सुरक्षित छैन विदेशको पढाइ - College Times : Educational Magazine
Headlines News :
Home » » सुरक्षित छैन विदेशको पढाइ

सुरक्षित छैन विदेशको पढाइ

Written By Neplee on Friday, September 21, 2012 | 6:10 AM


देशको बन्द, हड्ताल छल्न र गुणस्तरीय शिक्षा आर्जन गर्न भन्दै धेरै पैसा खर्च गरेर विदेसिएका नेपाली विद्यार्र्थीहरु सम्बन्धित देशको असुरक्षा र नीति परिवर्तनका कारण बिचल्लीमा पर्ने गरेका छन् ।
भदौ पहिलो साता दक्षिणपश्चिमी भारतीय राज्य कर्णाटकको राजधानी बैङ्गलोरपुगेका नेपाली विद्यार्र्थी हिंसामा पर्ने डरले आतङ्कित बने । आक्रमणको धम्कीको घटनाले सनसनी मच्चायो । आक्रमणको हल्लालगत्तै त्यहाँ रहेका छ हजार मानिरसले बैङ्गलोर छाडे भने पढिरहेका नेपाली विद्यार्थी समेत आतङ्कित बने ।


उत्तरपूर्वी भारतीयसँग नेपालीहरु खासगरी मङ्गोल जातिको अनुहार मिल्दो–जुल्दो हुने भएकाले नेपाली विद्यार्र्थीमा पनि आक्रमण हुनसक्ने खतरा बढेको भन्दै प्रचार गरिएपछि क्याम्पस प्रशासन र भारत सरकारले सुरक्षा व्यवस्था कडा बनाएको प्रतिबद्धता जनाउँदा–जनाउँदै पनि विद्यार्थीहरु निश्चिन्त हुन सकेका छैनन् ।
भारतीय राज्य आसाममा बोडो आदिवासी र बङ्गाली मुस्लिमबीच भड्किएको दङ्गाका कारण सरकारले सुरक्षा आश्वासन दिए पनि डरले त्यहाँ रहेका छ हजार मानिस अन्यत्र गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्य राज्यबाट बैङ्गलोर पुगेका भारतीय विद्यार्र्थीलाई सम्बन्धित राज्यले फिर्ता लाने प्रक्रिया अघि बढाए पनि नेपाली विद्यार्र्थीका बारेमा कुनै पहल नगरेको भन्दै विद्यार्र्थीहरुले नेपाल सरकारको आलोचना समेत गरेका छन् । यद्यपि आक्रमणको हल्ला फैलाउने केही व्यक्तिलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएपछि त्रास केही मत्थर त भएको छ, तर स्थिति अझै सामान्य हुन सकेको छैन ।
बैङ्गलोरको घटनाले वैदेशिक शिक्षाको व्यापारमा संलग्न कन्सल्टेन्सीलाई मात्र होइन, विद्यार्थी र अविभावकहरुलाई समेत झस्काइदिएको छ । परीक्षाको मुखमा आक्रमणको हल्ला फैलिएपछि त्यहाँ पढ्न पुगेका नेपाली विद्यार्थी वर्षौंको मेहेनतलाई खरानी बनाउँदै फर्कने वा ज्यानलाई हत्केलामा राखेर बस्ने भन्ने दोधारमा देखिए ।
नेपाली विद्यार्थीहरु अध्ययनका लागि ६० भन्दा बढी मुलुक गइसकेको शिक्षा मन्त्रालयअन्तर्गत छात्रवृत्ति शाखामा ‘नो अब्जेक्शन लेटर’ लिनेको तथ्याङ्कले देखाउँछ ।

२०६४ सालमा छात्रवृत्ति शाखाबाट १० हजार पाँच सय चार जनाले उक्त लेटर लिएका थिए भने २०६७ असार मसान्तसम्ममा यो बढेर २६ हजार नौ सय ४८ पुगेको छ । तर, विदेसिने विद्यार्थी बढेपनि विदेशमा समेत सुरक्षा नभएको बैङ्गलोरको घटनाले पुष्टि गर्छ । हल्ला मात्रै भए पनि केही दिन आतङ्कको सिर्जना ग¥यो ।
बारम्बार भइरहने बन्द, हड्तालका कारण स्वदेशमा पढ्ने अवस्था नरहेको भन्दै विदेसिएका र राम्रो शिक्षा लिने लक्ष्यसाथ ऋण गरेरै भए पनि विभिन्न मुलुकमा विद्यार्थी भिसा लिई बस्दै आएका नेपाली विद्यार्थीहरु यस्तै असुरक्षा र अन्योलताको शिकार हुने गरेका छन् ।
अध्ययनका लागि नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने मुलुकहरुमा अमेरिका, बेलायत, जापान, न्यूजील्यान्ड, अस्ट्रेलिया प्रमुख हुन् । तर सबै देशमा समस्याहरु छन् । पर्याप्त पैसा नहुँदा काम गर्दै पढ्ने भन्दै विदेशिएकाहरु
रोजगारी नपाउँदा बिचल्लिमा पर्ने गरेका छन् । यस्तै सम्बन्धित देशको नीति परिवर्तन, असुरक्षा र महँगीका कारण नेपाली विद्यार्थीहरुलाई जान त समस्या छ नै, गएपछि पनि टिक्न असाध्यै गाह्रो हुने गरेको छ ।

किन हुन्छ विदेशमा समस्या
नेपालमा भन्दा निश्चितता खोज्दै पढ्नका लागि विदेशिएका विद्यार्थी विदेशमै बिखलबन्दमा पर्ने गरेको इतिहास धेरै छन् । भिसा तथा सम्बन्धित कलेजको स्वीकृति लिएर गएका विद्यार्थीसमेत समस्यामा परेपछि विदेशको बसाइ त्यति सहज हुन्न भन्ने पुष्टि हुन्छ ।
विदेशमा नेपाली विद्यार्थीहरु समस्यामा पर्नुको एउटा कारण भिसाको दुरुपयोग नै हो । पढ्नका लागि शैक्षिक भिसामा गएकाहरु उतै पढ्न छाडेर काम गर्न थालेपछि बेलायत, अस्ट्रेलिया जस्ता देशले विद्यार्थीलाई कडाइ गर्दै आएका छन् । राम्रो देश पुगेपछि उतै भागेर लुकिछिपी बस्ने पुरानो नेपाली संस्कार खेलाडी, कलाकार हुँदै विद्यार्थीमा समेत सरेको छ ।
बेलायतमा पढाइ र कमाइको सोचले बेलायत भासिएका विद्यार्थीहरुको लक्ष््य पूरा हुन नसकेपछि त्यसतर्फ जाने विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । बेलायत पुगेका नेपाली विद्यार्थीहरुलाई बिचल्लीमा पार्ने गरेर त्यहाँको सरकारले अचानक गर्ने निर्णयले धेरै विद्यार्थीलाई बेलायतको बसाइ सुरक्षित नभएको प्रमाणित गरेको छ ।
निम्नमध्यम वर्गका विद्यार्थीलाई त विदेशमा शिक्षा लिने काम ढुङ्गाको गाँस चपाउनु जस्तै हुन्छ । एकातिर क्याम्पसको चर्को शुल्क, अर्कोतिर ट्युसन र कोचिङ शुल्क, बस्ने, खाने तथा बिरामी भएमा औषधि उपचार गर्ने खर्चका कारण सामान्य आर्थिक अवस्थाका विद्यार्थीले विदेशमा राम्रो शिक्षा आर्जन गर्छु भन्ने नसोचे पनि हुन्छ ।
सुरुमा हौसिएर बेलायत, अमेरिकामा पढ्न गएका विद्यार्थीहरु खर्च धान्न नसकेर बर्सेनि फर्किने गरेका छन् । काम गर्दै पढ्ने भन्दै गएकाहरु काम नपाउँदा भएको थोरै पैसा सकिएपछि बिचल्लीमा परेका हुन्छन् । कति त आर्थिक समस्याको तनावबाट मुक्त हुन मादकपदार्थ सेवन गर्नेसमेत गर्छन् । यसले तनाव र झमेला अझ बढाउँछ । त्यसैले पर्याप्त रकमको जगेडा स्वदेशमा हुन सकेमा मात्र विदेसिनु उपयुक्त हुन्छ ।
विदेसिएका नेपाली विद्यार्थीहरु परिवारबाट टाढा हुने हुँदा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् । यस्तोमा त्यहाँ जाने विद्यार्थीले अनावश्यक कानुनी झन्झट व्यहोर्नुपर्ने सम्भावना हुन्छ ।
विद्यार्थीलाई विदेश शिक्षाको विषयमा जानकारी दिनभन्दै खुलेका तर अप्रत्यक्ष रुपमा मेनपावर कम्पनीझैं काम गरिरहेका परामर्श प्रदायकहरुका कारण समेत विदेशमा निकै नेपाली विद्यार्थीले समस्या भोगिरहेका छन् ।
बैङ्लोरमा भड्किएको जातीय दङ्गाका कारण बैङ्लोर पुगेका र जाने तयारी गरिरहेका विद्यार्र्थीहरु अन्योलमा रहेकै बेलामा भदौको पहिलो साता एजुृकेशन कन्सल्टेन्सीहरुले भने विद्यार्र्थीहरुलाई बैङ्लोर लानका लागि विभिन्न माध्यमबाट विज्ञापन प्रसारण तथा प्रकाशन गरेका थिए ।
काठमाडौंमा प्रधान कार्यालय रहेको भनिएको इन्टरनेशनल एजुकेशन फाउन्डेसनले दमकको एक दैनिक पत्रिकामा विज्ञापन छपाएको थियो । यस्तै, इटहरीस्थित लर्डबुद्ध एजुकेशन कन्सल्टेन्सीले समेत विज्ञापन प्रसारण गरिरहेको थियो । भागाभाग भइरहेको समयमा पनि विज्ञापन प्रकाशन, प्रसारण गरिएको सम्बन्धमा जिज्ञासा राख्दा इन्टरनेशनल एजुकेशन फाउन्डेसनका व्यवस्थापकले त्यहाँ नेपाली विद्यार्र्थीलाई निशाना नबनाइएकाले आफूहरुले खासै वास्ता नगरेको र विद्यार्र्थी पठाउने वा नपठाउने भन्ने अविभावकको हातमा हुने जवाफ दिएको थिए ।
प्रतिस्पर्धामा उत्रिनकै लागि कतिपय परार्मशदाता कम्पनीहरुले विद्यार्थीलाई भिसा र कामको समेत ग्यारेन्टी हुने बताउँदै आएका छन् । तर, विद्यार्थी विदेश गएपछि सोअनुसारको सुविधा नपाउँदा बिखलबन्दमा पर्ने गरेका छन् ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) मा दुई सय ४० भन्दा बढी यस्ता परामर्शदाता कम्पनीहरु आबद्ध छन् । यस्तै, राष्ट्रिय शैक्षिक परामर्श सङ्घ (नेका) मा एक सय १० शैक्षिक–परामर्श कम्पनीहरु आबद्ध छन् । त्यस्तै यी सङ्घमा दर्ता नभएका अन्य एजेन्सी गरी जम्मा एक हजार बढी एजेन्सी सञ्चालनमा रहेको जनाइएको छ । पछिल्लो समयमा कम्प्युटर सेन्टर, विभिन्न तालिम प्रदायक संस्थाले समेत विदेश पठाउन थालेका छन् । उनीहरुले विद्यार्थी विदेश पठाएवापत रामै्र कमिसन हात पार्ने गरेका छन् । सरकारी अनुगमनको फितलोपनको फाइदा उठाउँदै यस्ता संस्थाले कमिसनको लागि खुलेआम ठगी गरिरहेका छन् ।

चुनौती रोजगारीको :
उक्सँदो आर्थिकस्तर र बढ्दो विलासी जीवनशैलीका कारण नेपाली विद्यार्थीहरु विदेशमा गएर पढ्न आतुर छन् । विदेशमा पढ्नुलाई उनीहरु व्यक्तिगत तथा पारिवारिक शान र प्रतिष्ठासँग दाँज्ने गर्छन् । तर विदेशको पढाइ त्यति सजिलो छैन । अझ घरबाटै खर्च जुटाउन नसक्ने हो भने त विदेशमै कमाएर पढ्ने कुरा सपना मात्र हुन्छ ।
लाखौं खर्च गरेर विदेशमा पढेपछिको समस्या रोजगारीको हुन्छ । विद्यार्थी भिसामा विदेश पुगेर रोजगारीबाटै कमाउने सपना देखेका विद्यार्थीहरु कमाउन नसकेपछि स्वदेश फर्कनुको विकल्प हुँदैन । पढिहाले पनि स्वदेशमा फर्किएर रोजगारी पाउने कुरा निकै गाह्रो हुन्छ ।
नेपालमा त्यस्ता कम्पनीहरु निकै थोरै छन्, जसले विदेशको शिक्षा लिएका युवाहरुलाई रोजगारी दिन सकुन् । अधिकतर उद्योग तथा व्यापारिक प्रतिष्ठानमा आफन्तवाद हावी छ । फेरि नेपालमा विदेशमा जस्तो छोटो–छोटो अवधिको काम दिने–लिने परम्परा नहुँदा रोजगारी पाउने निकै कम सम्भावना हुन्छ । नेपालमा निश्चित ठाउँ निश्चित मान्छेले ओगट्ने भएका कारण रोजगारीमा सजिलै प्रवेश गर्न पाउने अवसर कम हुन्छ, जुन विदेशको काम गर्ने शैलीको थोरै भए पनि स्वाद चाखेका विद्यार्थीहरुमा मानसिक तनाव उत्पन्न गर्ने कारक बनिरहेको हुन्छ ।
यस्तो अवस्थामा त्यसैले कुनै पनि विषय पढ्नुअघि त्यस विषय पढेका जनशक्तिको माग कति छ भनेर खोज गर्नु आवश्यक हुन्छ । त्यसमाथि पढेर मात्र पनि हुँदैन, आफ्नो व्यक्तित्वले पनि रोजगारी पाउने वा नपाउने निर्धारण गर्न ठूलो भूमिका खेल्छ । त्यसैले पढाइका अलावा व्यवहारिक ज्ञान, सीप आर्जन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
त्यसैले विदेशमा पढ्न जाने नै हो भने पनि आर्थिक जोहो राम्रै गर्नुपर्छ । छात्रवृत्ति पाइयो भने त्यो निकै उपयुक्त हुन्छ । तर, खर्चै गरेर जाने हो भने घरखेत नै बन्धकीसमेत राख्नुपर्ने हुँदा विदेशमा पढेर फर्किएपछि कति वर्षमा त्यो लगानी उठाउने गरी काम गर्न सकिन्छ भनेर कार्ययोजना बनाउनुपर्छ । सपनाको पछि दौडेर मात्र हुँदैन, आफ्नो दक्षता, क्षमतालाई समेत विचार गरेर विदेशमा पढ्ने वा नपढ्ने निर्णय लिनु बुद्धिमानी हुन्छ ।
हिमाल दहाल
०००


विद्यार्थी घटाउँदै बेलायत
पछिल्लो समयमा विद्यार्थीलाई भीसा गाह्रो बनाउँदै लगेको बेलायतमा समेत चार सय नेपाली विद्यार्थी प्रभावित हुने गरी त्यहाँको बोर्डर एजेन्सीले गरेको निर्णयका कारण विदेशको शिक्षा कत्तिको भरपर्दो हुन्छ भनेर झस्काएको छ ।
भीसाको दुरुपयोग भएको भन्दै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको विदेशी विद्यार्थी पढाउने लाइसेन्स खारेज गरेपछि त्यहाँ अध्ययनरत युरोपेली सङ्घ बाहिरका दुई हजार छ सय विद्यार्थी अन्योलमा परेका छन् । उक्त निर्णयपछि बेलायतमा विदेशी विद्यार्थीको भविष्यबारे बहस प्रारम्भ भएको छ । एउटै निर्णयले यति धेरै विद्यार्थीले झन्झट र तनाव व्यहोर्नुपरेपछि बेलायतमा विदेशी विद्यार्थीको शैक्षिक भविष्य समेत सुरक्षित नरहेको पुष्टि भएको छ ।
अधिकतर नेपाली विद्यार्थीले साढे १० लाख रुपैयाँभन्दा बढी तिरेर विश्वविद्यालयमा भर्ना भएकोमा लाइसेन्स खारेजीपछि समस्यामा परेका छन् । बेलायतमा धेरै विदेशी विद्यार्थी भर्ना गराउने विश्वविद्यालयका सूचीको शीर्ष १० स्थानभित्र पर्ने विश्वविद्यालयले विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको आरोप लगाउँदै लाइसेन्स
खारेज गरेपछि अब नेपालीसहित सबै गैरयुरोपेली मुलुकका विद्यार्थीलाई ६० दिनभित्र नयाँ शैक्षिक संस्थाबाट भिसा स्पोन्सर गराउन आदेश दिइएको छ । निर्धारित समयभित्र नयाँ शैक्षिक संस्थामा भर्ना हुन नसक्ने विद्यार्थीलाई बेलायतले देश निकाला गर्ने जनाएको छ ।
यो आदेशसँगै उक्त विश्वविद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थीले नयाँ भर्ना हुन थप रकम लगाउनुपर्ने, समय र झन्झट दुवै व्यहोर्नुपर्ने भएको छ ।
बोर्डर एजेन्सीले कारबाही गरेको यो पहिलो सार्वजनिक लगानी रहेको विश्वविद्यालय हो । यसअघि बेलायतको तस्माक कलेज टाट पल्टिएर एक वर्षअघि बन्द हुँदा दुई सय नेपाली विद्यार्थीको करोडौं रुपैयाँ गुमेको थियो । बोर्डर एजेन्सीले संघबाहिरका देशबाट विद्यार्थी ल्याउन कडाइ गरेका कारण आफ्नो संस्था नै बन्द गर्नुपरेको उक्त कलेजले जनाएको थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने लक्ष्यका साथ टियर फोर नीति लागू भएपछि बेलायत जाने नेपाली विद्यार्थीको चाप पनि केही वर्षअघि थामी नसक्नु थियो । २००९ मार्च ३१ मा टियर फोर नीति लागू भएको नौ महिनामै दुई लाख ७३ हजार विद्यार्थीले बेलायतको लागि शैक्षिक भिसा लिएका थिए । सन् २०१० मा नै दुई लाख ५३ हजार ८४५ विद्यार्थी बेलायत भित्रिएका थिए । तर, कहिले विद्यार्थीलाई काम गर्न नदिने नियम र कहिले विश्वविद्यालयले विदेशी विद्यार्थी पढाउन पाउने लाइसेन्स नै खारेज गर्ने गरेपछि अहिले त्यहाँ रहेका विद्यार्थी बिचल्लीमा पर्ने गरेका छन् ।
विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य मानिएको बेलायतले २०१५ सम्ममा अढाइ लाख विदेशी विद्यार्थी घटाउने लक्ष्यअनुसार विद्यार्थी कम मात्र लिने र भएका विद्यार्थीलाई समेत देश छाड्न बाध्य बनाइरहेको छ । २०१० मे देखि २०११ सम्ममा नै सरकारको नियम उल्लङ्घन गरेको भन्दै ३३ शैक्षिक संस्थाहरुको लाइसेन्ससमेत खारेज गरिसकेको बेलायतले यसलाई तीव्रता दिएको छ ।


सोचेजस्तो छैन साइप्रस

अहिले यहाँ हरेक हप्ता २० देखि ३० जनाको दरमा नेपालीहरु भित्रिँदै छन् । आकर्षक विज्ञापन र प्रचारमा भुलेर जानेहरुले न त काम गर्ने अनुमति पाउँछन्, न त अन्य कुनै युरोपेली मुलुकहरुमा छिर्ने अनुमति नै ।
साइप्रसकै नागरिकहरुसमेत दिनानुदिन बेरोजगार बन्दै गइरहेका छन् । महँगीले आकाश छोइरहेको छ । पर्यटकहरु भित्रिन छाडेका छन् र यसको प्रत्यक्ष असर पर्यटन व्यवसायसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुमा देखिएको छ । धमाधम यी व्यवसायहरु बन्द हुँदै जाँदा यी ठाउँहरुमा लुकिछिपी काम गर्ने विशेष गरेर दक्षिण एसियाली मूलका विद्यार्थीहरु बिचल्ली पर्न थालेका छन् ।
साइप्रस दक्षिण युरोपको आर्थिक रुपमा सशक्त प्रायःद्वीप हो । जनसङ्ख्या सात लाखको हाराहारीमा भए पनि सन् २००४ मा युरोपियन युनियनको सदस्य राष्ट्र  बनेपछि विदेशीहरुको चाप बढ्न थालेको हो । हाल करिब एक हजार नेपालीहरु साइप्रसका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन् । दक्षिण एसियाली मूलका नागरिकका लागि रोजगार र उच्चशिक्षा प्राप्तिका लागि प्रख्यात मानिने यो
राष्ट्र पश्चिमेली सम्भ्रान्त मुलुकका मानिसहरुको लागि भने छुट्टी मनाउने र अवकाश प्राप्त ब्रिटिस नागरिकहरुको लागि शान्त अवकाश जीवन जिउने अति सुरक्षित र सभ्य मुलुकको रुपमा चिनिन्छ ।
- मनिराज थेबे

अमेरिकाको समस्या
नेपालबाट नियमितरुपमा पैसा पठाएर छोराछोरीको पढाइ पूरा गर्नु असम्भवजस्तै छ, नेपाली बाबु–आमालाई । त्यसैले अमेरिका जाने हरेक विद्यार्थीले आफैँ काम खोजी आफ्नो र कलेजको खर्च धान्नुपर्छ । आफूले पढेको कलेज वा विश्वविद्यालयभन्दा बाहिर गएर काम गर्न अमेरिकी कानुनले दिँदैन । जुन कलेजमा पढेको हो, त्यहाँ काम पाउन अत्यन्तै गाह्रो छ ।
बाँच्नैका लागि भए पनि कलेज बाहिर गएर खुद्रा पसल, कफी शप, ग्यास स्टेशन र रेष्टुरेन्टमा अवैध रुपमा १२ घन्टासम्म काम गर्दै पढ्न बाध्य छन् । कतिपय विद्यार्थी गैरकानुनी काम गर्नसमेत बाध्य छन् । दिनभर कलेजको पढाइ, रातभरिको कामको थकाइ र तनाव भुलाउन लागूपदार्थ समेत सेवन गर्छन् । कलेजलाई समयमा शुल्क तिर्न नसक्दा विद्यार्थीको बसाइ नै गैरकानुनी हुन्छ ।
दुःख गरेर अवैध तरिकाले काम गरेर कमाउने विद्यार्थीलाई त्यहाँका लुटेराहरुले धुरुक्कै पार्छन् । प्रतिकार गर्न खोजे मारिदिन्छन् । एकातिर प्रहरीले समात्ने डर, अर्कोतिर लुटेराको डर । यसरी मारिँदा क्षतिपूर्तीको त कुरै छाडौं, लास उठाउनका लागि समेत अमेरिकामा रहने नेपालीहरुसँग चन्दा उठाउनुपर्ने बाध्यता छ ।
दुःख कष्ट भोगेर बल्लतल्ल पढाइ सके पनि ग्रीनकार्ड नभएको भन्दै जागिर दिइँदैन । फर्केर नेपालमा काम गर्न पनि लगानी हुँदैन, भनेको समयमा विदेशमा गरेको खर्च उठ्ने गरी काम पनि पाइँदैन । विदेसिनु भनेकै पैसा फल्ने रुखको बगैंचामा पुग्नु हो भन्ने अविभावकको आशा र अपेक्षाको नापतौल गर्न त झन् गाह्रो छ ।
– दीपक खड्का

नर्वेमा खर्च धान्नै गाह्रो
रोजगारीको लागि नर्वे उपयुक्त होइन । नर्वेमा भाषा सबैभन्दा पहिलो अवरोध हुन्छ । साथै उच्च कम्प्युटर प्रविधिमा अफिसियल कामहरु हुने हुँदा हाम्रो ज्ञान एकदम कम हुन्छ । त्यतिमात्र नभई नर्वेजियनहरु
परम्परागत रुपमा सबै काम आफैं गर्नुपर्छ भन्ने धारणा राख्छन् ।
दोस्रो विश्व युद्धपछि मजदुरहरुको अभावका साथै युवा जनशक्तिको कमी र महँगी भएकाले यिनीहरुले आफ्नो काम आफैँ गर्नुपर्ने अभियान नै चलाए । त्यहाँ रोजगारी पाइहाले पनि खानबस्न र यातायात खर्च एकदम महँगो भएकोले पैसा बचाउन निकै गाह्रो हुन्छ ।
उच्चशिक्षाका लागि आउने विद्यार्थीलाई कर, यातायातलगायत सुविधा हुनुको साथै विश्वविद्यालयबाट प्राप्त हुने परामर्श र होस्टल सुविधा तथा साथीहरुको सम्बन्धले कामको खोजीमा केही सजिलो भने हुन्छ । नेपालमा कन्सल्टेन्सीहरुले चलाएको हल्लाजस्तो आउनेबितिकै काम र आवासीय भिसा पाउने कदापि होइन । नेपालमा जे कामको अनुभव र सीपका साथै शैक्षिक अनुभव छ, त्यही आधारमा छ महिनाको कामको खोजीको भिसा प्राप्त गर्न सकिन्छ । तर, छ महिनामा आफूले तोके बमोजिमको काम नपाएमा भिसा नवीकरण हुन्न । कहिले रात नपर्ने यो मुलुकको वातावरणमा बानी पर्न नेपालीलाई समय लाग्छ । नर्वेको कर निकै महँगो छ । विद्यार्थीले पनि पार्टटाइम काम गर्दा ३६ देखि ४६ प्रतिशतसम्म कर तिर्नुपर्छ ।                       –अर्जुन भट्टराई

कडाइ गर्दै अस्ट्रेलिया
विद्यार्थीका लागि अर्को आकर्षक शैक्षिक गन्तव्य मानिएको अस्ट्रेलियामा विद्यार्थी बिचल्लीमा पर्ने गरी कुनै सरकारी निर्णय आजसम्म नगरिए पनि अस्ट्रेलियाले विद्यार्थी सङ्ख्यालाई भने निरुत्साहित गर्दै लगेको छ । भिसामा कमाउन जानेहरुको सङ्ख्या बढेपछि अस्ट्रेलियाले भिसा प्रक्रियामा कडाइ गर्न थालेको छ ।
अस्ट्रेलियाले १६ वटा बैंकबाट घटाएर दुईवटा बैंकको आर्थिक दस्तावेजलाई मात्र मान्यता प्रदान गर्ने व्यवस्था गरेबाट उसले विद्यार्थी आवागमन प्रक्रियामा केही नियन्त्रण गर्न चाहेको देखिन्छ । पढ्न जाने भन्दै काम गर्नेहरुको संख्या बढेपछि अष्ट्रेलियाले भिसा प्रक्रियालाई निकै कडा गरेको छ । शैक्षिक तथा आर्थिक अवस्था राम्रो भएका विद्यार्थीले मात्र पढ्ने अवसर पाउने सम्भावना छ ।
अहिले विशेषगरी डिपेन्डेन्ट भिसामा जानेहरुलाई कडाइ गरिएको छ । यस्तै २० प्रतिशतभन्दा बढी भिसा रिजेक्ट हुने कन्सल्टेन्सीलाई अष्ट्रेलियाले कालो सूचीमा समेत राख्छ ।

आकासको फल जापान
दोस्रो विश्वयुद्धपछि आफूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वमै अव्वल प्रमाणित गर्न सफल जापान अध्ययनका लागि आकर्षक गन्तव्य बन्ने गरेको छ । तर, पढाइ खर्च जोहो गर्न नसक्दा नेपाली विद्यार्थीहरुले जापानमा निकै सास्ती झेल्दै आएका छन् ।
जापानमा विदेशी विद्यार्थीले साताको चार घन्टाभन्दा बढी काम गर्न नपाउने नियम छ । एकातिर कलेज शुल्क र डेरा भाडा महँगो अनि अर्कोतिर काम गर्न पनि नपाइने हुँदा घरैबाट खर्चको जोहो गर्नुको विकल्प छैन ।
नागोया सहरस्थित एक कलेजमा पढ्ने स्याङ्जाका निसान थापा मगर नौ लाख रुपैयाँ खर्च गरेर जापान पुगेका थिए । छ महिनाको अवधिमा नै सबै रकम सकिएपछि घरबाट अझै चार लाख रुपैयाँ मगाएको बताउँछन् । ‘यहाँ काम गरेको चार घन्टाले खर्च धान्नै सकिँदैन ।’ उनले भने ।
अध्ययनका लागि आठ महिनाअघि जापान आएका मोरङका रञ्जन मगरका अनुसार डेराभाडा मासिक ५० हजारदेखि ८० हजार जापानी यान तिर्नुपर्छ । मगर भन्छन्, ‘घरबाटै खर्च धान्न नसक्नेहरुले जापान नआएपनि हुन्छ ।’
जापानमा अध्ययन भिसा पाउन नै धेरै मुस्किल छ । जापानी भाषा प्रशिक्षण, दलालहरुको फन्दा, जापानी दूतावासले लिने अनेक परीक्षा, भिसा दिने झन्झटिलो प्रक्रिया, आर्थिक भारलगायतले जापान नेपालीहरुका लागि आकासको फलजस्तै छ । जापान पुगेका रामेछापका भूपेन्द्र गोले भने बस्न गाह्रो भएपछि लगानी माया मारेरै भए पनि स्वदेश फर्किए । जापान जानका लागि १५ महिनादेखि दुई वर्षसम्म जापानी भाषा कोर्ष गर्नुपर्छ र प्रक्रिया मिलाउन, भिसा, हवाई टिकटसमेत गरेर १४ लाख रुपैयाँ खर्च हुन्छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved