सवारी दुर्घटना कम गरौं (सम्पादकीय फागुन)
Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM
हतारमा दुर्घटना, फुर्सदमा पश्चाताप । बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न । हरेक मोडमा परिवारको याद गर । बिस्तारै आउनुहोस् परमधाममा ठाउँ छैन । गतिमा होइन सुरक्षामा प्रतिस्पर्धा गरौँ । एक गल्ती खेल समाप्त । बिस्तारै हाँक्नुहोस् जिन्दगी लामो छ । तीव्र गति, जीवन क्षति । सडकमा आफूमात्रै छु भन्ने नसोचौँ ।
ट्राफिक सचेतनाका सवालमा लेखिएका थुप्रै भनाइहरू हामीले सडकछेउमा सरोकारवालाहरू लक्षित गरेर राखेको÷लेखेको देखेका छौँ । तर, हामी देखेर पनि नदेखेजस्तो वा कुनै सस्तो साहित्य पढेर बिर्सिएजस्तो बेवास्ता गरिरहेका छौं । हाम्रो जीवन–यात्राको महत्वपूर्ण समय व्यतित हुने बाटो अर्थात् हामीले प्रयोग गर्ने सडक सुरक्षित छैन । हाम्रा सडकहरू नदीको उर्लदो भेलजस्तो नियति बोकेर हाम्रो घर छेउमा छन् । कुनै सानो गल्ती हुनेबित्तिकै हामी र हाम्रा नानीहरूको अमूल्य जीवन पलमै समाप्त पार्न यी सडकहरू तयार बसेका छन् ।
वर्षभरि नेपालका सडकमा सवारी दुर्घटनामा परेर थुप्रैको ज्यान गएको समाचार सुन्न÷पढ्न पाइन्छ । तर, ती समाचारमा निहित सचेतना सन्देशले भने हामी र सरोकारवालाहरूको मनमा चिसो पसेको देख्न÷सुन्न÷पढ्न कमै पाइएको छ । विशेषगरी, स्कुल–कलेजका छात्रछात्रा तथा विद्यालयका सवारीसाधन सवारी दुर्घटनाको बढी सिकार हुने गरेका छन् । सडक प्रयोगसम्बन्धी अज्ञानता, सडकमा ‘उत्ताउलो प्रदर्शन तथा लापरवाही नै दुर्घटनाको कारक हुने गरेको छ । सवारी दुर्घटनाबाट साना नानीहरूले नाहकमा ज्यान गुमाइरहेको अकल्पनीय तथ्य हाम्रासामु छ ।
निश्चय पनि सवारी दुर्घटना शून्य पार्न सकिँदैन तर कम गर्न सकिन्छ । हामीसँग सडकको अवस्था राम्रो छैन, प्रयोगकर्ताहरू सचेत छैनन्, थोत्रा सवारीसाधन सडकमा निर्वाध गुडिरहेका छन्, गैरयात्रुबाहकमा मान्छे चढेका छन्, क्षमताभन्दा बढी यात्रु चढेका÷झुन्डेका हुन्छन्, पर्याप्त ट्राफिक सङ्केतहरू छैनन्, भए पनि त्यसलाई मान्ने चलन छैन, प्रभावकारी अनुगमन हुँदैन आदि थुप्रै बाहानाहरू छन् दुर्घटनाका लागि ।
बाहाना जे भए पनि दुर्घटना हुने कारणमा अलिकति पनि सुधार ल्याउने हो भने धेरैको अमूल्य ज्यान जोगिन सक्छ । दुर्घटनाको समाचार वा घटना देखेर, पढेर, सुनेर बिर्सिने कुरा होइन, जीवन बचाउन शिक्षा लिनुपर्ने विषय हो । दुर्घटनाको नियति जहिले पनि घातक हुन्छ । असमय ठूलो मानवीय क्षमता गुम्छ ।
त्यसैले सडक छेउ विद्यालय, अस्पताल भए त्यहाँ अपनाइनुपर्ने विशेष व्यवस्थाबारे सबैले ध्यान दिनुपर्छ । शिक्षालयमा सडक सुरक्षासम्बन्धी विशेष पाठ्यक्रम तथा नियमित मासिक कक्षाको व्यवस्था गर्न सकिए हाम्रा बालबालिकालाई अकल्पनीय सवारी दुर्घटनाबाट निकै हदसम्म टाढा राख्न सकिन्छ । सुरक्षा सोचौँ, दुर्घटनाबाट बचौँ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !