फिल्ममा देखाइएझैँ जीवन हुने सम्झिएर याङसिला–८ मोरङका विकु विक (१७)ले कक्षा आठ अध्ययन गर्दागर्दै प्रेम विवाह गरे । उनलाई विवाह गर्नैपर्छ भन्ने घरको करकाप थिएन् । उनले केही वर्षदेखि चल्दै आएको मोबाइल (लुकी लुकी गरिने) प्रेमले यसैवर्ष सार्थकता पायो ।विवाह गर्दा घरमा पनि कुनै प्रकारको अवरोध भएन् । किनकि उनका बाआमाले पनि त्यस्तै चाहेका थिए । उनले आफ्नै स्कुलको कक्षा सात अध्ययनरत सन्तुमायासँग प्रेम विवाह गरे । प्रेमबाट विवाहमा परिणत भएको उनीहरुको सम्बन्धपछि अहिले चार महिनाको छोरासमेत भइसकेको छ ।
बुबाआमाले विदेश जाने दबाब दिएपछि उनले एकवर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरेको बताउँछन् । ‘बाबाआमाले विदेश जान भनेपछि विवाह गरी जाने सोचेर विवाह गरेको हुँ, उनी भन्छन् । पढ्न मन भए पनि विवाह गरेपछि लाजले स्कुल जान नसकेको उनले सुनाए । तर, विवाह गरेको विषयमा भने उनलाई ठिकै गरेजस्तो लागेको छ ।
सामाजिक परम्परा तथा मान्यता र कानुनलाई नै बर्खिलाप गर्दै गरिने उटा प्रतिनिधि घटना मात्र हो विकु र सन्तुमायाको प्रेम विवाह । पढ्ने उमेरमा गरिने यस्ता विवाहले अहिले सामाजिक मान्यता नै प्राप्त गरिसकेझैँ लाग्छ । तर, कानुनले भने त्यसलाई मान्यता दिएको छैन ।
‘अहिलेको बढ्दो प्रविधि, मोबाइल, इन्टरनेट, फिल्म तथा विभिन्न मनोरञ्जनका साधनका कारण सानैमा विवाह गर्ने चलन बढ्दै गएको छ’, नेसनल बहुमुखी क्याम्पस धरानका संस्थापक प्रिन्सिपल सागर भट्टराई भन्छन् । शारीरिक आर्कषणका कारण उनीहरुमा विवाह गर्ने उमेर कुन हो भन्ने कुराको हेक्का हुँदैन, लुकिछिपी गरिने प्रेमको अन्तिम बिन्दु विवाह नै हुने भट्टराईको ठम्याइ छ ।
बढ्दो प्रविधिको प्रभाव युवायुवती र टिनेजरमा पर्दै गएको छ । उनीहरुमा २४ सै घन्टा मोबाइल तथा इन्टरनेटमा झुन्डिने र त्यसको असर दिमागमा समेत पुग्ने हुँदा पढाइप्रति अरुचिसँगै सेक्सप्रति रुचि बढ्ने गरेको पाइन्छ । सेक्सप्रति जिज्ञासु टिनएजर तथा युवापुस्ता समाजमा विवाहपूर्वको यौनसम्बन्धलाई निषेध गर्ने सांस्कृतिक पराम्पराबाट उत्पन्न हुनसक्ने सामाजिक टिप्पणी वा अपमानबाट जोगिन चाँडैै विवाहबन्धनमा बाँधिने गरेको उनले बताए ।
धरान–१५ की सीता श्रेष्ठ (१८) कक्षा नौ पढ्दापढ्दै घरकै मन्जुरीमा मागी विवाह गरिन् । घरमै केटा माग्न आए के गर्ने, नगर्ने भन्ने सोच उनमा कुनै पूर्व सोच थिएन । बाआमाले रोजेको केटा ठिकै होला भन्ने लागेर उनले पढ्दापढ्दै विवाह गर्न मानिन् । ‘विवाह गर्ने उमेर हो होइन थाहा थिएन, आमाबाबुको आग्रहलाई नकार्न पनि सकिनँ,’ श्रेष्ठ भन्छिन् ।
त्यसो त श्रेष्ठलाई अझै अध्ययन गर्ने रहर थियो । तर, पटकपटक केटाहरु माग्न आउन थालेपछि मानसिक रुपमै त्यसका लागि तयार हुनुपर्ने स्थिति बनेको उनको अनुभव छ ।
सामाजिक कुसंस्कारका कारण वा कतिपय परिस्थितिले पनि युवतीहरु बीचैमा पढाइ छोडी विवाह गर्ने बाध्यतामा पुग्छन् । ‘आमाबाबुको आग्रह र एक न एक दिन विवाह गर्नैपर्छ भन्ने सामाजिक जड मान्यताका कारणले पनि उनीहरु चाँडै विवाह गरी घरव्यवहारको जालोमा फस्न पुग्छन्,’ अभिभावक कुमार श्रेष्ठ भन्छन् । घरको मानसिक तनाव सहन गर्न नसकेर विशेषगरी किशोरीहरु विवाह गरी जाने चलन पनि पुरानै भएको उनको कथन छ ।
सानैमा विवाह बन्धनमा बाँधिन पुगेकाहरुमा मानसिक परिपक्वता आइनसक्ने भएका कारणले पनि विवाह गरेको केही वर्ष असहज हुने गरेको छ । कतिपयले बीचैमा पढाइ छोड्नुपर्ने र दौतरीहरु गुमाउनुको पीडाले पनि मानसिक रुपमा बेकारमा विवाह गरेजस्तो लाग्ने गरेको बताएका छन् । सानैमा विवाहबन्धनमा बाधिँदा उनीहरुमा व्यावहारिक परिपक्वता नआउने र केटाकेटीपन नै हुने गरेको अभिभावकहरु बताउँछन् । ‘उमेर नपुगी विवाह गर्दा उनीहरुमा एकैपटक बोझ आउने गर्छ र अत्तालिने हुन्छन्’ अभिभावक श्रेष्ठको ठम्याइ छ, ‘त्यसपछि उनीहरुको दिमागमा नाना प्रकारका कुराले बास पाउँछन् र कुनै अप्रिय घटनासमेत हुन पुग्छ ।’
आडम्बरयुक्र आधुनिक जीवनशैली, देखासिकी, मोबाइल, फिल्म, इन्टरनेटहरुले पार्ने प्रभावबाट पनि चाँडै विवाह गरी मोजमस्ती गरौँ भन्ने सोचका कारण कतिपयको असमय विवाह हुने गरेको कानुनव्यवसायी बाबुराम कटुवाल बताउँछन् । ‘अहिले प्रविधिको कारणले पनि किशोरकिशोरीमा प्रभाव पर्छ, जसको कारणले विवाह गर्न पुग्छन् । कतिपय भने देखासिकीमै विवाह गर्ने मनसाय बनाउँछन्,’ कटुवालले भने ।
त्यसो त हाम्रा आमा–हजुरआमापुस्तामा महिनावारी हुनुअघि नै छोरीको गोडा धुन पाए स्वर्गामा बास निश्चित हुन्छ, चाँडै बुहारी ल्याए सजिलै घरेलु–कृषि कामदारको जोहो हुन्छ भन्नेजस्तो सामाजिक विचारले बालविवाहको चलन निकै मौलाएको थियो । त्यो बेला विवाह गर्न बालबालिकालाई अभिभावकका तर्फबाट ठूलै दबाबसमेत हुनेगथ्र्यो । तर, अहिले बालविवाह हुने कारण र बहानाहरु फेरिएका छन् । पहिले मागी विवाह हुन्थे, अहिले प्रेमविवाह हुने गरेका छन् ।
तर, नेपालको कानुनले २० वर्षभन्दाअघि हुने–गरिने विवाहलाई ‘अपराध’ मानेको छ । तर, यो नियमलाई उल्लङ्घन गर्नेहरु प्रशस्तै छन् । पहिलाजस्तो व्यापक नभए पनि अहिले केटाकेटी उमेरमै विवाह गर्ने चलन मौलाउन थालेको कानुनव्यवसायी कटुवाल बताउँछन् । ‘परिवारले जबरजस्ती नगरे पनि प्रेमविवाह गर्ने फेसन बढ्दै गएको छ’ उनी भन्छन् ।
केटा वा केटीकै उमेर २० वर्ष पूरा भई २१ वर्षमा टेकेको हुनुपर्ने मुलुकी ऐनको बिहेबारी महलअन्र्तगत २ नम्बर महलमा कानुनी व्यवस्था गरिएको छ । संरक्षक (आमाबुबा) को मन्जुरी र सरसल्लाहमा १८ देखि २० वर्षको उमेरमा पनि विवाह गर्न–गराउन पाइने प्रावधान पनि सोही कानुनमा छ । यदि त्यो नियमभन्दा बाहिर भए–गरेमा बिहेबारी महलअन्तर्गत व्यवस्था गरिएको सजाय हुने प्रावधान रहेको कटुवाल बताउँछन् ।
मुलुकी ऐनमा यदि १० वर्ष उमेर नपुगी जवरजस्ती विवाह गरेको पाइएमा गर्ने–गराउने दुवैलाई एक हजारदेखि १० हजारसम्म जरिवाना छ महिनादेखि तीन वर्षसम्म कैद हुन्छ । त्यस्तै, १४ वर्ष उमेर नपुगी विवाह गरे–गराएको पाइएमा तीनदेखि एक वर्ष कैद र पाँच हजार जरिवाना, १८ वर्ष नपुगी गरे–गराएको पाइएमा छ, महिना कैद र १० हजार जरिवाना रहेको छ । २० वर्ष नपुगी विवाह गरेको गराएको भएमा ६ महिना कैद र १० हजार जरिवाना हुन्छ । बाल विवाहका सन्दर्भमा बेहुला–बेहुली, कन्यादान दिने, जन्ती जाने र लमी सबैलाई कानुनमा दण्डको व्यवस्था गरिएको छ ।
भोजराज श्रेष्ठ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !