‘रिक्सा !’
चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुव्रmा आवाज । तरङ्गिन्छ हावामा । ठोक्किन्छ एक रिक्सावालाका कानमा ।
बोल्छ रिक्सावाला, ‘कहाँ जानुहुन्छ ?’
‘राधाकृष्ण मन्दिर .....।’ तयारी उत्तर हाम फाल्छ महिलाका मुखबाट ।
‘बस्नोस्’ बोल्यो रिक्सावाल ।
बसिन् उनी रिक्सामा । यी महिला पहिलो चोटि जाँदै छिन् राधाकृष्ण मन्दिर ।
आज भाइटिकाको दिन । बजार बन्द छ । पसल बिरलै खुलेका छन् ।
बग्छ रिक्सा कालोपत्रेमा । सधैँ व्यस्त रहने सडक फुर्सदिलो छ आज ।
‘दिदीको घर कहाँ नि ?’ बोल्छ रिक्सावाला । ऊ बोलक्कड छ । उसका रिक्सामा सवार जोकोही पनि उसको मिजासिलोपनको साथी बन्छ नै ।
‘यहीँ इटहरी १ मा हो । पूर्वलाइनमा किराना पसल छ ।’
‘कुन पसल ?’ ‘मीनाक्षी किराना पसल ।’
‘ए, त्यस पसलमा त म धेरैचोटि गएको छु । सहरको सबैभन्दा ठूलो किराना पसल हो त्यो । लाखौँको सामान चल्छ दिनमा । त्यहाँको साहुजी त धेरै राम्रो मान्छे हुनुहुन्छ । उधारो पनि खाएको छु मैले धेरैपटक त्यहाँको । उहाँ मलाई राम्रोसँग चिन्नुहुन्छ ।’ गफियो मजदुर ।
‘होला ।’ सम्भावनाको समर्थन जनाइन् महिलाले ।
‘को छ तपाईको राधाकृष्ण मन्दिरमा ?’
‘कोही पनि छैन । आज सामूहिक भाइटिकाको कार्यक्रम छ मन्दिरमा ।’
‘अनि तपाईँको आफ्नो भाइ छैन र ?’
‘खोइ छैन कसरी भन्ने, अनि छ पनि कसरी भन्ने । मेरो भाइ थियो तर हरायो सानैमा ।’ अतीतको पोको फुकाइन् महिलाले ।
‘हरायो ? कसरी ?’ अझ जिज्ञासु बन्छ रिक्सावाला ।
मौनता रमायो रिक्सामा केही बेर ।
अब, महिला पोखिन थालिन् भरिएर । अतीतका पाना पल्टिन थाले स्मृतिमा । पढ्न थालिन् अक्षरहरू ः
‘हाम्रो घर भोजपुरको रानीटारमा थियो । हाम्रा बा गाउँका नामुद पण्डित थिए । खान–लाउन कुनै समस्या थिएन हामीकहाँ । पण्डित बा भनेपछि सानै अर्को हुन्थ्यो गाउँमा । हामी दुई दिदी–बहिनी र एउटा भाइ थियौँ उनका सन्तति । गाउँमा राम्रै सम्मान हुन्थ्यो हाम्रा पनि बाका नाउँले रु बा हामीलाई भन्दा भाइलाई धेरै माया गर्नुहुन्थ्यो ।’
राधाकृष्ण मन्दिर आइपुग्यो अनि काटियो तर रिक्सा रोकिएन । बग्यो एकनासले विना कुनै अवरोध । मन्दिर आइपुगेको कुरा बताउँदैन रिक्सावाल । हरायो ऊ महिलाको अतीतमा ।
उनी सुनाउँदै छिन् ः ऊ सुन्दै छ ।
‘आजभन्दा बाइस वर्षअघि आजकै दिन घरमा धुमधामसँग तयारी थियो भाइटीकाको । सयपत्री हाँसेका थिए नाङ्लामा माला बनेर । सेलरोटी खातिएका थिए डालामा । बा व्यस्त हुनुहुन्थ्यो पूजापाठमा ।’
छिमेकीका आँगनमा जुवा खेल्नेहरूको भीड थियो । धुर्वेले बाका खल्तीबाट पाँच रुपियाँ झिकेछ र जुवामा बसेछ। बाले बोलाएर एक चड्कन लगाउनुभयो । ऊ रुँदै भित्र पस्यो । उसको सानो झोला लिएर बाहिर निस्कियो केहीबेरमै । त्यसबेला तेह्र वर्षको थियो ऊ । उसका सामानहरू प्राय त्यै झोलामा राख्थ्यो ।
ऊ सिकुवाबाट आँगनमा ओर्लियो । कसैको अनुहारमा पनि हेरेन । झ¥यो ओरालो ढुङ्गाका खुड्किलाहरू नाघ्दै । आमा पछि लाग्नुभो कराउँदै । केही सीप लागेन । आमालाई धेरै टाढा छोडेर गाउँको पुछार छिचोल्यो उसले । खोला त¥यो। जङ्गलको बाटो समात्यो ।
बहिनी र म गएर आमालाई घर फर्कायौँ ।
बा भन्नुहुन्थ्यो, केहीबेरपछि फर्कन्छ ऊ ।
हामी टीका तयार गरेर पर्खिरह्यौँ । घण्टौँ बित्यो घाम ओरालो लाग्यो तर ऊ फर्केन । बिस्तारै पश्चिमी पहाडले घामलाई निल्दै गयो । घरमा कोही पनि आँखा नभिजाई रहन सकेनाँै ।
‘म लिएर आउँछु त्यसलाई । नाथेले ठूलै ईख पो बोकेछ । फेरि त्यसो नगरोस् भनेर प्याट्ट पा¥या त ... ।’ सान्त्वनाको स्वरमा बोल्दै हिँड्नुभो बा । हेर्दाहेर्दै गाउँ छिचोल्नुभो । खोला तर्नुभो । पस्नुभो जङ्गल ।
साँझ पस्यो घरभित्र । हामी प्रतीक्षामा बसिरह्यौं । राति नौ बजेतिर फर्कनुभो बा, तर एकलै । ुजङ्गल कटिसकेछ क्यार, कतै भेटिएन ।’ मलिन आवाज निस्कियो बाका मुखबाट । कड्कलो स्वरमा रुवाबासी चल्यो घरमा । छिमेकीहरू भेला भए । वास्तविकता थाहा पाए । ढाडसको भाषा बोले, ’चिन्ता लिइहाल्नुपर्दैन । त्यै पल्लो गाउँतिर होला । भोलि खोजेर फर्काउँला ।’
हामी कोही पनि सुत्न सकेनौँ रातभरि । आमा कहिले रुनुहुन्थ्यो त कहिले बालाई गाली गर्नुहुन्थ्यो । यत्तिकैमा चिप्लियो रात । बास्यो भाले गाउँमा ।
दुईजना छिमेकी दाइहरूलाई साथ लिएर निक्लनुभो बा झिसमिसेमै । त्रासको रकेटमा हुइँकिएको हुइँकिएकै थियौं हामी दिनभरि भाइको प्रतीक्षामा । बा फर्कनुभो साँझमा तर भाइ थिएन साथमा । हामी तीनैवटी एकैसाथ चिच्यायौँ ‘खोइ भाइ ?’ बा बोल्नुभएन । उहाँको उदास अनुहारले भनिरहेको थियो ‘भेटिएन’ ।
सारा गाउँमा हल्ला भयो । पुलिस प्रशासनमा खबर गरियो । टाढा रहेका आफन्तकहाँ मान्छे पठाइयो । भारत छिर्ने नाकामा रिपोर्ट लेखाइयो । फोटो दिइयो । टेलिभिजनमा प्रसार गरियो । अफसोस ! सबै प्रयासहरू बालुवामा पानी भए । समय बाँधिएन । दिन, हप्ता र महिना गर्दै बगिरह्यो । झरे पातहरू रूखलाई निर्वस्त्र पारेर । बरफको तन्ना बाक्लिन थालयो सडकमा । तर भाइ फर्किएन । समय हुइँकिइरह्यो । वसन्त आयो फुलायो फूल तर फुलाउन सकेन हाम्रो मन । आकाश झरी बनेर रोयो । रानीटारले रोप्यो धान, असार बोलाएर । आकाश मुस्कायो पर्दा हटाएर तर उज्यालो पसेन हाम्रा आँखामा ।
शरदको सुगन्धित महक बोकेर छि¥यो हावा गाउँमा, तर टेकेन हाम्रो आँगन ।
घटना निदाउन सकेन कसैका दिमागमा । आमाको शरीर भाटो भयो सुकेर । छट्पटीमै बित्न थाले उनका जिन्दगी बाँकी प्रहरहरू । आफूले गरेको भुल कबुल्दै पश्चात्तापको आँसु झार्न रोक्नुभएन बाले । मेरो विश्वासको डिल नाघेर पैतालाको पिूधमा पुग्थ्यो अनि फर्कन्थ्यो फेरि भाइलाई लिएर । तर ऊ फर्केन । त्यस दिनदेखि हराएको मुस्कान बाको अनुहारमा नफर्कँदै उहाँले संसार छोड्नुभो, सायद भाइकै खोजीमा । बाले सबै सम्पत्ति मेरो र बहिनीको नाममा सारिदिनुभयो आफनो मृत्युअघि । बिहेपछि समयले हुत्याएर ल्यायो मलाई यो सहरमा । सोह्र वर्ष भयो यहाँ आएको । आमा मसँगै हुनुहुन्छ । हिँडडुल गर्न सक्नुहुन्न । हात–खुट्टा बाँधिएका छन् नियतिका डोरीले ।
हरेक भाइटीकामा रुनुहुन्छ आमा अनि म पनि । आज पनि ‘आमा ... ।’ महिलाको आवाज गाँठो प¥यो गलामा । रिक्सावालाका कानले पर्खे एक छिन आवाजको निरन्तरतालाई । तर वाक्य फुटेन । ऊ पछि फर्कियो । मूल फुटेको देख्यो उनका आँखामा । सागर डढेर आयो उसको पनि । आँधी चल्यो मनमा । बगायो खहरे ताता आँसुको । मुखबाट कुनै समवेदनाको शब्द निकाल्नै सकिरहेको थिएन ऊ ।
एक्कासि उसका हात पुगे रिक्साको ब्रेकमा । फर्कियो रिक्सा अघि आएकै बाटो । महिलाले थाहा नै पाइनन् । केही क्षणमै राजमार्ग छोडेर पश्चिमतिर मोडियो रिक्सा । साँगुरो गल्ली भएर केही भित्र छिरेपछि फेरि दक्षिण मोडियो अझ साँगुरो बाटो टेकेर । केही अघि बढेपछि रिक्सा रोकिन्छ । ओर्लन्छ रिक्सावाल । ओर्लन्छिन् महिला ।
ठूला–ठूला दुईवटा गगनचुम्बी भवनका साँगुरा चेपबाट सोझियो रिक्सावाल, महिलालाई उसको पछि लाग्ने सङ्केत गर्दै । महिला पछिपछि छिन्, ऊ अघिअघि । एउटा सानो कच्ची घरभित्र छि¥यो रिक्सावाल । महिला घरभित्र छिर्न अन्कनाइन् । उनले सोचेको राधाकृष्ण मन्दिर थिएन त्यो ।
न पेटी छ न सिकुवा नै । बाटो सिधै छिर्छ घरभित्र । ‘यस्तो पनि मन्दिर हँुदो हो ।’ शङ्का गर्छिन् उनी । ‘मलाई कतै गलत ठाउँमा त ल्याएन यस मान्छेले । कतै म बर्बाद हुने त होइन आज !’ चिसो पस्छ उनको मनमा । रिक्सावाल बाहिर निस्कियो र भन्यो, ‘भित्रै आउनुहोस् न ।’
महिला उभिरहिन् । भनिन्, ‘हैन मन्दिर चैँ कहाँ छ ?’ त्यसैबेला एउटी झुत्रो कपडामा सझिएकी महिला निस्किन् घरबाट । ‘भित्रै आउनुहोस् न दिदी ।’ बोलिन् उनी । आग्रहलाई स्विकारेर पसिन् महिला भित्र । सानो साँगुरो कोठा । त्यही भान्सा, त्यही बेडरुम । त्यही पूजाकोठा, त्यही पाहुनाकोठा । प्वालै–प्वाल भएका टिनले बनाइएको एककोठे घर । टिनकै छानो, टिनकै भित्ता । टिनकै झ्याल, टिनकै ढोका । लाग्छ यहाँ बस्ने प्राणी पनि टिनकै छ ।
दुई विशाल भवनका पछाडिको टिनको झुपडी । कोठामा उज्यालो न्कनाउँदै छिर्छ । केहीबेरमै घरवाली महिलाले एउटा थालमा एक मुठी चामल, एक–दुई थुँगा फूल राखेर दियो सल्काइन् । रङका पुरियाहरू मिलाएर राखिन् त्यसमै । रिक्सावाला पलेँटी कसेर बस्यो अगाडि । ‘दिदी लगाइदिनुहोस् टीका ।’ बोल्यो ऊ ।
महिला झस्किन् । केहीबेर छक्क परिन् र भनिन्, ‘तपाईँका पनि दिदी–बहिनी छैनन् र ?’
भावनामा छचल्किँदै बोल्यो रिक्सावाला, ‘आजभन्दा बाइस वर्षअघि बाका खल्तीबाट पाँच रुपैयाू चोरेर जुवा खेल्न बसेको तपाईँको भाइ मै हुँ । मै हुँ तपाईको भाइ ध्रुवचन्द्र खतिवडा ।’
महिला नाजबाफ रहिन्, तर स्विकारेन उनका मनले त्यो भाइ । त्यसबेलाको भाइको तस्बिर नाच्छ थाल्छ उनका आँखामा, अनि हेर्छिन् रिक्सावालालाई । एक छेवै नमिल्दो । त्यस्तो गोरो, झर्झराउदो भाइ, यस्तो कालो ख्याउटे रिक्सावाला ।
‘पत्याउनु भएन ? ल हेर्नुहोस् ।’ पुरानो टिनको बाकस खोल्यो उसले । निकाल्यो त्यै झोला जुन उसले घरबाट लिएर हिँडेको थियो बाइस वर्षअघि । झोला चिनिन् महिलाले ।
झोलाको तुना फुकाएर जमनाका फोटाहरू निकाल्यो। बा(आमाको फोटो । उनीहरू दिदी–बहिनी र भाइ एकै ठाउँ भएको फोटो । उनैले दिएको रुमाल र सानो डायरी । महिला केही पनि बोल्न सकिनन् । हालिन् अँगालो रिक्सावालालाई । घूँक ... घूँक ... घूँक ... आवाज आइरह्यो पुनर्मिलनको ।
शुकदेव अधिकारी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !