नेपाली साहित्यमा नयाँ–नयाँ प्रतिभाहरू जन्मिने क्रम जारी छ । सोही क्रममा ‘एउटा यायावरको पदचिन्ह’ कवितासङ्ग्रह प्रकाशन गरेर त्यही परम्परामा सामेल भएकी छिन् छितापोखरी–२, खोटाङकी आस्था कोपिला ।
कवि आस्था कोपिलाको सङ्ग्रहभित्र कवि आस्थाले २०६१ भदौदेखि २०६६ फागुनसम्म रचित ४३ वटा कविताहरू समेटेकी छन् । उनका कवितामा मानवता, प्रेम, राष्ट्रियता, देशप्रेम, नारी उत्पीडन र उन्मुक्ति, सामाजिक जीवन, द्वन्द्व, गरिब र सर्वहारा वर्गको अवस्था अनि परदेशी तथा शोषित–पीडित वर्गका भावहरू छचल्किरहेका भेटिन्छन् । यसरी विविध विषयवस्तुहरूको समायोजनबाट ‘एउटा यायावरको पदचिन्ह’ एउटा सुन्दर कवितात्मक फूल भएर फुलेको छ ।
कवि आस्था कोपिलाका कविताहरू पनि प्रगतिशील समयसँगै सलल बगेका छन् । समयको मागअनुसार हरेक वस्तुमा आएको परिवर्तनसँगै पाठकहरू नेपाली कवितामा पनि फरकपनाको स्वाद चाख्न चाहन्छन् । पाठकहरूको उक्त इच्छालाई कवि आस्थाले थोरै भए पनि पूरा गर्ने जमर्काे गरेकी छन् । उनले समाज र मानव जीवनका सूक्ष्म कुरालाई पनि नियाल्ने प्रयत्न गरेकी छन् । वर्गीय शोषण, जातीय उत्पीडन, लैङ्गिक विभेद, युद्ध अनि आतङ्कले पिल्सिएका, अभावमा छट्पटाएका, सुख किन्न परदेशिएका, वियोगमा रोएका, आघातमा दुखेका अनि भ्रममा बाँचेका शोषित–पीडित मनहरूप्रति समर्पित छन् आस्थाका कविता ।
इतिहास बोल्दैन
श्रमिकको निम्ति इतिहास
लाटो छ,
मगजहीन छ
अभिलेखहीन, कोरा कागज छ
श्रमिक सर्वहाराको
त्रासदी !
इतिहास लेख्दैन ।
(झुट्टा इतिहास, पृ. ४)
कवि आस्था वास्तविक जीवनमा ईश्वरप्रति कत्तिको आस्था राख्छिन् त्यो अस्पष्ट छ । तर, कवितामा हामीले ईश्वरका रुपमा मान्दै आइरहेका बुद्ध, मोहम्मद, येशु, पारुहाङ, सुम्निमा र तागेरानुवाफुङ आदिलाई उनी ईश्वरका फोटोकपीहरु मान्छिन् । ईश्वरको मास्टरकपी कतै छ । तर, ईश्वरका फोटोकपीहरुले आफ्नै मास्टरकपीको अस्तित्वलाई ओझेलमा पारिदिएको उनका सिर्जनाले बोलेका छन् ।
कवि आस्था आफैँ नारी भएकीले नारीको पीडा ओकल्छिन् । अब सम्पूर्ण नारीहरु सङ्कुचित समाजको पर्खाल तोडेर बाहिर निस्कनु जरुरी छ । समाजमा नारीहरुलाई घृणा, अपमान, तिरस्कार र अपहेलना गर्न चाहने जाली, कपटी शकुनीहरुका लागि उनका यी कविताका पङ्तिहरु बम र बारुद भएर पड्किन सक्छन् ।
तोडिने छ – सामाजिक पर्खाल
मुक्त हुनेछन् – पिँजडाका सुगाहरु
सुरक्षित हुनेछ अस्तित्व ।
(पर्खाल, पृ. ४७)
अनागरिक भएर सस्तो भाउमा श्रम बेच्न बाध्य भएको एउटा परदेशीलाई देशको मायाले तान्छ । उसलाई आफ्नो देश र स्वतन्त्रता मात्रै नभएर आफ्नी प्रेयसीसमेत हराउने भय छ । त्यही कारणले ऊ बेग्लै प्रण गरेर छिट्टै स्वदेश फर्कन चाहन्छ ।
म देशको दुःख बोक्न तयार
जीवन बदलिन तयार
एउटा विश्वास लिएर
देश, जनता र तिम्रा निम्ति
एउटा उज्यालो जून बोकेर
फर्की आउनेछु ।
(परदेशबाट, पृ. ४०)
यो एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो । कम्प्युटरको दुनियाँमा मानिस रोबोर्टसँग अन्तरिक्षको सयर गर्न चाहन्छ । यन्त्र, यन्त्र र फेरि पनि यन्त्रकै पछि दौडिरहेको छ मान्छे । हरदम यन्त्रको सञ्चालन र खोजीमा सक्रिय मान्छे आफैँ यन्त्रको दास भएर जीवन बिताइरहेको छ । हुँदा–हुँदा मान्छे मेसिनमा अनुवाद हुन लागिसक्यो । जसले गर्दा मान्छेभित्रको संवेदना नै शून्य भएझैँ लाग्छ ।
निर्जीव मुटुमा समवेदना पग्लँदैन
यो डिजिटल शताब्दिले समवेदनामाथि
ढुङ्गा र कङ्क्रिट बिच्छ्याएको छ
छातीमा सिङ्गमरमरको पिरामिड उभ्याएको छ
मसँग आत्मिक सौदन्र्य र स्वचेतना छैन
ठूलो रिक्तता – समय र मेरोबीचमा छ
मेरो प्रेम अमूर्त हुनाले
मुटु नधड्किने मान्छे हुँ म ।
(मुटु नधड्किने मान्छे म, पृ. ४९)
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले सुरु गरेदेखि यौनमनोविज्ञानपरक लेखन आउने क्रम जारी छ । आस्था कोपिलाका कवितामा पनि यौनिकता गाढा झुल्को पाउन सकिन्छ ।
मेरो कुमारी वैंश
तिम्रो स्वागतमा छ
अलिकति निकास खोजेर
स्वयम्भु हुँदै फर्केर आऊ !
हामी चोखो गर्भाधान गरौँ
कलङ्कित इतिहासको दाग मेटेर
अहङ्कार र आडम्बरले चुलिएको
पर्खाल भत्काउन सक्ने
यो देशमा सच्चा सन्तान
जन्माऔँ । (सन्तान, पृ. २२)
कवि आस्था कवितामा बिम्ब र प्रतीकको प्रयोगमा रमाउँदै हिँडेकी एउटा यायावर हुन् । प्रेमले भरिएको उनको कविता प्रेमीको प्रतीक्षामा अभिशप्त जीवन बाँचिरहेको छ ।
विचार र भावको गहिरो मिलनले मात्र कविता मजबुत बन्न सक्दछ । कविता सिर्जनाको क्रममा कति कविहरू विचारमा मात्र जोड दिन्छन् र भाव हराउन पुग्छन् भने कति कविहरू भावमा मात्र जोड दिन्छन् र विचारको प्रस्तुतीकरणमा चुक्छन् । विचार र भावको सन्तुलनमा कवि आस्था केही हदसम्म सफल देखिन्छिन् । भावको प्रस्तुतिमा उत्कृष्ट देखिएकी कवि आस्थाले अझ उत्कृष्ट विचार पस्कन सकेकी भए यी कविताहरू अझ सशक्त बन्ने थिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !