मङ्सिर महिना भन्नेबितिकै हामी धेरैको दिमागमा आउँछ कि बिहे गर्ने महिना भनेर । मङ्सिर महिनासँगै कतिको घरमा बिहेको चटारो सुरु भएको छ । हुनत बिहे मङ्सिर महिानमा मात्र गरिने नभएर अरु महिनामा समेत हुँदै आएको छ । तर, मङ्सिर महिना बिहेको लागि विशेष मनिँदै आएको छ ।
काम पनि खासै नहुने तथा दसैं र तिहारजस्ता ठूलो चाडपर्व सकिनेबितिकै यो महिना सुरु हुने हुँदा सबैलाई फुर्सद नै हुन्छ । त्यसले गर्दा पनि मानिसहरु प्रायः बिहेका लागि मङ्सिर महिना नै रोज्ने गर्दछन् । भनिन्छ, मङ्सिर महिनामा गरेको बिहे सफल र सुमधुर हुन्छ । यो महिनामा धेरै बिहे हुने गरेकाले मानिसहरुलाई भ्याउनसमेत गाह्रो पर्नेगर्छ । बिहे भनेको एक पुरुष र एक महिलाबीचको मिलन हो ।
बिहेको घरमा धेरै दिनअघिदेखि रमझम र कामको चटारो हुन्छ । तर, हाम्रो समाजमा बिहेसँगै विकृति र विसङ्गति पनि मौलाएका छन् । जसको कारण हो पुरातन सोच । समाज जति परिवर्तन भए पनि मानिसहरुको सोच भने परिवर्तन भएको पाइँदैन । बिहेले गर्दा हाम्रो समाजमा धेरै महिलाहरुको ज्यान जाने गर्दछ । कारण हो दाइजो ।
हामीले सुनकै छौँ, देखेकै छौँ र पढेकै छौँ, कति ठाउँमा महिलाहरुलाई दाइजो नल्याएको निहुँमा धेरै मानसिक तथा शारीरिक यातना दिनुका साथै मृत्युसमेत हुने गरेको छ । इटहरीकी राधिका भन्छिन् ‘मलाई सासु–ससुराले दाइजो नल्याएको निहुँमा धेरै यातना दिने र दाइजो नल्याए मारिदिने वा घर छाडेर जाने धम्की पटक–पटक दिँदै आएका छन् ।’
हाम्रो समाज २१औं शताब्दीमा आइपुग्दासमेत मानिसहरुमा चेतनाको विकास भइसकेको पाइँदैन । समाज परिवर्तन गर्छौं भनेर हिँड्ने अगुवा भनाउँदाहरुमा समेत पुरानै सोच रहेको पाइन्छ ।
बिहे भन्नेबितिकै हामी
धेरैको मस्तिष्कमा दाइजोको कुरा आउँछ । हाम्रो समाजमा कति युवायुवती दाइजोकै कारण समस्यामा परिरहेका छन् । बेहुलापक्षबाट दाइजोमा यो–यो दिनुपर्छ भनेर तोक्नेसमेत गरेको पाइन्छ, जसका कारणले गरिब परिवारमा जन्मिएका छोरीको विवाह हुनै गाह्रो हुने अवस्था छ । इटहरीका दिपक निरौला भन्छन् ‘यो दाइजो दिने चलन नै ठिक होइन, जसका चार–पाँच जना छोरी छन्, उसलाई आफ्नी छोरीको विवाह गर्न गाह्रो पर्छ । उसले आफ्नो घरसमेत बन्दकी राख्नुपर्ने अवस्था आउँछ ।’
दाइजोका साथै बिहेमा सुनका गहना देखाउने चलनसमेत हाम्रो समाजमा अहिले देखिएको नकारात्मक पक्ष हो । कस्को कति सुनका गहना छन् भनेर देखाइने बेला यही हो भनेर कसैको विवाह हुदाँ भएभरको गहना लगाएको पाइन्छ । यस्तो गर्दा कति गहना नहुने महिलाहरुले देखाउनकै लागि भए पनि ऋण लिएर गहना किन्ने गरेका छन् । कतिपयले किन्न नसके आफन्त, नातागोतामा पर्ने वा छिमेकका महिलासँग मागेर भए पनि गहना लगाउने गरेका छन् । तर, यसो गर्दा कारणवश मागेको गहना हरायो वा चोरी भयो दोहोरो बेपाइदा हुनेगर्छ । एक त सम्पत्ति हराएको पीरले सधैँ सताइरहन्छ, दोस्रो जोसँग मागेको हो उसलाई आफूले ऋण काडेर भए पनि गहना किनेर फिर्ता गर्नुपर्ने हुन्छ ।
तथापि महिलाहरुमा गहनाको चाहना धेरै हुन्छ, । उनीहरु गहना बढी प्रयोग गर्छन् । ‘हामीले आफ्नो गहना बिहेको बेला नदेखाए कहिले देखाउने ?’ इटहरी पचरुखीकी मीना कटुवाल भन्छिन् ‘गहना भनेको हामी महिलाहरुको शृङ्गार हो । त्यसैले गहनाजस्ता भए पनि र जति भने पनि लगाउनैपर्छ ।’
गहना देखायो भने आफू घरानियामा गनिन्छ भन्ने सोच महिलाहरुमा रहेको पाइन्छ । तर, यो सब गर्न जरुरी छ कि छैन सोच्नुपर्ने बेला भएको छ ।
विनिता पराजुली

0 comments:
Speak up your mind
Tell us what you're thinking... !