विवादमा सुन्दरी
Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM
विश्वका कुनै पनि प्रतियोगिता विवादबाट मुक्त हुन सकेका छैनन् । नोबेल पुरस्कारदेखि साना प्रतियोगिताका पुरस्कारमा धाँधली हुने गरेको आरोप आयोजक तथा निर्णायकलाई लाग्ने गरेको छ । त्यस्तै आरोपबाट यस वर्षको मिस पूर्वाञ्चलसमेत अछुतो रहन सकेन ।
धरानकी अस्मिता गुरुङले मिस पूर्वाञ्चलको ताज लगाएको चौबीस घण्टा नबित्दै प्रतियोगितामा धाँधली भएको आरोप लागेको छ । निर्णयबाट असन्तुष्ट अन्य सुन्दरीहरूले त्यस्तो आरोप लगाएका हुन् । त्यति मात्र होइन, धरानमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पैसाको चलखेलमा आयोजकले मिस पूर्वाञ्चल छानेको बताउँदै तेस्रो मिस पूर्वाञ्चललाई प्रतियोगिताका नाममा कालो धब्बा भएकोसमेत भन्न भ्याए ।
१५ जना प्रतिस्पर्धी रहेको प्रतियोगितामा विजेताबाहेकका सबै १२ प्रतियोगीहरूले प्रतियोगिताको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै निर्णयमा पक्षपात भएको जनाएका थिए ।
सहभागीमध्येकी मिस ब्युटीफूल कम्लेक्सन बिना खापुङले विजेताहरुले टप १० र टप पाँचभित्र पनि राम्रो उत्कृष्ट उत्तर दिन नसकेको अवस्थामा विजेता बनाइएको भन्दै आक्रोश पोखिन् । उनले भनिन्, ‘सबैको आँखाअघि अनफेयर भएको छ ।’
१२ प्रतियोगीहरूले टप १० बाटै अनफेयर भएको टिप्पणी गरेका छन् । सहभागीमध्येकी बेष्ट स्माइल उपाधि पाएकी चन्द्रिका मोतेले आक्रोश पोखिन् ‘न आइ कन्ट्याक्ट छ, न वेष्ट पफर्ममेन्स नै ।’
असन्तुष्ट सुन्दरीहरूले प्रतियोगिताका निर्णायकको मात्र होइन, आयोजक बूढासुब्बा ट्रेनिङ सेन्टरको समेत उछितो काढे । सेन्टरले २० देखि २५ हजारको टिकट बिक्री गर्न लगाएको आरोप लगाए ।
आयोजकले मिस ट्यालेन्टलगायत विजेताहरूलाई उत्कृष्ट गिफ्ट ह्याम्परको साथमा केही रकमसमेतले पुरस्कृत गरेको थियो तर, भित्र खाममा भने कागज मात्रै पाउँदा आयोजकले ठगेको उनीहरूको भनाइ छ ।
तेस्रो मिस पूर्वाञ्चल २०१२ को ताज धरान ११ की १८ वर्षीया अस्मिता गुरुङले पाएकी थिइन् । ताजसँगै उनले महिन्द्रा स्कुटीसमेत हात पारिन् । मिस पूर्वाञ्चलले मिस नेपालको प्रतिष्पर्धामा सोझै सहभागी बन्न पाउँछन् । तर, योग्यता नपुगेका कारण यो पटकको मिस पूर्वाञ्चलका साथै फस्र्ट र सेकेण्ड रनरअपले समेत प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् ।
मिस नेपालका सहभागीहरूको शिक्षा, उचाइ र उमेरको सीमामा बाँधिएको छ । तर, तीनैजना कुनै न कुनैमा चुकेका छन् । सुनसरी टेक्निकल कलेजकी कक्षा ११ की छात्रा भएको कारण गुरुङ मिस नेपालमा सहभागी हुन अयोग्य छिन् । मिस नेपालको योग्यता नपुगेमा फस्र्ट रनरअप र फस्र्ट रनरअपको समेत योग्यता नपुगेमा सेकेण्ड रनरअपले अवसर पाउँछन् । तर, यो वर्ष तीनै जनाको योग्यता पुगेन ।
उनीसँगै फस्र्ट रनरअपमा धरान–११ की सन्दीपा लिम्बू र सेकेण्ड रनरअप झापा मेचीनगर–१३ की हीना श्रेष्ठको शिरमा ताज प¥यो । ताजको उपाधिसहित ल्यापटप पाए ।
विजेताहरूले ल्यापटप र स्कुटीसँगै ललितपुरस्थित एसियन कलेज अफ म्यानेजमेन्टमा स्नातक तहका लागि छात्रवृत्तिसमेतमा आफ्नो वर्चश्व जमाए । प्रतियोगिताकी विजेता अस्मितालाई गतवर्षकी मिस पूर्वाञ्चल विजेता प्रतिभा श्रेष्ठ, फस्र्ट रनरअप सन्दीपालाई लक्ष्मी सुब्बा र सेकेण्ड रनरअपलाई अनिता विकले ताज पहिराइदिएका थिए ।
प्रतियोगितामा मिस बेस्ट हेयरको उपाधि निलिमा राई, मिस ट्यालेण्टको उपाधि कविता लिम्बू, मिस फ्रेण्डसिपको उपाधि सन्दीपा लिम्बू, मिस बेस्ट स्माइल चन्द्रिका मोते, मिस भ्युअर च्वाइस कञ्चन तामाङ, मिस ब्युटिफूल कम्लेक्सन विना खापुङ, मिस फोटोजेनिक मुस्कान सुब्बा, मिस पर्सनालिटी सन्दीपा लिम्बू र मिस बेस्ट क्याटवकको उपाधि अस्मिता गुरुङले पाइन् ।
यता, विजेताहरूलाई मिस नेपालमा सहभागी गराइने भनिए पनि उनीहरू मिस नेपालका लागि योग्य भने छैनन् । मिस नेपालमा सहभागी बन्नका लागि मात्रै पनि न्यूनतम् योग्यता प्रवीणता प्रमाणपत्र तह पास गरेको हुनुपर्छ भने उचाइ ५ फुट ४ इन्च हुनैपर्छ । तर, विजेताहरू तीनैजना एसएलसीमात्रै उत्तीर्ण गरेका छन् ।
प्रतियोगिता अवधिभर गायिका मिलन आमात्य, सीमा सङ्ग्रौला, गायक सपन श्रेष्ठले गीतसङ्गीतमार्फत् मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमलाई होस्ट गरिरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बा सबैको आकर्षणको केन्द्रबिन्दू बनेकी थिइन् ।
‘धाँधली भएको छैन
– सौरभ श्रेष्ठ (इभेन्ट कोर्अडिनेटर, मिस पूर्वाञ्चल)
प्रतियोगितामा धा“धली भाको हो ?
होेइन । निर्णायकको नम्बरको आधारमा उत्कृष्ट छानिएकाले असन्तुष्ट हुनुको कुनै तुक छैन ।
विभिन्न टाइटल जित्नेले पनि धाँधली भएको आरोप लगाए नि ! टिकट बेच्न लगाउनुभो रे ! सुन्दरीलाई मोडलिङ गराउने कि टिकट बेचाउने ?
टिकट त मिस नेपालमा पनि बेच्नुपर्छ । तर, बाध्यता भने छैन, कसैले बेच्छन् कसैले बेच्दैनन् ।
विजेतालाई खाली खाम दिनु भो रे नि ! झुक्काउन पाइन्छ ?
बेस्ट उपाधि पाउनेहरूलाई रकमद्वारा पुरस्कृत गरिने उद्घोष गरेका थिएनौँ । उपाधि विजेताहरूलाई भने आकर्षक उपहार दिने भनेका थियौँ । सोअनुसार सबैले पाएका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !