सानो छँदा कालो पाटीमा क–ख लेख्ने हातहरू क्याम्पस नपुग्दै कक्षाकोठाका भित्ता, डेस्क–बेन्च, झ्याल–ढोका अनि चर्पीहरूमा देख्दै असहज लाग्ने फोहोरी शब्दहरू लेख्न थाल्छन् । यस्ता अभिव्यक्तिहरू देख्दा लेख्नेलाईभन्दा देख्नेलाई लाज हुने अवस्था छ । शिक्षाको मन्दिर मानिने शिक्षालयका भित्तामा लेखिने यस्ता अभिव्यक्तिले शिक्षाको संरचनामै दाग लागेको अनुभव हुन्छ ।
शिक्षालय भनेको मानव जीवनको भित्री चेतना होस् या बाहिरी, दीपशिखाको झै उज्यालो दिएर बाटो देखाउने थलो हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । तर यो कुरा आजका विद्यार्थीहरूले जानी–जानी बुझ पचाएजस्तो लाग्छ । भनिन्छ, शिक्षालयबाट प्रत्येक विद्यार्थीले भविष्यका लागि आफूलाई बाटो हिँड्दा चाहिने उज्यालो सङ्ग्रह गर्नु पर्दछ ।
आफू पढ्ने ठाउँ क्याम्पस तथा विद्यालयको आवरण यसरी कुरूप बनाउनेले आफ्नो नकारात्मक छवि उजागर गरिरहेका हुन्छन् । त्यसमा उनीहरूमा विकसित हुँदैगएको नकारात्मक चिन्तन पनि सार्वजनिक भइरहेको हुन्छ ।
हरेक मानिसमा सकारात्मक र नकारात्मक गरी दुई प्रकारका स्वभाव हुन्छन् । नकारात्मक चिन्तन र व्यवहारले मानिसलाई जङ्गली बनाइरहेको हुन्छ । शिक्षालयमा प्रवेश गर्ने कुनै पनि विद्यार्थी त्यहाँको वातावरण र अगुवा विद्यार्थीको व्यवहारबाट प्रत्यक्ष प्रभावित भइरहेका हुन्छन् । यस्तो अवस्थामा ती लेखोट र प्रस्तुतिले नयाँलाई के शिक्षा दिइरहेका हुन्छ ?
नेपालले शिक्षामा कुल बजेटको सबैभन्दा बढी (६५ अर्ब रूपैयाँ) खर्च छुट्याएको छ । तर, त्यो पैसाले विद्यार्थीमा सकारात्मक सोचको विकास गर्न सकिरहेको छैन । धेरै शिक्षक तथा सहजकर्ताको ध्यान यस्ता विषयमा पुग्न नसक्नु अर्को विडम्बना भएको छ । सरोकारवालामा रहेको ‘आऽ...के हुन्छ र !’ भन्ने शैली तथा साँघुरिएको चिन्तन थप समस्याका रूपमा विद्यमान छ ।
यस्तै दुःख लाग्दो र तीतो अनुभूति पोख्छन्, १७ वर्षदेखि प्राध्यापन गराउँदै आएका जनता बहुमुखी क्याम्पस इटहरीका सहायक प्रमुख नीलकुमार राई । ‘छर्लङ्ग हुनेगरी लेखेर राखिदिएको आचारसंहिता नै भुलेर उच्छृङ्गखल शब्द लेख्दै हिँड्छन्,’ राई व्यङ्ग्य गर्दै भन्छन्, ‘शिक्षालयमा कालोपाटी र सूचना बोर्ड त हुन्छ नै, लेख्नै मन र आँट भए त्यसैमा लेखे भैहाल्यो नि ! लुकी–लुकी भित्तामा किन लेख्नु ?’
क्याम्पसमा अध्ययनरत् इमान्दार विद्यार्थीहरू भने क्याम्पसमा लेखिएका यस्ता अश्लील तथा अनैतिक शब्दले आफूहरूको समेत स्वाभिमानमा आँच आएको बताउँछन् । उनीहरू यस्तो कार्यलाई प्रशासनले रोक्नुपर्छ भन्छन् । देशको कर्णधार विद्यार्थीले क्याम्पस तथा शौचालयका भित्ता, झ्याल–ढोका र डेस्क–बेन्च कोर्नमै अलमलिनु भनेको आफूले भात खाने थालमा आफैँ थुक्नुजस्तै हो ।
सरस्वती कटुवाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !