ओइ फुच्चे पैसा छ ? हाल् । जितिस् भने एकको दुई हुन्छ ।’
सानेले हातमा हे¥यो । पचास रुपैयाँको नयाँ नोट थियो । अनि उसले डाइसबोर्ड हे¥यो ।
एक, दुई, पाँच, दस रुपैयाँका नोटहरु । उसले सोच्यो, ‘जितेँ भने त पचास रुपैयाँको सय रुपैयाँ हुन्छ । एकैचोटी पचास रुपैयाँ कमाइ हुन्छ । आमाले नुन र मसला किन्न दिएको पचास रुपैयाँको नुन, मसला किन्छु,, बाँकी पचास रुपैयाँको गुड्ने गाडी किन्छु ।’
आठ वर्षको सानेले यसअघि डाइस देखेकोसम्म थिएन । सानेमा एकाएक लोभ जाग्यो । जे पर्ला–पर्ला भन्दै एक पाइला अघि बढायो । तर, फेरि सोच्यो, ‘हारियो भने ?? नुन, मसला केले किन्नु ? घरमा धेरै पैसा पनि छैन,’ ऊ खिन्न भयो । गुड्ने गाडी किनेर साथीको अघि घुर्रर्र पार्ने उसको सपना चकनाचुर हुनै लागेको थियो, ‘मार्रा ... ’ छेउमा बसेर डाइस खेलिरहेको एउटा अर्को केटो तीन बित्तामाथि उफ्रियो ।
सानेकै अगाडि उसले एक सयको दुई सय जित्यो ।
साने थक्थकायो ।
‘मेरो पनि यतिखेर एक सय रुपैयाँ भइसक्ने ...’
उसले मुठी कस्यो ।
‘ल पैसा,’ डाइस खेलाउनेलाई सानेले पैसा दियो ।
‘के मा हाल्ने ?’
‘कोनि ?’ सानेलाई थाहा थिएन ।
‘ल इँटामा भो !’
सानेले डाइसमा पैसा राखिदिएको ठाउँतिर हे¥यो, इँटा भनेको चारपाटे आकारको रातो चित्र हुँदो रहेछ ।
‘गडप... गडप... गडप...’ डायसको गोटी हल्लियो । छेउछाउका अरुले पनि डाइसमा पैसा राखे । झन्डी, मुकुट, पाना, इँटा, चिढी, भोटे... ।
सानेको मुटु पनि जोडले ढुकढुक गर्न थाल्यो ।
‘मार्रा ... ’
दसैंमा मासु खान पाउने आशामा ठूला–ठूला आँखा बनाउँदै नुन किन्न बजार हिँडेको साने घर फर्कँदा भिजेको मुसाजस्तो भएको थियो । उसका पाइला गह्रौं थिए । घरमा के भन्ने ? उसले सोच्नै सकेको थिएन । साँझ भइसकेको थियो ।
ढोकाभित्र पाइला छिराऊँ कि नछिराऊँ ! ढोका नेर पुगेपछि ऊ झन् गल्यो । उसका खुट्टा लर्बराए । ढोका समाएर थचक्क बस्यो । उसले ठान्यो, सबै कुरा आमा–बुवालाई थाहा भइसक्यो ।
‘साने,’ आमा बाहिर आइपुगिन्, ‘किन ढिलो गरेको ?’
उसले साँचो कुरा भन्न सकेन । ‘पैसा हरायो, खोज्दा ढिलो भयो ।’
‘भेटियो त ?’ आमाले सोधिन् ।
‘भेटिएन ।’ उसले भन्यो ।
‘ल हिँड् भित्र । छिमेकी काकीसँग मागेर आजलाई काम चलाउनुपर्ला ।’
सानेलाई रातभर पनि निद्रा लागेन । आफूले गलत काम गरेकोमा त पछुतो लागेको थियो नै ढाँट्नुपरेकोमा पनि उसलाई खिन्नता थियो । राति छट्पटीले निदाउन सकेन । बिहानतिर झकायो ।
बिहान निद्राले चाँडै छोड्यो । उठ्नेबित्तिकै ऊ आमा छेउमा गयो अनि भन्यो, ‘मैले हिजो लगेको पैसा डायसमा हारेँ अनि तपाईको डरले मैले हरायो भनेर ढाँटे । अब म कहिल्यै डाइस खेल्दिनँ आमा !’
आमालाई छोराको इमान्दारिता देखेर माया लाग्यो । छोराको मायालु अनुहारमा हेरेर आमा दङ्ग परिन् ।
भनिन्, ‘राम्रो काम गर्नु, साँचो कुरा गर्नु !’ साने फुरुङ्ग परेर चङ्गा उडाउन कुद्यो । लट्टाइ समातेर चङ्गा उडाइरहँदा उसको मन पनि चङ्गा भएको थियो ।
हिमाल दहाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !