हेर्दा पनि केही काम गर्दै टिभी हेर्नु नि भन्नुन्छ,’ उनले सुनाइन्, ‘यसरी पारिवारिक वातावरणले मलाई निरन्तर सङ्घर्ष गर्न प्रेरित ग¥यो ।’
साहित्यमा विशेष रुचि राख्ने थेबे सप्तकोशी एफएमबाट प्रसारण हुने समर्पण र साइनो कार्यक्रमकी प्रस्तोता पनि हुन् । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थामा पनि क्रियाशील उनले अनेक कामको व्यस्तताका बीचमा स्नातकोत्तर तहसम्मको अध्ययन पनि पूरा गरेकी छिन् ।
भूपू गोर्खा डिपार्टमेन्ट स्टोरको सञ्चालक समिति सचिवसमेत रहेकी उनी मानिस जति व्यस्त भयो, उति नै उसले सिर्जनात्मक सोचाइको विकास हुने ठान्छिन् । उनी हरेकलाई समय अनुसार परिश्रम गर्न सुझाव दिँदै भन्छिन्, ‘समय आउँछ तर पर्खदैन, हामीले समयलाई समात्न सक्नुपर्छ । कुनै पनि काम गर्दा हामी सानो र कमजोर हँुदैनौँ, बरु शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छौँ ।’
लक्ष्मी थेवे

खतरनाक स्कुल प्रेम


ऋषिमुनिहरूले दिने अनौपचारिक शिक्षाबाट सुरू भएको शिक्षाप्रणाली अहिले अत्याधुनिक र प्रविधिमय भइसकेको छ । तर, अत्याधुनिक प्रविधियुक्त प्रणालीको पहु“च वृद्धिले शिक्षालयहरू शिक्षा आर्जन गर्ने विकसित थलो हुनुपर्नेमा माया–प्रेम र सेक्स साट्न सहजीकरण गर्ने केन्द्रमा रूपान्तर हुन थालेको देखिन्छ, भोजराज श्रेष्ठ लेख्छन् :
स्कुल, कलेज किन गइन्छ ? सहज जवाफ छ शिक्षाआर्जन गर्न । तर, युवापुस्ताका लागि भने स्कुल कलेज त्यसको विपरीत भइरहेको छ । शिक्षा आर्जन गर्ने मन्दिर प्रेम गर्ने मन्दिरका रूपमा विकास भइरहेको छ । कसले बढी प्रेमी या प्रेमिका बनाउने प्रतिस्पर्धा नै चल्ने गरेको छ, अहिले स्कुल तथा कलेजहरूमा । केटी या केटाको नाउँमा स्कुले विद्यार्थीबीच फाइट नै चल्छ । तनाव, द्वन्द्व र मनमुटावका कुरा त सामान्य मानिन्छन् । शिक्षा आर्जन गर्ने केन्द्रमा प्रेमी–प्रेमिकाको विषयलाई लिएर ग्याङफाइटसम्मै पुग्छ युवापुस्ता ।
धरानकै एक प्रशिक्षित सामुदायिक विद्यालयमा एउटा प्रेमी–प्रेमिकाको विषयमा केही दिनअघि यस्तै घटनाले प्राथमिकता पायो । दुई केटीले एउटै केटालाई प्रेम गरेपछि कसको प्रेमी हो भन्ने विषयमा युवतीहरूबीच ग्याङफाइट नै चल्यो । उनीहरूबीच बाटो ढुकाढुकको स्थितिसमेत सिर्जना भयो ।
एउटा ग्याङले बाटो ढुकेर कुटिदिएपछि घटना स्कुलमा मात्रै सीमित भएन । स्कुलमा विद्यार्थीका अभिभावक, शिक्षक र विद्यार्थीबीच बसेर सहमतिको वातावरण बनाउन निकै पापड बेल्नुप¥यो ।
स्कुले जीवनको प्रेम धेरैको जीवन बर्बादीको कारणसम्म बन्ने गरेका घटनाहरू थुपै्र छन् । पाँचकन्या–२ स्थित सरस्वती उच्चमावि पानबारीकी विद्यार्थी सीताको जीवन अहिले त्यस्तै मोडमा पुगेको छ । स्कुलकै शिक्षकसँग प्रेमजालमा फसेपछि अहिले उनको जीवनका फेहरिस्तहरू बदलिएका छन् । कक्षा सातदेखि नै शिक्षकसँग प्रेमजालमा परेकी उनलाई शिक्षकले छाडेर भागेपछि उनले देखे–बनाएका सारा सपना भताभुङ्ग भएका छन् ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन्, स्कुलमा गरिने प्रेमका । यस्ता कयौँ घटनाहरू छन्, जो दिनहँुजसो भइरहेका छन्, हाम्रो समाजमा । तर, प्रेमी या प्रेमिका धेरै बनाउने विद्यार्थीहरूबीचको प्रतिस्पर्धालाई ‘सामान्य कुरो’ ठान्छन् पब्लिक उच्चमाविका सहायक प्राध्यापक इन्द्रमोहन झा ।
मोबाइलमा बढ्दो इन्टरनेटको सुविधाका कारण नराम्रा फोटो, फिल्महरू सेभ गरी अहिलेका केटाकेटीबीच माया–प्रेमको भन्दा सेक्सको सम्बन्ध बढी हुने गरेको उनी बताउँछन् । प्रेमबाट सुरू हुने त्यस्ता गतिविधिको अन्तिम बिन्दु सेक्स हुने गरेको उनको बुझाइ छ । चार कक्षाका विद्यार्थीहरू पनि प्रेमप्रस्ताव राख्ने र मायाका कुरा गर्ने गरेको पाइएको उनले सुनाए ।
साथीहरूका प्रेमी भए पनि आफ्नो नभएको बताउने शिक्षासदन धरानकी अर्चना विद्यार्थीहरूबीचमा होडबाजी नै चल्ने गरेको बताउँछिन् । ‘मेरा साथीहरूका पनि धेरै केटा–केटी साथीहरू छन्, त्यो त सामान्यझैँ बनिसक्यो,’ उनले भनिन् । अहिलेका विद्यार्थीहरूमा यस्ता घटना समान्यझैँ लाग्छन् । ‘प्रेमीप्रेमिका नभएको त कोही पनि भेटिँदैन,’ उनले भनिन् । किशोर–किशोरी उमेरमा एउटा पनि प्रेमी या प्रेमिका भएन भने विद्यार्थीहरूले नै जिस्काउने गरेको तीतो अनुभव उनले सुनाइन् ।
ग्याजेट, मोबाइल फोन र विभिन्न बढ्दो प्रविधिहरूले उनीहरूलाई पनि प्रतिस्पर्धा गराउने गरेको छ । ‘नयाँपुस्तामा कसले धेरै प्रेमी बनाउने भन्ने विषयमा प्रतिस्र्धा हुन थालेको छ,’ अल्पाइन कलेजमा अध्ययनरत विक्की श्रेष्ठ भन्छन्  ‘मोबाइल, विभिन्न फिल्म र विदेशी च्यानलहरूको कारणले युवायुवतीमा पढाइभन्दा पनि प्रेमीप्रेमिका बनाउने प्रतिस्पर्धा चलेको हो ।’
आफ्नो प्रेम सार्वजनिक गर्नेबारेमा भने उनी मौन छन्, भन्छन् ‘एउटी त सामान्य नै हो नि कलेज लाइफमा तर, अन्यलेझैँ प्रतिस्पर्धाको गोलचक्करमा म फसेको छुइनँ ।’
कुन कलेज र कुन स्कुलमा केटीहरू राम्रा छन्, त्यही स्कुल रोजेर विद्यालय जाने केटाहरू पनि थुप्रै भेटिन्छन् । ज्ञान आर्जन गर्ने थलोलाई माया–पिरती सेन्टर बनाउन थालेको युवापुस्तालाई झनै सजिलो बनाइदिएको छ, विदेशी च्यानल, फिल्म, ग्याजेटहरूले । स्कुलको पोसाक, फेसनले त झनै विद्यार्थीहरूलाई आर्कषित गरेको पाइन्छ । फेसन र अरूभन्दा केही ‘खुला’ वातावरणकै कारणले धरानका केही कलेजहरूमा विद्यार्थीको सबैभन्दा बढी चाप रहेको पाइन्छ ।
स्कुलेपुस्तामा देखासिकीमा प्रेम गर्ने प्रवृत्तिको विकास भइरहेको शिक्षा निकेतन उच्चमाविका प्राचार्य हीराकाजी बूढाथोकी बताउँछन् । ‘पहिले धेरै कुराको सुविधा थिएन, स्कुलकालमा प्रेम हुँदैनथ्यो, अहिले विभिन्न सुविधाहरू छन्, जसका कारणले प्रेम पनि फेसनझैँ हुँदै गएको छ,’ उनले भने ‘प्रेम फेसन भइसक्यो, प्रेमको अर्थ र गहिराइ नबुझी प्रेम गर्ने अहिलेका धेरै स्कुलेहरूले अध्ययनमा लगाउनुपर्ने महत्वपूर्ण समय खेर फालिरहेका छन् ।’

कहिले हावाहुरी, कहिले समुद्र

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:35 PM



मोरङ, विराटचोककी कमला पौडेल (भट्टराई)का देवरले १४ वर्षअघि किराना पसल गर्दा दैनिक पाँच सय रुपैयाँको सामान बिक्री हुन गाह्रो थियो । व्यापारीसँग ल्याएको सामानको ताकेता गर्न आउँदा साप्ताहिक रुपमा पाँच सय रुपैयाँ तिर्न समेत धौ–धौ र चिन्ता हुन्थ्यो । त्यो अवस्था देखेर कमलाले सोच बनाइन्, ‘अब बसेर हुँदैन, यो किराना पसललाई सम्हालेर ठूलो बनाउँछु ।’ उनका पति राजेन्द्र छेउमै पुस्तक पसल गर्थे भने किराना पसल उनले सम्हालेपछि देवरलाई इटहरीमा स्टेशनरी पसल खोलिदिइन् ।
उनले किराना पसल सम्हाल्दा झन्डै एक लाख ५० हजार रुपैयाँ हाराहारीको सामान थियो । सुरुवातका केही वर्षसम्म पसल चलाउन धेरै दुःख प¥यो उनलाई । त्यसपछि पसल बढ्ने क्रममा किरानासँगै कस्मेटिक, गिफ्ट आइटमका सामान थप्दै लगिन् । उनले पसल बढाउने क्रममा न बैंकबाट ऋण लिइन् न अरु कसैबाट । पसलकैै आम्दानीले थोरै–थोरै सामान थप्दै गइन् ।
‘मेरो पसलमा नभएको सामान पनि कोही ग्राहकले सोध्यो भने कहिल्यै छैन नभनी तुरुन्तै ल्याउँथे,’ उनले भनिन्, ‘ग्राहकले जुन सामान माग गर्छन्, ती सामान थप्दै आएँ ।’
कमलाका अनुसार सुरुमा उनले पसल चलाउँदा कुनै दिन त फिटिक्कै सामान बिक्री हँुदैनथ्यो । तर, पनि उनले हरेस खाइनन् । ‘व्यापार भनेको कहिले हावाहुरीजस्तो त कहिले समुन्द्रजस्तो भन्ने सोचेर, चित बुझाएर निरन्तर काम गरेँ र अहिलेको स्थितिमा पुगँे,’ उनले भनिन्, ‘यदि मैले हरेस खाएको, अल्छी गरेको भए अहिले यति ठूलो डिपार्टमेन्ट हुने थिएन ।’
२०६३ सालसम्म निकै सङ्घर्ष गरेको सुनाउँदै उनले भनिन् ‘छोराछोरीलाईसँगसँगै च्यापेर पनि पसल सञ्चालन गरेँ, जहाँ–जहाँबाट सामान खरीद गरी ल्याउँथे, उनीहरुलाई पनि तोकेको दिन कहिल्यै रित्तो हात फर्काइनँ ।’
सुरुवातदेखि यो अवधिसम्म आइपुग्दा उनले बिराटचोकमा रहेको पसल निकै लोभलाग्दो बनाइसकेकी छिन् । ‘किराना पसल सञ्चालन गर्दा प्रायः भ्याएसम्म हरेक आइटमका सामान प्याकिङ गरी बेच्थे । ग्राहकले पनि प्याकिङ सामान रुचाउँथे,’ उनले भनिन्, ‘धेरै आइटमका सामान प्याकिङ गरेर ग्राहकलाई सन्तुष्ट बनाउन चाहन्थे । पूर्वमा डिपार्टमेन्टल स्टोर खुल्न थालेपछि मैले पनि त्यही रुप दिएँ ।’
‘ग्राहकले एकै स्थानमा सबैखाले सामान खोजेपछि उनीहरुको खोजीबाटै सिकेर डिपार्टमेन्ट स्टोर खोल्न प्रेरित भएकी हुँ,’ पौडेलले भनिन् ।
‘पर्खने व्यापारी र सहने बुहारीको पालो आउँछ’ भन्ने इख राखेर सारै दुःख गरेको उनले बताइन् । सामान्य किराना पसलबाट भव्य डिपार्टमेन्ट स्टोरसम्मको यात्रा तय गरेकी उनी, आफ्नो कामबाट निकै सन्तुष्ट छिन् । पूर्वका स–साना सहरमा ठूला डिपार्टमेन्ट स्टोर खुले पनि महिला अग्रसर भएर खोलेको डिपार्टमेन्ट यो मात्र हो । अहिले उनलाई पति राजेन्द्र, कान्छो देवर चन्द्र र घरका अरु सदस्यले पूर्णरुपमा साथ दिएका छन् ।
पूर्वमा खुलेका डिपार्टमेन्टमध्ये केही डिपार्टमेन्टमा ग्राहक पातलिँदै गएको गए पनि पौडेलको डिपार्टमेन्ट स्टोरमा भने ग्राहकको बाक्लो जमघट हुने गरेको छ । अहिले उनकोमा दैनिक एक हजार पाँच सयभन्दा बढी ग्राहक सामान खरिद गर्न आउँछन् । उनको डिपार्टमेन्ट स्टोरमा अहिले १० हजार आइटमका सामान पाइन्छन् । सुरुवातमा डिपार्टमेन्ट स्टोर खोल्दा झन्डै तीन सय आइटम थिए । १० जना युवतीलाई उनले रोजगारीसमेत दिएकी छन् ।
कमला पौडेल (सञ्चालक)
डिपार्टमेन्ट स्टोर, विराटचौक

जागिर आफैं सिर्जना गर्नुपर्छ

Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:59 AM

 भीम अधिकारी, इन्द्रपुर मोरङ 
मोरङ इन्द्रपुर खोर्सानेका भीम अधिकारीले दुई दशकयता पारिवारिक गुजारा टार्न एकपछि अर्को गरी थुप्रै काम गरिसकेका छन् । कामले खारिएपछि समाजमा उदाहरणीय व्यक्तिका रुपमा चिनिएका पनि छन् ।
तीन दशकअघि भारत नागाल्यान्डबाट नेपाल भित्रिएको अधिकारी परिवार सुरुमा झापा विर्तामोडको खोला किनारामा जग्गा किनेर केही वर्ष बस्यो । खोलाले घरजग्गा बगाएपछि परिवारसँगै इन्द्रपुरको खोर्साने आइपुगेका हुन् अधिकारी ।
पुख्र्यौली सम्पतिले एक कट्ठा जग्गा खरिद गरी बास बस्ने सानो घर बनाए पनि बाबुआमा नागाल्यान्ड नै बस्ने गरेकाले पारिवारिक जिम्मेवारी उनको काँधमा थपियो । पारिवारिक जिम्मेवारी थपिएकाले गर्दा अधिकारीले कक्षा नौमा पढ्न थालेदेखि नै भाइबहिनीलाई पढाउन ट्युसन पढाउन थाले । उनका भाइबहिनी तीन जना थिए ।  सोही बेला उनले बिहे गरे । उनले २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण गरे पनि आर्थिक अवस्थाले गर्दा उनको पढाइ त्यतिमै पूर्णविराम लाग्यो । त्यसपछि उनले परिवारको गुजारा टार्न गरेको दुःखका दिन व्याख्या गरी साध्य छैन ।
‘एसएलसी पास गरेपछि भने अनेकन काम गरेँ,’ उनले भने, ‘ती दुःखका क्षण अचेल सम्झिँदा ज्यादै नरमाइलो लाग्छ ।’ जसरी भए पनि आफ्नो र परिवारको गुजारा टार्नुपर्ने बाध्यताले गर्दा एसएलसीपछि उनले इटहरीकै मुना ग्यारेजमा निशुःल्क काम गरे ।
ग्यारेजमा काम सिकेर केही समय विराटचोकमा काम पनि गरे पनि त्यो कामबाट उनी सन्तुष्ट नभएपछि धरानको फाइन आर्ट सेन्टरमा भर्ना भएर आर्ट सिके । उनले त्यहाँँ न्यून पारिश्रमिकमा काम पनि गरे । पारिश्रमिक पाएअनुसार काम गर्ने कुनै समयसीमा हँुदैनथ्यो ।
‘काम गर्ने कुनै टुङ्गो हुँदैनथ्यो, प्रायः रातिसम्म काम नगरेको त बिरलै हुन्थ्यो,’ उनले भने, ‘आर्टमा काम गर्ने सिलसिलमा छुटै एकान्तस्थानमा गाडीमा चढेर घरमा पेन्टिङ गर्दा, १० रुपैयाँले तीन दिनसम्म चिया–बिस्कुट खाएर बिताएको थिएँ, पछि विराटचोकमा आफै आर्ट सेन्टर खोलेर चलाएँ ।’
त्यो बेला उनले समय मिलाउँदै गाउँ–गाउँ घुमेर रेडियो, टिभी, घडी बनाउने काम पनि गरे । ‘म सबै थोक काम गर्न सक्छु  भन्ने विश्वास लिएको थिएँ,’ उनले भने । एकपछि अर्को काम उनले गर्दै जाने क्रममा कराते खेल सिकेर केही महिना खेल पनि खेलाए । अधिकारीले नाटक लेखन तथा अभिनयको भूमिका पनि निर्वाह गरेका छन् ।
उनले २०४७ सालताका नै ‘छोरोको आसमा’ भन्ने नाटक लेखेका थिए । उनले नाट्य क्षेत्रमा तीन वर्षसम्म काम गरे । अधिकारीले २०५० सालताका मोटरसाइकलको पिस्टनरिङबाट बन्दुक पनि बनाए । बन्दुकपछि उल्टो र सुल्टो दुवैतर्फ घुम्ने घडी बनाए ।
‘आर्थिक अभाव हुदाँ गाविससँग दुई हजार रुपैयाँ दिनु ठूलो घडी बनाएर अगाडि राखिदिन्छुभन्दा पदाधिकारीले कुनै चासो दिएनन्,’ उनले भने । अधिकारीले तीन वर्षअघि बाँसबाट बनेको बत्ती पनि बनाएका थिए । यसरी थुप्रै नयाँ–नयाँ सिर्जना गरी काम गर्दा पनि कसैले आर्थिक सहयोग नगरेका कारण कुनै पनि काममा ‘सफल’ हुन नसकेको उनको दुःखेसो छ ।
अनेकन काम गरे पनि उनी अझैसम्म नयाँ–नयाँ कामकै खोजीमा लागेकै छन् । उनले एक वर्षअघि सामाजिक विकृति–विसङ्गतिविरुद्ध फाइट नामक संस्था खोले । त्यही संस्थामा संलग्न व्यक्तिको समूहले अहिले विराटचोकमा चाइल्ड केयर सेन्टर खुलेको छ । उनी पाँचवटा स्कुलमा कला शिक्षकको रुपमा काम पनि गर्छन् । उनका अनुसार इन्द्रपुर तथा आसपासका सुविजिमुर, सिद्धार्थ, ब्राइट फ्यूचर, नमूना र स्कलर होममा काम गर्छन् ।
बाघझोडा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष उनी हाल इन्द्रपुरमा सबैभन्दा बढी सेयर सदस्य रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था तथा इन्द्रपुर खेलकुद विकास समितिको अध्यक्ष छन् । कामले खारिएर समाजमा चिनिएकाले नयाँ कुनै कामको थालनी गर्दा होस् वा कुनै अवसर आएमा गाउँ–समाजले उनलाई जिम्मेवारी दिने गरेको छ । युवापुस्तालाई उनको सन्देश छ, ‘जागिर आफँैबाट सिर्जना गरौँ ।’

‘स्टाटस’ भएपछि सबै आफन्त

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:17 PM



११ वर्षको उमेरमा अध्ययनका लागि काकाको घर धनकुटा मूलघाट झरेका ६५ वर्षीय हिरा उदासलाई आफ्नो परिचय के हो ? थाहा थिएन । अध्ययन गर्न झरे पनि पढ्ने मौका पाएनन् । छेउछाउ विद्यालय नहँुदा डाँडापाखा हेर्दै कट्थे उनका दिन । मन नअडिएपछि त्यहाँबाट पनि उनी भागे । अनि आइपुगे धरान । कोही नचिनेको सहरमा कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सतायो । केही टुङ्गो नभएपछि चार महिनापछि फेरि काकाकै घर मूलघाट फर्किए ।
उनको त्यहाँ चित्त थामिएन । फेरि दोस्रो पल्ट भागे २०१३ सालमा । आइपुगे उही धरान । उनी सम्झन्छन्, ‘त्यसपछि मात्रै काम खोजे ।’ स–सना पसलहरुबाट काम सुरु गरेका उदासले जम्मा १० रुपैयाँ पहिलो पटक काम पाए । १० रुपैयाँबाट काम सुरु गरेका उदासमा पढ्ने भोक भने कहिल्यै हराएन ।
मारवाडीको पसलमा काम गर्दा उनका छोराछोरीले पढेका देख्दा उदासको पढ्ने इच्छा झन् तीव्र बनेर आयो । तर, पढ्ने
कसरी थाहा थिएन । ‘जहाँ जे किताब भेटथे, पढ्ने प्रयास गर्थेँ’ उनी भन्छन्, ‘त्यो किताब कति कक्षाको हो त्यो थाहा नभए पनि आफैँ अध्ययन गर्थे ।’
उनलाई नयाँ कुरा देखे भने कसरी सिक्ने हो भन्ने खुबै इच्छा हुन्थ्यो । सिकेरै छाड्थे पनि ।
स्वअध्ययनलाई निरन्तरता दिँदै काम गर्नु उनको लागि चुनौती त्यतिकै थियो । बिहान उठेदेखि काम सुरु गर्ने उदास बेलुका रातको १० बजेसम्म निरन्तर काममा खटिन्थे । त्यसपछि १ बजेसम्म अध्ययन गर्थे । अध्ययनबाट केही गर्न सकिएला भन्ने लागेपछि उनलाई एसएलसी दिने सोच पलायो । केही जानकार सहयोगीहरुको सहयोर्ग सिधै कक्षा १० मा भर्ना भए शिक्षा सदन स्कुलमा ।
त्यो बेलमा पार्टटाइम जागिर खाँदै अध्ययनलाई पनि निरन्तरता दिँदै गए । पछि एसएलसी उत्र्तीर्ण गरे । लेखामा दख्खल मानिने उदास कोसी अञ्चल मोटर यातायात संघको सह–लेखापालमा नियुक्ति भए जम्मा तीन सय रुपैयाँमा । ‘त्यो बेलाको धेरै रकम हो त्यो’ उनी भन्छन, ‘एक कठ्ठा जग्गाको मात्रै सय रुपैयाँ पथ्र्यो धरानमा । कामको दक्षता हेरेर मेरो नियुक्ति भएको थियो ।’ त्यसपछि उनको जीवनले यु टर्न ग¥यो । महेन्द्र बहुमुखी क्याम्पसबाट आइकम पास गरे । बिकम अध्ययन गर्दागर्दै वैवाहिक जीवनको सुरुवात गर्न पुगेका उदासले पढाइलाई त्यतिकै थाँती राख्नुप¥यो ।
डेढ दुई वर्षको फरकमा तीन छोरीका पिता बनेका उदासलाई एकैपटक जिम्मेवारीले छोप्यो । एक्लैको तलबबाट घर खर्च, कोठा भाडा, बिरामीलगायतमा खर्च हुँदा जीवनलाई थेग्न हम्मे–हम्मे परेपछि उनले श्रीमतीलाई पनि विभिन्न स्थानमा जागिर लगाइदिए । तर, तीन बच्चाकी आमा भनेजस्तो समय दिन नसक्दा त्यो पनि सम्भव नभएको उनी सुनाउँछन् । त्यसपछि उनले त्यो बेला प्रचलनमा आएको स्वेटर बुन्ने मेसिन र केही कामदारहरु राखेर आफैँले नाप नक्सा तयार पारी काम सुरु गरे । त्यसबाट राम्रो आम्दानी बटुल्न थालेका उदासलाई केही समस्या हल्का पनि भयो ।
त्यसपछि २०२८ सालमा कोसी कम्पनीमा नयाँ यात्रु बस थप्ने भएपछि उनले पनि पाँच हजार रुपैयाँ सेयर हाले ।
‘त्यो बेला म लेखापाल भइसकेको थिएँ,’ उनी भन्छन्, ‘२०२४ चैत्र २ गते प्रवेश गरेको थिएँ, चार वर्षमै लेखापाल पद सम्हाल्ने भएँँ ।’ स्वेटरबाट राम्रो आम्दानी लिन सफल बनेपछि धरानमा ६५ हजारमा चार कठ्ठा जमिन किने । पछि बिस्तारै घर बनाए । सङ्घर्ष गरेर पढेका कारण छोराछोरीलाई सुखले पढाउने उनको इच्छामा पनि कहिल्यै पूर्णविराम लागेन । पढाए पनि त्यसरी नै । कोसीमा काम गर्दागर्दै उनको कामगराइको स्तरलाई हेरेर कार्यकारी सचिवसम्मको पद सम्हाल्न पुगे । उनको कार्यदक्षता बढ्दै जाँदा उनी विभिन्न सङ्घ–संस्थामा आवद्ध हुने क्रम बढ्यो । ‘पूर्वाञ्चल मोटर सिन्डकेटमा २०४७ भदौ १८ देखि २०६८ माघ २ गतेसम्म २१ वर्ष अध्यक्ष पदमा रहेर काम गरेँ,’ उनी भन्छन् ।
उनकै पालामा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ र नेपाल यातायात व्यवसायी महासङ्घलाई एकीकरण गरी नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घको स्थापना भयो । हाल उनी पूर्वाञ्चल यातायात व्यवसायी संघ धरानको संरक्षक छन् भने नारायणी पूर्व यातायात व्यवस्थापन समिति, कोसी सार्वजनिक यातायात प्रालि धरान, न्यु कोशी सुपर एक्सप्रेस धरान, कोसी इन्जिनियरिङ वर्कसपको अध्यक्ष छन् ।
एकदर्जन जति सङ्घ–संस्थाआवद्ध उदास अल्पाइन अन्तर्राष्ट्रिय नमुना उच्चमावि तथा एम्स कलेजको अध्यक्षको कार्यभार सम्हालिरहेका छन् । पैसा र नाम भएपछि सबै आफन्त हुने उनको तीतो अनुभव यसरी सेयर गर्छन्, ‘म धरान झर्दा कोही आफन्त थिएनन्, जसले काम दियो ऊ मात्रै । तर, अहिले सामाजिक स्टाटस बनाइसकेपछि सबै आफन्त हुँदा रहेछन् ।’            
 प्रस्तुतिः भोजराज श्रेष्ठ

पसलदेखि उद्योगसम्म

Written By Neplee on Friday, September 21, 2012 | 5:48 AM


पाँच दसकअघि इटहरीका राधेश्याम साह धरानमा अर्काको कपडा पसलमा काम गर्थे । १८ वर्षको त्यो उमेरमा काम गरेर मासिक पाँच सय रुपैयाँ कमाउँथे ।
त्यही कमाएको थोरै पैसा जोहो गरेर किराना पसल गर्ने सोँचले उनी इटहरी झरे । २०२३ सालमा सामान्य लगानीमा किराना पसल खोले । केही कमाइ भएपछि सामान थपे ।
व्यवसायलाई नयाँ तरिकाले गर्ने सोचले गाउँ–गाउँबाट  अन्नबाली खरिद गरी बजारमा ल्याएर बिक्री गर्न थाले । सुरुवातमा यस्तो काम गर्दा उनी मासिक दुई सय रुपैयाँसम्म कमाइ गर्थे । मोरङको बेलबारी, सलकपुर, उर्लाबारी, झापाको स्कुलचौवनलगायतका स्थानसम्म पुगेर किसानले उत्पादन गरेको अन्नबाली खरिद गर्थे । यातायातको सहज पहुँच नभइसकेको त्यो समयमा उनलाई बयल गाडाले सघाउँथ्यो ।
साहले २०४५ सालसम्म यसरी नै गाउँ–गाउँमा गएर अन्नबाली खरीद गर्ने अनि ठूला व्यापारीलाई बिक्री गर्ने काम गरे । सामान बिक्री गर्न विराटनगरसम्म पुग्थे । साइकलमा ओहोर–दोहोर गरेको अतित सम्झदै उनी भन्छन्,  ‘विराटनगरमा सामान बिक्री गरेर इटहरी घर फर्कदा कहिलेकाहीँ रातको १२ बज्थ्यो ।’
व्यवसाय सुरु गर्दा अहोरात्र परिश्रममा रमाउने साहको परिचय अहिले फेरिएको छ । उनी अहिले इटहरीस्थित बाबा शङ्कर लघु उद्योगका सञ्चालक हुन् । उनी अहिले एक सफल उद्यमीका रुपमा चिनिन्छन् ।
२०४५ सालमा भाडामा मिल लिएर सञ्चालन गरेका राधेश्यामले एक वर्षपछि त्यही मिल किने । अहिले उनले सञ्चालन गरेको मिलमा चामल उत्पादन तथा बिक्री गर्न भ्याइ–नभ्याइ हुने गरेको छ । दैनिक सय क्वीन्टल चामल थोक बिक्री हुने गरेको छ ।  खुद्रा भने दैनिक १० क्वीन्टलसम्म जान्छ । उनको मिलबाट धरान, विराटनगर, दमक, विर्तामोड आदि ठाउँका व्यापारीले चामल खरिद गरी लाने गरेका छन् ।
पाँच दशकअघि फर्केर हेर्दा पहिलेको राधेश्याम र अहिलेको राधेश्याममा आकाश–पातालको फरक छ । समयमा सही निर्णय गरेकै कारण उनको जीवनले यसरी युटर्न गरेको  हो । आफ्नो जीवनमा आएको आमूल परिवर्तनबारे उनी भन्छन्,  ‘पहिलाको दुःख बयान गरी साध्ये छैन, अहिले भने त्यस्तो खालको दुःख छैन ।’
पछिल्लो समयमा चामलको व्यापार केही खस्केको छ । पहिलाको तुलनामा व्यापार–व्यवसाय गर्न सहज भए पनि मुनाफा भने सोचेअनुसार नहुने साहको अनुभव छ ।
नयाँपुस्ताका युवाहरुले राम्रो उन्नति गर्न सक्ने बताउँदै जाँगर चलाएर काम गर्न सल्लाह दिन्छन् । साहमा अहिले स्वास्थ्य समस्या देखिएकाले गर्दा छोरा महावीरले मिल सञ्चालन गर्न सहयोग गरिरहेका छन् ।
निरन्तर परिश्रमको फल कहिले खेर नजाने कुराको शाह ज्वलन्त उदाहरण हुन् ।

हङकङको हन्डरपछि स्वदेशमा सफल

Written By Neplee on Friday, August 17, 2012 | 7:00 PM

 स्वदेशमा लुगा सिउने काममा परिवारलाई सघाउँदा–सघाउँदै धेरै पैसा कमाउन हङकङ छिरेका १८ बर्से ठिटाले त्यहाँ धेरै हन्डर खाएपछि नेपालै फर्किएर आफैंले व्यवसाय गर्ने सोच बनाए । र, उनले इटहरी कार्यक्षेत्र बनाएर २०–२५ हजार रूपैयाँको लगानीबाट पोसाक बनाउने काम सुरु गरे । एन्जल टेलर्सका नामबाट सुरु भएको उनको काम आज पूर्वाञ्चलमै व्यावसायिक नमुनाका रुपमा लिन लिइन्छ ।
सहरमा धेरै टेलर्स छन् तर उनकोमा समय पर्खेर भए पनि लुगा सिलाउनेहरूको भिड लाग्नेगर्छ । व्यापार सुरुवाती वर्षको भन्दा दसौं गुणा बढेको छ । काठमाडौंबाट मात्र होइन, विदेशबाट समेत कामका लागि प्रस्ताव आउँछ, तर उनी भन्छन्, ‘मलाई आफ्नो गाउँ छाडेर कतै जानु छैन ।’
२०२७ सालमा भोजपुरमा जन्मिएका भाइसन बर्देवा टेलरिङको क्षेत्रमा निकै पुरानो नाम हो । इटहरीमा बाबु बाजेले गर्दै आएको टेलरिङर्को काम उनले स्कुल पढ्दादेखि नै सिकेका हुन् । तीक्ष्ण दिमाग र मेहेनती स्वभाव भएका उनले स्कुले जीवनमा नै टेलरिङको राम्रो अनुभव हासिल गरिसकेका थिए । पछि काठमाडौमा उच्च शिक्षा पढ्दाताका क्याम्पसमा लाग्ने शुल्क तिर्नकै लागि गरेको कडा मेहनतले उनलाई आज टेलरिङ क्षेत्रमा दक्ष बनाएको छ ।
काठमाडौंमा आरआर क्याम्पसमा पढ्दा दिनको १२ घन्टासम्म काम गर्थे उनी । ‘मारवाडीको टेलर्समा भारतीय कामदारभन्दा म राम्रो काम गर्थेँ,’ उनले भने, ‘राम्रो काम गरेकै कारण सुरुवाती महिनामै मासिक पाँच–छ हजार रूपैयाँसम्म कमाउँथेँ ।’
प्रमाणपत्र तह सकिएसँगै उनी साथीहरूको एउटा समूहसँग लागेर मासिक २५ हजार रूपैयाँ कमाउने लोभमा हङकङ हानिएका थिए । तीन वर्षको लागि दलालमार्फत् त्यहाँ पुगेका उनी भिसा समस्याका कारण डेढ वर्षमै नेपाल फर्किन बाध्य भए । कमाइ राम्रै भए पनि भीसा र कानुनी झन्झटका कारण उनी रित्तो हात नेपाल फर्किएका थिए ।
हङकङमा हन्डर खाएर नेपाल फर्केका बर्देवाले सुरुमा भारतबाट कपडा ल्याएर रेडिमेट लुगा बनाएर बेच्न थाले । प्याकिङ गर्ने सामान समेत भारतबाटै ल्याउँथे । यसरी बनाएको रेडिमेट लुगा विराटनगर तथा धरानका पसलहरूमा बेच्थे । व्यापार रामै्र भए पनि पैसा समयमा नउठ्दा समस्या हुन्थ्यो ।
हिम्मत नहार्ने स्वभावका बर्देवाले त्यही सिकाइ अनुभवका आधारमा आफ्नै टेलर्स सुरु गर्ने सोच बनाए । २०४८ सालमा इटहरी चोकको दुई तले घरमा तलामाथि टेलर्स खोले, नाम दिए, एञ्जल टेलर्स । ‘तलामाथि व्यापार गरेको देखेर धेरैले मलाई पागल भन्दै जिस्क्याए,’ उनले भने, ‘तलामाथि व्यापार नै नहुने त्यो बेलाको अवस्थामा पनि तलामाथि नै कोठा भाडामा लिएर काम सुरु गरेँ ।’
भुइँतलामा कोठा पाउन गाह्रो र पाइहाले पनि महँगो हुने हुँदा उनले पैसा बचाउनका लागि तलामाथिको कोठा भाडामा लिएका थिए । ‘भाडा तिर्न नसक्ला भनेर भुइँतलामा कोठा दिन पनि हिच्किचाउँथे घरधनी,’ उनले भने । परिवार र एक दुईजना कामदारको सहयोगबाट सुरु भएको उनको टेलर्समा अहिले बीसभन्दा बढी कामदार छन् । निरन्तर श्रम गर्ने मानिस नै सफल हुने बताउँदै उनी भन्छन्, ‘सफलताका लागि इमान्दारिता र राम्रो व्यवहार चाहिन्छ, श्रम गर्न र सिक्न लजाउनु हुँदैन ।’
इमान्दार र नम्र स्वभावका बर्देवा सहयोगी पनि छन् । काठमाडौंमा हुँदासमेत आफूले मेहनत गरेर कमाएको पैसाले कति दिन त अभावमा छट्पटिएका साथीलाई खानासमेत खुवाए । ‘त्यो मेरो दायित्वजस्तै थियो,’ उनले भने, ‘मैले पैसाभन्दा पनि साथी कमाएँ ।’
चिनेजानेकोबाट पाएको सहयोग र सद्भावकै कारण आफूले व्यवसायमा राम्रो गरेको बताउने बर्देवा व्यापार बिस्तार गर्ने योजना बनाएका छन् । आफ्नै ब्रान्डिङ गर्नुका साथै कपडाको होलसेल सुरु गर्ने र समयको मागलाई बुझेर अनलाइन व्यवसाय गर्ने उनको सोच छ ।
‘विदेशमा रहेका नेपालीले विवाह गर्दा ढाकाको लुगा, दौरा–सुरुवाल, चौबन्दी चोली लगाउन चाहे भने अर्डर गर्न मिल्ने गरी वेबसाइटबाट व्यापार बढाउने तयारीमा छु,’ उनले भने । उनको अनुभवमा व्यवसायीले एकैपटक कहिल्यै प्रगति गर्न सक्दैन । ‘एक–एक पाइला गरेर अघि बढ्ने हो,’ उनले भने, ‘श्रमलाई इज्जत गर्ने हो भने इज्जत र पैसा दुवै कमाइन्छ ।’
त्यस्तै, जीवनसाथीको साथ र सहयोगविना कोही सफल व्यवसायी बन्न नसक्ने बर्देवा बताउँछन् । दुवै मिलेर काम गर्ने हो भने, श्रीमतीले हिम्मत थपिदिने हो भने काम सफल बन्दै जाने उनको अनुभव छ ।
बर्देवा एक सफल व्यवसायीका साथै कुशल कलाकार पनि हुन् । राष्ट्रिय जागृति क्लब इटहरीमा सक्रिय रहँदाको समयमा भएका सांस्कृतिक कार्यक्रमका कारण उनी साहित्यतिर तानिए । उनले लेखेका डेढ सयभन्दा बढी गीतमध्ये पाँच दर्जन जति रेकर्डसमेत भएका छन् । रामकृष्ण ढकाल, कर्णदास, ईश्वर अमात्य, स्वरूपराज आचार्य, सपनाश्री, सुमित खड्कालगायतका गायकले उनका शब्दमा स्वर दिएका छन् ।
रेकर्ड भएका गीतमध्ये ईश्वर अमात्यले गाएको ‘भुलुँ कसरी, नभुलुँ कसरी’ बोलको गीतले गायक र लेखक दुवैलाई छोएको अनुभव सुनाउने बर्देवाले इटहरी डट कम र मनका कुरा नामक एल्बम निकालेका छन् भने तेस्रो एल्बमको तयारी समेत गर्दैछन् । आफ्नो ठाउँलाई अत्यन्तै माया गर्ने बर्देवा भन्छन्, ‘आफूले काम गरेको ठाउँको लागि गीत सिर्जना गर्ने कोसिस गर्दैछु ।’
प्रस्तुति ः हिमाल दहाल

सङ्घर्षले बनायो करोडपति

Written By Neplee on Friday, June 15, 2012 | 9:44 AM

साइकल चढेर पाइडिल चलाउँदै सरर गुड्ने सपनाले उनलाई निकै अघिदेखि कुत्कुत्याए पनि २०४९ सालमा मात्र सपनाले साकार रूप लियो । एक हजार रूपैयाँमा सेकेन्ड ह्यान्ड हिरो रेन्जर साइकल किनेको रात उनी खुसीले निदाउनै सकेनन् । भन्छन्, ‘त्यतिखेर त संसारै जिते झैं लागेको थियो ।’
साइकल हात परेलगत्तै उनी मोरङको विराटचौकबाट पूर्वतर्फ हानिए । बिहान ४ बजे उठेर झापाको सुरुङ्गा पुगेर पैसा उठाएर फर्किए । आफ्नै मेहनत र पौरखले साइकल किनेका उनी अहिले लाखौँ पर्ने गाडी चढ्छन् । भन्छन्, ‘मेहेनत गरेपछि फल पाउनु स्वभाविक हो ।’
माथिको अनुभव व्यवसायी तथा समाजसेवी भोला दुलालको हो । सामान्य परिवारमा जन्मिएर किसोरावस्थामै मजदुरी गर्न बाध्य उनी आफ्नो अथक मेहनत र सङ्घर्षका कारण आज २६ वटा उद्योग–व्यवसायका मालिक बनेका छन् । निरन्तर सङ्घर्ष गरे प्रतिफल राम्रै आउँछ भन्ने कुराको पुष्टि दुलालको जीवनीले गरेको छ ।
२०३२ साल वैसाख १८ गते घनश्याम दुलाल र आमा दुर्गादेवीको कान्छो सन्तानका रूपमा मोरङ राजघाटमा जन्मेका भोला (भोलेश्वर) दुलालले २८ वर्षको अन्तरालमा ठूलो आर्थिक फड्को मारे ।
छ महिनाको शिशु अवस्थामा पितालाई गुमाएका उनले पिरामा माटोले लेखेर अध्ययन सुरु गरेका हुन् । आर्थिक अभावका कारण अध्ययनका लागि समेत समस्या भएपछि उनलाई सामान्य सरकारी विद्यालयमा भर्ना गरियो । राजघाटकै भानु निमाविबाट उनले आठ कक्षासम्म अध्ययन गरे । त्यसपछि एसएलसीसम्मको अध्ययन गर्न उनी उर्लाबारीको राधिका मावि पुगे । आईए र बीए पनि उर्लाबारीमा पढेका उनी त्यतिञ्जेलसम्म आफ्नै खुट्टामा उभिन सक्ने भइसकेका थिए । मजदुरी गरेरै उनले आफ्नो व्यावसायिक जीवनको सुरुवात गरेका हुन् ।
जीवन निर्वाहको सङ्घर्षको क्रममा उनले झापाको दमकमा रहेको सञ्जीव मिल–मेसिनरीमा काम गरे । त्यतिखेर उनको पारिश्रमिक मासिक दुई सय रूपैयाँ थियो । ‘मलाई दुई सय रूपैयाँभन्दा पनि खान र लाउन पुगे केही चाहिन्नथ्यो,’ उनले भने, ‘त्यो बेला आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मनोभाव त थियो तर ठूलो सपना केही थिएन ।’
पसलको काम गर्न राखिएका उनलाई घरको समेत काम लगाइन्थ्यो । उनी चुपचाप गर्थे । उनले अढाइ वर्षसम्म यो काम गरे । अढाई वर्षपछि उनले आफूले कमाएको र पाउन बाँकी रकमको हिसाबकिताब गरे । ‘मैले अढाई वर्षमा १५० रूपैयाँ मात्रै थापेको रहेछु,’ उनले भने, ‘हिसाबकिताब गर्दा मैले पाउन बाँकी १८ हजार रूपैयाँ रहेछ ।’ एकैपटक  धेरै रकम पाएको त्यही पहिलो घटना भएको उनले सुनाए ।
पाएको रकमले व्यवसाय गर्ने विचार गरेर उनले आफ्नो योजना परिवारमा सुनाए । त्यसपछि दाजुले भारत गएर श्रम गरी ल्याएको ३६ हजार नेपाली रूपैयाँ र माइजुले गहना राखेर दिएको १६ हजार मिलाएर ७० हजारमा २०४८ साल जेठमा सत्कार मिल मेसिनरी कन्सर्न सञ्चालनमा ल्याए । त्यही कन्सर्नले उनलाई आजका मितिमा निकै ठूलो व्यापारी बन्न सघाएको हो ।
मोरङको विराटचोकमा रहेको एकमात्र पक्की घरमा एकहजार रूपैयाँ भाडा तिर्ने गरी सुरु गरेको उनको व्यवसाय कृषक केन्द्रित थियो । भारतको रक्सौलबाट वीरगञ्ज हुँदै सामग्री ल्याएर बिक्री गर्ने उनले होम सर्भिससमेत प्रदान गर्न थाले । कामप्रतिको लगाव र मेहनतका कारण उनी चाँडै सबैको विश्वासपात्र भए । दाजु कृष्णप्रसाद दुलाल र उनलाई व्यवसाय चलाउन भ्याई–नभ्याई हुन थाल्यो । सुरुवातमा आफैँ काम गर्न बसेका उनीहरूले पछि मेकानिक राखे । ‘त्यतिबेलाका कर्मचारीले अहिलेसम्म पनि काम गरिरहेका छन्’, उनले भने ।
दुलालले १० वर्षसम्म त्यही कामलाई  निरन्तरता दिए । २०५८ सालमा भने एक करोड १० लाख रूपैयाँको लगानीमा पूर्वाञ्चल ल्यूब आयल स्थापना गरे । यस उद्योगले पनि उनलाई सफलता दिलायो । क्रमशः उनले एकपछि अर्को व्यवसाय सञ्चालन गर्दै गए । अहिले उनी अटो ल्यूब प्रालि, जी सेभेन पेन्ट्स प्रालि, ओस्कर इण्डष्ट्रिज प्रालि, अन्नपूर्ण अटो ट्रेड लिङ्क, हेलेन इन्टरनेशनल प्रालि, जीप्याक इण्डष्ट्रिज प्रालि, चाँदनी आयल प्रालि, कलश अटो प्रालिलगायतका २६ वटा उद्योग व्यवसायका मालिक छन् । उनको उद्योग व्यवसायमा करिब पाँच सय युवाले रोजगार पाएका छन् ।
दुलालका अनुसार सफल व्यवसायी बन्नुमा व्यवसायको प्रकृति र आफूले जानेको सीप नै प्रमुख कारक थियो । उनले गरेका व्यवसाय डेट एक्सपायर नहुने खालका थिए । मिल मेसिनरी, लुब्रिकेन्टसलगायत चाँडै नबिग्रने सामग्रीको व्यापारले सफल बन्न सहयोग गरेको हो । अहिलेको परिवेशमा युवापुस्ता श्रमका लागि विदेशिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै उनले मेहनत र सङ्घर्षबाट बिचलित नहुन आग्रहसमेत गर्ने गरेका छन् ।
दुलाल व्यवसायी मात्र होइनन्, समाजसेवी पनि हुन् । सानैदेखि रक्तदानलाई जीवनदान मान्ने उनले हालसम्ममा ९१ पटक रक्तदान गरिसकेका छन् । व्यवसायीको हकहितका लागि उनले विभिन्न सङ्गठनको नेतृत्वसमेत सम्हालेका छन् । इन्द्रपुर व्यापार प्रबन्ध समितिका पूर्वअध्यक्ष, मोरङ व्यापार सङ्घका सचिव, उर्लाबारी जेसीज वर्ष २००५ का अध्यक्ष, लायन्स क्लब अफ इन्द्रपुरका संस्थापक अध्यक्षसमेत भएका उनी अहिले पनि दर्जनभन्दा बढी सामाजिक सङ्घ–संस्थामा आवद्ध छन् । व्यावसायिक सफलताका लागि कल्पनामा रम्ने मात्रै नभई निरन्तर लगनशील भएर काम गर्नुपर्ने तथा व्यवसायको सम्भाव्यता र जोखिमको अध्ययन भने सुरुमै गर्नु राम्रो हुर्न सुझाव उनको छ ।      
प्रस्तुति : सुदीप कोइराला

शिक्षा र संस्कार भए पछाडि फर्कनु पर्दैन

Written By Neplee on Tuesday, May 15, 2012 | 9:36 AM

जीवनलाई परिभाषा गर्नेहरुले ‘सङ्घर्ष नै जीवन हो, सुख–दुःखको सङ्गम नै जीवन हो’ आदि अनेक परिभाषा दिएका छन् । लामो समयदेखि सञ्चारउद्यमीको रूपमा रहेका दिनेश सुवेदी जीवनलाई परिभाषित गर्दै भन्छन्, ‘काम नै जीवन हो, पूजा हो, अनि जीवन खुसी र सुखी बनाउने आधार ।’
टिभीनेट प्रालि, प्रिन्स केवल नेटवर्क प्रालि, मारुती ग्याँस उद्योग, ग्रिन इनर्जी बेलबारी, मकालु टेलिभिजन प्रालि, प्लस कम्युनिकेशन प्रालिलगायतका आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएका विराटनगर–१३ निवासी दिनेश सुवेदीको जीवन सङ्घर्षको एउटा उदाहरण बनेको छ ।
सामान्य वृmषक परिवारमा जन्मिएका सुवेदी पुस्तौनी समाजसेवी तथा प्रतिष्ठित परिवारकारूपमा चिनिन्थे । परिवारको उदार स्वभाव र कल्याणकारी व्यवहारप्रति आज पनि उत्तिकै गौरवान्वित सुवेदी आफ्नो प्रगतिको जस आमाबुबालाई दिन्छन् । माइला छोराका रूपमा जन्मिए पनि २०३७ सालमा भाइ नरेशको स्वर्गारोहणपछि उनले कान्छोसरहकै माया पाएका थिए ।
हजुरबुवाको मार्गनिर्देशनलाई जीवनमा लागू गर्ने सुवेदीले हजुरबुबा र बुबाका सही सोच, इमान्दारीपन, कर्मशीलताका साथै धैर्यताजस्ता गुणलाई अबलम्बन गरेका छन् । पछिल्लो समयका युवाहरूले शिक्षा पाए पनि संस्कारको भने अभाव रहेको उनको बुझाइ छ । शिक्षा र संस्कारलाई सँगसँगै लिएर अघि बढ्ने युवाले कहिल्यै असफताको सामना गर्नु नपर्ने उनी बताउँछन् ।
सानैदेखि व्यापारमा रुचि भएका सुवेदीले मित्र सुबोधराज प्याकुरेलसँग मिलेर २०४१ सालमा बैङ्कबाट ऋण लिएर एमएम प्लाष्टिक उद्योगमा लगानी गरेका थिए । ऋण लिएकै कारणले उनले परिवारबाट छुट्टिनुप¥यो । ‘छोराले कर्जा लियो, अब भएको सम्पत्ति सबै सकिन्छ भन्ने सोचले परिवारले मलाई अंशबन्डा गरेर छुट्याइदियो ।’ उनले भने, ‘परिवारलाई राम्रो होस् भनेर केही गर्न चाहेको थिएँ, सायद ममाथि विश्वास भएनछ ।’
एकातिर ऋण तिर्ने चिन्ता, अर्कोतिर परिवारबाटै छुट्टिनुपरेको पीडा । ‘तर सङ्घर्षलाई नै जीवन मानेर मैले पूर्ण विश्वास र हिम्मत सँगालेँ ।’ सुवेदीले भने, ‘चुनौतीकै बीचमा गरेको अथक मेहनतले मलाई सफल बनायो ।’
सुवेदी एमएम प्लाष्टिक उद्योगको स्थापनापछि रात–दिन नभनी खटे । उनी कम्पनीका मालिक थिए, तर खर्च जोगाउन र अनुभव बटुल्न आफैँ बजार व्यवस्थापनदेखि अपरेटरको रूपमासमेत खटे । अन्ततः उनले व्यवसायमा सफलता हासिल गरे ।
लगत्तै उनले एउटा व्यवसायबाट पाएको सफलता र नाफालाई अर्को उद्योग स्थापनाको लागि प्रयोग गरे ।  आधादर्जन निजी तथा साझेदारी गरी सुवेदी एक दर्जन बढी व्यावसायिक प्रतिष्ठानमा संलग्न छन् ।  उनका उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा दुई सय ५० भन्दा बढी युवा जनशक्तिले रोजगारी पाएका छन् । समाजमा केही गरौँ भन्ने मनोभाव बोकेका उनले चाँडै थप नयाँ क्षेत्रमा लगानी गर्ने योजनासमेत बनाएका छन् ।
बाल्यकालदेखि नै व्यवसायलाई प्राथमिकता दिएर जीवनको गोरेटो तय गर्ने उनको उद्देश्य निर्धारणका पछाडि आफूमा नीहित निजी स्वतन्त्रता र स्वाभिमानलाई आफ्ना लागि आफ्नै बुद्धिमताबाट उपयोग गर्नुपर्छ भन्ने थियो । जीवनको उर्जावान समय आफ्नै लागि खर्चिनुपर्छ भन्ने सोच राखेका सुवेदीले आज सफल व्यवसायीको रूपमा आपूmलाई चिनाएका छन् ।
२०१५ सालमा तेह्रथुम जिल्लामा आमा कृष्णमाया र बुवा जयप्रसाद सुवेदीको माइला छोराको रूपमा जन्मिएका दिनेश सुवेदीले हजुरवुवाको साथ र माया बढी पाए । बुवा कामको सिलसिलामा प्रायः घरदेखि बाहिरै रहनु परेकाले उनले हजुरबुबाको साथ र माया बढी पाएका थिए । हजुरबुबालाई आफ्नो आदर्श मान्ने उनले बाल्यकालमा कडा अनुशासनमा भने बस्नुपरेन ।
बाल्यकालकै एक समय उनले निकै मोजमस्ती गरेर छ महिना बिताए । पछि, एकदिन हजुरबुबाले बोलाएर छ महिनाभरिको विवरण सोधे । सुवेदीले कुनै उल्लेख्य प्रगति भन्न सकेनन्, न त त्यसबीचमा उनले राम्रो पढेका नै थिए । ‘मैले छ महिनाको समय त्यत्तिकै बिताएको थाहा पाएपछि मलाई हजुरबुबाले उपदेश दिनुभयो ।’ उनले भने, ‘ठीक समयमा पाएकाले होला, ती उपदेशहरू मैले जीवनभर बिर्सिँन ।’
उनका हजुरबुबाले खर्च गर्न मन लागेका कुरा गर्नु तर त्यसलाई आफूमा हावी हुन नदिनु, राम्रो वा नराम्रो, सही वा गलत छुट्याएर मात्र अघि बढ्नु, दिनभरिको खर्चको हिसाब बेलुकी कापीमा सधैँ लेख्ने गर्नु, अनि त्यसलाई महिनैपिच्छे जाँच्ने गर्नु र त्यो गरेको कामको मूल्याङ्कन गर्नु भनेर उपदेश दिएका थिए । सुवेदीले हजुरबुबाको उपदेशलाई अक्षरशः पालना गरे । ‘त्यसपछि मैले थाहा पाएँ, मोजमस्तीमा समय र पैसा दुवै नास गरेको रहेछु,’ उनले भने ।
सानो ठूलो नभनी आफूलाई रुचि लागेको कामको पूर्ण ज्ञान लिएर हात हाल्न सल्लाह दिन्छन् ।
बाल्यकालमा नै हलो जोत्नेदेखि लिएर हलो बनाउनेसम्मको सीप सँगालेका उनी २०२६ सालमा विराटनगर प्रवेश गरेका थिए । ६ कक्षासम्म आदर्श मावि र ९ कक्षासम्म सत्यनारायण माविबाट पूरा गरेका उनले एसएलसी भने काठमाडौंको पद्मोदय स्कूलबाट गरे । उनको उच्चशिक्षा लिने तिर्खा आरआर क्याम्पस काठमाडौँले मेटेको थियो ।
समयको महत्व बुझ्ने र व्यापारमा रमाउने सुवेदीले विद्यालयमा अध्ययन गर्दाताका नै काका र दाइहरूसँग मिलेर घरव्यवहारमा आवश्यक सरसामानको सप्लाइसम्बन्धी व्यापार सुरु गरेका थिए । एसएलसीपछिको खाली समयलाई बेलबारीमा बसेर काँटा र किराना पसल सञ्चालन गरी उपयोगमा ल्याए । पछि अध्ययनसँगै केही गरौँ भनेर राजधानी छिरेका सुवेदीले त्यहाँ पनि आरआर सप्लायर्स नामक फर्म खोलेर कार्यालय सामग्री, इन्टरकम तथा छपाइका कामहरू गरे । २०३४ सालदेखि टिम्बरको काम थालेका उनले २०४४ सालदेखि पाथीभरा कन्स्ट्रक्सन प्रालिको काम सञ्चालन गरेका थिए ।
२०५२ सालमा नेपालमै पहिलोपटक केवल व्यवसायको लाइसेन्स लिएर सिटी केवल प्रालिको काम र २०६७ सालदेखि मकालु टेलिभिजन सुरु गरेर उनले सञ्चारउद्यमीको परिचय पनि बनाएका छन् । आफूसमेत पाँच साथी मिलेर २०५७ सालदेखि मारुति ग्याँस उद्योग प्रालि (सुविधा ग्याँस) सञ्चालनमा ल्याएका सुवेदी व्यवसायसँगै समाजसेवामा पनि रुचि राख्छन् ।
सुवेदीका एक श्रीमती र दुई छोरा छन् । उनकी श्रीमती गङ्गा सुवेदी साहित्य समाजसेवा र चित्रकलामा परिचित नाम हो । चेतना संरक्षण प्रतिष्ठानजस्तो सम्मानित संस्थाकी अध्यक्ष रहनुका साथै उनका निकै कृतिहरू प्रकाशित भइसकेको सुवेदी बताउँछन् । उनका जेठा छोरा दिपेशले मकालु टेलिभिजन सञ्चालन गरेका छन् भने कान्छा छोरा दिवस प्रिन्स केवल नेटवर्क सञ्चालन गरिरहेका छन् ।
प्रस्तुती: सुदीप कोइराला

जागिर नखाँदा करोडपति

Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM


    एक सय ५० रुपैयाँ बोकेर झापाको महाभारा गाविसबाट रोजगारको सिलसिलामा धरान आएको एउटा ठिटोले २०४९ सालदेखि बसमा कण्डक्टरको काम गर्न थाल्यो । अर्काको बसमा काम गर्दा त्यति कमाइ भएन । हात–मुख जोर्न धौ–धौ पर्न थाल्यो । त्यसैले अलिकति आँट गरेरै भए पनि कण्डक्टर काम गरेको बाह्र वर्षपछि बसमा लगानी गरेर व्यवसाय सुरु ग¥यो । लगानी गरेको पाँच वर्षको अवधिमै ऊ लाखौ रुपैयाँ कमाउने सफल भयो ।
निरन्तर सङ्घर्षपछि सफल बनेका ती व्यवसायी हुन् धरानका कमल भट्टराई ।
२०४८ सालमा सरकारी जागिरको लागि दुई पटकसम्म लोकसेवाको परीक्षामा सहभागी भए पनि उनले पास गर्न सकेनन् । जागिर खान नपाएको झोँकमा धरान आएका भट्टराईले कण्डक्टरको पेसा अपनाए । कण्डक्टरदेखि चालक हुँदै लगानीकर्ता बनेका भट्टराईले दुईवटा बस र तीनवटा ट्रक किनेका छन् । यसै व्यवसायबाट जग्गासमेत किनेका भट्टराई अझै पनि मजदुरी गर्छन् भने एक दर्जन मजदुरलाई रोजगारीसमेत दिइरहेका छन् । उनी भन्छन्, ‘सरकारी जागिर खाएको भए जीवनभर पनि यति कमाउन सक्दिनथेँ होला ।’
सामान्य परिवारमा जन्मेका भट्टराईको बाल्यकाल मात्र होइन युवाअवस्था पनि अभावमै बित्यो । आईकमसम्मको अध्ययन गरेका उनलाई अध्ययन अघि बढाउनसमेत आर्थिक समस्या भयो । जागिर खान खोज्दा त्यहाँ पनि असफल भएपछि घर छाडेर केही सिक्ने र कमाउने लालसा बोकेर उनी धरान छिरेका हुन् । २०५७ सालमा विवाह–बन्धनमा बाँधिएका उनी विवाहपछि झन् समस्यामा जेलिए । परिवारको छाक टार्न समस्या पर्न थालेपछि उनले रात–दिन काम गरे । आखिरमा कडा परिश्रम, दृढ इच्छाशक्तिले उनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।
पाँच सय रुपैयाँ तलबमा काम सुरु गर्दाको क्षण एउटा दुखद सपनाजस्तै लाग्छ उनलाई । आफ्नो सफलताका पछाडि पहिलाका साहु दिनेश खड्का, मामा कृष्ण आचार्य र श्रीमती सन्ध्या भट्टराईको हात रहेको बताउँछन् उनी ।
भट्टराई व्यवसायी मात्र होइइन्, मजदुर नेतासमेत हुन् । नेपाल यातायात मजदुर स्वतन्त्र मजदुर सङ्गठन धरानको अध्यक्ष हँुदा उनले नेपालमै पहिलो पटक इलाका प्रहरी कार्यालय धरानमा चालक गृह निर्माण गराए । ट्राफिक सचेतनमामूलक होर्डिङ बोर्ड राख्ने कामलाई समेत तीव्रताका साथ अघि बढाएका उनी आर्थिक अवस्था कमजोर भएका मजदुर तथा परिवारलाई सहयोग गर्न सधैँ अघि सर्छन् ।

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved