धरानमा बस्दै आएका नवराज फुर्सद भयो कि कम्प्युटर खोलेर बसिहाल्छन् अनि फेसबुकमार्फत् सुरु हुन्छ नयाँ, पुराना साथीहरुसँगको वार्तालाप । साथीको नयाँ खबर थाहा पाउनु परे पनि, आफनो नयाँ खबर भन्नु परे पनि उनका लागि उपयोगी बनेको छ, फेसबुक । नवराजको यो पुस्तालाई साथी वा आफन्तसँग खबर आदान–प्रदान गर्न फेसबुक, ट्वीटर, स्काइपजस्ता सामाजिक सञ्जाल सजिलो र भरपर्दो माध्यम बनेका छन् । उनीहरुका लागि चिठी–पत्र लेखेर साथीभाइलाई खबर पठाउने कुरा अचम्म र असम्भवजस्तो लाग्छ । किनकि नयाँ–पुस्ताले चिठ्ठी लेखेर खबर पठाउनुपरेकै छैन । हात–हातमा भएका मोवाइल र कम्प्युटरले उनीहरुलाई छिनको छिनमै खबर आदान–प्रदान गर्न निकै सजिलो बनाइदिएको छ ।
एक समय थियो, टाढा रहेका गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड, साथी वा आफन्तको खबर थाहा पाउन धेरै समय लगाएर चिठ्ठी कोर्नुपर्ने । त्यति मात्र कहाँ, चिठी पठाउन टाढा हुलाक पुग्नुपर्ने । पठाएको ठाउँमा चिठ्ठी पुग्ने त कहिले हो कहिले । कति चिठी प्रापकसम्म नपुगी बाटैमा हराउँथे । कति नचाहेका व्यक्तिका हातमा पर्थे, कति निकै ढिलो पुग्थे । र, अर्थको अनर्थ भइदिन्थ्यो ।
अझ उहिलेका कुरा गर्ने हो भने त परेवाको खुट्टामा चिठी बाँधेर खबर आदान–प्रदान गरिएका कथाहरु सुन्न पाइन्छ । तर, समय बद्लिँदै जाँदा चिठी पठाउने चलन पुरानो हुन थाल्यो । बिस्तारै टेलिफोनले विकल्पको रुप लियो । मान्छेका हात–हातमा मोवाइल भित्रिएपछि त झन् चिठी–पत्र केवल औपचारिकताको माध्यममा सीमित हुन पुगेका छन् ।
अहिले गाउँ–गाउँसम्म प्रविधिको बिस्तार यति द्रूत गतिमा भयो कि सवैका हातमा मोवाइल छन् । ती मोवाइलबाट कुराकानी मात्र होइन, फेसबुक, मिगजस्ता सामाजिक सञ्जालमार्फत् संसारसँग जोडिएका छन्, सुदूर गाउँसम्मका मान्छे । तिनै सामाजिक सञ्जाल अहिलेका युवायुवतीका लागि चिठी–पत्रका गतिला विकल्प भएका छन् । चिठीमा जस्तो लामो समय कुर्नु नपर्ने अझ तुरुन्तै आफ्नो तस्बिर र हाउभाउ सम्प्रेषणसहित कुराकानी गर्न सकिने सामाजिक सञ्जालले चिठी लेख्ने परम्परालाई एकादेशको कथाजस्तै बनाइदिएका छन् ।
तर, सामाजिक सञ्जालको जालोमा चुर्लुम्म डुबेका युवायुवती फेसबुक र मिगजस्ता सञ्जालमा भुल्दा पढाइसँगै भविष्य चौपट पारिरहेका छन् । सामाजिक सञ्जालमा फसेका युवापुस्ता यी सञ्जाललाई सदुपयोग गरेर फाइदा लिनुको साटो दुरुपयोग गरेर आफनै भविष्य बिगारिरहेका छन् । उनीहरुलाई यस्ता सञ्जालबाट फाईदा लिनेबारे ज्ञान कम छ भने रमाइलोका लागि दुरुपयोग गर्ने तरिका धेरै सिकेका छन् ।
यस्तोमा विद्यालय तह वा कलेजहरुमा उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग गर्दा व्यक्तिको जीवनमा हुने हानीबारे अभिमुखीकरण गर्नु आवश्यक छ । युवापुस्तालाई समयमै सचेत बनाउन नसके अझै धेरै विद्यार्थीको भविष्य चकनाचुर हुनेछ, त्यसमा शङ्का नगरे हुन्छ ।युवापुस्ताले सबैभन्दा बढी प्रयोग गर्ने फेसबुक र मिग थर्टीथ्री जस्ता सञ्जाल हुन् । यी दुई सञ्जालको बारेमा राम्रो ज्ञान दिए मात्र पनि धेरै हदसम्म विद्यार्थीहरुले यसबाट सकारात्मक काम गर्न सक्छन् ।
फेसबुक कि फेकबुक
युवापुस्तामा सबैभन्दा बढी फेसबुक र मिग चर्चामा छन् । कम्प्युटर र मोवाइलबाट फेसबुकमा झुम्मिने युवायुवती जताततै भेटिन्छन् । फेसबुक युवा–युवतीकालागि टाइमपासको गतिलो माध्यम मात्र बनेको छैन, यसले धेरै वर्षदेखि छुट्टिएका साथीहरुसँग मिलन पनि गराइदिएको छ । आफ्ना दैनिक क्रियाकलापसमेत शब्द, तस्बिर, अडियो, भिडियो सबै तरिकाले प्रस्तुत गर्न सकिने फेसबुकले धेरैलाई मित्रताको गाँठोमा कसको छ । कतिको विवाह गराइदिएको छ भने यसको दुरुपयोग हुँदा कतिको चाहिँ बिछोड पनि भएको छ ।
सदुपयोग गर्दा त फेसबुक बालक, युवा वा प्रौढ सबैका लागि अति उपयोगी माध्यम बनेको छ । विदेसिने धेरै नेपालीले पहिला चिठीमार्फत् परिवारको खबर थाहा पाउँथे र आफ्नो हाल–खबर पनि चिठी, आवा तथा फोनबाट सुनाउँथे । अहिले उनीहरु पनि विदेशमै फेसबुक चलाउन सिकेर नेपालमा भएका
परिवारसँग आफ्नो खबर शब्द, तस्बिर र भिडियोमार्फत् पठाउन थालेका छन् ।
विभिन्न पेसामा आबद्ध र विद्यार्थीले पनि फेसबुक अत्याधिक चलाउँछन् । उनीहरुका लागि पनि फेसबुकले धेरै नयाँ साथीसँग चिनजान गराइदिएको छ भने धेरै वर्षदेखि बिछोडिएका साथीहरुसँग भेट गराइदिएको छ ।
फेसबुकमै विभिन्न विषयगत ग्रुप बनाएर सामाजिक कार्य गर्ने युवाहरुको सङ्ख्या पनि बढ्दो छ । फेसबुकबाटै पढाइका बारेमा कुरा गर्ने, कुनै पेसाका बारेमा छलफल चलाउने, कुनै ठाउँको बारेमा चर्चा–परिचर्चा गर्ने, साहित्यिक भाव सञ्चार गर्ने समूहहरु पनि छन् । कुनै पर्यटकीय क्षेत्रको प्रचार गर्नु परे पनि फेसबुक पेज बनाउने चलन बढेको छ भने कुनै संस्था वा कम्पनीको प्रवद्र्धनका लागि पनि फेसबुक नै लोकप्रिय छ ।
धरानका सकारात्मक खबरहरु प्रचार गर्ने उद्देश्यले सुरु भएको फेसबुक पेज ‘वि धराने’ निकै चर्चित छ । यसमार्फत् धराने युवा सुनिल राई (क्वानछाङ)ले धरानमा भएका कुनै घटना तथा राम्रा विषयलाई तुरुन्त तस्बिर र शब्दमार्फत् फेसबुकमा पेजमा जानकारी गराउँछन् । यसको प्रतिक्रिया पनि सकारात्मक छ । विदेशमा बस्ने धेरै धरानेले नियमित वि धराने पेज हेर्छन् र कमेन्ट गर्छन् । यो त उदाहरण मात्र हो । फेसबुकमा वि धरानेजस्ता धेरै पेजहरु खोलिएका छन् । ती पेजहरुले नयाँ–नयाँ जानकारी उपलब्ध गराएका छन् ।
तर, फेसबुकलाई सबैले यसरी नै
सकारात्मक कामकालागि मात्र प्रयोग गर्छन् भन्ने छैन । कतिले नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्बिर र भिडियो अपलोड गर्ने, शबदमा कमेन्ट गर्ने, अरुको बेइज्जत गर्ने जस्ता काम गरेका छन् । फेसबुकलाई फेकबुक बनाउनेहरुका कारण सामाजिक सञ्जालहरु बद्नाम पनि भएको छन् । फेसबुकलाई प्रयोग गरेर अपराध गर्नेहरु पनि सक्रिय भएका समाचार बेला–बेलामा सार्वजनिक हुन्छन् । कतिले गलत आइडी बनाएर अरुलाई धम्क्याउने गरेका घटना पनि छन् । तर, फेसबुकलाई फेकबुक बनाएर दुरुपयोग गर्नेलाई कारबाही हुने सम्मको कानुनी व्यवस्था आइसकेको छ ।
मिगमा मस्त, जीवन अस्तव्यस्त
टिनएजर्स र भर्खर कलेज पढ्ने सहरी क्षेत्रका अधिकतर युवाले चलाउने सामाजिक सञ्जाल हो मिग । उनीहरु अलिकति फुर्सद हुनेबित्तिकै हातका औंलाहरु मोवाइलको किप्याडमा नचाउन थाल्छन् । रात न दिन, साँझ न बिहान जतिबेला पनि अल्छी लाग्यो कि मिगमा मस्त बनिहाल्ने युवा–युवतीको भविष्य यही मिगले बिगारिरहेको उनीहरु नै स्वीकार्छन् ।
एसएलसी र प्लस टुको रिजल्ट अघिल्लो वर्षको तुलनामा खस्किनुको एउटा कारण मिग पनि भएको विद्यालयका शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरु बताउँछन् । धरान–१२ चतरालाईनकी एल्जीना राई आफूले धेरै मिग चलाएर परीक्षा बिग्रिएको स्वीकार्छिन् । मिगमा सयभन्दा बढी साथी बनाएकी उनको गत वर्ष कक्षा १२ को रिजल्ट बिग्रियो । एल्जीना भन्छिन्, ‘मिगकै कारण रिजल्ट बिग्रियो भनेर घरमा धेरै गाली खाइयो ।’
सहरीक्षेत्रका युवापुस्ता यतिबेला सोसियल नेटवर्क मिग थर्टीथ्रीमा मस्त र व्यस्त बनिरहेका छन् । सडकमा हिँड्दा–हिड्दै, कक्षामा पढ्दा–पढ्दै वा घरमा बसेका बेला एकोहोरो बनेर मोवाइलमा औंला नचाइरहेका युवायुवती भेटिन्छन्, देखिन्छन् । बोलाउँदा पनि नसुन्ने, अन्ततिर ध्यानै नदिनेगरी मिग च्याटमा झुम्मिँदै गएको युवापुस्ताको पढाइ बिग्रिँदै छ समय बर्बाद हुँदै छ । रातभर मिगमा व्यस्त हुँदाको अनिद्रा र एकोहोरोपनले शारीरिक र मानसिक स्वाथ्य समस्यासमेत निम्त्याउन सक्छ । मिगका कारण एसएलसी, कक्षा ११ तथा १२ को रिजल्ट प्रतिशत घट्दै गएको देखेर अभिभावक तथा शिक्षालय सञ्चालकहरु चिन्तित छन् ।
क्लासमै मिग चलाएर पढाइमा ध्यान बिग्रिन थालेपनि नेपालका केही ठाउँमा कलेजहरुले विद्यार्थीलाई कक्षामा मोवाइल प्रतिबन्ध लगाएका छन् । तर, अधिकतर ठाउँका कलेजमा अहिले पनि विद्यार्थीहरु मोवाइल बोकेर कक्षामा पस्छन् अनि पढाइरहेका बेला पछाडि बसेर मोवाइलमा मिग चलाइरहेका हुन्छन् । घरमा रातभर छोराछोरी पढिरहेका छन् भनेर अभिभावक मख्ख तर छोराछोरी मिगमा झ्याम्मिरहेका हुन्छन् । ओछ्यानमा, ट्वाईलेटमा जता पनि मिगसँगै रमाइरहेका छन् ।
कसैसँग नजिक हुनुपर्दा आजकाल युवा–युवतीहरु एक आपसका फोन नम्बर होइन मिग आइडी साटासाट गर्छन् । सामान्य चिनजानपछि मिग आईडी छ ? भनेर सोध्ने र भएमा माग्ने चलन छ । थोरै खर्चमा धेरै समय चलाउन सकिने, मोवाइलमा सजिलै चल्ने आदि कारणले युवापुस्तामा लोकप्रिय बनेको छ मिग ।
अधिकतर युजरले मिग मोवाइलमा चलाउँछन् । मोबाइलमै मज्जा हुने भएकाले हिँड्दा, सुतेर, क्लास रुममा जतिबेला पनि मिगमा एकोहोरो भइरहेका भेटिन्छन् युवायुवती । फोन, फेसबुकभन्दा मिगमा बढी आत्मीयता हुन्छ भन्छन् युजरहरु ।
मिग ३३ का युजरहरु सबैभन्दा बढी इन्डोनेसियामा भएको बताइन्छ । पछिल्लो समयमा नेपालका काठमाडौं, धरान, दमक, चितवन र पोखरामा बढी युजरहरु छन् । विशेषगरी प्लस टु लेवलका विद्यार्थीहरु राती १० बजेपछिको समयमा मिगमा झुम्मिन्छन् । मिगकै कारण ब्वाईफ्रेन्ड गर्लफ्रेन्डबीचको झगडा बढेको र साथी–साथीबीच पनि झगडा बढेको प्रयोगकर्ताहरु बताउँछन् ।
मिगका कारण जीवन अस्तव्यस्त बनिरहेको स्वीकार्छन् युजरहरु तर नशाजस्तै बनिसकेको मिग छोड्न पनि सक्दैनन् उनीहरु । इञ्जिनियरिङ कलेज धरानका विद्यार्थी मिग युजर विराट गौतम भन्छन्, ‘साथीहरुसँग कुरा गर्न र राम्रा कामका प्रयोग गरे मिगबाट धेरै फाईदा लिन सकिन्छ तर अहिले अधिकतरले दुरुपयोग नै गरेका छन्, यसले मनोरञ्जन त दिन्छ तर करियरमा असर पारिरहेको छ ।’
ननभेज
विशेषगरी सहरी क्षेत्रका युवा–युवती मिगमा जोडिएका छन् । अझ कलेज पढ्ने टिनएजर बढी छन्, मिग युजर । साथीभाइसँग गफगाफसम्म त ठिकै छ तर अहिले मिगमा ननभेज (अश्लील) गफ र गतिविधि बढिरहेको छ । मिगमै मिलनदेखि बिछोडसम्म, किसदेखि सेक्ससम्म हुन्छ ।
पछिल्लो समयमा मिगमा सेक्स च्याट गर्ने क्रम बढेको छ । कहिल्यै नचिनेका मान्छेसँग गफ हुने भएकाले मनमा लागेको जुनसुकै कुरा प्याच्च भन्न सकिने भएकाले सजिलै घुलमिल हुने अनुभवीहरु बताउँछन् । एक युजरका अनुसार केटाहरु केटीलाई च्याट रुममा भेटे भने प्राइभेट गरेर सिधै, डु यु वान्ट सेक्स च्याट ? भनेर प्रस्ताव गर्छन् । धेरै केटीहरुले ओके ! भनिदिन्छन् त्यसपछि सुरु हुन्छ सेक्स च्याट । सेक्स च्याट गर्न चाहने केटीले चाहिँ केटालाई हाउ सेक्सी यु आर भनेर प्रस्ताव राख्छन् रे ! सेक्स च्याट गर्ने केटाले आफ्नो यौनाङ्गको तस्बिर मोवाइलबाटै खिचेर पठाउँछन् भने केटीले पनि यौनाङ्गका तस्बिरहरु साटा–साट गर्छन् । रातीको समयमा सुतेर मिग चलाउनेहरु बढी यस्तो गर्छन् । एक युजर भन्छन्, ‘यसमा लाईभ सेक्सको अनुभव हुन्छ ।’
हुन त मिगको नियममा सेक्स–च्याट, छाडाशब्द, अश्लील फोटोसेयर गर्नेलाई सस्पेन्ड गरिनुपर्ने हो तर मिग सञ्चालकले त्यसो गरेको पाइँदैन । ग्रुप च्याट र गु्रप सेक्स गर्नेहरु पनि धेरै छन् मिगमा । मिगको यो बढ्दो विकृतिलाई रोक्नेतर्फ कसैले ध्यान दिन सकेको पाइँदैन ।
के हो मिग ३३ ?
सन् २००५ को डिसेम्बर महिनामा लन्च भएको मिग ३३ लाई विश्वकै सबैभन्दा ठूलो मोवाइल सञ्जाल भनिन्छ । हालसम्म सबैभन्दा बढी डाउनलोड गरिएको मोवाइल एप्लिकेसन बन्न सफल मिगका दुई सयभन्दा बढी देशमा ४० लाखभन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । एउटा लाइबे्ररीको कफी सपमा साथीहरुबीच कुराकानी हुने क्रममा युवापुस्तामा मोवाइलबाट मोवाइलमा सस्तो शुल्कमा एसएमएस पठाउन मिल्ने सुविधा सहितको एप्लिकेसन निर्माण गर्ने सोचका साथ यसको विकास गरिएको थियो ।
मिग ३३ बाट च्याट गर्ने, नयाँ साथी खोज्ने, आमन्त्रण पठाउने साथै आफ्नो एकाउन्टको क्रेडिट बढाउने काम गर्न सकिन्छ । मिग प्रयोग गरेर याहु, फेसबुक, गुगल टक, एमएसएन तथा एओएल बाट च्याटिङ गर्न मिल्ने सुविधा छ । कतिपय युजरले यसलाई सामाजिक सञ्जाल मात्र नभएर जुवा खेल्ने साधनको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । त्यस्ता युजरहरुले लेभल किन–बेचका नाममा पैसा लेन–देनको कारोबार समेत गर्दछन् ।
गोपाल दाहाल

0 comments:
Speak up your mind
Tell us what you're thinking... !