लहर शैक्षिक भ्रमणको - College Times : Educational Magazine
Headlines News :
Home » » लहर शैक्षिक भ्रमणको

लहर शैक्षिक भ्रमणको

Written By Collegetimes on Tuesday, December 4, 2012 | 6:44 AM

धनकुटा मुलघाटमा

भनिन्छ मानिसले गर्ने हरेक काम मौसम अनुकूल हुनुपर्छ । अनि मात्र त्यस कामको उपलब्धि राम्रो हुन्छ । त्यसो त मानिसले गर्ने हरेक काम मौसम विचार गरेर निर्धारण गरिएका हुन्छन् ।  किसानको खेतीदेखि विद्यार्थीको परीक्षासम्मको कार्यतालिका मौसमअनुसार नै बनेको हुन्छ ।

समाज विकसित र परिर्वतित हँुदै जाँदा मानिसका आवश्यकताहरु पनि थपिँदै जान्छन् । मानिसहरु बढीभन्दा बढी सुविधाहरु उपभोग गर्न चान्छन् । रमाउन चाहन्छन् खुसी हुन चाहन्छन् । व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन मानिसहरु आफूलाई मन लागेका कार्य गर्छन् । कतिपय परिवारमा बसेर रमाइलो गर्छन्, कतिपय मिठामिठा खानेकुरा खाएर, कतिपय चलचित्र हेरेर र कति पुस्तक पढेर पनि रमाइलो गरिरहेका पाइन्छन् । तर, धेरैजसो मानिस रमाउनका लागि विभिन्न ठाउँको भ्रमण जाने गरेका छन् ।
आजकाल भ्रमण फेसनजस्तै भएको छ । अझै यतिबेला शैक्षिक भ्रमणको त लहर नै चलेको छ । भ्रमण गर्नेहरुका लागि उत्सवजस्तै मानिने यो मौसममा शैक्षिक भ्रमण गर्नेहरुको लर्को ठूलै देखिन्छ । नेपालका विभिन्न रमणीय ठाउँहरुमा अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यालयका विद्यार्थीहरु ओहोरदोहोर गरिरहेका छन् । वनभोज होस् या अध्ययन, अवलोकन होस् या अनुसन्धान, धार्मिक होस् या पर्यटकीय क्षेत्र यस्ता धेरै प्रकारका विषयमा शैक्षिक भ्रमण हुने गरेको छ ।
भेडेटारमा विद्यार्थी
आफ्नो ठाउँ छाडेर बाहिर निस्कन नपाएकाहरु बाहिरको वातावरणमा रमाइलो गर्दै आनन्द लिनुको छुट्टै मज्जा भएको भ्रमणमा सहभागीहरुको अनुभव छ । त्यसो त शिक्षक र विद्यार्थीका आ–आफ्नै उद्देश्य हुन्छन्, शैक्षिक भ्रमणका । विद्यार्थीहरु केही दिन भए पनि विद्यालय र घरको वातावरणबाट स्वतन्त्र हुन भ्रमणमा सहभागी भएका पाइन्छन् । नयाँ ठाउँमा जाँदा पाइने नयाँ ज्ञानसँगैं साथीसँग रमाइलो गर्नु पनि उनीहरुको उद्देश्य हुन्छ । भेडेटारमा भेटिएका चितवन खैरहनीका रमेश बस्याल भन्छन्, ‘शैक्षिक भ्रमणमा आउँदा नयाँ ठाउँ हेर्दा नयाँ कुरा जानिन्छ र रमाइलो पनि हुन्छ । त्योसँगै साथीहरुबीच घुलमिल र नजिक हुन पनि यसले सजिलो बनाउँदो रहेछ ।’
कक्षा ११ अध्ययनरत रुपन्देहीकी युनिसाको अनुभव बेग्लै छ । उनी दुई पटक शैक्षिक भ्रमणमा पूर्व आइसकिन् । ‘रमाइला र नयाँ ठाउँहरु जतिपटक आए पनि आइरहन मनलाग्दो रहेछ । भ्रमणमा साथीसँगको रमाइलो त छँदैछ । त्यसले भ्रमणका लागि सधैँ तयार रहन मद्दत गर्दोरहेछ ।’
वीरेन्द्र सार्वजनिक उच्चमावि मोरङ अमहरदहका शिक्षक दीपेन्द्र थापा भन्छन् ‘विद्यार्थीलाई सामाजिकीकरण गर्न शैक्षिक भ्रमणले सहयोग पु¥याउँछ । विद्यार्थीको आचरण र उसको क्षमता जाँच्न पनि भ्रमण सहयोगी हुन्छ ।’ विद्यार्थीले पढेरभन्दा हेरेर र गरेर सिक्ने भएकाले थोरै भए पनि यस्ता प्रकारका भ्रमणले विद्यार्थीमा नयाँ जोस र जाँगर भर्ने उनको तर्क छ ।
पूर्वमा धनकुटाको भेडेटार, पाख्रिबास कृषि अनुसन्धान केन्द्र, सुनसरीको धरान, विजयपुर, बराहक्षेत्र, तालतलैया, कोसीटप्पु वन्यजन्तु आरक्ष, मोरङका बेतौना सिमसार क्षेत्र, चुलीपोखरी, झापाका सतासीधाम, दोमुखा, जामुनखाडी, इलामका कन्याम, फिक्कललगायतका क्षेत्रमा नेपालभरिका मानिसहरु यतिबेला विभिन्न किसिमका भ्रमण लिएर गएका पाइन्छन् ।
पूर्वबाट पनि शैक्षिक भ्रमणका दर्जनौं समूहहरु दैनिकजसो जनकपुर, हेटौंडा, चितवन, पोखरा, मनकामना, नगरकोट, लुम्बिनीलगायतका क्षेत्रको भ्रमणमा निस्किएका भेटिन्छन् । झापाको दोमुखा, जामुनखाडीलगायतका क्षेत्रमा शैक्षिक भ्रमण लगेका अरनिको विद्यालय मोरङका शिक्षक पुष्पमणि भारतीले विद्यार्थीहरुलाई शिक्षासँगै विभिन्न ठाउँको रहनसहन, भौगोलिक र सांस्कृतिक वातावरण, प्राकृतिक सम्पदाका बारेमा जानकारी गराउन भ्रमणमा लिएर हिँडेको बताए । विद्यार्थीलाई यस्ताकार्यमा सहभागी गराउँदा उनीहरुमा पनि छुट्टै किसिमको उर्जा उत्पन्न हुने जनाए ।
यसरी विभिन्न बहानामा भ्रमणमा निस्किनेहरुले कात्तिकदेखि पुस पहिलो सातासम्मको समयलाई रोज्ने गरेका छन् । मौसम र विभिन्न कारणले यो समय भ्रमणका लागि अनुकूल भएको भ्रमणमा सहभागीहरुले बताएका छन् । ‘यो मौसममा पानी पर्ने सम्भावना पनि हँुदैन अनि जाडो पनि त्यति धेरै छैन्,’ धनकुटाका एक गाडी विद्यार्थीसहित भेटिएका झापा चन्द्रगढीको प्रज्ञा एकेडेमीका शिक्षक असोक पुडासैनीले भने ‘मौसमको अनुकूलता र प्रायजसो सबै विद्यालयले यसै समयमा शैक्षिक भ्रमण लाने भएकाले हामीले पनि यसैलाई छान्यौँ ।’
रुपन्देहीबाट पूर्व विभिन्न ठाउँको भ्रमणमा निस्किएको सुनगाभा एकेडेमीका शिक्षक अनुप गैरे यो मौसममा शैक्षिक भ्रमण गर्दा अरु समयभन्दा आनन्द आउने बताउँछन् । यो समयमा विनाझन्झट यात्रा गर्न पाइने भएकाले गर्दा पनि शैक्षिक भ्रमण यो समयमा गरिएको उनको भनाइ छ ।
प्राडा टङ्क न्यौपाने पनि यो समयमा पानी नपर्ने र जाडो पनि धेरै नभएकाले भ्रमण अनुकूल भएर नै धेरै मानिसहरुले यो समयलाई उपयुक्त मान्ने गरेको बताउँछन् । ‘भ्रमणहरु यतिबेलै गर्नुपर्छ भन्ने छैन,’ न्यौपाने भन्छन्, ‘विशेषगरी यतिबेला विद्यालयमा परीक्षाको समय पनि भएको हुँदैन । परीक्षा आउन पनि अलि समय लाग्ने र मौसम पनि उपयुक्त हुने भएकाले शैक्षिक भ्रमणहरु प्रायः यो समयमा हुने गरेको पाइन्छ ।’

शेखर ढकाल 


ड्रेसअपमा ध्यान शैक्षिक भ्रमणलाई व्यवस्थित बनाउन र अन्य व्यवस्थापकीय तनावबाट मुक्त हुन निश्चित रकम खर्चेर ट्राभल्स एन्ड टुर्समार्फत् घुम्न जाने चलन बढेको छ । शैक्षिक भ्रमणलाई व्यवस्थित बनाउँदै आएको इटहरीस्थित कृष्ण मनकामना तीर्थयात्री सेवाका सञ्चालक कृष्ण खड्कासँग गरिएको छोटो कुराकानी :
शैक्षिक भ्रमणको आकर्षक गन्तव्य कुन–कुन ठाउँ हुन् ?हामीले हरेक वर्ष पूर्वाञ्चलका ३० वटा कलेजलाई शैक्षिक भ्रमणमा लाने गरेका छौँ र यो सङ्ख्या बर्सेनि बढ्दो छ । विशेषगरी पूर्वका कलेज र स्कुलबाट जनकपुर, लुम्बिनी, गोरखा, पोखरा, पाल्पालगायतका ठाउँलाई शैक्षिक भ्रमणको गन्तव्य बनाइने गरेको छ ।
शैक्षिक भ्रमण किन आवश्यक छ ? भ्रमण आफैँमा शिक्षा हो । नेपालको इतिहास हेर्ने हो भने जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि मात्र नेपालमा औपचारिक शिक्षाको सुरुवात भएको पाइन्छ । यसकारण नयाँ कुरा जान्नलाई र अध्ययन गरेका ठाउँको जानकारी लिनलाई शैक्षिक भ्रमण आवश्यक छ ।
किन जाडोयामलाई नै शैक्षिक भ्रमण गर्न रोजिन्छ ? यो समयमा बाटो सफा हुन्छ, बाढी पहिरो जाँदैन । हिमाल पनि प्रष्ट देख्न पाइन्छ । विद्यार्थीहरुका लागि पनि पढाइ कम हुने र परीक्षा टाढा हुनाले समय निकाल्ने फुर्सद हुन्छ ।
विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लाने काम गर्दैहुनुहुन्छ,
तपार्इंहरुसँगै किन जाने शैक्षिक भ्रमणमा ? हामी शैक्षिक भ्रमणमा जानेलाई आरामदायी यात्राका साथै गन्तव्यमा पुगेपछि आवश्यक सामग्रीहरु जुटाइदिन्छौँ । शिक्षक र विद्यार्थीहरुले खाने, बस्ने र सवारीको चिन्ता गर्नुपर्दैन । समय, खर्च र विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर मार्गदर्शकको काम पनि गर्ने हुनाले हामीसँग जाँदा शिक्षक र विद्यार्थीले आरामले सबै अवलोकन गर्ने मौका पाउँछन् । विद्यार्थीहरु बेखर्ची हुने समस्या पनि हँुदैन ।
शैक्षिक भ्रमणमा जाने विद्यार्थीका लागि केही भन्नु छ ? भ्रमणका जहाँ पायो त्यहीको जस्तो पायो त्यस्तै खानु हुँदैन । अनुशासनमा हिँड्नुपर्छ । ड्रेसअपकै कारण झगडा र विकृति बढ्छ । यसर्थ विद्यार्थीहरुले सभ्य ड्रेसअप गर्नुपर्छ । हामी त्यसबारे एक दिनको कोचिङ कक्षा नै दिन्छौँ ।
खर्च कति लाग्छ ?खाने, सुत्ने र गाडीभाडा सबै गरेर प्रतिविद्यार्थी पाँच हजार रुपैयाँको हाराहारी लाग्छ । समय, विद्यार्थी सङ्ख्याका कारण यो रकम घटबढ हुनसक्छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved