कोक्पाले रामायण पढ्योर राम आशीष दियो
आपाले माक्र्सवाद पढ्यो
र माक्र्स आशीष दियो
आमाले ‘दन्तेकथा’ भन्यो
र राजकुमारझँै बन्नू भन्यो
दन्तेकथाकै...
शिक्षा जस्तो लिइन्छ त्यस्तै कुरा बाहिर आउँछ । माथिका हरफहरुमा कवि देवान किरातीका यस्तै भावहरु छन् । गहकिला भाव सरल शब्दमा उतार्ने कवि हुन् किराती । झन्डै दुई दशकदेखि साहित्य सिर्जना कर्ममा लागेका किरातीका चोटिला शब्दले बुनिएका कविताहरुको एउटा ठेली हालै इटहरीमा साहित्यकारहरुको ठूलो जमातबीच सार्वजनिक गरियो । त्यसैभित्र समेटिएको उल्लिखित ‘गाँठी कुरा’ कवितामा कविले मानिसले लिने शिक्षा र परिवर्तन हँुदै गरेको समयक्रमलाई कलात्मक ढङ्गले पस्किएका छन् । ‘हुरीमा नाचिरहेको ईश्वर’ अग्रशीर्षकमा पहिलो कविता सञ्चयन लोकार्पण गर्दै किरातीले सबै सामु शब्दमा भावको जादु प्रस्तुत गरेका थिए ।
होर्डिङबोर्डमा झुन्ड्याइएको
त्यो तरुनी–तस्बिर
बारम्बार बलात्कार गरिरहन्छ मलाई ।
त्यसको त्यो नाङ्गो तिघ्राहरू
उदाङ्गो नाइटो
अस्वभाविक उठेको स्तन
गोगनेको रूखमा चट्याङ परेझैँ
झड्याम्म ! झड्याम्म !!
मेरो मस्तिष्कमा बज्रिन्छ
उप्mऽऽऽ कति भयावह ...?
मन छुने शब्द संयोजन र फरकधारमा बोलीचालीका कुरा मिँसिदा किरातीका कविताले विशिष्ट रुप लिएका छन् । समसामयिक नेपाली कवितामा उच्चस्थान ओगट्ने पाइला लम्काएका छन् । किरातीका कविताबारे प्राध्यापक अभि सुवेदीले ‘सरलता, कोमलता, इतिहास र निजत्वको चाखलाग्दो सङ्गम’ भनी टिप्पणी गरेका छन् । लोकार्पण गर्दाका बखत सुवेदीले किरातीका केही शब्दले आफूलाई भित्रैसम्म छोएको सुनाए ।
पूर्णिमाको साँझ
फाटेको चोलीमा कुम देखाइन् उनले
मैले जून देखाएँ
तप्प–तप्प ! तप्कियो शीत
आँखाको कार्नियाबाट जूनको
तापनि जून बलि नै रहयो ...
सिर्जनामा थुप्रै निखार आएपछि मात्र किरातीले कविताहरु पाठकलाई सुम्पेका हुन् । किरातीका रचनालाई पाठकसम्म पु¥याउने चाँजापाँजो साहित्य सञ्चार प्रतिष्ठान र कलालय इटहरीले मिलाएको थियो । अहिलेका कविको भिडमा फरक क्षमता राख्ने किरातीका कविताबारे लोकार्पण कार्यक्रममै समालोचक राम्जी तिम्सिनाले बहस चलाए । तीन जना साहित्यकारसँग गरिएको सो बहस–अन्तरसंवादको बढी समय ‘गाँठी कुरा’मै अल्झिएको थियो ।
अन्तरसंवादका क्रममा कवि मुमाराज शेर्माले भने, ‘देवान फूलमा हतियार सजाएर प्रहार गर्ने कवि हुन् । यो कवितामा पनि त्यही छ ।’ किरातीको कवितामा ‘फ्रेस’ शब्द भएकाले सङ्ग्रहका सबै कविता पाठकले छुटाउन नमिल्ने र कविता लेख्न अभिप्रेरित गर्ने साहित्यकार मिश्र बैजन्तीको भनाइ थियो ।
प्राध्यापक टङ्क न्यौपानेले कवि किरातीले प्रयोग गरेका ठेट नेपालीपन भएका शब्दमा सरलताभित्र गाम्भीर्यता लुकेको बताए । २०५० सालतिर देवानले कवितामा निकै हलुका शब्द प्रयोग गरेकोप्रति आफूले असहमति जनाएको सम्झँदै न्यौपानेले भने ‘तर अहिले उनको परिमार्जित लेखनले म निकै प्रभावित भएँ । उनी साँच्चिकै कवि भएछन् !’
कवि मनु मन्जिलले किरातीका कवितालाई सरल भाषामा सुन्दर कविता खोज्नेका निम्ति गुरुकूलको संज्ञा दिए । उनले किरातीका कविता आफ्नै पहिचान बोकेर इतिहासमा बाँचिरहने दाबी गरे । वाणी प्रकाशनले प्रकाशन गरेको किरातीको पहिलो सञ्चयनमा ४३ कविता समावेश छन् ।
यात्री शेखर
0 comments:
Speak up your mind
Tell us what you're thinking... !