सुनसरी साहेवगञ्जको अमरसिंह उच्चमाविमा यस वर्ष सोही विद्यालयबाट एसएलसी उत्र्तीण भएका आठजना विद्यार्थी मात्र कक्षा ११ मा भर्ना भएका छन् । आसपासका क्षेत्रमा पनि प्लस टू खुलेकाले गर्दा त्यहाँ न्यून विद्यार्थी भर्ना भएको बताइन्छ । सीमित विद्यार्थी भर्ना भएकाले विद्यालय सञ्चालन गर्न हम्मे–हम्मे पर्ने भएको छ ।
‘आसपासका गाउँबाट विद्यार्थी ल्याउन सकिन्छ कि भनेर घर–दैलो कार्यक्रम ग¥यौं, थुप्रै अभिभावकले पठाउछौं पनि भन्थे, तर पठाएका छैनन्,’ प्राचार्य इन्द्रदेव गुप्ताले भने, ‘विद्यार्थीको पूरै सङ्कट छ ।’
गुप्ताका अनुसार सबै विद्यार्थी शिक्षाशास्त्र सङ्कायमा भर्ना भएकाले गर्दा व्यवस्थापन सङ्काय सञ्चालन हुन सकेको छैन । स्कुलले शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका लागि सम्बन्धन लिएको थियो ।
इटहरी–२ को महेन्द्र उच्चमाविमा व्यवस्थापन सङ्कायमा १३ र शिक्षाशास्त्रमा तीनजना भर्ना भएका छन् । यहाँबाट ३२ जनाले एसएलसी उत्र्तीण गरेका थिए । ‘विद्यार्थीहरूमा १० कक्षा पास गरेपछि अर्को विद्यालयमा पढने इच्छा हुँदोरहेछ,’ शिक्षक धर्म भट्टराईले भने, ‘ विद्यार्थीहरूको चाहनालाई बुझ्न नसक्दा पनि उच्चमावि सञ्चालन गर्न समस्या हुनेरहेछ ।’
भरौलको जनता डेढराज जगनाथ उच्चमाविमा पनि पुग–नपुग दुई दर्जन विद्यार्थी भर्ना भएका छन् । थप विद्यार्थी आउने आशा भने रहेको प्राचार्य भोलानाथ कोइरालाले बताए । ‘ग्रामीण क्षेत्रमा अहिले खेतीपातीको सिजन भएकाले गर्दा पनि विद्यार्थी आउन बाँकी नै छन्,’ उनले भने, ‘३४ जना विद्यार्थीले एसएलसी पास गरेका छन् । सबै विद्यार्थी पढ्न आउने आशा छ ।’ अघिल्लो वर्ष यो विद्यालयमा ८५ जनाको हाराहारीमा थिए ।
त्यसैगरी, सुनसरी प्रकाशपुरको प्रकाश उच्चमाविमा प्लस टूमा नयाँ विद्यार्थीको सङ्ख्या घटेको प्राचार्य रोहित घिमिरे बताउँछन् । घिमिरेका अनुसार पहिले तीन सयभन्दा बढी विद्यार्थी भर्ना हुन्थे तर यो शैक्षिकसत्रमा अहिलेसम्म सयजना विद्यार्थी मात्र आएका छन् । एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक भएपछि भने विद्यार्थीहरु थपिने आस रहेको घिमिरेले बताए ।
६० जना भर्ना भएको मोरङको वीरेन्द्र सार्वजनिक उच्चमावि अमरदहमा यसपटक २५ जनाले मात्र भर्ना गरेका छन् । विद्यार्थी कम भएका कारण तीन सङ्कायमध्ये दुईवटा सङ्काय सङ्कटमा परेको शिक्षक दीपेन्द्र थापाले बताए । सामुदायिक उच्चमावि शिक्षक युनियन (हिस्टान) मोरङ सचिवसमेत रहेका थापाले मोरङका अधिकांश सामुदायिक उच्चमाविमा विद्यार्थीको सङ्कट रहेको बताए ।
सुनसरीबाट यो वर्ष ४१ दशमलव १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एसएलसीमा सम्मिलित परीक्षार्थीमध्ये आधाभन्दा बढी विद्यार्थी फेल भए पनि अघिल्लो वर्षभन्दा उत्तीर्ण सङ्ख्या १० प्रतिशतले बढी छ । यद्यपि, ५३ वटा सामुदायिक उच्चमावि रहेको सुनसरीका अधिकतर प्लस टूमा विद्यार्थी भर्ना निराशाजनक छ ।
९४ वटा सामुदायिक उच्चमावि भएको मोरङमा गत वर्ष भन्दा दुई प्रतिशत विद्यार्थी कम उत्तीर्ण भएका छन् । गत वर्ष ४६ दशमलव ११ प्रतिशत विद्यार्थीले एसएलसी पास गरेकोमा यस वर्ष ४४ दशमलव नौ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।
उच्चमाविहरूको सङ्गठन हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले सुनसरीका सामुदायिक र नयाँ उच्चमाविहरूमा विद्यार्थी कम भएको बताए । तर, इटहरी र धरानका केही नाम चलेका उच्चमाविहरूमा विद्यार्थी सधैको जति नै भर्ना भएको उनको दावी छ ।
टेक्निकल विषय रोज्नेहरू विभिन्न ठाउँमा गएर पढ्ने र पास भएका सीमित विद्यार्थी पनि सुविधासम्पन्न र नाम चलेका उच्चमावि रोज्ने भएकाले सामुदायिक तथा नयाँ उच्चमाविहरूमा समस्या देखिएको घिमिरे बताउँछन् । विराटनगर, इटहरी र धरानका नाम चलेका विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थीले पनि आफ्नै स्कुलमा पढनुको सट्टा उच्च शिक्षाका लागि काठमाडौं र अन्यत्रका गएका छन् ।
त्यसो त ग्रामीण क्षेत्रका तुलनामा शहरी क्षेत्रका प्लस टूमा विद्यार्थीको सङ्ख्या केही बढी देखिन्छ । तर, विगत वर्षमा जस्तो जमघट भने छैन । सामुदायिक र निजी दुवैमा विद्यार्थीको अभाव छ । पूर्वका सहरमा बग्रेल्ती उच्चमावि खोल्ने क्रम बढे पनि उच्चमावि पढ्ने विद्यार्थीको सङ्ख्या भने घटेकाले सबैमा तानातानको स्थिति छ ।
पूर्वका १६ जिल्लामा छ सय ७५ सामुदायिक, ३१ प्लस टु, ९५ निजी उच्चमावि, २२ उच्चमावि पढाइ हुने क्याम्पस र दुईवटा संस्थागत उच्चमावि रहेको उच्चमाध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।
शेखर ढकाल

0 comments:
Speak up your mind
Tell us what you're thinking... !