हङकङको हन्डरपछि स्वदेशमा सफल - College Times : Educational Magazine
Headlines News :
Home » » हङकङको हन्डरपछि स्वदेशमा सफल

हङकङको हन्डरपछि स्वदेशमा सफल

Written By Neplee on Friday, August 17, 2012 | 7:00 PM

 स्वदेशमा लुगा सिउने काममा परिवारलाई सघाउँदा–सघाउँदै धेरै पैसा कमाउन हङकङ छिरेका १८ बर्से ठिटाले त्यहाँ धेरै हन्डर खाएपछि नेपालै फर्किएर आफैंले व्यवसाय गर्ने सोच बनाए । र, उनले इटहरी कार्यक्षेत्र बनाएर २०–२५ हजार रूपैयाँको लगानीबाट पोसाक बनाउने काम सुरु गरे । एन्जल टेलर्सका नामबाट सुरु भएको उनको काम आज पूर्वाञ्चलमै व्यावसायिक नमुनाका रुपमा लिन लिइन्छ ।
सहरमा धेरै टेलर्स छन् तर उनकोमा समय पर्खेर भए पनि लुगा सिलाउनेहरूको भिड लाग्नेगर्छ । व्यापार सुरुवाती वर्षको भन्दा दसौं गुणा बढेको छ । काठमाडौंबाट मात्र होइन, विदेशबाट समेत कामका लागि प्रस्ताव आउँछ, तर उनी भन्छन्, ‘मलाई आफ्नो गाउँ छाडेर कतै जानु छैन ।’
२०२७ सालमा भोजपुरमा जन्मिएका भाइसन बर्देवा टेलरिङको क्षेत्रमा निकै पुरानो नाम हो । इटहरीमा बाबु बाजेले गर्दै आएको टेलरिङर्को काम उनले स्कुल पढ्दादेखि नै सिकेका हुन् । तीक्ष्ण दिमाग र मेहेनती स्वभाव भएका उनले स्कुले जीवनमा नै टेलरिङको राम्रो अनुभव हासिल गरिसकेका थिए । पछि काठमाडौमा उच्च शिक्षा पढ्दाताका क्याम्पसमा लाग्ने शुल्क तिर्नकै लागि गरेको कडा मेहनतले उनलाई आज टेलरिङ क्षेत्रमा दक्ष बनाएको छ ।
काठमाडौंमा आरआर क्याम्पसमा पढ्दा दिनको १२ घन्टासम्म काम गर्थे उनी । ‘मारवाडीको टेलर्समा भारतीय कामदारभन्दा म राम्रो काम गर्थेँ,’ उनले भने, ‘राम्रो काम गरेकै कारण सुरुवाती महिनामै मासिक पाँच–छ हजार रूपैयाँसम्म कमाउँथेँ ।’
प्रमाणपत्र तह सकिएसँगै उनी साथीहरूको एउटा समूहसँग लागेर मासिक २५ हजार रूपैयाँ कमाउने लोभमा हङकङ हानिएका थिए । तीन वर्षको लागि दलालमार्फत् त्यहाँ पुगेका उनी भिसा समस्याका कारण डेढ वर्षमै नेपाल फर्किन बाध्य भए । कमाइ राम्रै भए पनि भीसा र कानुनी झन्झटका कारण उनी रित्तो हात नेपाल फर्किएका थिए ।
हङकङमा हन्डर खाएर नेपाल फर्केका बर्देवाले सुरुमा भारतबाट कपडा ल्याएर रेडिमेट लुगा बनाएर बेच्न थाले । प्याकिङ गर्ने सामान समेत भारतबाटै ल्याउँथे । यसरी बनाएको रेडिमेट लुगा विराटनगर तथा धरानका पसलहरूमा बेच्थे । व्यापार रामै्र भए पनि पैसा समयमा नउठ्दा समस्या हुन्थ्यो ।
हिम्मत नहार्ने स्वभावका बर्देवाले त्यही सिकाइ अनुभवका आधारमा आफ्नै टेलर्स सुरु गर्ने सोच बनाए । २०४८ सालमा इटहरी चोकको दुई तले घरमा तलामाथि टेलर्स खोले, नाम दिए, एञ्जल टेलर्स । ‘तलामाथि व्यापार गरेको देखेर धेरैले मलाई पागल भन्दै जिस्क्याए,’ उनले भने, ‘तलामाथि व्यापार नै नहुने त्यो बेलाको अवस्थामा पनि तलामाथि नै कोठा भाडामा लिएर काम सुरु गरेँ ।’
भुइँतलामा कोठा पाउन गाह्रो र पाइहाले पनि महँगो हुने हुँदा उनले पैसा बचाउनका लागि तलामाथिको कोठा भाडामा लिएका थिए । ‘भाडा तिर्न नसक्ला भनेर भुइँतलामा कोठा दिन पनि हिच्किचाउँथे घरधनी,’ उनले भने । परिवार र एक दुईजना कामदारको सहयोगबाट सुरु भएको उनको टेलर्समा अहिले बीसभन्दा बढी कामदार छन् । निरन्तर श्रम गर्ने मानिस नै सफल हुने बताउँदै उनी भन्छन्, ‘सफलताका लागि इमान्दारिता र राम्रो व्यवहार चाहिन्छ, श्रम गर्न र सिक्न लजाउनु हुँदैन ।’
इमान्दार र नम्र स्वभावका बर्देवा सहयोगी पनि छन् । काठमाडौंमा हुँदासमेत आफूले मेहनत गरेर कमाएको पैसाले कति दिन त अभावमा छट्पटिएका साथीलाई खानासमेत खुवाए । ‘त्यो मेरो दायित्वजस्तै थियो,’ उनले भने, ‘मैले पैसाभन्दा पनि साथी कमाएँ ।’
चिनेजानेकोबाट पाएको सहयोग र सद्भावकै कारण आफूले व्यवसायमा राम्रो गरेको बताउने बर्देवा व्यापार बिस्तार गर्ने योजना बनाएका छन् । आफ्नै ब्रान्डिङ गर्नुका साथै कपडाको होलसेल सुरु गर्ने र समयको मागलाई बुझेर अनलाइन व्यवसाय गर्ने उनको सोच छ ।
‘विदेशमा रहेका नेपालीले विवाह गर्दा ढाकाको लुगा, दौरा–सुरुवाल, चौबन्दी चोली लगाउन चाहे भने अर्डर गर्न मिल्ने गरी वेबसाइटबाट व्यापार बढाउने तयारीमा छु,’ उनले भने । उनको अनुभवमा व्यवसायीले एकैपटक कहिल्यै प्रगति गर्न सक्दैन । ‘एक–एक पाइला गरेर अघि बढ्ने हो,’ उनले भने, ‘श्रमलाई इज्जत गर्ने हो भने इज्जत र पैसा दुवै कमाइन्छ ।’
त्यस्तै, जीवनसाथीको साथ र सहयोगविना कोही सफल व्यवसायी बन्न नसक्ने बर्देवा बताउँछन् । दुवै मिलेर काम गर्ने हो भने, श्रीमतीले हिम्मत थपिदिने हो भने काम सफल बन्दै जाने उनको अनुभव छ ।
बर्देवा एक सफल व्यवसायीका साथै कुशल कलाकार पनि हुन् । राष्ट्रिय जागृति क्लब इटहरीमा सक्रिय रहँदाको समयमा भएका सांस्कृतिक कार्यक्रमका कारण उनी साहित्यतिर तानिए । उनले लेखेका डेढ सयभन्दा बढी गीतमध्ये पाँच दर्जन जति रेकर्डसमेत भएका छन् । रामकृष्ण ढकाल, कर्णदास, ईश्वर अमात्य, स्वरूपराज आचार्य, सपनाश्री, सुमित खड्कालगायतका गायकले उनका शब्दमा स्वर दिएका छन् ।
रेकर्ड भएका गीतमध्ये ईश्वर अमात्यले गाएको ‘भुलुँ कसरी, नभुलुँ कसरी’ बोलको गीतले गायक र लेखक दुवैलाई छोएको अनुभव सुनाउने बर्देवाले इटहरी डट कम र मनका कुरा नामक एल्बम निकालेका छन् भने तेस्रो एल्बमको तयारी समेत गर्दैछन् । आफ्नो ठाउँलाई अत्यन्तै माया गर्ने बर्देवा भन्छन्, ‘आफूले काम गरेको ठाउँको लागि गीत सिर्जना गर्ने कोसिस गर्दैछु ।’
प्रस्तुति ः हिमाल दहाल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved