Home »
संघर्षको कथा
» ‘आफ्नो जीवन फरक लाग्छ’
‘आफ्नो जीवन फरक लाग्छ’
Written By Neplee on Wednesday, February 13, 2013 | 11:38 PM
लाहुरेका श्रीमती भन्नेवित्तिकै सुखी जीवन बिताउने अनि ऐस–आराममा रमाउने हुन्छन् भन्ने अधिकतरको सोचाइ हुने गर्छ । तर, इटहरीकी लक्ष्मी थेबेले गरेको सङ्घर्ष भने उदाहरणीय बनेको छ ।
ताप्लेजुङ्को फुङ्लिङ्(५ मा जन्मिएकी लक्ष्मीको १७ वर्ष टेक्न नपाउँदै किरण टी लिम्बूसँग विवाह भयो । टेस्ट परीक्षा दिएर आमबोटे प्राविमा शिक्षण गर्दागर्दै परिवारकातर्फबाट उनको विवाहको निर्णय भएको थियो । उनले विवाहपछि एलएलसी परीक्षा दिएकी हुन् । एसएलसीपछि आदर्श प्राथमिक विद्यालय आम्बेगुदिनामा आठ महिना पढाइन् ।
त्यसपछि उनी कलेजमा पढ्न धरानतर्फ आइन् । ढिलो गरी आएकाले गर्दा भर्नाको समय गुज्रिसकेको थियो । त्यही भएर उनी विराटनगरको कन्या क्याम्पसमा भर्ना भइन् । ‘दोस्रो वर्षको परीक्षा जसोतसो गरेर दिएँ, त्यो बेला चार महिनाकी छोरी पनि भएकाले सारै दुःख गरेर परीक्षा दिएँ,’ उनले भनिन् । परीक्षा सकेर उनी हङकङ गइन् । त्यहाँ ब्रिटिस फोर्स बोर्डकास्टिङ सर्भिसमा दुई वर्षसम्म काम गरिन् । झन्डै तीन वर्ष हङकङ बसाइपछि उनी नेपाल फर्किन् । इटहरीमा घर बनाइन् । ताप्लेजुङबाट ससुरालाई पनि यहीँ ल्याएर राखिन् ।
यतै, काम गरेर बस्ने सिलसिलमा सबैभन्दा पहिले उनले इटहरीमा साझेदारीमा पिसिओ व्यवसाय सञ्चालन गरिन् । ‘मैले पार्टनरसीपमा खोलेको पिसियो नै इटहरीको पहिलो पिसियो हुनुपर्छ,’ उनले भनिन्, ‘तर, पार्टनरले कुटनीतिज्ञ रोल खेलेकाले धेरै समयसम्म म त्यो व्यवसायमा टिक्न सकिनँ ।’
पिसियो व्यवसायमा ‘धोका’ पाएपछि नयाँ काम गर्ने अभियानका क्रममा कम्प्युटर सिक्न थालिन् । कम्प्यूटर सिकिरहेकै समयमा खनारमा ‘कमटेम्पो वेयर प्राइभेट’ भन्ने गार्मेन्ट उद्योग खुल्यो । उनले त्यो उद्योगमा चार वर्षसम्म कार्यालयीय काम गरिन् ।
काम गर्दागर्दै मजदुर युनियन गठन भइसकेको थियो । सोही बेला विभिन्न खाले अवरोधले गर्दा उद्योग बन्द हुने दिनगन्तीको पर्खाइ हुन थाल्यो । त्यसतो अनिश्चित वातावरणले गार्मेन्टको कामप्रति मन मर्दै गयो । त्यहीबेला बिरामी ससुराको स्याहार गर्ने मान्छे घरमा कोही नभएपछि उनले गार्मेन्टको काम छाडिन् । तिनै दिनमा उनले घरमा कुखुरापालनको काम गर्न थालिन् ।
कुखुरा फर्म चलाइरहेका बेला कनटेम्पो गार्मेन्टमै रहेका एक लगानीकर्ता र अन्य मिलेर खनारमै अमी अप्रिल्स ग्रामेन्ट खोले । अमी अप्रिल्समा चिनजानका धेरै साथी भएकाले फेरि काम गर्न बोलाए । उनले त्यहाँ पनि दुई वर्ष काम गरिन् ।
एकपछि अर्को काम गरेर अनुभवले खारिने क्रममा उनले २०५८ सालमा पेन्सन पेइङ अफिस धरानमा काम गर्ने अवसर पाइन् । सुरुमा सानो पदमा प्रवेश गरेकी उनी अहिले त्यहीँ पेन्सन पेइङ इन्फर्मेसन अफिसरका रूपमा कार्यरत छिन् ।
आफ्नो जीवन अरूकोभन्दा पृथक लाग्ने गरेको बताउने उनले भनिन्, ‘लाहुरेनीहरू बढी सोखिन हुन्छन् भनेर अहिले पनि कतिपयले आलोचना गरेको सुन्छु तर मलाई समाजमा आफ्नै नाम र मिहिनेतले चिनिन पाएकोमा गर्व छ ।’
थेबे बाबुको प्रेरणा र पतिको प्रोत्साहनबाट आफू सङ्घर्षशील भएको बताउँछिन् । ‘मेरो बाबु राणाशासन र पञ्चायती व्यवस्थामा जेलको हाकिम हुनुहुन्थ्यो तर पनि दुःख र मिहिनेत गर्नुपर्छ भावना थियो, अनि मेरो लोग्नेले पनि टिभी हेर्दा पनि केही काम गर्दै टिभी हेर्नु नि भन्नुन्छ,’ उनले सुनाइन्, ‘यसरी पारिवारिक वातावरणले मलाई निरन्तर सङ्घर्ष गर्न प्रेरित ग¥यो ।’
साहित्यमा विशेष रुचि राख्ने थेबे सप्तकोशी एफएमबाट प्रसारण हुने समर्पण र साइनो कार्यक्रमकी प्रस्तोता पनि हुन् । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थामा पनि क्रियाशील उनले अनेक कामको व्यस्तताका बीचमा स्नातकोत्तर तहसम्मको अध्ययन पनि पूरा गरेकी छिन् ।
भूपू गोर्खा डिपार्टमेन्ट स्टोरको सञ्चालक समिति सचिवसमेत रहेकी उनी मानिस जति व्यस्त भयो, उति नै उसले सिर्जनात्मक सोचाइको विकास हुने ठान्छिन् । उनी हरेकलाई समय अनुसार परिश्रम गर्न सुझाव दिँदै भन्छिन्, ‘समय आउँछ तर पर्खदैन, हामीले समयलाई समात्न सक्नुपर्छ । कुनै पनि काम गर्दा हामी सानो र कमजोर हँुदैनौँ, बरु शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छौँ ।’
लक्ष्मी थेवे
Labels:
संघर्षको कथा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !