Home »
संघर्षको कथा
» पसलदेखि उद्योगसम्म
पसलदेखि उद्योगसम्म
Written By Neplee on Friday, September 21, 2012 | 5:48 AM
पाँच दसकअघि इटहरीका राधेश्याम साह धरानमा अर्काको कपडा पसलमा काम गर्थे । १८ वर्षको त्यो उमेरमा काम गरेर मासिक पाँच सय रुपैयाँ कमाउँथे ।
त्यही कमाएको थोरै पैसा जोहो गरेर किराना पसल गर्ने सोँचले उनी इटहरी झरे । २०२३ सालमा सामान्य लगानीमा किराना पसल खोले । केही कमाइ भएपछि सामान थपे ।
व्यवसायलाई नयाँ तरिकाले गर्ने सोचले गाउँ–गाउँबाट अन्नबाली खरिद गरी बजारमा ल्याएर बिक्री गर्न थाले । सुरुवातमा यस्तो काम गर्दा उनी मासिक दुई सय रुपैयाँसम्म कमाइ गर्थे । मोरङको बेलबारी, सलकपुर, उर्लाबारी, झापाको स्कुलचौवनलगायतका स्थानसम्म पुगेर किसानले उत्पादन गरेको अन्नबाली खरिद गर्थे । यातायातको सहज पहुँच नभइसकेको त्यो समयमा उनलाई बयल गाडाले सघाउँथ्यो ।
साहले २०४५ सालसम्म यसरी नै गाउँ–गाउँमा गएर अन्नबाली खरीद गर्ने अनि ठूला व्यापारीलाई बिक्री गर्ने काम गरे । सामान बिक्री गर्न विराटनगरसम्म पुग्थे । साइकलमा ओहोर–दोहोर गरेको अतित सम्झदै उनी भन्छन्, ‘विराटनगरमा सामान बिक्री गरेर इटहरी घर फर्कदा कहिलेकाहीँ रातको १२ बज्थ्यो ।’
व्यवसाय सुरु गर्दा अहोरात्र परिश्रममा रमाउने साहको परिचय अहिले फेरिएको छ । उनी अहिले इटहरीस्थित बाबा शङ्कर लघु उद्योगका सञ्चालक हुन् । उनी अहिले एक सफल उद्यमीका रुपमा चिनिन्छन् ।
२०४५ सालमा भाडामा मिल लिएर सञ्चालन गरेका राधेश्यामले एक वर्षपछि त्यही मिल किने । अहिले उनले सञ्चालन गरेको मिलमा चामल उत्पादन तथा बिक्री गर्न भ्याइ–नभ्याइ हुने गरेको छ । दैनिक सय क्वीन्टल चामल थोक बिक्री हुने गरेको छ । खुद्रा भने दैनिक १० क्वीन्टलसम्म जान्छ । उनको मिलबाट धरान, विराटनगर, दमक, विर्तामोड आदि ठाउँका व्यापारीले चामल खरिद गरी लाने गरेका छन् ।
पाँच दशकअघि फर्केर हेर्दा पहिलेको राधेश्याम र अहिलेको राधेश्याममा आकाश–पातालको फरक छ । समयमा सही निर्णय गरेकै कारण उनको जीवनले यसरी युटर्न गरेको हो । आफ्नो जीवनमा आएको आमूल परिवर्तनबारे उनी भन्छन्, ‘पहिलाको दुःख बयान गरी साध्ये छैन, अहिले भने त्यस्तो खालको दुःख छैन ।’
पछिल्लो समयमा चामलको व्यापार केही खस्केको छ । पहिलाको तुलनामा व्यापार–व्यवसाय गर्न सहज भए पनि मुनाफा भने सोचेअनुसार नहुने साहको अनुभव छ ।
नयाँपुस्ताका युवाहरुले राम्रो उन्नति गर्न सक्ने बताउँदै जाँगर चलाएर काम गर्न सल्लाह दिन्छन् । साहमा अहिले स्वास्थ्य समस्या देखिएकाले गर्दा छोरा महावीरले मिल सञ्चालन गर्न सहयोग गरिरहेका छन् ।
निरन्तर परिश्रमको फल कहिले खेर नजाने कुराको शाह ज्वलन्त उदाहरण हुन् ।
Labels:
संघर्षको कथा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !