रहस्य खोल्यो ओपन सेक्रेटले - College Times : Educational Magazine
Headlines News :
Home » » रहस्य खोल्यो ओपन सेक्रेटले

रहस्य खोल्यो ओपन सेक्रेटले

Written By Collegetimes on Tuesday, January 1, 2013 | 10:58 PM


२०६९ सालको दसैंको रमझमसँगै त्रिभुवन विमानस्थल हुँदै विदेश लान ठिक्क पारेको नक्कली भारतीय रुपैयाँको ठूलो बिटो प्रहरीले पक्राउ ग¥यो, जसमा व्यक्ति मात्र नभई सुरक्षा निकाय तथा राजनीतिक पार्टीको पनि संलग्नता थियो । यस्तै र अरु थप घटनाको तथ्य उजागर गर्ने पुस्तक आएको छ, ‘ओपन सेक्रेट’ । पत्रकार तथा लेखक केपी ढुङ्गानाको पुस्तक ‘ओपन सेक्रेट’मा विभिन्न समयमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय हत्याका घटनाहरुबारे गुह्य रहस्य हात लाग्यो । फाइनप्रिन्ट आइएनसीले प्रकाशन गरेको यो पुस्तकमा मिर्जा, जमिमदेखि फैजान हत्याकाण्डका नालीबेलीहरु समेटिएका छन् । लेखक आफैँले यो कुरा स्वीकारेका छन्, कि आफू पत्रकारिता जगतमै भए पनि कतिपय अवस्थामा समाचारहरु पूर्णरुपले पाठकहरुलाई दिन नसकिने हुन्छ, जसलाई पूर्ण गर्नका लागि पनि प्रस्तुत पुस्तक लेख्नुपरेको हो ।
चाहे २०५५ असारमा सिफलमा मारिएका मिर्जा (तत्कालिन सांसद)का हत्यारा हुन् या २०६६ सालमा मारिएका जमिम (केबुल किङ)का हत्यारा प्रहरीको नजरबाट कसरी भाग्न सफल भए र प्रहरी कसरी पराजित भयो यावत् वृतान्त ‘ओपन सेक्रेट’मा उल्लेख गरिएको छ ।
नेपालमा हत्यारा पत्ता लाग्ने अवस्था एकदमै न्यून छ । राजधानीको मुटु घन्टाघरअगाडि दिनदहाडै २०६८ असोजमा फैजान महमद (इस्लामिक सङ्घका तत्कालीन महासचिव)को हत्या भयो । हत्याराहरु महानगरीय प्रहरी आयुक्त कार्यालयको एकदमै छोटो दूरीबाट भाग्न सफल भए । हत्याका दोषी पत्ता लगाउन जनताको सुरक्षाको जिम्मेवारी लिएर बसेका उच्चतहका प्रहरीहरुले कसरी बेइमानी गरे भन्ने कुरालाई लेखकले प्रष्ट पारेका छन् ।
लेखकले पटकपटकका हत्या घटनाका प्रतिवेदनहरुको अध्ययनपछि नेपालमा हुने हत्याका सिलसिलामा भारतीय पक्षको ठूलो हात रहेको उल्लेख गरेका छन् । अपराधीलाई नेपालमा सेल्टर दिनु, विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने प्रवृत्तिका साथै भारतीय गाडीहरु निर्वाधरुपमा नेपालमा प्रवेश गर्न दिने प्रवृत्तिले पनि नेपालमा धेरै अन्तर्राष्ट्रियस्तरका हत्याका घटना हुने गरेको पुस्तकमा उल्लेख छ । अपराधीहरु एकदमै तल्लोस्तर (बुट पालिस गर्ने, बन्दरगाहमा, जहाजमा सामान लोड÷अनलोड गर्ने, कपाल काट्ने सैलुन चलाएका मानिस)बाट उठेर आएको पाइन्छ ।
सडकको मगन्ते जीवनबाट सुरु गरेको अपराधी प्रवृत्तिले राष्ट्रिय सरकारलाई हल्लाउने मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि ठूल्ठूला अपराध र हत्या गरेको पुस्तकले उजागर गरेको छ । समूह बनाउनका साथै सुरक्षा अधिकारीलाई नै प्रभावमा पार्ने र उनीहरुकै संरक्षणमा आपराधिक क्रियाकलाप गर्ने परम्पराले अपराधीहरु सुरक्षाघेराबाट तत्कालै उम्किने र अपराधी उम्काएपछि मात्र प्रहरीले छानविन प्रक्रिया अघि बढाउनेजस्ता कार्य गरेको पाइन्छ । अझ महत्वपूर्ण कुरा त जति पनि अपराधी छन्, ती अपराधीहरुले कुनै न कुनै राजनीतिक दलको बिल्ला भिरेकै छन् ।  अपराधीहरु राजनीतिक आडमा अपराधी हुनबाट मुक्त रहेको तथ्य पुस्तकमा छ ।
नेपालमा भएका अधिकतर घटनाको योजना भारतमै बन्ने गरेको पुस्तकले बताएको छ । भारतको उत्तर प्रदेशमा जन्मिएर सडकबाट जीवन सुरु गर्ने मिर्जा भारतमा समेत अपराध गरेर जेल बसेका व्यक्ति हुन् । तत्कालीन समयमा उनी रहेको दाउद समूह र करिम लाला समूहबीच शक्तिको भिडन्त चलिसकेको थियो । त्यसबाट ज्यान जोगाउन २०३७ सालमा उनी नेपाल छिरेका थिए ।
नेपालमा पनि गाँजा, चरेस हुँदै गाडी तस्करी उनको धन्दा कायमै रह्यो । मिर्जा हत्याकाण्डलाई ग्याङ्वार भनिए पनि मिर्जा भारतीय अपराधीको सूचीमा दर्ता भइसकेका मानिस थिए ।
हत्या गरिएका अर्का व्यक्ति जमिम शाहले लगानी गरेका विभिन्न नेटवर्कमा दाउदको ठूलो लगानी भएको सूचना आफूसँग भएको भारतको दाबी थियो । जमिममाथि सुन तस्करीको आरोप पनि भारतले लाउँदै आएको थियो ।
यसैगरी, कमलसिंह नेपाली (बझाङ, दाउदनिकट), मजिद मनिहार (भारतीय नक्कली रुपैयाँ कारोबार गिरोहको नाइके), सौकत वेग (कन्ट्राक्ट किलर), हत्या प्रयास गरिएका युनुस अन्सारी (नक्कली भारतीय नोट एवम् खैरो हेरोइनको कारोबारी) आदि सबैको हत्याबीच एकआपसमा अन्तरसम्बन्धबारे पुस्तकमा लेखिएको छ ।
अधिकतरमाथि लागेको साझा आरोप भने नक्कली भारतीय रुपैयाँ कारोबारी, डि कम्पनीका प्रमुख दाउद इब्राहिम र पाकिस्तानी गुप्तचर निकाय आइएसआईका सहयोगी भनी लेखकले पुस्तकमा भनेका छन् । नेपालमा भएका हत्याकाण्डमा संलग्न हत्याराहरु बारे जानकारी प्राप्त गरे पनि नेपाल मौन बसेको पाइन्छ । घटना हुनुमा भारत मात्र होइन नेपाल पनि त्यत्तिकै दोषी छ भन्न गाह्रो छैन ।
यसरी बिभिन्न समयका प्रतिवेदनको अध्ययन गरी घटनालाई सार्वजनिक गरेर लेखकले निकै जोखिमपूर्ण र साहसिक काम गरेका छन् ।
टीका आत्रेय पौडेल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved