सडक नाटकबाट सिरियलसम्म - College Times : Educational Magazine
Headlines News :
Home » » सडक नाटकबाट सिरियलसम्म

सडक नाटकबाट सिरियलसम्म

Written By Neplee on Wednesday, February 13, 2013 | 11:29 PM


५८ सालमा बालसमूहमा रहँदा गरेको सडक नाटकबाट उनले अभिनयको सुरुवात गरेकी थिइन् । बालसमूह हुँदै युवासमूहका विभिन्न कार्यक्रममा नाटक प्रदर्शन तथा निर्देशन गरेको अनुभवले लता कार्कीलाई आज एक प्रतिभावान कलाकारको रूपमा उभ्याएको छ ।
अभिनयले मानिसको जीवनलाई मञ्च र पर्दामा देखाउन सघाउने हुँदा कलाकारितालाई पेसाकै रूपमा अँगालेको बताउने कार्कीका अनुसार कलाकारितामा व्यावसायिकताको खाँचो छ । ‘सानो सफलतामै चित्त बुझाउनुपर्ने अवस्था छ,’ २६ वर्षीया कार्कीले कलेज टाइम्ससँग भनिन्, ‘अझ सुरु–सुरुमा त कलाकारको शोषण मात्रै हुन्छ ।’ टेलिसिरियलहरूमा अभिनय गर्दा थोरै पारिश्रमिकमै चित्त बुझाउनुपरेको गुनासो गर्दै उनी भन्छिन्, ‘कलाकारिताबाटै बाँच्न नसक्ने होइन, तर राज्यले पनि हेर्नुप¥यो ।’ बालसमूहमा रहेर सडक नाटकबाट अभिनय थालेकी कार्कीले २०५९ सालमा कलाकार विक्रमश्रिको समूहद्वारा आयोजित कार्याशालाबाट अभिनयलाई थप निखारिन् । बेजोड अभिनय क्षमताकै कारण कार्याशालापछि प्रदर्शन गरिएको ‘कोही किन बर्बाद होस्’ शीर्षक रहेको नाटकमा मुख्य पात्रको रूपमा अभिनय गर्ने मौकासमेत पाइन् ।
तर, निम्नवर्गीय परिवारमा जन्मेकी कार्कीले आर्थिक तथा पारिवारिक कारणले अभिनय करियरलाई सोचेजसरी निरन्तरता दिन सकिनन् । ‘एकातिर नातावाद, कृपावाद अनि अर्कोतिर पारिवारिक समस्या,’ बीचमा अभिनयबाट विश्राम लिए पनि अहिले जुर्मुराएकी कार्की भन्छिन्, ‘अब सकुन्जेल अभिनयमै लाग्छु ।’
अभिनय मात्र होइन, कार्की गायनमा पनि पोख्त छिन् । उनकै स्वरमा कलाकार धर्म अवशेषको ‘लक्का जवान ठिटो’ बोलको गीत रेकर्डसमेत गरिएको छ । उनले किशोर अनुराग निर्देशित ‘शिशिरको अन्तिम दिन’ नाटकमा समेत मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।
पछिल्लो समयमा उनले ‘चाहना मनको’ नामक टेलिफिल्ममा समेत अभिनय गरेकी छिन् । १२ भाग सुटिङ सकिएको उक्त टेलिफिल्मको सुटिङ भने रोकिएको छ । धेरै टेलिफिल्मका लागि प्रस्ताव आए पनि ‘धन्यवाद’मा मात्र काम गर्नुपरेको गुनासो गर्दै उनी भन्छिन्, ‘उल्टै पैसा तिरेर टेलिफिल्ममा अभिनय गर्ने प्रवृत्ति भएकाले क्षमता भएका कलाकारले पनि पारिश्रमिक नपाउने अवस्था छ ।’
बालसमूहमा आबद्ध रहँदा पाएको वातावरणले उनलाई अभिनय विकास गर्ने अवसर दिएकै कारण उनी बालबालिकाहरू समूहमा आबद्ध भएर सामाजिक काम गर्नु आवश्यक रहेको बताउँछिन् । ‘बाल समूहले बालबालिकालाई समूहमा रहेर सिर्जनात्मक काम गर्न प्रोत्साहित गर्छ,’ उनी भन्छिन्, ‘बालबालिकाको मनोविज्ञानलाई बुझेर उसको वास्तविक क्षमता विकास हुने वातावरण बनाउन समूहले सहयोग गर्छ ।’
गायन र अभिनय दुवैमा दखल भएकी कार्कीले गायनलाई स्थगित गरी अभिनयलाई अघि बढाउने भएकी छिन् । उनले विभिन्न टेलिसिरियलमा अभिनय गर्दै आफ्नो कलाकारितालाई थप निखार्दै लगेकी छिन् । उनी अवसर पाउन्जेल अभिनयमा सक्रिय रहने इच्छा समेत व्यक्त गर्छिन् ।  तर, राज्यले कलाकारलाई उचित सम्मान दिन नसकेको उनको गुनासो छ । ‘अभिनयमार्फत् धेरै सकारात्मक काम गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘तर, राज्यले पनि कलाकार र कलाकारितालाई सम्मान गर्नुप¥यो ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved