बोलबम : संस्कृति कि विकृति ?
Written By Neplee on Friday, August 17, 2012 | 7:00 PM
सुरुवातमा अभिभावक र ज्येष्ठ नागरिकहरु विशेष आस्थाका साथ जाने गरेको बोलबममा रमाइलो गर्नकै लागि पछिल्लो समयमा युवा–युवतीहरुको भिड बढेको छ । बोलबम गएरै कतिको मनोकामना पूरा भयो ? त्यो त उनीहरुलाई नै थाहा होला, तर अनेक मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्ने चाहने युवापुस्ताका लागि बोलबम यात्राले सहज वातावरण बनाएको देखिन्छ । धरानबाट भोजराज श्रेष्ठको सहयोगमा तयार पारिएको रिपोर्ट :
विराटनगरका जयराम मगर (२६) सात पटक बोलबम गइसकेका छन् । मनोकामना पूरा हुने विश्वासकै कारण जल चढाउन बोलबम जाने गरेको उनी बताउँछन् । उनी आफ्नो परिवार राम्रो होस् भनेर आठौं पटक पनि बोलबम जाने योजनामा छन् ।
चिताएको कुरा पुग्ने र साथीभाइस“ग रमाइलो गर्न पाउने भएकाले बर्सेनी बोलबम आउन रुचाउने मोरङ शनिश्चरेकी अञ्जना लिम्बू (१६) यो वर्ष तेस्रो पटक पनि बोलबमका लागि तयार भएकी छिन् । उनी आफ्नो परिवार र पढाइलाई निरन्तरता दिन सकियोस् भन्ने प्रार्थना गर्ने सोचमा छिन् ।
‘बोलबमको समयमा बियर र रक्सी खानेहरूका कारण होटल नै भरिन्छन्,’ सुनसरीको चतराका व्यवसायी किशोर ताम्राकारले भने, ‘युवा–युवती सरोबर हुन्छन्, यौन विकृतिले समेत प्रश्रय पाएको छ ।’ ताम्राकारका अनुसार जोडी बाँधिएर आउनेहरूको सङ्ख्या पनि उल्लेख्य हुन्छ बोलबममा । धार्मिक आस्थालाई रमाइलोका लागि दुरूपयोग गर्ने क्रम बढेको उनको भनाइ छ ।
इच्छाएको पूरा हुने आशामा वर्षेनी लाखौं मानिस साउन महिनामा बोलबम–बोलबम ! भन्दै अनेक शिवालयहरू धाउने गर्छन् । हिन्दू धर्मवालम्बीहरूले विशेष आस्था राख्ने महादेवलाई साउन महिनामा जल चढाए सोचेको कुरा पुग्ने विश्वास रहेकाले नेपाल तथा भारतका पायकपर्ने शिव मन्दिरहरूमा बोलबम जानेको भिड हुन्छ ।
त्यसैमध्येको एक तीर्थस्थल हो पिण्डेश्वर बाबाधाम । सुनसरीको चतराबाट जल लिएर धरानस्थित पिण्डेश्वर मन्दिरमा चढाउन जाने बमका कारण साउनभरि सो क्षेत्रमा अत्याधिक चहलपहल हुने गरेको छ ।
२०४० सालदेखि पिण्डेश्वरमा बोलबम यात्राको सुरुवात भएको हो । यातायातलगायतको समस्याका बाबजुद त्यसबेला वर्षमा डेढ–दुई सय श्रद्धालुहरू मन्दिर पुग्थे । तर, पछिल्लो समयमा पिण्डेश्रबाबाधाम जानेहरूको सङ्ख्या लाख नाघिसकेको छ ।
‘तीमध्ये झन्डै आधा बढी त युवा–युवतीहरू नै हुन्छन्,’ विगत २८ वर्षदेखि पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष रहेका कृष्णप्रसाद श्रेष्ठले भने, ‘धार्मिक आस्था बढेसँगै विकृति पनि बढेको कुरा सही हो ।’
बोलबम जानेको सङ्ख्या बर्सेनी बढ्दो छ । सुरुमा अभिभावकहरू मात्रै गेरुवस्त्र धारण गरेर कोसीको जल पिण्डेश्वर मन्दिरसम्म चढाउन आउँथे । अहिले झन्डै ६० प्रतिशतभन्दा बढी युवा–युवतीको सङ्ख्या हुनु खुसीको कुरा भएको श्रेष्ठ बताउँछन् । भन्छन्, ‘तर, दुःखको कुरा, बोलबमका नाममा मोजमस्ती गर्ने पनि निकै भेटिन थालेका छन् ।’
धार्मिक कार्यमा रुचि देखायो भन्दै आमाबाबुले छोराछोरीलाई बोलबम जाने स्वीकृति दिन्छन्, तर छोराछोरीहरू भने बाटैभरि मादकपदार्थ सेवन गर्छन् । अविभावकको स्वीकृति लिइसकेपछि युवा–युवतीहरू स्वतन्त्र हुन्छन् भने छोराछोरी धर्म कमाउन गएका छन् भन्दै अविभावकहरू पनि दङ्ग परेका हुन्छन् । तर, बोलबमका नाममा युवा–युवती उच्छृङ्खल गतिविधि गर्दै मादकपदार्थ र लागूऔषध सेवन गर्छन्, जुन पछिल्लो समयमा विकृतिको रूपमा परिणत भएको छ ।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पिण्डेश्वर बोलबम यात्रामा तीन लाखभन्दा बढी ‘शिवभक्त’ सहभागी भए, जसमा युवा–युवतीको सङ्ख्या ६० प्रतिशतभन्दा माथि छ ।
बोलबममा युवापुस्ताको बढ्दो सङ्ख्यासँगै उनीहरूको सोच र रुचिले समेत बोलबाला कायम गर्न थालेको छ । बोलबममा अचेल भजन त हुन्छ, तर रिमिक्स गरिएको । बोलबम पोशाकसमेत युवापुस्ताको रोजाइजस्तै छोटिन र विभिन्न स्टाइलमा बन्न थालेका छन् । जसबाट युवा–युवतीमा धर्मको नाममा उच्छृंखलता मौलाएको छ ।
पछिल्लोपुस्ताले बोलबमलाई धार्मिक आस्थाभन्दा पनि ‘रमाइलो’ पर्वका रूपमा मान्न थालेसँगै बोलबमप्रति ज्येष्ठ नागरिकहरुका मनमा चिन्ता बढ्न थालेको छ । ‘आस्था राखेर आउनु त राम्रो कुरा हो तर, बोलबमलाई मनोरञ्जको साधन मानिदिनाले बोलबमप्रतिको धारणा नै परिवर्तन हुने हो कि भन्ने शङ्का उत्पन्न भएको छ ।’ धर्मराज तिम्सिनाले बताए । उनको तर्क छ, ‘शुद्ध मनले जल चढाएमा चाहेको कुरा पूरा हुन्छ, तर, रमाइलोका लागि मात्रै हो भने त्यसको कुनै अर्थ छैन ।’
0 comments:
Speak up your mind
Tell us what you're thinking... !