पुस्तक समीक्षा (प्रशन्न घिमिरेबाट)
घाइते पक्षीजस्तै यादहरू
उडी आउँथे टाढा–टाढाबाट
गुनगुनाउँदै दुःखका आदिम गीतहरू
र गुड्दै–गुड्दै झर्थे ओरालोमा
ढुङ्गाजस्तो चर्किदै–चर्किदै यादहरू ।
याद छाडी जानेलाई यो सब थाहा छ, छैन ? थाहा भएर पनि के !
जब स्थिति यस्तो छ कवि हेमनकै शब्दमा–
केही गरी
सम्भव छैन अब
भेटिनु मोडहरूमा
बरु † पल्टाउनू
मनको पुरानो एल्बम
खोज्नु प्रेमको खियाले छोपिएको तस्बिर
र टक्टकाउँदै पुछेर हेर्नू
आदिम–आदिम सम्झनाहरू ।
नजानिँदो गरी पाठकलाई गहिराइ झन् गहिराइमा लग्छन् कवि हेमन यात्रीका कविताले । कविता सरल हुनुपर्छ भन्ने हल्ला खरबारीमा आगोझैँ फैलिँदै गरेको समयमा कवि हेमन ‘पहाड मसितै यात्रा गर्छ’ कविता सङ्ग्रहमार्फत् मस्तिष्कलाई सुस्तरी छुने र नमेटिने गरी गहिरो प्रभाव छोड्ने क्षमताका कविता लिएर आएका छन् । गोरेटोमा बुर्किसी मारिहिँड्ने, बतासमा सिमलको भुवाझैँ उडी हिँड्ने थुप्रै कविहरूको जमात्बाट अलग्गिएर जङ्गलबीच कतै जमेको दहमा पौडी खेलिरहेका कवि हुन् कि हेमन ? सङ्ग्रहका यी कविताले दहमा पौडनुजस्तो मजा दिन्छन् ।
एउटा साँझ त छँदै थियो मसित
तर बालक हुँदा
काँटी निख्रिएको सलाइको बट्टामा
धूलो हालेर
तिमीले मेरो सिउँदो भरेको
सम्झँदा मात्र थाहा भयो
कति चाँडो आएछ
अर्को साँझ पनि आँखामा ।
सरलतामा यसरी गम्भीरता बोल्न यी कविले कहाँबाट सिकेका होलान ! भन्न खोजेको कुरा यसरी सजिलै कसरी भन्न सकेका होलान् ! यहीँनेर कविताको भारी बोकेर पहाडसँग यात्रारत यी कवि धेरै पर पुग्ने छनक पाउँनेछन् पाठकले । सयौँ दिनको आन्दोलनले, हल्लाले भन्न नसकेको, भन्न नजानेको कुरा । आख्यानका हजारौँ पृष्ठले व्यक्त गर्न खोजेर पनि नसकेको कुरा कविताका केही पङ्तिमार्फत सजिलै भनिदिन्छन् कवि हेमन–
पोहरको सालझैँ
मक्किएको छ घरको छानो
यसपालि पनि चुहिनेछ पानी बर्खामा
र खोसेर लग्नेछ
देउताहरूको निद्रा मध्यरातमा ।
यहाँ कुनै नारा–जुलुस छैन । कुनै रुवावासी छैन र पनि करङ गले–गले जस्तो हुन्छ । हड्डी काठे कीराले किर्किर् किर्किर् खाइरहेजस्तो हुन्छ । सुकुम्वासी बस्तीबाट टाढा बसेको पाठक पनि सुस्तरी धकेलिएर त्यतै पुग्दछन् र आहत् हुन्छन् ।
न समाजदेखि टाढा छन् यी कविता, न समयदेखि । हामीले भोगेकै समाज र समयका रूप–रङ चित्र–चित्र, सुस्केरा–सुस्केरा र उच्छ्वास छ्याप–छ्याप्ती आएका छन् । मानौ कि पाठक हेरिरहेछ ऐना र देख्दैछ आफैंलाई । आप्mना नानीहरूलाई र नानीहरूको बिजोगलाई–
तिमी हिँडेपछि
हरेक दिन सोध्छन्
निदाउनुअघि
र सोध्छन् ब्यूूँझेपछि
दुवै हात काखीमुनि च्यापेर
जाडो छेकिरहेका नानीहरू,
अनजान देशतिर हिँड्नेहरू हामी नै त हौँ । र, आँसुले पछ्याइरहेका आँखाहरूले नियाल्ने पनि हामी नै हौँ । जीवनका मिहीन दुःखहरू खिपिएका छन् । बजारको भीडबाट पर एकान्तमा एकैछिन बसाइँ सर्दा हामीसँग जेजस्ता अत्यास र विषाद्ले बास मागेर भर्खर हामीले भोगेको र अझै भोग्न अभिशप्त यो समयमा तिनलाई आवाज दिन यी कविता सक्षम छन् । र, पाठक मस्तिष्कमा नमेटिने दृश्यमा प्रतिस्थापित हुने गरी लिपिबद्घ हुन पनि ।
छुटेर जान्छ निमेषभरमै
आफूसँगै रहेको
एउटा छाया पनि
जसरी–
किनारालाई हिर्काएर
पहाडका असङ्ख्य दुःख बोकी
बगिरहन्छ नदी ।
पलपल समय छुटिरहेको हुन्छ । मित्रहरू छुटिरहेका हुन्छन् । मोडहरूमा आइपुगेर प्रेमीहरू छुटिरहेका हुन्छन् । सपना र रहरहरू छुटेका हुन्छन् । जनता–जनता जप्ने नेताहरूको फाइलबाट जनताहरू नै छुटिरहेका हुन्छन् । बेइमानी र विवेकहीनताको अँध्यारोले ढाकिएपछि धेरै कुरा छुट्छन्, हराउँछन्, बिलाउँछन् । यहाँसम्म कि आफ्नै छाया पनि छुट्दै जान्छ । छुट्नुका थुप्रै पीडा छन् ।
भर्खर बाढीले छाडी गएको
उदास बगरजस्तै भएको छ मन
घरको पेटीमा बसेर
मिल्काइरहेछु आँखा
विधवाको सिउँदोजस्तै देखिन्छ
मूल सडकबाट छुटेर
घरसम्म आइपुग्ने बाटो
किन विधवाको सिउँदोजस्तै देखिन्छ घरसम्म आइपुग्ने बाटो ? उत्तर कोसँग होला ? हाम्रा बाटाहरूबाट हरियाली बेपत्ता भएको वर्षौं जो भयो । उत्तर खोज्नेहरू काठमाडौँ सडकका किनारदेखि रमितेखोलासम्मै भेटिएलान् ।
रमितेखोला, मोरङका यी कविको मानस झोलामा भने थुप्रै उच्छवास र सुस्केरा रहेछन् । र, आफ्नो मौलिक सांस्कृतिक कथा, मिथक र प्राक्प्रसङ्ग पनि । सायद यी कविलाई ज्ञात छ, बाहिर हेरेर आफूलाई हेर्न बिर्सिएमा नक्कले भइन्छ । आफ्नै संवेदना, आफ्नै सांस्कृतिक कथा र मिथक अनि आफ्नै समय लेखिनुले यी कविता हाम्रो हो भनेर देखाउन सकिने गरी आएका छन् । यी कविताले समकालीन समाज, परिवेश, समय र संस्कृतिबाट दृश्य पाएका छन् । गहिराइ र कला पाएका छन् । आवाज र लय पाएका छन् ।
आज कोक्पाको मेछाप्मा निकालिनेछ घरबाट
र अपरिचितको फोटो ल्याएर टाँसिनेछ
अनि बिस्तारै पल्टनेछ बाइबलको प्रथम पृष्ठ ।
आफ्नै अनुहारको उज्यालो हेर्ने
सयौ वर्षको पुरानो ऐना फुटाउनेहरूलाई
इनाम छ
कोक्पाले बगाएको
आँसुको अरूण ।
गालीले होइन यी कविता सुस्केरा र विरहले हल्लाउने क्षमता बोेकेर आएका छन् । सायद यी कविलाई लाग्दो हो विचारको मूल संवेदना हो । यी कविता त्यही मूलतिरबाट बग्दै–बग्दै आएजस्ता छन् ।
आक्रोशले भन्दा गहिराइले भाषा र आवाज पाएका छन् हेमनका कवितामा । र त पाठक मस्तिष्कमा गहिरो प्रभाव पार्न सक्षम छन् । उखुजस्तै चपाई–चपाई रस लिन सकिने गुणका भन्दा अझ बेस होला । ०००
0 comments:
Speak up your mind
Tell us what you're thinking... !