‘आफूले पढ्न नपाएकाले शिक्षाको महत्व थाहा छ, त्यसैले घरको काम आफैं गरेर भए पनि बुहारीलाई क्याम्पस पठाउँछु ।’
‘युवाहरु विवाहपछि रोजगारीका लागि विदेश जान्छन्, उनीहरुका श्रीमतीहरु उच्चशिक्षाका लागि क्याम्पस आउँछन्’
‘अहिले पनि घरको काम भ्याएपछि पढ्न जान कुनै अवरोध छैन,
बरु सासूले नै काम सघाएर पढ्न पठाउनुहुन्छ ।’
![]() |
| यौन शिक्षाको अभावमा किशोर किशोरीहरू मानशिक तनाव झेल्न बाध्य छन् । हाम्रो पाठ्यक्रमा यौन शक्षि आवश्यक छ । |
पैदलै गए पनि आधा घन्टाभन्दा बढी समय लाग्दैन बैगुनधुराको अमर उच्चमावि पुग्न । सोही उच्चमाविबाट उनले कक्षा १२ छिचोलेकी हुन् । ‘माइतमा पनि दुःखै गरेर पढेका थियौँ’ उनले सुनाइन्, ‘अहिले पनि घरको काम भ्याएपछि पढ्न जान कुनै अवरोध छैन, बरु सासूले नै काम सघाएर पढ्न पठाउनुहुन्छ ।’
उनी मात्र होइन । अचेल घरको बुहर्तन सहेर पनि उच्चतह अध्ययनका लागि समय पाउने बुहारीहरुको सङ्ख्या बढिरहेको छ । आदिवासी जनजातिहरुमा समेत शिक्षाप्रतिको मोह आसलाग्दो गरी बढेपछि ती समुदायका बुहारीहरुका लागि उच्चशिक्षा आकाशको फल हुन छोडेको छ, अचेल ।
विवाह गरेर व्यवसाय गर्ने वा रोजगारीका लागि विदेश जाने युवाहरुले समेत श्रीमतीका लागि अध्ययन प्राथमिकतामा राख्न सुझाव दिन थालेको बताउँछन्, अमर उच्चमाविका प्राचार्य सुरेशबहादुर पौडेल । सामाजिक रुपान्तरण र सचेतनाका कारण छोरीहरु मात्र होइन, बुहारीलाई पनि उच्चशिक्षा दिलाउनुपर्छ भन्ने मान्यता विकसित भएको उनको बुझाइ छ ।
गौरीगञ्ज–५ की गङ्गाकुमारी ताजपुरिया गौरादह बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत् छिन् । घर र माइतीनजिकै भएकाले पनि उनलाई विवाहअघिको शिक्षामा निरन्तरता दिन गाह्रो भएन । घर र माइती दुवै तर्फबाट सहयोग भएकाले अध्ययनलाई निरन्तरता दिन सहज भएको उनको भनाइ छ । श्रीमान् विदेश गएको र उताबाटसमेत अध्ययनलाई निरन्तरता दिन आग्रह गरेको उनी बताउँछिन् । बेलाबेला त पढेर अब के गर्ने र ! जस्तो पनि लाग्छ उनलाई । तर, श्रीमान् तथा घरपरिवारले दिएको प्रेरणाले अध्ययनमा थप उर्जा मिल्ने गरेको छ । ‘जति इच्छा भए पनि श्रीमान्ले पढाउँछु भन्नुभएको छ, परिवारबाट पनि साथ पाइरहेकी छु’, ताजपुरियाले भनिन्, ‘हाम्रो समुदायमा पहिलापहिला छोरीलाई पढाउनुहुँदैन भन्ने धारणा थियो, झन् बुहारीलाई पढाउने त कुरै थिएन तर अहिले समय फेरिएको छ । मेरो परिवारमा त मेरो अध्ययनबारे मलाईभन्दा बढी चिन्ता छ ।’
आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पिछडिएको समुदाय भए पनि राजवंशी, ताजुरिया समुदायले अचेल शिक्षाको महत्व बुझ्नथालेको छ । छोरीजस्तै गरि उच्चशिक्षाका लागि बुहारी पनि क्याम्पस र उच्चमावि जान थालेका छन् ।
शिक्षालाई पछिल्ला वर्षहरुमा सबै समुदायले महत्व दिन थालेकाले आदिवासी–जनजाति समुदायका छोरीहरु मात्र होइन बुहारीले पनि उच्चशिक्षा अध्ययन गर्न पाएको शिक्षाक्षेत्रका अगुवाहरु बताउँछन् । गौरादह बहुमुखी क्याम्पस प्रमुख हिन्दबहादुर दाहाल पुरुषसरह छोरी तथा बुहारीहरु पनि उच्चशिक्षाका लागि आउनु सामाजिक रुपान्तरणको सकारात्मक नमुना भएकोे बताउँछन् । विवाहपछि धेरैजसो पुरुषहरु वैदेसिक रोजगारीका लागि जाने भए पनि महिलाहरुले अध्ययनलाई निरन्तरता दिएको उनले बताए । ‘युवाहरु विवाहपछि रोजगारीका लागि विदेश जान्छन्, कतिपयले पैसा कमाउने सुरमा छदाँखाँदाको पढाइ पनि छोड्छन । तर, तिनै युवाका श्रीमतीहरु चाँहि उच्चशिक्षाका लागि क्याम्पस आउने गरेका छन्,’ उनले भने, ‘हाम्रो क्याम्पसमा एक दर्जन जति बुहारीहरुले उच्चशिक्षा अध्ययन गरिरहेका छन् ।’
त्यसो त धेरैजसो शिक्षित युवाहरुले विवाहपछि श्रीमतीलाई अध्ययनमै जोड दिने गरेका छन् । तर, परिवारको चित्त बुझाउन भने उनीहरुलाई पनि सजिलो चाहिँ छैन । घरमा उमेर ढल्कँदै गरेका बुवाआमा तथा हजुरबा–हजुरआमा हुने परिवारमा बुहार्तन सम्हाल्दै बुहारीले उच्चशिक्षाको तिर्खा मेट्न मेहनत चाहिँ निकै गर्नुपर्छ । काठमाडौंमा विज्ञान विषयमा स्नात्तकोत्तर गरिरहेका झापा, लखनपुर–४ का राजु दाहालकी श्रीमती राधिका घरमै बसेर दमकको युनिक कलेजमा स्नातक तह अध्ययन गरिरहेकी छिन् ।
शिक्षाको महत्व बुझेका सासू–ससुरा र श्रीमान् हुँदा भने विवाहपछि पनि अध्ययन छोड्नुनपर्ने उनको अनुभव छ । ‘बिहानको कलेज छ, जुरुक्क उठेर जानुपर्छ । आफू आउँदासम्ममा त आमा (सासू)ले बिहानको खाना बनाउने तथा दिने काम सक्नुभएको हुन्छ’, उनले सहजताका साथ सुनाइन्, ‘कलेजबाट फर्केपछि भने घरको कामतिर लागिन्छ, घरमा अरु सामान्य विद्यार्थीलेजस्तो पढेर बसिरहने समय कमै हुन्छ ।’ उनका श्रीमान् राजु पनि परिवारसँग समन्वय गरेकाले उच्चतह अध्ययनका लागि राधिकालाई त्यति गाह्रो नभएको बताउँछन् । छोरी नभएकी राजुकी आमा निर्मलालाई भने बुहारी पढाउनु सोख नै थियो । ‘उहिले छोरामान्छेले त पढ्न सजिलो थिएन, झन् छोरीको त कुरै छोडौँ, बुहारी पढ्ने र पढाउने कुरा त सपनामा पनि देखिँदैन थियो’ झन्डै पाँच दशकअघिको अवस्था सम्झिँदै निर्मलाले भनिन्, ‘आफूले पढ्न नपाएकाले शिक्षाको महत्व थाह छ, त्यसैले घरको काम आफैं गरेर भए पनि बुहारीलाई क्याम्पस पठाउँछु ।’
सामाजिक र आर्थिक रुपमा अगुवा रहेका समुदाय तथा क्षेत्रमा महिला र पुरुषबीचको विभेद न्यूनीकरण हुँदै गए पनि छोरी र बुहारीबीचको अन्तर अझै कायमै छ । तर, पछिल्ला वर्षहरुमा उच्चशिक्षामा विवाहित चेलीहरुको पहुँच बढिरहेकोलाई सामाजिक परिवर्तन कोसेढुङ्गा मान्न सकिने सरोकारवालाहरु बताउँछन् । खासगरी श्रीमान् रोजगारीका लागि विदेश गएपछि उनीहरुको पहुँच आर्थिक क्षेत्रमा पनि पर्न थालेकाले अध्ययनमा अवसर बढ्न थालेको हो ।
बिवाहित युवाहरुले श्रीमतीलाई आर्थिक रुपमा समेत भरथेग गरेर अध्ययनमा प्रोत्साहन गर्न थालेपछि विवाहित महिलाहरुले पनि उच्च शिक्षा अध्ययन गर्न पाउन थालेका छन् । आर्थिक र सवल मानिएका क्षेत्र र समुदायमा मात्र नभई आदिवासी–जनजाति समुदाय तथा ग्रामीण क्षेत्रका विवाहित महिलाहरु पनि उच्चशिक्षाका लागि उच्चमावि तथा कलेज धाउने क्रम बढेको छ ।
गोपाल झपाली

0 comments:
Speak up your mind
Tell us what you're thinking... !