साहित्य विविध
Written By Neplee on Friday, February 17, 2012 | 6:10 PM
बहुआयाम समेटिएको कृति
रमा पौडेल ‘प्रभात’
व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर समाजप्रति समर्पित हुनेहरू नै सधैँ चर्चा–परिचर्चामा आइरहन्छन् । समाजलाई केही दिन खोज्नेहरू साहित्यसेवा, स्वास्थ्यसेवा, राजनीतिका क्षेत्रमा क्रियाशील हुन्छन् । यसरी क्रियाशील हुनेमा पुरुष र महिला उत्तिकै पाइन्छन् । तर, नेपालको सन्दर्भमा महिलाको सङ्ख्या औँलामा गन्न सकिने रहेको छ । त्यसमध्येमा पारिजात, झमक घिमिरे, पद्यमावति सिंह, भागिरथी श्रेष्ठ, बालकुमारी थापा, सुधा त्रिपाठीलगायत पर्दछन् । यस्तै छुट्टै पहिचानका साथ नेपाली साहित्यको क्षेत्रमा कलम चलाइरहेकी अर्की साहित्यसेवीलाई चिनाउने जमर्को गरेको छ, प्रश्रित प्रतिष्ठान नेपालले ।
भाषा, साहित्यको जगेर्ना र उत्थानका लागि विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानले कविता पौडेल बहुआयाम शीर्षकमा ‘प्रश्रित प्रतिष्ठान पुस्तकमाला–१’ भनेर एउटा गहन खोजमूलक कृति बजारमा ल्याएको छ ।
अर्घाखाँची जिल्ला खिदिम, म्यालपानी गाउँमा २००२ साल माघ ६ गते चोला लिएकी कविता पौडेलको बहुआयामलाई समेटेर सम्पादन गरिएको कृति आफैँमा ओजपूर्ण र गहन छ । काँडेघारीको यात्रा
(२०५९), शीर्षकको आत्मसंस्मरण प्रकाशन गरेकी कविताले नेपाली साहित्यमा दरिलो उपस्थिति देखाएकी छिन् । बालचित्कार (२०६३), हीरा (२०६३) र विस्थापित आमाहरू (२०६८), आमाहरू (२०६६)को परिमार्जित संस्करण बजारमा छन् भने ‘सीमापारी’ शीर्षकको उपन्यास छिट्टै बजारमा आउँदैछ । साथमा उनका थुप्रै फुटकर कथाहरू प्रकाशित भएका छन् । उपन्यासबाहेक उनले गीत, योगासन ध्यानका पुस्तकहरू पनि प्रकाशित गराएकी छन् ।
विविध आयामयुक्त उनको जीवनको साहित्यिक क्षेत्रलाई महŒव दिँदै साहित्यसम्वद्ध लेख र सामालोचनाहरू समावेश गरिएको उक्त पुस्तकमा लेखकहरू कविता पौडेलका आत्मकथा र उपन्यासहरू तर्फ तानिएका छन् । यसको उदाहरणस्वरूप उनको काँडेघारीको यात्रा (२०५९) आत्मसंस्मरणमा केन्द्रित रहेर इन्दिरा प्रसाईंले काँडेघारीको यात्रालाई कविता पौडेलको मात्र सङ्घर्षको यात्रा नभएर प्रेरक पुस्तक भएको र कविताले बिताएका कष्टकर जीवनका पानाहरू पल्टाउँदै जाँदा आफ्ना दुःखहरू मसिना भएर हराएको चर्चा गरेको पाइन्छ ।
त्यसैगरी, कमल गुरागाईंले काँडेघारीको यात्रालाई सङ्घर्षशील नारीको जीवनकथा मान्दै मोतीका हारजस्ता पहाडका कन्दराबाट उब्जेका कञ्चन झर्नाझैँ पवित्र, स्वच्छ र निर्मल ठहर गरेका छन् । कृष्ण बस्यालले काँडेघारीको यात्राले मानिसको जीवनमा जतिसुकै दुःख–कष्ट आइपरे पनि हरेस नखाई समाजभित्र रहेका अन्धविश्वास कुसंस्कार र कुरीतिलाई डटेर सामना गर्नुपर्छ र समाजभित्र रहेका अन्धविश्वास, कुसंस्कार र कुरितिलाई डटेर सामना गर्दै–गर्दा समय क्रमसँगै ती कुप्रथाहरू तोड्दै जानु पर्दछ भन्ने सन्देश पनि प्रस्तुत कृतिले दिन्छ भनेका छन् ।
त्यसैगरी, डा. जीवेन्द्रदेव गिरीले रुढीग्रस्त समाजका आँखा खोल्न र समाजको अनाचार अन्त्य गर्न पनि उनले अद्वितीय साहस प्रदर्शन गर्दै काँडेघारीको यात्रा यिनै विराङ्गानाको परिचायकका रूपमा देखापरेको जनाएका छन् । डिल्लीराज भट्टराई, डी.आर. पोखरेल, पुण्यप्रसाद खरेल, भगिरथी श्रेष्ठ, मुक्तिनाथ शर्मा, हेमराज ज्ञवाली गरी एघार जना लेखकहरू काँडेघारीको यात्रामा केन्द्रित भएका छन् ।
बालचित्कार (२०६३) उपन्यासमा केन्द्रित रही रमेश शुभेच्छुक लेख्छन्, ‘यस उपन्यासले बालबालिकाका उत्पीडनहरूलाई केन्द्रमा राखेर अनाथ बालबालिकाका समस्या, बालविवाह, बालविधवा, बालश्रम जस्ता बालहिंसाको उद्घाटन गर्दै तिनको अन्त्यको चाहना राखेको छ ।’
हीरा (२०६३) उपन्यासमा केन्द्रित रही डिल्लीराज नेपाल (उपन्यास हीराभित्र विचरण गर्दा) देवीचरण भण्डारी ‘सरोज’ (कविता पौडेल र हीरा उपन्यास), रमा पौडेल ‘प्रभात’ (हीरा उपन्यासको औपन्यासिक पर्यावलोकन), रमेश पोख्रेल (हीरा उपन्यास समाजको यथार्थ दर्पण) र सुकुम शर्मा (नारी समस्याको प्रतिविम्ब हीरा उपन्यास) लगायतले हीरा उपन्यासको केन्द्रीयतामा रहेर कलम चलाएका छन् ।
झरेको जून र कविको चर्चा
दक्षिण एशियाली युवा कवि पुरस्कारबाट पुरस्कृत मनु मन्जिलको कविता सङ्ग्रह ल्याम्प पोष्टबाट झरेको जूनको इटहरीमा हालै सार्वजनिक चर्चा गरिएको छ ।
केही अगाडि राजधानीमा विमोचित सो कविता सङ्ग्रह पूर्वका लागि सार्वजनिक गर्दै प्राज्ञ कवि कृष्णभुषण वलले कृति र मनु मन्जिलका बारे चर्चा गरे । उनले मन्जिल यो पुस्ताको शक्तिशाली कवि भएको बताए । पूर्वका विभिन्न साहित्यकारहरूले पनि कवि र कविताका बारेमा चर्चा गरे ।
कार्यक्रममा कवि मन्जिलले आफ्नो कृतित्वको पृष्ठभूमिका बारेमा बोलेका थिए । उनले आफ्ना दुईवटा कवितासमेत वाचन गरेका थिए । सो अवसरमा कवि मन्जिल र प्रकाशक अजित बरालले पाठकका दर्जनबढी जिज्ञासाको जवाफ दिएका थिए । इटहरी नगरपालिकाको सांस्कृतिक भवनमा भएको कार्यक्रममा पूर्वका झन्डै तीन सय साहित्यकारहरूको जमघट रहेको थियो ।
फाइन प्रिन्ट प्रकाशक रहेको पुस्तकको मूल्य एकसय ९९ रुपैयाँ राखिएको छ ।
असन्तृप्त अभिलाषा
युवा गजलकार केपी लम्सालको पहिलो कृति असन्तृप्त अभिलाषा गजल सङ्ग्रह एक कार्यक्रमकाबीच धरानमा सार्वजनिक गरिएको छ ।
नेपाली गजलका सम्राटको संज्ञा पाएका गजलगो ज्ञानुवाकर पौडेलले कृतिको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा प्रकाश आङ्देम्बे, डा. भीम खतिवडा, डा. गोपाल भण्डारी, देवी पन्थी, बद्री पलिखे, हेमन यात्री, धनकुटे कान्छा, सीमा आभाष, टेकेन्द्र अधिकारी, टीका आत्रेयलगायतका गजलकार तथा साहित्यकारले गजलवाचनका साथै गजलका बारेमा बहस गरेका थिए ।
कार्यक्रममा नेपाली गजल लेखन र समसामयिक गजलमा देखिएका चुनौतीबारेमा दरिलो बहस भएको थियो । नेपाल गजल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा तीन दर्जन बढी श्रष्टाले गजल वाचन गरेका थिए । नेपाल गजल प्रतिष्ठानले प्रकाशन गरेको गजल सङ्ग्रह असन्तृप्त अभिलाषाको मूल्य एकसय पाँच रुपैयाँ रहेको छ ।
मनको क्षितिजमा टीका
८० वटा गजल समेटिएको गजलकार टीका आत्रेय पौडेलको गजल सङ्ग्रह मनको क्षितिज हालै इटहरीमा सार्वजनिक गरिएको छ ।
जनता क्याम्पस इटहरीमा अध्यापन गराउँदै आएकी आत्रेयको गजल सङ्ग्रह प्रा. डा. अभि सुवेदीले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा उपस्थित समालोचकहरूले गजल विधामा आत्रेयको गजलले आशावादी भाव व्यक्त गरेको बताएका थिए । कार्यक्रममा बोल्दै साहित्यकार तथा प्रा.डा. सुवेदीले गजल सङ्ग्रहले आफ्नोपन कायम गर्न सकेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा साहित्यकार मनु मन्जिल, प्रा.डा. बद्रीविशाल पोखरेललगायतले बोलेका थिए ।
साहित्य सञ्चार प्रतिष्ठान इटहरीले प्रकाशन गरेको सङ्ग्रहको मूल्य एकसय रुपैयाँ राखिएको छ ।
कुमुदका कथा पहेँलो फूलमा
कथाकार कुमुद अधिकारीको कथा सङ्ग्रह ‘पहेँलो फूल’ फागुनको पहिलो साता इटहरीमा लोकार्पण गरियो । कार्यक्रममा झापा मोरङ र सुनसरीका चर्चित साहित्यकारहरूको जमघाट थियो । कार्यक्रममा उपस्थितमध्ये अग्रज साहित्यकारहरूले कथा सङ्ग्रहभित्रका कथा, पात्र र प्रवृत्तिका बारेमा चर्चा गरेका थिए । अनुवाद साहित्यमा पारङ्गत अधिकारी यो सङ्ग्रहमार्फत सशक्त कथाकारका रूपमा अगाडि आएका छन् । समसामयिक र मानवीय मूल्य समेटिएका १३ वटा कथा रहेको सो सङ्ग्रह सङ्गम पब्लिकेशनले प्रकाशन गरेको हो ।सङ्ग्रहको मूल्य एक सय ५० रुपैयाँ राखिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !