- चन्द्र घिमिरे
‘अब तँ पब्लिक पढन जाने’ कुनै आफन्तको यो भनाइ भुइँमा नखस्दै मैले सुनें । ठुलै मान्छेमा दरिएँछु भन्ने लाग्यो । दुई वर्षअघि मात्रै भारतबाट आएका थियौं । बुबाले बङ्गलादेशको लडाइँको कारणले नागाल्यान्डबाट ल्याएर हामीलाई एक्कासी धरानमा छाडेर फिर्नुभएको थियो । छाड्नुअघि ल्याब्रोटोरी नाम गरेको धुले स्कुलमा भर्ना गर्दिनुभयो । त्यसपछि लाउरे बुबा सोही लडाइँमा कस्सिएर जानुभयो । प्राथमिक विद्यालयको नयाँ सेटअपमा म मच्चिने क्रम सुरु भयो । लर्बरिँदै जाँदा चार कक्षादेखि मेरो दाखिला पब्लिक स्कुलमा भयो । पढ्न जान स्कुलतर्फ फ्याउरोेझैं दगुर्थें । पूर्वाञ्चलको पुरानो र नामी स्कुल भन्थे । स्कुले बाटामा आजभोलिको जस्तो बेलायती सडक र घरहरू फिजिएका थिएनन् । बरु ठूल्ठूला चौरी र मकैबारी हुने गर्थे । चार र पाँच क्लास त सुटुक्कै बितेछ मेसै नपाई । वरिपरिका डाँडाकाँडा नाप्दैमा गुज्रेछ । सर्दु खोला तर्दैमा, विजयपुर उक्लँदैमा र चारकोसे जङ्गल धाउँदैमा चिप्लेछ । त्यतिखेर जङ्गल, खोला र विजयपुरतिर बरालिएको आरोप खेपें मैले ।
पछि नयाँ भेउ पाएँ, पश्चिम बङ्गालमा शान्ति–निकेतन जाँदाखेरि । यही निकेतनमा गुरुदेव रविन्द्रनाथ टेगोरले गुरुकुल शिक्षा थालेथे, जहाँ उनले विद्यार्थीलाई पर्खालभित्र राखेनन् । खुला आकाशमुनि पढाए । जसरी धेरै वर्ष पूर्व जिन ज्याक रुसोले ‘एमिल’ पुस्तकमार्फत् वकालत गरेथे, ‘विद्यार्थीहरूलाई प्रकृतिसँग नजिक्याऊ, सोअनुसारको शिक्षा प्रणाली बसाल ।’ टेगोरले त्यो भनेर हैन, गरेरै देखाए । रुखका बोटमुनि कक्षा राखेर प्रकृतिसँग साक्षात्कार गराए । कता–कता मेरो डाँडाकाँडा विचरण पनि एकप्रकारले गुरुकुल नै थियो कि ! मैले धरान वरपरका डाँडाकाँडा रगरगी चाहारेको पनि स्कुलिङ नै थियो कि !
जब मैले छ कक्षाको जस्केलो नाघे, परें दारीवाला सरको फेला । उहाँ हुनुहुन्थ्यो, चन्द्रमणि अधिकारी । होचो कद । मुखमा पान । गुरु भनेर के गर्नु ? थिए सप्पैलाई थर्काउने । ‘ऐ गोविन्दे !’ उनले क्लासको हाम्रो डनलाई हरेक पटक लतार्थे । गोविन्देको सास्तीले सताइएका हामी सप्पै जनाले केही राहत पाउने सुदिन आयो । आखिरी फाइनल जाँचमा गोविन्द फेल भएको रिजल्ट आयो । त्यो बेला आफू पास भएभन्दा ऊ फेल भएकोमा बढी दङ्ग परियोे । ‘गोविन्द आतङ्क’बाट त्राण पाइने भो भन्ठानेर ।
म तिनै गुरुतिर लहसिँदै गएँ । एकदिन उनले बोलाएँ । ‘तँ लाइब्रेरी हेर्छस ?’ म छक्क परें । पब्लिक स्कुलमा पुस्तकालय पनि रैछ । जागेश्वर सर, देवलाल सर, रेवती सरहरू मात्रै देखेथें पैले । ‘आजदेखि लाइबे्ररी तैंले सञ्चालन गर्ने’ भनेर ढोकाको साँचो जिम्मा लाए । त्यसपछि पुस्तकहरू मेरो जिन्दगीमा आए ।
बिस्तारै पुस्तकको लत बस्यो । म अधिकांश समय स्कुले दिनहरूमा पुस्तककोे भूगोलभित्र घुम्न लागें । त्यस्ले साहित्य र विश्वतर्फको विभिन्न गोलार्धमा मलाई बिस्तारै डुलाउँदै लग्यो । टेक्स्ट बुकहरूबाट निक्लेर म अरूतिर लम्कन लागें । हाजिर–जवाफ पनि खेल्न लागें । साहित्यिक रचनामा सल्बलाउन थालें । बिस्तारै मैले स्कुल र समाजमा नेतृत्व गर्न थालें । त्यो वास्तवमै चन्द्रमणि सरको नर्सरीबाट टिपेको फूल थियो । पब्लिक स्कुलबाट सिकेको । त्यसो त हामी पनि कम हरामी थिएनौं । हाम्रा अघिल्ला पुस्ताका दाइहरूले हामीलाई हस्तान्तरण गरेका थुप्रै जोकहरू थिए । गुरुहरू देवलाल श्रेष्ठ, जागेश्वर झाहरूका बारेमा । उनीहरू मिस्टर बिन जस्तै हामी रम्ने पात्र थिए । पक्कै हामीले वहाँहरूको ‘इमोसनल–अत्याचार’ गरेकै थियो । तथापि उहाँहरूको स्कुले उपस्थितिले हामीलाई मनग्गे कुतकुती लाउँथ्यो । कहिलेकाहीं अलि प्राक्टिकल समस्या पथ्र्यो हामीलाई । जोकको बीचैमा स्वयम्प्रकाश आइदिने, हाम्रा गफ सुन्न । बिचरो ऊ थियो देवलाल सरको सहोदर छोरो । पढ्थ्यो हामीसँग एकै कक्षामा ।
एकदिन चाहिँ सत्यानाशै भो । सरस्वती पूजाको भोलिपल्ट । सबैजना मूर्ति सेलाउन जाने भन्ने उर्दी थियो । माघ–फागुनको त्यो बिहान । एउटा ट्रकको जोहो भएको रहेछ । हामी अलि जुनियर खाले पनि उक्लियौं । सिनियर दाइहरू त छँदै थिए । गुरिल्लाझैं हल्ला गरियो बाटोभरि । आखिर मुकाममा पुग्यौं । चतराको कोसी किनार । मूर्ति सेलाएपछि फुर्सद मिल्यो । खाली दिमाग सैतानको बास भनेझैं भयो । गाइड गर्ने मास्टर नभएपछि विद्यार्थीहरू रमाइलो गर्नेतिर लागे नदीमा । एउटा नाउ फेला परिगो । जम्जमाएर त्यसमा चढ्न भ्याउने उक्लिए । भ्याउने ८–१० जनाको हुलमा म पनि परेंछु ।
थुइक्क... नाउमा प्वाल रैछ । त्यसैले पो लावारिस रैछ । बीचमा पुगेपछि ‘पल्ट्यो पल्ट्यो... भाग भाग’ आवाज आयो । आननफाननमा केही हेरिएन । देखिएन पनि । जसोतसो हाम फालिएछ । कसो–कसो गरेर म वारि हैन, पारि निक्लेंछु । मजस्तै दुई–चार जना रैछौं निक्लिनेमा । तर, अरू तीन–चार जना हराए । त्यो पनि सिनियर दाइहरू । खोजी भो । पुलिस आयो । माझी झिकाइयो । आखिरमा दुई जनाको लास निकालियो । केही बेहोस हालतमा निकालिए । हामी भुरा रुँदै फर्कियौं । त्यसबेलाको राष्ट्रिय न्युज बनेको त्यो घटनाले मलाई पछिसम्म तर्साइरह्यो । पब्लिकका दिनमा खेपेको ठूलो ‘सक’ त्यही थियो । निजी जीवनमा महासागरमा ‘टाइटानिक’ डुबेकोभन्दा भयावह अनुभूति ।
२०३६ सालको विद्यार्थी आन्दोलनले हामीलाई पनि बाँकी राखेन । हामी भुरा नै सही । एकदिन स्कुल हड्ताल गरिछाड्यौं । पब्लिक र बालिका हाइस्कुलका विद्यार्थी लिएर हिँड्यौं । नारा लगायौं बजारभरि । पब्लिक स्कुलले हामीलाई राजनीतिक चेतनाको पुरिया पनि दिन भ्याएछ । त्यो काममा खुराक दिने खासमा गुरुबा चन्द्रमणि अधिकारी र गुरुआमा कुन्ता शर्मा हुनुहुन्थ्यो । दुवै जना पढाउँदा पढाउँदै हामीलाई सलाई लगाएर बाल्ने गर्नुहुन्थ्यो । हामी पनि सुकेको परालजस्तो सल्कन तयार थियौं । अल्मा–मातेरबाट म छुट्टिएको पनि ३१ वर्ष पो भएछ । कति हावा–पानी खायो होला त्यसले ? के गर्दै होला त्यो स्कुल ? तप्कने शीतले मलाई यस्तै–यस्तै गरी केरकार गर्छ । यसबीच कैयौं सरहरू रहनुभएन । त्यो सुन्दा हिक्काको सुनामी उठ्छ आफैभित्र । त्यस लर्कोमा पर्ने चन्द्रमणि सरलगायत सप्पैलाई सलाम... पापी समयलाई पनि सलाम । मेरो अल्मा–मातेर ‘पब्लिक’लाई पनि सलाम ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !