
उनको त्यहाँ चित्त थामिएन । फेरि दोस्रो पल्ट भागे २०१३ सालमा । आइपुगे उही धरान । उनी सम्झन्छन्, ‘त्यसपछि मात्रै काम खोजे ।’ स–सना पसलहरुबाट काम सुरु गरेका उदासले जम्मा १० रुपैयाँ पहिलो पटक काम पाए । १० रुपैयाँबाट काम सुरु गरेका उदासमा पढ्ने भोक भने कहिल्यै हराएन ।
मारवाडीको पसलमा काम गर्दा उनका छोराछोरीले पढेका देख्दा उदासको पढ्ने इच्छा झन् तीव्र बनेर आयो । तर, पढ्ने
कसरी थाहा थिएन । ‘जहाँ जे किताब भेटथे, पढ्ने प्रयास गर्थेँ’ उनी भन्छन्, ‘त्यो किताब कति कक्षाको हो त्यो थाहा नभए पनि आफैँ अध्ययन गर्थे ।’
उनलाई नयाँ कुरा देखे भने कसरी सिक्ने हो भन्ने खुबै इच्छा हुन्थ्यो । सिकेरै छाड्थे पनि ।
स्वअध्ययनलाई निरन्तरता दिँदै काम गर्नु उनको लागि चुनौती त्यतिकै थियो । बिहान उठेदेखि काम सुरु गर्ने उदास बेलुका रातको १० बजेसम्म निरन्तर काममा खटिन्थे । त्यसपछि १ बजेसम्म अध्ययन गर्थे । अध्ययनबाट केही गर्न सकिएला भन्ने लागेपछि उनलाई एसएलसी दिने सोच पलायो । केही जानकार सहयोगीहरुको सहयोर्ग सिधै कक्षा १० मा भर्ना भए शिक्षा सदन स्कुलमा ।
त्यो बेलमा पार्टटाइम जागिर खाँदै अध्ययनलाई पनि निरन्तरता दिँदै गए । पछि एसएलसी उत्र्तीर्ण गरे । लेखामा दख्खल मानिने उदास कोसी अञ्चल मोटर यातायात संघको सह–लेखापालमा नियुक्ति भए जम्मा तीन सय रुपैयाँमा । ‘त्यो बेलाको धेरै रकम हो त्यो’ उनी भन्छन, ‘एक कठ्ठा जग्गाको मात्रै सय रुपैयाँ पथ्र्यो धरानमा । कामको दक्षता हेरेर मेरो नियुक्ति भएको थियो ।’ त्यसपछि उनको जीवनले यु टर्न ग¥यो । महेन्द्र बहुमुखी क्याम्पसबाट आइकम पास गरे । बिकम अध्ययन गर्दागर्दै वैवाहिक जीवनको सुरुवात गर्न पुगेका उदासले पढाइलाई त्यतिकै थाँती राख्नुप¥यो ।
डेढ दुई वर्षको फरकमा तीन छोरीका पिता बनेका उदासलाई एकैपटक जिम्मेवारीले छोप्यो । एक्लैको तलबबाट घर खर्च, कोठा भाडा, बिरामीलगायतमा खर्च हुँदा जीवनलाई थेग्न हम्मे–हम्मे परेपछि उनले श्रीमतीलाई पनि विभिन्न स्थानमा जागिर लगाइदिए । तर, तीन बच्चाकी आमा भनेजस्तो समय दिन नसक्दा त्यो पनि सम्भव नभएको उनी सुनाउँछन् । त्यसपछि उनले त्यो बेला प्रचलनमा आएको स्वेटर बुन्ने मेसिन र केही कामदारहरु राखेर आफैँले नाप नक्सा तयार पारी काम सुरु गरे । त्यसबाट राम्रो आम्दानी बटुल्न थालेका उदासलाई केही समस्या हल्का पनि भयो ।
त्यसपछि २०२८ सालमा कोसी कम्पनीमा नयाँ यात्रु बस थप्ने भएपछि उनले पनि पाँच हजार रुपैयाँ सेयर हाले ।
‘त्यो बेला म लेखापाल भइसकेको थिएँ,’ उनी भन्छन्, ‘२०२४ चैत्र २ गते प्रवेश गरेको थिएँ, चार वर्षमै लेखापाल पद सम्हाल्ने भएँँ ।’ स्वेटरबाट राम्रो आम्दानी लिन सफल बनेपछि धरानमा ६५ हजारमा चार कठ्ठा जमिन किने । पछि बिस्तारै घर बनाए । सङ्घर्ष गरेर पढेका कारण छोराछोरीलाई सुखले पढाउने उनको इच्छामा पनि कहिल्यै पूर्णविराम लागेन । पढाए पनि त्यसरी नै । कोसीमा काम गर्दागर्दै उनको कामगराइको स्तरलाई हेरेर कार्यकारी सचिवसम्मको पद सम्हाल्न पुगे । उनको कार्यदक्षता बढ्दै जाँदा उनी विभिन्न सङ्घ–संस्थामा आवद्ध हुने क्रम बढ्यो । ‘पूर्वाञ्चल मोटर सिन्डकेटमा २०४७ भदौ १८ देखि २०६८ माघ २ गतेसम्म २१ वर्ष अध्यक्ष पदमा रहेर काम गरेँ,’ उनी भन्छन् ।
उनकै पालामा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ र नेपाल यातायात व्यवसायी महासङ्घलाई एकीकरण गरी नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घको स्थापना भयो । हाल उनी पूर्वाञ्चल यातायात व्यवसायी संघ धरानको संरक्षक छन् भने नारायणी पूर्व यातायात व्यवस्थापन समिति, कोसी सार्वजनिक यातायात प्रालि धरान, न्यु कोशी सुपर एक्सप्रेस धरान, कोसी इन्जिनियरिङ वर्कसपको अध्यक्ष छन् ।
एकदर्जन जति सङ्घ–संस्थाआवद्ध उदास अल्पाइन अन्तर्राष्ट्रिय नमुना उच्चमावि तथा एम्स कलेजको अध्यक्षको कार्यभार सम्हालिरहेका छन् । पैसा र नाम भएपछि सबै आफन्त हुने उनको तीतो अनुभव यसरी सेयर गर्छन्, ‘म धरान झर्दा कोही आफन्त थिएनन्, जसले काम दियो ऊ मात्रै । तर, अहिले सामाजिक स्टाटस बनाइसकेपछि सबै आफन्त हुँदा रहेछन् ।’
प्रस्तुतिः भोजराज श्रेष्ठ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !