Home »
उच्च शिक्षा
» कुहिने प्लाष्टिकको खोज
कुहिने प्लाष्टिकको खोज
Written By Neplee on Friday, February 17, 2012 | 6:10 PM
नेपालको एकमात्र सरकारी खाद्य प्रविधि क्याम्पस धरानस्थित हात्तिसारबाट खाद्य प्रविधि (विटेक) चार वर्ष पूरा गरेका विजन श्रेष्ठले बायोडिग्रेडेबल (कुहिन सक्ने) प्लास्टिक तयार गरेका छन् । उनी थेसिसअन्तर्गत् सो परीक्षण गरेर नमुना बायोप्लाष्टिक बनाउन सफल बनेका हुन् ।
उनले जुनेलोको मकैबाट स्टार्च निकाली कुहिन सक्ने (बायो डिग्रेडेवल) प्लास्टिक तयार पारेका हुन् । ‘थेसिस गर्ने क्रममा गरियो, हुँदो रै’छ भन्ने लाग्यो,’ उनले भने, ‘पहिले त अन्योलकै स्थितिमा सुरु गरिएको थियो ।’ निश्चित अवधिसम्ममा सूक्ष्मजीवहरूले यस्ताखालका प्लास्टिकहरू कुहाउने उनी बताउँछन् । खान पनि सकिने ती प्लास्टिकहरू नेपालमा हाल कमै प्रयोग भएको पाइन्छ । तर, विदेशतिर भने त्यसको सतप्रतिशत प्रयोग हुन थालिसकेको उनको भनाइ छ । स्टार्चलाई ल्याबमा खानयोग्य केमिकल (ग्लिसिरोल्ड) प्रयोग गरी नरम र लचकदार बनाउन र सजिलैसँग लान–ल्याउन सकिने उनले बताए ।
आलु, चामल, गहुुँ, तरुल, पिँडालुलगायतबाट जिवित स्टार्च (ग्लुकोजको पोलिमा) बनाउन सकिने श्रेष्ठ बताउँछन् । साउनको दोस्रोसातादेखि सुरु गरेका उनले असोजको पहिलो हप्तामा बायोडिग्रेडेबल तयार पारेका थिए । सामान्य तापक्रममा राख्न सकिने त्यस्ता बायोडिग्रेडेबल सामग्रीहरू भने चिसो तापक्रममा राख्न नमिल्ने उनी बताउँछन् । नेपालमै पहिलो पटक त्यस्तो सामग्री तयार पारेका उनले भने, ‘यो नेपालमा कमै प्रयोगमा आउँछ, किनभने यो अन्य प्लास्टिकको तुलनामा २ देखि १० गुणा महँगो पर्न जान्छ ।’
स्रोतको कारणले पनि केही महँगो हुने त्यस्ता प्लास्टिकहरू केही वर्षसम्म टिकाउ रहन्छन् । तर, सामान्य प्लास्टिकझैँ नहुने भएकाले त्यसलाई हरेक क्षेत्रमा प्रयोग गर्न सकिने शिक्षक प्रमेशकुमार ढुङ्गानाको भनाइ छ । ढुङ्गानाका अनुसार विदेशमा यसको प्रयोग चकलेटको माथिल्लो भाग, टफी, मिठाइको बाहिरी आवरणका रूपमा प्रयोग हुने गरेको छ । ‘नेपालीले यसको महत्व अझै बुझिसकेका छैनन्’ उनी भन्छन्, ‘त्यसकारण पनि यसको बजार बिस्तार हुन सकेको छैन ।’ यस क्षेत्रमा दक्ष जनशक्तिहरू नै कम उत्पादन हुने र भएका जनशक्ति पनि विदेश पलायन हुने भएकाले यस्ता प्रयोग कम हुने गरेको छ ।
हालै चौथो वर्ष पूरा गरेका विद्यार्थीमा उनीमात्रै एक प्रतिनिधि पात्र हुन्, जसले नेपालमै बसेर आफ्ना सीप देखाएका छन् । अध्यापन पूरा गरेका विद्यार्थीका लागि नेपालमा थप प्रयोगात्मक शिक्षा दिने इन्स्टिच्युट नभएका कारण पनि दक्ष जनशक्तिहरू विदेश पलायन हुने गरेको उनको बुझाइ छ । विश्व बजारलाई हेर्ने हो भने यो प्रविधि भित्र्याउने पहिलो देश अष्ट्रेलिया पर्न आउँछ । औद्योगीकीकरण गरेर खाद्यपदार्थमा प्रयोग गरिएको पनि त्यही नै पहिलो मानिन्छ । नेपालमा पनि दक्ष जनशक्तिलाई प्रयोगमा ल्याई बायोडिग्रेडेबल प्लास्टिकको उत्पादन गर्न सके रोजगारसँगै प्लाष्टिक मुक्त शहरको परिकल्पना गर्न सकिने विज्ञहरूको भनाइ छ ।
भोजराज श्रेष्ठ
Labels:
उच्च शिक्षा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !