शिक्षा र शिक्षणप्रणालीमा नै प्रविधिले वर्चस्व जमाउन थालेपछि पुराना प्रविधिमा गरिएको लगानी खेर जाँदैछ । राज्यको करौडौं रुपैयाँ नयाँ प्रविधिमा खर्च भइरहेको छ भने करोडौं लगानी भएका सामग्री उपयोगविहिन भएका छन् । प्रविधिको विकासक्रमसँगै शिक्षणमा प्रयोग हुने पुराना सामग्री थन्कन थालेपछि करोडौंको लगानी बालुवामा पानीसरह बन्दै गएको छ ।
काठे ब्लाकबोर्डदेखि प्रोजेक्टरसम्म आइपुग्दा करौडौं लगानी गुमनाम भएका छन् भने नयाँ प्रविधिमा त्यति नै लगानी थप्नुपर्ने बाध्यता बनेको छ । सामुदायिक विद्यालयबाट काठे ब्लाकबोर्डदेखि सुरु भएको लगानी अहिले प्रोजेक्टरसम्म आइपुगेको छ । नयाँ प्रविधिहरुको विकास तीव्रोत्तर भइरहेको छ । यसले आर्थिक भार भने दिनानुदिन थपिँदै गएको छ । सामुदायिक विद्यालयहरुमा राज्यले पाँच प्रतिशत ब्लाकबोर्डमा खर्चेको छ । समयसँगै देशभरका सामुदायिक तथा निजी विद्यालयमा प्रयोग गरिएका ब्लाकवोर्डहरु फालिँदैछन् । जुन लगानी एक विद्यालयको केही प्रतिशत हिस्सा बन्न आउँछ । तर, नयाँ प्रविधिमा गरिएको खर्च खेर नजाने शिक्षकहरुको बुझाइ छ ।
‘ब्लाकबोर्ड विस्थापित हुनु राम्रो पनि हो,’ चन्द्रसंस्कृत उच्चमाविका प्राचार्य जनार्दन वस्तीले भने ‘आर्थिक पक्षलाई हेर्दा नोक्सान भए पनि स्वास्थ्यका हिसाबले नयाँ प्रविधि फाइदाजनक छ ।’
काठे ब्लाकबोर्डबाट सुरुभई सिमेन्टेड ब्लाकबोर्डसँगै हाल विद्यालयहरुले ह्वाइटबोर्ड भित्र्याएका छन् । सिमेन्टले बनेका ब्लाकबोर्ड र काठे ब्लाकबोर्डमा हुने खर्चको तुलना गर्ने हो भने ह्वाइटबोर्डमा गरिने लगानी थोरै कम भए तापनि त्यसमा प्रयोग हुने लेखन सामग्रीहरु भने केही खर्चिलो हुने गरेको विद्यालयको ठहर छ । चक र डस्टरमा हुने खर्चभन्दा केही बढी भए पनि स्वास्थ्यलाई राम्रो गर्ने भएकाले पनि पछिल्लोकालमा ह्वाइट बोर्ड र प्रोजेक्टर लगायतका नयाँ प्रविधिलाई विद्यालयहरुले भित्र्याउन थालेको वस्तीले बताए ।
सुनसरीका अधिकतर निजी तथा सरकारी विद्यालयहरुमा अहिले ह्वाइटवोर्डको प्रयोग हुन्छ । त्यति मात्रै होइन, केही कलेजहरुमा प्रोजेक्टरले पनि स्थान पाएको छ । धरानको नेशनल एकेडेमी उच्चमाविमा हाल केही विषयहरु प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइन्छ । ब्लाकबोर्ड त विस्थापित हुने नै भयो अहिले आएर ह्वाइटबोर्ड पनि विस्थापित बन्ने क्रममा छ । प्रविधिको प्रयोगले समय बचतका साथै विद्यार्थीको गुणस्तर समेत वृद्धि हुने एकेडेमीका चिफ एडमिनिस्टेटर देव सुब्बा बताउँछन् ।
बजारमा २० हजारदेखि माथि दुई लाखसम्मका प्रोजेक्टरहरु पाइन्छन् । ५० हजारसम्मका प्रोजेक्टरहरु विद्यालयका लागि उपयुक्त हुने सुब्बाको भनाइ छ ।
यता ह्वाइटबोर्डको साइजअनुसार तीन हजार पाँच सयदेखि १० हजार रुपैयाँसम्म पर्न जाने विद्यालयहरु बताउँछन् । गुणस्तरीय र टिकाउ खालका ह्वाइटबोर्डको मूल्य पनि राम्रै पर्ने उनीहरुको भनाइ छ । यता काठे ब्लाकबोर्ड र सिमेन्टेड गरिएको ब्लाकबोर्डमा पनि करिब दुई हजारदेखि पाँच हजारसम्म पर्छ ।
प्रविधिको आगमनसँगै निजी विद्यालयका विद्यार्थी तथा अभिभावकमा आर्थिक भारसमेत बढेको छ ।
गुणस्तरीयताको नाममा विद्यार्थीबाट राम्रै रकम असुल्ने विद्यालयहरु पनि प्रशस्तै पाइन्छन् । तर, सुब्बा भन्छन्, ‘नाफामुखी सञ्चालकहरु भएमा विद्यार्थीहरु नोक्सानीमा पर्न सक्छन् । तर, कमाउनभन्दा पनि गुणस्तरीयतामा ध्यान दिने हो भने प्रविधिमा पहुँच बढाउँदा शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सबैलाई फाइदा छ ।’
सुनसरीमा हाल सञ्चालनमा रहेका आधारभूत शिक्षालयहरुमा तीनसय ९६ सामुदायिक विद्यालय, दुई सय ४५ निजी विद्यालय, ८४ मदरसा, सात गुरुकुल, चार गुम्बा र सात सय ४१ बालविकास केन्द्रहरु छन् । यीमध्ये करिव ४० प्रतिशत शिक्षालयले ह्वाइटबोर्ड प्रयोगमा ल्याएका छन् । बाँकीमध्ये अधिकतर शिक्षालय परिवर्तनको प्रक्रियामा रहेको देखिएका छन् ।
ह्वाइटबोर्ड प्रयोग गर्नु राम्रो भएको डिपोट उच्चमाविका प्राचार्य राजकुमार राई बताउँछन् । झट्ट हेर्दा विद्यालयलाई नोक्सानी भएको देखिए तापनि यसको प्रतिफल राम्रो हुने उनको धारणा छ ।
ह्वाइटबोर्डले गुणस्तरमा बृद्धिसँगै शिक्षकहरुमा हुने समस्यालाई धेरै नियन्त्रण गर्छ । ह्वाइटबोर्ड प्रयोगमा हालसम्म कुनै उल्लेख्य बेफाइदाहरु नदेखिए पनि गणित विषयको जोमेट्री कन्स्ट्रक्सनमा भने समस्या आउने गरेको शिक्षकहरु बताउँछन् ।
भोजराज श्रेष्ठ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !