College Times : Educational Magazine: साहित्य
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

रहस्य खोल्यो ओपन सेक्रेटले

Written By Collegetimes on Tuesday, January 1, 2013 | 10:58 PM


२०६९ सालको दसैंको रमझमसँगै त्रिभुवन विमानस्थल हुँदै विदेश लान ठिक्क पारेको नक्कली भारतीय रुपैयाँको ठूलो बिटो प्रहरीले पक्राउ ग¥यो, जसमा व्यक्ति मात्र नभई सुरक्षा निकाय तथा राजनीतिक पार्टीको पनि संलग्नता थियो । यस्तै र अरु थप घटनाको तथ्य उजागर गर्ने पुस्तक आएको छ, ‘ओपन सेक्रेट’ । पत्रकार तथा लेखक केपी ढुङ्गानाको पुस्तक ‘ओपन सेक्रेट’मा विभिन्न समयमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय हत्याका घटनाहरुबारे गुह्य रहस्य हात लाग्यो । फाइनप्रिन्ट आइएनसीले प्रकाशन गरेको यो पुस्तकमा मिर्जा, जमिमदेखि फैजान हत्याकाण्डका नालीबेलीहरु समेटिएका छन् । लेखक आफैँले यो कुरा स्वीकारेका छन्, कि आफू पत्रकारिता जगतमै भए पनि कतिपय अवस्थामा समाचारहरु पूर्णरुपले पाठकहरुलाई दिन नसकिने हुन्छ, जसलाई पूर्ण गर्नका लागि पनि प्रस्तुत पुस्तक लेख्नुपरेको हो ।
चाहे २०५५ असारमा सिफलमा मारिएका मिर्जा (तत्कालिन सांसद)का हत्यारा हुन् या २०६६ सालमा मारिएका जमिम (केबुल किङ)का हत्यारा प्रहरीको नजरबाट कसरी भाग्न सफल भए र प्रहरी कसरी पराजित भयो यावत् वृतान्त ‘ओपन सेक्रेट’मा उल्लेख गरिएको छ ।
नेपालमा हत्यारा पत्ता लाग्ने अवस्था एकदमै न्यून छ । राजधानीको मुटु घन्टाघरअगाडि दिनदहाडै २०६८ असोजमा फैजान महमद (इस्लामिक सङ्घका तत्कालीन महासचिव)को हत्या भयो । हत्याराहरु महानगरीय प्रहरी आयुक्त कार्यालयको एकदमै छोटो दूरीबाट भाग्न सफल भए । हत्याका दोषी पत्ता लगाउन जनताको सुरक्षाको जिम्मेवारी लिएर बसेका उच्चतहका प्रहरीहरुले कसरी बेइमानी गरे भन्ने कुरालाई लेखकले प्रष्ट पारेका छन् ।
लेखकले पटकपटकका हत्या घटनाका प्रतिवेदनहरुको अध्ययनपछि नेपालमा हुने हत्याका सिलसिलामा भारतीय पक्षको ठूलो हात रहेको उल्लेख गरेका छन् । अपराधीलाई नेपालमा सेल्टर दिनु, विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने प्रवृत्तिका साथै भारतीय गाडीहरु निर्वाधरुपमा नेपालमा प्रवेश गर्न दिने प्रवृत्तिले पनि नेपालमा धेरै अन्तर्राष्ट्रियस्तरका हत्याका घटना हुने गरेको पुस्तकमा उल्लेख छ । अपराधीहरु एकदमै तल्लोस्तर (बुट पालिस गर्ने, बन्दरगाहमा, जहाजमा सामान लोड÷अनलोड गर्ने, कपाल काट्ने सैलुन चलाएका मानिस)बाट उठेर आएको पाइन्छ ।
सडकको मगन्ते जीवनबाट सुरु गरेको अपराधी प्रवृत्तिले राष्ट्रिय सरकारलाई हल्लाउने मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि ठूल्ठूला अपराध र हत्या गरेको पुस्तकले उजागर गरेको छ । समूह बनाउनका साथै सुरक्षा अधिकारीलाई नै प्रभावमा पार्ने र उनीहरुकै संरक्षणमा आपराधिक क्रियाकलाप गर्ने परम्पराले अपराधीहरु सुरक्षाघेराबाट तत्कालै उम्किने र अपराधी उम्काएपछि मात्र प्रहरीले छानविन प्रक्रिया अघि बढाउनेजस्ता कार्य गरेको पाइन्छ । अझ महत्वपूर्ण कुरा त जति पनि अपराधी छन्, ती अपराधीहरुले कुनै न कुनै राजनीतिक दलको बिल्ला भिरेकै छन् ।  अपराधीहरु राजनीतिक आडमा अपराधी हुनबाट मुक्त रहेको तथ्य पुस्तकमा छ ।
नेपालमा भएका अधिकतर घटनाको योजना भारतमै बन्ने गरेको पुस्तकले बताएको छ । भारतको उत्तर प्रदेशमा जन्मिएर सडकबाट जीवन सुरु गर्ने मिर्जा भारतमा समेत अपराध गरेर जेल बसेका व्यक्ति हुन् । तत्कालीन समयमा उनी रहेको दाउद समूह र करिम लाला समूहबीच शक्तिको भिडन्त चलिसकेको थियो । त्यसबाट ज्यान जोगाउन २०३७ सालमा उनी नेपाल छिरेका थिए ।
नेपालमा पनि गाँजा, चरेस हुँदै गाडी तस्करी उनको धन्दा कायमै रह्यो । मिर्जा हत्याकाण्डलाई ग्याङ्वार भनिए पनि मिर्जा भारतीय अपराधीको सूचीमा दर्ता भइसकेका मानिस थिए ।
हत्या गरिएका अर्का व्यक्ति जमिम शाहले लगानी गरेका विभिन्न नेटवर्कमा दाउदको ठूलो लगानी भएको सूचना आफूसँग भएको भारतको दाबी थियो । जमिममाथि सुन तस्करीको आरोप पनि भारतले लाउँदै आएको थियो ।
यसैगरी, कमलसिंह नेपाली (बझाङ, दाउदनिकट), मजिद मनिहार (भारतीय नक्कली रुपैयाँ कारोबार गिरोहको नाइके), सौकत वेग (कन्ट्राक्ट किलर), हत्या प्रयास गरिएका युनुस अन्सारी (नक्कली भारतीय नोट एवम् खैरो हेरोइनको कारोबारी) आदि सबैको हत्याबीच एकआपसमा अन्तरसम्बन्धबारे पुस्तकमा लेखिएको छ ।
अधिकतरमाथि लागेको साझा आरोप भने नक्कली भारतीय रुपैयाँ कारोबारी, डि कम्पनीका प्रमुख दाउद इब्राहिम र पाकिस्तानी गुप्तचर निकाय आइएसआईका सहयोगी भनी लेखकले पुस्तकमा भनेका छन् । नेपालमा भएका हत्याकाण्डमा संलग्न हत्याराहरु बारे जानकारी प्राप्त गरे पनि नेपाल मौन बसेको पाइन्छ । घटना हुनुमा भारत मात्र होइन नेपाल पनि त्यत्तिकै दोषी छ भन्न गाह्रो छैन ।
यसरी बिभिन्न समयका प्रतिवेदनको अध्ययन गरी घटनालाई सार्वजनिक गरेर लेखकले निकै जोखिमपूर्ण र साहसिक काम गरेका छन् ।
टीका आत्रेय पौडेल

देवानले ल्याए ‘हुरीमा नाचिरहेको ईश्वर’

Written By Collegetimes on Tuesday, December 4, 2012 | 7:17 AM


कोक्पाले रामायण पढ्यो
र राम आशीष दियो
आपाले माक्र्सवाद पढ्यो
र माक्र्स आशीष दियो
आमाले ‘दन्तेकथा’ भन्यो
र राजकुमारझँै बन्नू भन्यो
दन्तेकथाकै...
शिक्षा जस्तो लिइन्छ त्यस्तै कुरा बाहिर आउँछ । माथिका हरफहरुमा कवि देवान किरातीका यस्तै भावहरु छन् । गहकिला भाव सरल शब्दमा उतार्ने कवि हुन् किराती । झन्डै दुई दशकदेखि साहित्य सिर्जना कर्ममा लागेका किरातीका चोटिला शब्दले बुनिएका कविताहरुको एउटा ठेली हालै इटहरीमा साहित्यकारहरुको ठूलो जमातबीच सार्वजनिक गरियो । त्यसैभित्र समेटिएको उल्लिखित ‘गाँठी कुरा’ कवितामा कविले मानिसले लिने शिक्षा र परिवर्तन हँुदै गरेको समयक्रमलाई कलात्मक ढङ्गले पस्किएका छन् । ‘हुरीमा नाचिरहेको ईश्वर’ अग्रशीर्षकमा पहिलो कविता सञ्चयन लोकार्पण गर्दै किरातीले सबै सामु शब्दमा भावको जादु प्रस्तुत गरेका थिए ।
होर्डिङबोर्डमा झुन्ड्याइएको
त्यो तरुनी–तस्बिर
बारम्बार बलात्कार गरिरहन्छ मलाई ।
त्यसको त्यो नाङ्गो तिघ्राहरू
उदाङ्गो नाइटो
अस्वभाविक उठेको स्तन
गोगनेको रूखमा चट्याङ परेझैँ
झड्याम्म ! झड्याम्म !!
मेरो मस्तिष्कमा बज्रिन्छ
उप्mऽऽऽ कति भयावह ...?
मन छुने शब्द संयोजन र फरकधारमा बोलीचालीका कुरा मिँसिदा किरातीका कविताले विशिष्ट रुप लिएका छन् । समसामयिक नेपाली कवितामा उच्चस्थान ओगट्ने पाइला लम्काएका छन् । किरातीका कविताबारे प्राध्यापक अभि सुवेदीले ‘सरलता, कोमलता, इतिहास र निजत्वको चाखलाग्दो सङ्गम’ भनी टिप्पणी गरेका छन् । लोकार्पण गर्दाका बखत सुवेदीले किरातीका केही शब्दले आफूलाई भित्रैसम्म छोएको सुनाए ।
पूर्णिमाको साँझ
फाटेको चोलीमा कुम देखाइन् उनले
मैले जून देखाएँ
तप्प–तप्प ! तप्कियो शीत
आँखाको कार्नियाबाट जूनको
तापनि जून बलि नै रहयो ...
सिर्जनामा थुप्रै निखार आएपछि मात्र किरातीले कविताहरु पाठकलाई सुम्पेका हुन् । किरातीका रचनालाई पाठकसम्म पु¥याउने चाँजापाँजो साहित्य सञ्चार प्रतिष्ठान र कलालय इटहरीले मिलाएको थियो । अहिलेका कविको भिडमा फरक क्षमता राख्ने किरातीका कविताबारे लोकार्पण कार्यक्रममै समालोचक राम्जी तिम्सिनाले बहस चलाए । तीन जना साहित्यकारसँग गरिएको सो बहस–अन्तरसंवादको बढी समय ‘गाँठी कुरा’मै अल्झिएको थियो ।
अन्तरसंवादका क्रममा कवि मुमाराज शेर्माले भने, ‘देवान फूलमा हतियार सजाएर प्रहार गर्ने कवि हुन् । यो कवितामा पनि त्यही  छ ।’ किरातीको कवितामा ‘फ्रेस’ शब्द भएकाले सङ्ग्रहका सबै कविता पाठकले छुटाउन नमिल्ने र कविता लेख्न अभिप्रेरित गर्ने साहित्यकार मिश्र बैजन्तीको भनाइ थियो ।
प्राध्यापक टङ्क न्यौपानेले कवि किरातीले  प्रयोग गरेका ठेट नेपालीपन भएका शब्दमा सरलताभित्र गाम्भीर्यता लुकेको बताए । २०५० सालतिर देवानले कवितामा निकै हलुका शब्द प्रयोग गरेकोप्रति आफूले असहमति जनाएको सम्झँदै न्यौपानेले भने ‘तर अहिले उनको परिमार्जित लेखनले म निकै प्रभावित भएँ । उनी साँच्चिकै कवि भएछन् !’
कवि मनु मन्जिलले किरातीका कवितालाई सरल भाषामा सुन्दर कविता खोज्नेका निम्ति गुरुकूलको संज्ञा दिए । उनले किरातीका कविता आफ्नै पहिचान बोकेर इतिहासमा बाँचिरहने दाबी गरे । वाणी प्रकाशनले प्रकाशन गरेको किरातीको पहिलो सञ्चयनमा ४३ कविता समावेश छन् ।
यात्री शेखर 

रिक्सावाल, महिला र टिनको घर (कथा)

Written By Collegetimes on Saturday, October 20, 2012 | 7:23 PM


‘रिक्सा !’
चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुव्रmा आवाज । तरङ्गिन्छ हावामा । ठोक्किन्छ एक रिक्सावालाका कानमा ।
बोल्छ रिक्सावाला, ‘कहाँ जानुहुन्छ ?’
‘राधाकृष्ण मन्दिर .....।’ तयारी उत्तर हाम फाल्छ महिलाका मुखबाट ।
‘बस्नोस्’ बोल्यो रिक्सावाल ।
 बसिन् उनी रिक्सामा । यी महिला पहिलो चोटि जाँदै छिन् राधाकृष्ण मन्दिर ।
आज भाइटिकाको दिन । बजार बन्द छ । पसल बिरलै खुलेका छन् ।
बग्छ रिक्सा कालोपत्रेमा । सधैँ व्यस्त रहने सडक फुर्सदिलो छ आज ।
‘दिदीको घर कहाँ नि ?’ बोल्छ रिक्सावाला । ऊ बोलक्कड छ । उसका रिक्सामा सवार जोकोही पनि उसको मिजासिलोपनको साथी बन्छ नै ।
‘यहीँ इटहरी १ मा हो । पूर्वलाइनमा किराना पसल छ ।’
‘कुन पसल ?’ ‘मीनाक्षी किराना पसल ।’
‘ए, त्यस पसलमा त म धेरैचोटि गएको छु । सहरको सबैभन्दा ठूलो किराना पसल हो त्यो । लाखौँको सामान चल्छ दिनमा । त्यहाँको साहुजी त धेरै राम्रो मान्छे हुनुहुन्छ । उधारो पनि खाएको छु मैले धेरैपटक त्यहाँको । उहाँ मलाई राम्रोसँग चिन्नुहुन्छ ।’ गफियो मजदुर ।
‘होला ।’ सम्भावनाको समर्थन जनाइन् महिलाले ।
‘को छ तपाईको राधाकृष्ण मन्दिरमा ?’
‘कोही पनि छैन । आज सामूहिक भाइटिकाको कार्यक्रम छ मन्दिरमा ।’
‘अनि तपाईँको आफ्नो भाइ छैन र ?’
‘खोइ छैन कसरी भन्ने, अनि छ पनि कसरी भन्ने । मेरो भाइ थियो तर हरायो सानैमा ।’ अतीतको पोको फुकाइन् महिलाले ।
‘हरायो ? कसरी ?’ अझ जिज्ञासु बन्छ रिक्सावाला ।
मौनता रमायो रिक्सामा केही बेर ।
अब, महिला पोखिन थालिन् भरिएर । अतीतका पाना पल्टिन थाले स्मृतिमा । पढ्न थालिन् अक्षरहरू ः
‘हाम्रो घर भोजपुरको रानीटारमा थियो । हाम्रा बा गाउँका नामुद पण्डित थिए । खान–लाउन कुनै समस्या थिएन हामीकहाँ । पण्डित बा भनेपछि सानै अर्को हुन्थ्यो गाउँमा । हामी दुई दिदी–बहिनी र एउटा भाइ थियौँ उनका सन्तति । गाउँमा राम्रै सम्मान हुन्थ्यो हाम्रा पनि बाका नाउँले रु बा हामीलाई भन्दा भाइलाई धेरै माया गर्नुहुन्थ्यो ।’
राधाकृष्ण मन्दिर आइपुग्यो अनि काटियो तर रिक्सा रोकिएन । बग्यो एकनासले विना कुनै अवरोध । मन्दिर आइपुगेको कुरा बताउँदैन रिक्सावाल । हरायो ऊ महिलाको अतीतमा ।
उनी सुनाउँदै छिन् ः ऊ सुन्दै छ ।
‘आजभन्दा बाइस वर्षअघि आजकै दिन घरमा धुमधामसँग तयारी थियो भाइटीकाको । सयपत्री हाँसेका थिए नाङ्लामा माला बनेर । सेलरोटी खातिएका थिए डालामा । बा व्यस्त हुनुहुन्थ्यो पूजापाठमा ।’
छिमेकीका आँगनमा जुवा खेल्नेहरूको भीड थियो । धुर्वेले बाका खल्तीबाट पाँच रुपियाँ झिकेछ र जुवामा बसेछ। बाले बोलाएर एक चड्कन लगाउनुभयो । ऊ रुँदै भित्र पस्यो । उसको सानो झोला लिएर बाहिर निस्कियो केहीबेरमै । त्यसबेला तेह्र वर्षको थियो ऊ । उसका सामानहरू प्राय त्यै झोलामा राख्थ्यो ।
ऊ सिकुवाबाट आँगनमा ओर्लियो । कसैको  अनुहारमा पनि हेरेन । झ¥यो ओरालो ढुङ्गाका खुड्किलाहरू नाघ्दै । आमा पछि लाग्नुभो कराउँदै । केही सीप लागेन । आमालाई धेरै टाढा छोडेर गाउँको पुछार छिचोल्यो उसले । खोला त¥यो। जङ्गलको बाटो समात्यो ।
बहिनी र म गएर आमालाई घर फर्कायौँ ।
बा भन्नुहुन्थ्यो, केहीबेरपछि फर्कन्छ ऊ ।
हामी टीका तयार गरेर पर्खिरह्यौँ । घण्टौँ बित्यो घाम ओरालो लाग्यो तर ऊ फर्केन । बिस्तारै पश्चिमी पहाडले घामलाई निल्दै गयो । घरमा कोही पनि आँखा नभिजाई रहन सकेनाँै ।
‘म लिएर आउँछु त्यसलाई । नाथेले ठूलै ईख पो बोकेछ । फेरि त्यसो नगरोस् भनेर प्याट्ट पा¥या त ... ।’ सान्त्वनाको स्वरमा बोल्दै हिँड्नुभो बा । हेर्दाहेर्दै गाउँ छिचोल्नुभो । खोला तर्नुभो । पस्नुभो जङ्गल ।
साँझ पस्यो घरभित्र । हामी प्रतीक्षामा बसिरह्यौं । राति नौ बजेतिर फर्कनुभो बा, तर एकलै । ुजङ्गल कटिसकेछ क्यार, कतै भेटिएन ।’ मलिन आवाज निस्कियो बाका मुखबाट । कड्कलो स्वरमा रुवाबासी चल्यो घरमा । छिमेकीहरू भेला भए । वास्तविकता थाहा पाए । ढाडसको भाषा बोले, ’चिन्ता लिइहाल्नुपर्दैन । त्यै पल्लो गाउँतिर होला । भोलि खोजेर फर्काउँला ।’
हामी कोही पनि सुत्न सकेनौँ रातभरि । आमा कहिले रुनुहुन्थ्यो त कहिले बालाई गाली गर्नुहुन्थ्यो । यत्तिकैमा चिप्लियो रात । बास्यो भाले गाउँमा ।
दुईजना छिमेकी दाइहरूलाई साथ लिएर निक्लनुभो बा झिसमिसेमै । त्रासको रकेटमा हुइँकिएको हुइँकिएकै थियौं हामी दिनभरि भाइको प्रतीक्षामा । बा फर्कनुभो साँझमा तर भाइ थिएन साथमा । हामी तीनैवटी एकैसाथ चिच्यायौँ ‘खोइ भाइ ?’ बा बोल्नुभएन । उहाँको उदास अनुहारले भनिरहेको थियो ‘भेटिएन’ ।
सारा गाउँमा हल्ला भयो । पुलिस प्रशासनमा खबर गरियो । टाढा रहेका आफन्तकहाँ मान्छे पठाइयो । भारत छिर्ने नाकामा रिपोर्ट लेखाइयो । फोटो दिइयो । टेलिभिजनमा प्रसार गरियो । अफसोस ! सबै प्रयासहरू बालुवामा पानी भए । समय बाँधिएन । दिन, हप्ता र महिना गर्दै बगिरह्यो । झरे पातहरू रूखलाई निर्वस्त्र पारेर । बरफको तन्ना बाक्लिन थालयो सडकमा । तर भाइ फर्किएन । समय हुइँकिइरह्यो । वसन्त आयो फुलायो फूल तर फुलाउन सकेन हाम्रो मन । आकाश झरी बनेर रोयो । रानीटारले रोप्यो धान, असार बोलाएर । आकाश मुस्कायो पर्दा हटाएर तर उज्यालो पसेन हाम्रा आँखामा ।
शरदको सुगन्धित महक बोकेर छि¥यो हावा गाउँमा, तर टेकेन हाम्रो आँगन ।
घटना निदाउन सकेन कसैका दिमागमा । आमाको शरीर भाटो भयो सुकेर । छट्पटीमै बित्न थाले उनका जिन्दगी बाँकी प्रहरहरू । आफूले गरेको भुल कबुल्दै पश्चात्तापको आँसु झार्न रोक्नुभएन बाले । मेरो विश्वासको डिल नाघेर पैतालाको पिूधमा पुग्थ्यो अनि फर्कन्थ्यो फेरि भाइलाई लिएर । तर ऊ फर्केन । त्यस दिनदेखि हराएको मुस्कान बाको अनुहारमा नफर्कँदै उहाँले संसार छोड्नुभो, सायद भाइकै खोजीमा । बाले सबै सम्पत्ति मेरो र बहिनीको नाममा सारिदिनुभयो आफनो मृत्युअघि । बिहेपछि समयले हुत्याएर ल्यायो मलाई यो सहरमा । सोह्र वर्ष भयो यहाँ आएको । आमा मसँगै हुनुहुन्छ । हिँडडुल गर्न सक्नुहुन्न । हात–खुट्टा बाँधिएका छन् नियतिका डोरीले ।
हरेक भाइटीकामा रुनुहुन्छ आमा अनि म पनि । आज पनि ‘आमा ... ।’ महिलाको आवाज गाँठो प¥यो गलामा । रिक्सावालाका कानले पर्खे एक छिन आवाजको निरन्तरतालाई । तर वाक्य फुटेन । ऊ पछि फर्कियो । मूल फुटेको देख्यो उनका आँखामा । सागर डढेर आयो उसको पनि । आँधी चल्यो मनमा । बगायो खहरे ताता आँसुको । मुखबाट कुनै समवेदनाको शब्द निकाल्नै सकिरहेको थिएन ऊ ।
एक्कासि उसका हात पुगे रिक्साको ब्रेकमा । फर्कियो रिक्सा अघि आएकै बाटो । महिलाले थाहा नै पाइनन् । केही क्षणमै राजमार्ग छोडेर पश्चिमतिर मोडियो रिक्सा । साँगुरो गल्ली भएर केही भित्र छिरेपछि फेरि दक्षिण मोडियो अझ साँगुरो बाटो टेकेर । केही अघि बढेपछि रिक्सा रोकिन्छ । ओर्लन्छ रिक्सावाल । ओर्लन्छिन् महिला ।
ठूला–ठूला दुईवटा गगनचुम्बी भवनका साँगुरा चेपबाट सोझियो रिक्सावाल, महिलालाई उसको पछि लाग्ने सङ्केत गर्दै । महिला पछिपछि छिन्, ऊ अघिअघि । एउटा सानो कच्ची घरभित्र छि¥यो रिक्सावाल । महिला घरभित्र छिर्न अन्कनाइन् । उनले सोचेको राधाकृष्ण मन्दिर थिएन त्यो ।
न पेटी छ न सिकुवा नै । बाटो सिधै छिर्छ घरभित्र । ‘यस्तो पनि मन्दिर हँुदो हो ।’ शङ्का गर्छिन् उनी ।  ‘मलाई कतै गलत ठाउँमा त ल्याएन यस मान्छेले । कतै म बर्बाद हुने त होइन आज !’ चिसो पस्छ उनको मनमा । रिक्सावाल बाहिर निस्कियो र भन्यो, ‘भित्रै आउनुहोस् न ।’
महिला उभिरहिन् । भनिन्, ‘हैन मन्दिर चैँ कहाँ छ ?’ त्यसैबेला एउटी झुत्रो कपडामा सझिएकी महिला निस्किन् घरबाट । ‘भित्रै आउनुहोस् न दिदी ।’ बोलिन् उनी । आग्रहलाई स्विकारेर पसिन् महिला भित्र । सानो साँगुरो कोठा । त्यही भान्सा, त्यही बेडरुम । त्यही पूजाकोठा, त्यही पाहुनाकोठा । प्वालै–प्वाल भएका टिनले बनाइएको एककोठे घर । टिनकै छानो, टिनकै भित्ता । टिनकै झ्याल, टिनकै ढोका । लाग्छ यहाँ बस्ने प्राणी पनि टिनकै छ ।
दुई विशाल भवनका पछाडिको टिनको झुपडी । कोठामा उज्यालो न्कनाउँदै छिर्छ । केहीबेरमै घरवाली महिलाले एउटा थालमा एक मुठी चामल, एक–दुई थुँगा फूल राखेर दियो सल्काइन् । रङका पुरियाहरू मिलाएर राखिन् त्यसमै । रिक्सावाला पलेँटी कसेर बस्यो अगाडि । ‘दिदी लगाइदिनुहोस् टीका ।’ बोल्यो ऊ ।
महिला झस्किन् । केहीबेर छक्क परिन् र  भनिन्, ‘तपाईँका पनि दिदी–बहिनी छैनन् र ?’
भावनामा छचल्किँदै बोल्यो रिक्सावाला, ‘आजभन्दा बाइस वर्षअघि बाका खल्तीबाट पाँच रुपैयाू चोरेर जुवा खेल्न बसेको तपाईँको भाइ मै हुँ । मै हुँ तपाईको भाइ ध्रुवचन्द्र खतिवडा ।’
महिला नाजबाफ रहिन्, तर स्विकारेन उनका मनले त्यो भाइ । त्यसबेलाको भाइको तस्बिर नाच्छ थाल्छ उनका आँखामा, अनि हेर्छिन् रिक्सावालालाई । एक छेवै नमिल्दो । त्यस्तो गोरो, झर्झराउदो भाइ, यस्तो कालो ख्याउटे रिक्सावाला ।
‘पत्याउनु भएन ? ल हेर्नुहोस् ।’ पुरानो टिनको बाकस खोल्यो उसले । निकाल्यो त्यै झोला जुन उसले घरबाट लिएर हिँडेको थियो बाइस वर्षअघि । झोला चिनिन् महिलाले ।
झोलाको तुना फुकाएर जमनाका फोटाहरू निकाल्यो। बा(आमाको फोटो । उनीहरू दिदी–बहिनी र भाइ एकै ठाउँ भएको फोटो । उनैले दिएको रुमाल र सानो डायरी । महिला केही पनि बोल्न सकिनन् । हालिन् अँगालो रिक्सावालालाई । घूँक ... घूँक ... घूँक ... आवाज आइरह्यो पुनर्मिलनको ।
शुकदेव अधिकारी

गम्भीर कविताहरूको सङ्ग्रह

Written By Neplee on Friday, June 15, 2012 | 9:46 AM

पुस्तक समीक्षा (प्रशन्न घिमिरेबाट)
घाइते पक्षीजस्तै यादहरू
उडी आउँथे टाढा–टाढाबाट
गुनगुनाउँदै दुःखका आदिम गीतहरू
र गुड्दै–गुड्दै झर्थे ओरालोमा
ढुङ्गाजस्तो चर्किदै–चर्किदै यादहरू ।
याद छाडी जानेलाई यो सब थाहा छ, छैन ? थाहा भएर पनि के !
जब स्थिति यस्तो छ कवि हेमनकै शब्दमा–
केही गरी
सम्भव छैन अब
भेटिनु मोडहरूमा
बरु † पल्टाउनू
मनको पुरानो एल्बम
खोज्नु प्रेमको खियाले छोपिएको तस्बिर
र टक्टकाउँदै पुछेर हेर्नू
आदिम–आदिम सम्झनाहरू ।
नजानिँदो गरी पाठकलाई गहिराइ झन् गहिराइमा लग्छन् कवि हेमन यात्रीका कविताले । कविता सरल हुनुपर्छ भन्ने हल्ला खरबारीमा आगोझैँ फैलिँदै गरेको समयमा कवि हेमन ‘पहाड मसितै यात्रा गर्छ’ कविता सङ्ग्रहमार्फत् मस्तिष्कलाई सुस्तरी छुने र नमेटिने गरी गहिरो प्रभाव छोड्ने क्षमताका कविता लिएर आएका छन् । गोरेटोमा बुर्किसी मारिहिँड्ने, बतासमा सिमलको भुवाझैँ उडी हिँड्ने थुप्रै कविहरूको जमात्बाट अलग्गिएर जङ्गलबीच कतै जमेको दहमा पौडी खेलिरहेका कवि हुन् कि हेमन ? सङ्ग्रहका यी कविताले दहमा पौडनुजस्तो मजा दिन्छन् ।
एउटा साँझ त छँदै थियो मसित
तर बालक हुँदा
काँटी निख्रिएको सलाइको बट्टामा
धूलो हालेर
तिमीले मेरो सिउँदो भरेको
सम्झँदा मात्र थाहा भयो
कति चाँडो आएछ
अर्को साँझ पनि आँखामा ।
सरलतामा यसरी गम्भीरता बोल्न यी कविले कहाँबाट सिकेका होलान ! भन्न खोजेको कुरा यसरी सजिलै कसरी भन्न सकेका होलान् ! यहीँनेर कविताको भारी बोकेर पहाडसँग यात्रारत यी कवि धेरै पर पुग्ने छनक पाउँनेछन् पाठकले । सयौँ दिनको आन्दोलनले, हल्लाले भन्न नसकेको, भन्न नजानेको कुरा । आख्यानका हजारौँ पृष्ठले व्यक्त गर्न खोजेर पनि नसकेको कुरा कविताका केही पङ्तिमार्फत सजिलै भनिदिन्छन् कवि हेमन–
पोहरको सालझैँ
मक्किएको छ घरको छानो
यसपालि पनि चुहिनेछ पानी बर्खामा
र खोसेर लग्नेछ
देउताहरूको निद्रा मध्यरातमा ।
यहाँ कुनै नारा–जुलुस छैन । कुनै रुवावासी छैन र पनि करङ गले–गले जस्तो हुन्छ । हड्डी काठे कीराले किर्किर् किर्किर् खाइरहेजस्तो हुन्छ । सुकुम्वासी बस्तीबाट टाढा बसेको पाठक पनि सुस्तरी धकेलिएर त्यतै पुग्दछन् र आहत् हुन्छन् ।
न समाजदेखि टाढा छन् यी कविता, न समयदेखि । हामीले भोगेकै समाज र समयका रूप–रङ चित्र–चित्र, सुस्केरा–सुस्केरा र उच्छ्वास छ्याप–छ्याप्ती आएका छन् । मानौ कि पाठक हेरिरहेछ ऐना र देख्दैछ आफैंलाई । आप्mना नानीहरूलाई र नानीहरूको बिजोगलाई–
तिमी हिँडेपछि
हरेक दिन सोध्छन्
निदाउनुअघि
र सोध्छन् ब्यूूँझेपछि
दुवै हात काखीमुनि च्यापेर
जाडो छेकिरहेका नानीहरू,
अनजान देशतिर हिँड्नेहरू हामी नै त हौँ । र, आँसुले पछ्याइरहेका आँखाहरूले नियाल्ने पनि हामी नै हौँ । जीवनका मिहीन दुःखहरू खिपिएका छन् । बजारको भीडबाट पर एकान्तमा एकैछिन बसाइँ सर्दा हामीसँग जेजस्ता अत्यास र विषाद्ले बास मागेर भर्खर हामीले भोगेको र अझै भोग्न अभिशप्त यो समयमा तिनलाई आवाज दिन यी कविता सक्षम छन् । र, पाठक मस्तिष्कमा नमेटिने दृश्यमा प्रतिस्थापित हुने गरी लिपिबद्घ हुन पनि ।
छुटेर जान्छ निमेषभरमै
आफूसँगै रहेको
एउटा छाया पनि
जसरी–
किनारालाई हिर्काएर
पहाडका असङ्ख्य दुःख बोकी
बगिरहन्छ नदी ।
पलपल समय छुटिरहेको हुन्छ । मित्रहरू छुटिरहेका हुन्छन् । मोडहरूमा आइपुगेर प्रेमीहरू छुटिरहेका हुन्छन् । सपना र रहरहरू छुटेका हुन्छन् । जनता–जनता जप्ने नेताहरूको फाइलबाट जनताहरू नै छुटिरहेका हुन्छन् । बेइमानी र विवेकहीनताको अँध्यारोले ढाकिएपछि धेरै कुरा छुट्छन्, हराउँछन्, बिलाउँछन् । यहाँसम्म कि आफ्नै छाया पनि छुट्दै जान्छ । छुट्नुका थुप्रै पीडा छन् ।
भर्खर बाढीले छाडी गएको
उदास बगरजस्तै भएको छ मन
घरको पेटीमा बसेर
मिल्काइरहेछु आँखा
विधवाको सिउँदोजस्तै देखिन्छ
मूल सडकबाट छुटेर
घरसम्म आइपुग्ने बाटो
किन विधवाको सिउँदोजस्तै देखिन्छ घरसम्म आइपुग्ने बाटो ? उत्तर कोसँग होला ? हाम्रा बाटाहरूबाट हरियाली बेपत्ता भएको वर्षौं जो भयो । उत्तर खोज्नेहरू काठमाडौँ  सडकका किनारदेखि रमितेखोलासम्मै भेटिएलान् ।
रमितेखोला, मोरङका यी कविको मानस झोलामा भने थुप्रै उच्छवास र सुस्केरा रहेछन् । र, आफ्नो मौलिक सांस्कृतिक कथा, मिथक र प्राक्प्रसङ्ग पनि । सायद यी कविलाई ज्ञात छ, बाहिर हेरेर आफूलाई हेर्न बिर्सिएमा नक्कले भइन्छ । आफ्नै संवेदना, आफ्नै सांस्कृतिक कथा र मिथक अनि आफ्नै समय लेखिनुले यी कविता हाम्रो हो भनेर देखाउन सकिने गरी आएका छन् । यी कविताले समकालीन समाज, परिवेश, समय र संस्कृतिबाट दृश्य पाएका छन् । गहिराइ र कला पाएका छन् । आवाज र लय पाएका छन् ।
आज कोक्पाको मेछाप्मा निकालिनेछ घरबाट
र अपरिचितको फोटो ल्याएर टाँसिनेछ
अनि बिस्तारै पल्टनेछ बाइबलको प्रथम पृष्ठ ।
आफ्नै अनुहारको उज्यालो हेर्ने
सयौ वर्षको पुरानो ऐना फुटाउनेहरूलाई
इनाम छ
कोक्पाले बगाएको
आँसुको अरूण ।
गालीले होइन यी कविता सुस्केरा र विरहले हल्लाउने क्षमता बोेकेर आएका छन् । सायद यी कविलाई लाग्दो हो विचारको मूल संवेदना हो । यी कविता त्यही मूलतिरबाट बग्दै–बग्दै आएजस्ता छन् ।
आक्रोशले भन्दा गहिराइले भाषा र आवाज पाएका छन् हेमनका कवितामा । र त पाठक मस्तिष्कमा गहिरो प्रभाव पार्न सक्षम छन् । उखुजस्तै चपाई–चपाई रस लिन सकिने गुणका भन्दा अझ बेस होला । ०००

पत्रकार लम्सालको ‘विभाजित समय’

Written By Neplee on Tuesday, May 15, 2012 | 9:40 AM

पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्सालको उपन्यास ‘विभाजित समय’ हालै इटहरीमा सार्वजनिक गरियो ।
२०२ पृष्ठ भएको सामाजिक उपन्यास ‘विभाजित समय’मा तीस भाग छन् । सत्यमतीलाई मुख्य पात्र बनाइएको सो उपन्यासमा होमनाथ, धनबहादुर, सुरक्षा, फूलसरी, धनपाल, निर्मलीलगायतका पात्रहरुको विशेष भूमिका छ । पत्रकार लम्सालले भोगाइको अनुभव र समाजको यथार्थ चित्रण गरेर पात्रहरु उभ्याएका छन् ।
आँसु, हाँसो, रोदन र पीडाका कथाहरु गुन्जिएको ‘विभाजित समय’मा पहाड र मधेसको जीवनशैली, राजनीति खिँचातानीलगायतलाई उतारिएको छ । धनपुरी भन्ने गाउँको विशेष चर्चा गरिएको उपन्यासमा नेपाली समाजको वास्तविक परम्परा र चेतनाविना समाज अधुरो रहन्छ भन्ने प्रस्ट्याउन लेखकले कोशिस गरेका छन् ।
लम्सालले शैलीका गीत, धामीझाँक्रीका कुरा, समाजको अवस्था, मायाप्रेम र संस्कारजस्ता विषयलाई उपन्यासकारले रोचक ढङ्गले चित्रण गरेर कृति पठनीय बनाएका छन् ।  पहिलो ‘अवशिष्ट यात्रा’ उपन्यासमा छुटेका कुरा पनि ‘विभाजित समय’मा समेटिएको लेखकले जनाएका छन् ।
साझा प्रकाशनले बजारमा ल्याएको  उपन्यासले साहित्य क्षेत्रमा छुट्टै स्थान र महत्व राख्ने आशा गर्न सकिन्छ ।

यायावरको पदचिन्हका शक्तिशाली आवाजहरू

नेपाली साहित्यमा नयाँ–नयाँ प्रतिभाहरू जन्मिने क्रम जारी छ । सोही क्रममा ‘एउटा यायावरको पदचिन्ह’ कवितासङ्ग्रह प्रकाशन गरेर त्यही परम्परामा सामेल भएकी छिन् छितापोखरी–२, खोटाङकी आस्था कोपिला ।
कवि आस्था कोपिलाको सङ्ग्रहभित्र कवि आस्थाले २०६१ भदौदेखि २०६६ फागुनसम्म रचित ४३ वटा कविताहरू समेटेकी छन् । उनका कवितामा मानवता, प्रेम, राष्ट्रियता, देशप्रेम, नारी उत्पीडन र उन्मुक्ति, सामाजिक जीवन, द्वन्द्व, गरिब र सर्वहारा वर्गको अवस्था अनि परदेशी तथा शोषित–पीडित वर्गका भावहरू छचल्किरहेका भेटिन्छन् । यसरी विविध विषयवस्तुहरूको समायोजनबाट ‘एउटा यायावरको पदचिन्ह’ एउटा सुन्दर कवितात्मक फूल भएर फुलेको छ ।
कवि आस्था कोपिलाका कविताहरू पनि प्रगतिशील समयसँगै सलल बगेका छन् । समयको मागअनुसार हरेक वस्तुमा आएको परिवर्तनसँगै पाठकहरू नेपाली कवितामा पनि फरकपनाको स्वाद चाख्न चाहन्छन् । पाठकहरूको उक्त इच्छालाई कवि आस्थाले थोरै भए पनि पूरा गर्ने जमर्काे गरेकी छन् । उनले समाज र मानव जीवनका सूक्ष्म कुरालाई पनि नियाल्ने प्रयत्न गरेकी छन् । वर्गीय शोषण, जातीय उत्पीडन, लैङ्गिक विभेद, युद्ध अनि आतङ्कले पिल्सिएका, अभावमा छट्पटाएका, सुख किन्न परदेशिएका, वियोगमा रोएका, आघातमा दुखेका अनि भ्रममा बाँचेका शोषित–पीडित मनहरूप्रति समर्पित छन् आस्थाका कविता ।
इतिहास बोल्दैन
श्रमिकको निम्ति इतिहास
लाटो छ,
मगजहीन छ
अभिलेखहीन, कोरा कागज छ
श्रमिक सर्वहाराको
त्रासदी !
इतिहास लेख्दैन ।
(झुट्टा इतिहास, पृ. ४)
कवि आस्था वास्तविक जीवनमा ईश्वरप्रति कत्तिको आस्था राख्छिन् त्यो अस्पष्ट छ । तर, कवितामा हामीले ईश्वरका रुपमा मान्दै आइरहेका बुद्ध, मोहम्मद, येशु, पारुहाङ, सुम्निमा र तागेरानुवाफुङ आदिलाई उनी ईश्वरका फोटोकपीहरु मान्छिन् । ईश्वरको मास्टरकपी कतै छ । तर, ईश्वरका फोटोकपीहरुले आफ्नै मास्टरकपीको अस्तित्वलाई ओझेलमा पारिदिएको उनका सिर्जनाले बोलेका छन् ।
कवि आस्था आफैँ नारी भएकीले नारीको पीडा ओकल्छिन् । अब सम्पूर्ण नारीहरु सङ्कुचित समाजको पर्खाल तोडेर बाहिर निस्कनु जरुरी छ । समाजमा नारीहरुलाई घृणा, अपमान, तिरस्कार र अपहेलना गर्न चाहने जाली, कपटी शकुनीहरुका लागि उनका यी कविताका पङ्तिहरु बम र बारुद भएर पड्किन सक्छन् ।
तोडिने छ – सामाजिक पर्खाल
मुक्त हुनेछन् – पिँजडाका सुगाहरु
सुरक्षित हुनेछ अस्तित्व ।
(पर्खाल, पृ. ४७)
अनागरिक भएर सस्तो भाउमा श्रम बेच्न बाध्य भएको एउटा परदेशीलाई देशको मायाले तान्छ । उसलाई आफ्नो देश र स्वतन्त्रता मात्रै नभएर आफ्नी प्रेयसीसमेत हराउने भय छ । त्यही कारणले ऊ बेग्लै प्रण गरेर छिट्टै स्वदेश फर्कन चाहन्छ ।
म देशको दुःख बोक्न तयार
जीवन बदलिन तयार
एउटा विश्वास लिएर
देश, जनता र तिम्रा निम्ति
एउटा उज्यालो जून बोकेर
फर्की आउनेछु ।
(परदेशबाट, पृ. ४०)
यो एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो । कम्प्युटरको दुनियाँमा मानिस रोबोर्टसँग अन्तरिक्षको सयर गर्न चाहन्छ । यन्त्र, यन्त्र र फेरि पनि यन्त्रकै पछि दौडिरहेको छ मान्छे । हरदम यन्त्रको सञ्चालन र खोजीमा सक्रिय मान्छे आफैँ यन्त्रको दास भएर जीवन बिताइरहेको छ । हुँदा–हुँदा मान्छे मेसिनमा अनुवाद हुन लागिसक्यो । जसले गर्दा मान्छेभित्रको संवेदना नै शून्य भएझैँ लाग्छ ।
निर्जीव मुटुमा समवेदना पग्लँदैन
यो डिजिटल शताब्दिले समवेदनामाथि
ढुङ्गा र कङ्क्रिट बिच्छ्याएको छ
छातीमा सिङ्गमरमरको पिरामिड उभ्याएको छ
मसँग आत्मिक सौदन्र्य र स्वचेतना छैन
ठूलो रिक्तता – समय र मेरोबीचमा छ
मेरो प्रेम अमूर्त हुनाले
मुटु नधड्किने मान्छे हुँ म ।
(मुटु नधड्किने मान्छे म, पृ. ४९)
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले सुरु गरेदेखि यौनमनोविज्ञानपरक लेखन आउने क्रम जारी छ । आस्था कोपिलाका कवितामा पनि यौनिकता गाढा झुल्को पाउन सकिन्छ ।
मेरो कुमारी वैंश
तिम्रो स्वागतमा छ
अलिकति निकास खोजेर
स्वयम्भु हुँदै फर्केर आऊ !
हामी चोखो गर्भाधान गरौँ
कलङ्कित इतिहासको दाग मेटेर
अहङ्कार र आडम्बरले चुलिएको
पर्खाल भत्काउन सक्ने
यो देशमा सच्चा सन्तान
जन्माऔँ ।  (सन्तान, पृ. २२)
कवि आस्था कवितामा बिम्ब र प्रतीकको प्रयोगमा रमाउँदै हिँडेकी एउटा यायावर हुन् । प्रेमले भरिएको उनको कविता प्रेमीको प्रतीक्षामा अभिशप्त जीवन बाँचिरहेको छ ।
विचार र भावको गहिरो मिलनले मात्र कविता मजबुत बन्न सक्दछ । कविता सिर्जनाको क्रममा कति कविहरू विचारमा मात्र जोड दिन्छन् र भाव हराउन पुग्छन् भने कति कविहरू भावमा मात्र जोड दिन्छन् र विचारको प्रस्तुतीकरणमा चुक्छन् । विचार र भावको सन्तुलनमा कवि आस्था केही हदसम्म सफल देखिन्छिन् । भावको प्रस्तुतिमा उत्कृष्ट देखिएकी कवि आस्थाले अझ उत्कृष्ट विचार पस्कन सकेकी भए यी कविताहरू अझ सशक्त बन्ने थिए ।

साहित्य विविध

Written By Neplee on Friday, February 17, 2012 | 6:10 PM


बहुआयाम समेटिएको कृति
रमा पौडेल ‘प्रभात’
व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर समाजप्रति समर्पित हुनेहरू नै सधैँ चर्चा–परिचर्चामा आइरहन्छन् । समाजलाई केही दिन खोज्नेहरू साहित्यसेवा, स्वास्थ्यसेवा, राजनीतिका क्षेत्रमा क्रियाशील हुन्छन् । यसरी क्रियाशील हुनेमा पुरुष र महिला उत्तिकै पाइन्छन् । तर, नेपालको सन्दर्भमा महिलाको सङ्ख्या औँलामा गन्न सकिने रहेको छ । त्यसमध्येमा पारिजात, झमक घिमिरे, पद्यमावति सिंह, भागिरथी श्रेष्ठ, बालकुमारी थापा, सुधा त्रिपाठीलगायत पर्दछन् । यस्तै छुट्टै पहिचानका साथ नेपाली साहित्यको क्षेत्रमा कलम चलाइरहेकी अर्की साहित्यसेवीलाई चिनाउने जमर्को गरेको छ, प्रश्रित प्रतिष्ठान नेपालले ।
भाषा, साहित्यको जगेर्ना र उत्थानका लागि विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानले कविता पौडेल बहुआयाम शीर्षकमा ‘प्रश्रित प्रतिष्ठान पुस्तकमाला–१’ भनेर एउटा गहन खोजमूलक कृति बजारमा ल्याएको छ ।
अर्घाखाँची जिल्ला खिदिम, म्यालपानी गाउँमा २००२ साल माघ ६ गते चोला लिएकी कविता पौडेलको बहुआयामलाई समेटेर सम्पादन गरिएको कृति आफैँमा ओजपूर्ण र गहन छ । काँडेघारीको यात्रा
(२०५९), शीर्षकको आत्मसंस्मरण प्रकाशन गरेकी कविताले नेपाली साहित्यमा दरिलो उपस्थिति देखाएकी छिन् । बालचित्कार (२०६३), हीरा (२०६३) र विस्थापित आमाहरू (२०६८), आमाहरू (२०६६)को परिमार्जित संस्करण बजारमा छन् भने ‘सीमापारी’ शीर्षकको उपन्यास छिट्टै बजारमा आउँदैछ । साथमा उनका थुप्रै फुटकर कथाहरू प्रकाशित भएका छन् । उपन्यासबाहेक उनले गीत, योगासन ध्यानका पुस्तकहरू पनि प्रकाशित गराएकी छन् ।
विविध आयामयुक्त उनको जीवनको साहित्यिक क्षेत्रलाई महŒव दिँदै साहित्यसम्वद्ध लेख र सामालोचनाहरू समावेश गरिएको उक्त पुस्तकमा लेखकहरू कविता पौडेलका आत्मकथा र उपन्यासहरू तर्फ तानिएका छन् । यसको उदाहरणस्वरूप उनको काँडेघारीको यात्रा (२०५९) आत्मसंस्मरणमा केन्द्रित रहेर इन्दिरा प्रसाईंले काँडेघारीको यात्रालाई कविता पौडेलको मात्र सङ्घर्षको यात्रा नभएर प्रेरक पुस्तक भएको र कविताले बिताएका कष्टकर जीवनका पानाहरू पल्टाउँदै जाँदा आफ्ना दुःखहरू मसिना भएर हराएको चर्चा गरेको पाइन्छ ।
त्यसैगरी, कमल गुरागाईंले काँडेघारीको यात्रालाई सङ्घर्षशील नारीको जीवनकथा मान्दै मोतीका हारजस्ता पहाडका कन्दराबाट उब्जेका कञ्चन झर्नाझैँ पवित्र, स्वच्छ र निर्मल ठहर गरेका छन् । कृष्ण बस्यालले काँडेघारीको यात्राले मानिसको जीवनमा जतिसुकै दुःख–कष्ट आइपरे पनि हरेस नखाई समाजभित्र रहेका अन्धविश्वास कुसंस्कार र कुरीतिलाई डटेर सामना गर्नुपर्छ र समाजभित्र रहेका अन्धविश्वास, कुसंस्कार र कुरितिलाई डटेर सामना गर्दै–गर्दा समय क्रमसँगै ती कुप्रथाहरू तोड्दै जानु पर्दछ भन्ने सन्देश पनि प्रस्तुत कृतिले दिन्छ भनेका छन् ।
त्यसैगरी, डा. जीवेन्द्रदेव गिरीले रुढीग्रस्त समाजका आँखा खोल्न र समाजको अनाचार अन्त्य गर्न पनि उनले अद्वितीय साहस प्रदर्शन गर्दै काँडेघारीको यात्रा यिनै विराङ्गानाको परिचायकका रूपमा देखापरेको जनाएका छन् । डिल्लीराज भट्टराई, डी.आर. पोखरेल, पुण्यप्रसाद खरेल, भगिरथी श्रेष्ठ, मुक्तिनाथ शर्मा, हेमराज ज्ञवाली गरी एघार जना लेखकहरू काँडेघारीको यात्रामा केन्द्रित भएका छन् ।
बालचित्कार (२०६३) उपन्यासमा केन्द्रित रही रमेश शुभेच्छुक लेख्छन्, ‘यस उपन्यासले बालबालिकाका उत्पीडनहरूलाई केन्द्रमा राखेर अनाथ बालबालिकाका समस्या, बालविवाह, बालविधवा, बालश्रम जस्ता बालहिंसाको उद्घाटन गर्दै तिनको अन्त्यको चाहना राखेको छ ।’
हीरा (२०६३) उपन्यासमा केन्द्रित रही डिल्लीराज नेपाल (उपन्यास हीराभित्र विचरण गर्दा) देवीचरण भण्डारी ‘सरोज’ (कविता पौडेल र हीरा उपन्यास), रमा पौडेल ‘प्रभात’ (हीरा उपन्यासको औपन्यासिक पर्यावलोकन), रमेश पोख्रेल (हीरा उपन्यास समाजको यथार्थ दर्पण) र सुकुम शर्मा (नारी समस्याको प्रतिविम्ब हीरा उपन्यास) लगायतले हीरा उपन्यासको केन्द्रीयतामा रहेर कलम चलाएका छन् ।

झरेको जून र कविको चर्चा
दक्षिण एशियाली युवा कवि पुरस्कारबाट पुरस्कृत मनु मन्जिलको कविता सङ्ग्रह ल्याम्प पोष्टबाट झरेको जूनको इटहरीमा हालै सार्वजनिक चर्चा गरिएको छ ।
केही अगाडि राजधानीमा विमोचित सो कविता सङ्ग्रह पूर्वका लागि सार्वजनिक गर्दै प्राज्ञ कवि कृष्णभुषण वलले कृति र मनु मन्जिलका बारे चर्चा गरे । उनले मन्जिल यो पुस्ताको शक्तिशाली कवि भएको बताए । पूर्वका विभिन्न साहित्यकारहरूले पनि कवि र कविताका बारेमा चर्चा गरे ।
कार्यक्रममा कवि मन्जिलले आफ्नो कृतित्वको पृष्ठभूमिका बारेमा बोलेका थिए । उनले आफ्ना दुईवटा कवितासमेत वाचन गरेका थिए । सो अवसरमा कवि मन्जिल र प्रकाशक अजित बरालले पाठकका दर्जनबढी जिज्ञासाको जवाफ दिएका थिए । इटहरी नगरपालिकाको सांस्कृतिक भवनमा भएको कार्यक्रममा पूर्वका झन्डै तीन सय साहित्यकारहरूको जमघट रहेको थियो ।
फाइन प्रिन्ट प्रकाशक रहेको पुस्तकको मूल्य एकसय ९९ रुपैयाँ राखिएको छ ।

असन्तृप्त अभिलाषा
युवा गजलकार केपी लम्सालको पहिलो कृति असन्तृप्त अभिलाषा गजल सङ्ग्रह एक कार्यक्रमकाबीच धरानमा सार्वजनिक गरिएको छ ।
नेपाली गजलका सम्राटको संज्ञा पाएका गजलगो ज्ञानुवाकर पौडेलले कृतिको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा प्रकाश आङ्देम्बे, डा. भीम खतिवडा, डा. गोपाल भण्डारी, देवी पन्थी, बद्री पलिखे, हेमन यात्री, धनकुटे कान्छा, सीमा आभाष, टेकेन्द्र अधिकारी, टीका आत्रेयलगायतका गजलकार तथा साहित्यकारले गजलवाचनका साथै गजलका बारेमा बहस गरेका थिए ।
कार्यक्रममा नेपाली गजल लेखन र समसामयिक गजलमा देखिएका चुनौतीबारेमा दरिलो बहस भएको थियो । नेपाल गजल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा तीन दर्जन बढी श्रष्टाले गजल वाचन गरेका थिए । नेपाल गजल प्रतिष्ठानले प्रकाशन गरेको गजल सङ्ग्रह असन्तृप्त अभिलाषाको मूल्य एकसय पाँच रुपैयाँ रहेको छ ।

मनको क्षितिजमा टीका 
८० वटा गजल समेटिएको गजलकार टीका आत्रेय पौडेलको गजल सङ्ग्रह मनको क्षितिज हालै इटहरीमा सार्वजनिक गरिएको छ ।
जनता क्याम्पस इटहरीमा अध्यापन गराउँदै आएकी आत्रेयको गजल सङ्ग्रह प्रा. डा. अभि सुवेदीले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा उपस्थित समालोचकहरूले गजल विधामा आत्रेयको गजलले आशावादी भाव व्यक्त गरेको बताएका थिए । कार्यक्रममा बोल्दै साहित्यकार तथा प्रा.डा. सुवेदीले गजल सङ्ग्रहले आफ्नोपन कायम गर्न सकेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा साहित्यकार मनु मन्जिल, प्रा.डा. बद्रीविशाल पोखरेललगायतले बोलेका थिए ।
साहित्य सञ्चार प्रतिष्ठान इटहरीले प्रकाशन गरेको सङ्ग्रहको मूल्य एकसय रुपैयाँ राखिएको छ ।

कुमुदका कथा पहेँलो फूलमा
कथाकार कुमुद अधिकारीको कथा सङ्ग्रह ‘पहेँलो फूल’ फागुनको पहिलो साता इटहरीमा लोकार्पण गरियो । कार्यक्रममा झापा मोरङ र सुनसरीका चर्चित साहित्यकारहरूको जमघाट थियो । कार्यक्रममा उपस्थितमध्ये अग्रज साहित्यकारहरूले कथा सङ्ग्रहभित्रका कथा, पात्र र प्रवृत्तिका बारेमा चर्चा गरेका थिए ।  अनुवाद साहित्यमा पारङ्गत अधिकारी यो सङ्ग्रहमार्फत सशक्त कथाकारका रूपमा अगाडि आएका छन् । समसामयिक र मानवीय मूल्य समेटिएका १३ वटा कथा रहेको सो सङ्ग्रह सङ्गम पब्लिकेशनले प्रकाशन गरेको हो ।सङ्ग्रहको मूल्य एक सय ५० रुपैयाँ राखिएको छ ।

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved