माया र प्रेम - College Times : Educational Magazine
Headlines News :
Home » » माया र प्रेम

माया र प्रेम

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:54 AM


  • पेशल आचार्य

प्रेम एउटा शाश्वत अनुभूति हो, जसले मानिसलाई जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो, जसमा मानिसको आदि र अन्त्य निहित हुन्छ । यस्तोमा यदि मानिसले असल मानेमा प्रेम गर्न जानेको छ भने ऊे लिन होइन, दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ, ‘साँचो प्रेमले त्याग दिन्छ, बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौं प्रेमी–प्रेमिकाका बारे कालजयी कथाहरू पढेका छौं ।

प्रेमको प्रसङ्ग जहाँबाट उठाए नि हुन्छ, जसरी सुरू गरे नि हुन्छ । प्रेम हृदयको मूलबाट आफैं निसृत हुने वेगवाहिनी त्यस्तो नदी हो, जो जस्तोसुकै बाधा–अवरोधहरू पनि तोड्न सफल हुन्छ । जहाँ यसलाई हटक गरिन्छ त्यहाँ यो विस्फोट हुन्छ । धनीकी सुन्दर पुत्री र गरिबको मेधावी पुत्रको प्रेम–कहानीमा आधारित हजारौं–हजार कथा, उपन्यास र सिनेमाहरू छन् । त्यसैगरी, कुनै कुलीनको छोरो र दीन–दुखीकी छोरीको मिलन–कथा पनि अब प्रेमको उत्तरआधुनिक परिभाषाभित्र नपर्ला ।

समयले प्रेमलाई प्रेक्षालयमा राखिसक्यो । यो त अब समवयी, समलिङ्गी, विसमविङ्गी, समधर्मी, समकर्मी, समजाति, समरूपि, समविचारी आदि अनेक आवरणमा रङ्गिन र रङहीन भएर तिर्यक रूपले लहरिएको छ । जोगी र भोगी दुवै प्रेमका भिटामिनले बनाउने कृत्रिम मोटाइ हुन् । विज्ञानले यति मुख नमिठ्याएको भए सायद संसारका सबै विषयवस्तुमा झैं प्रेममा यति उतार–चढाव आउने थिएन । त्यसैले यसको बजारमा सेयर पनि निस्कासन गरिएको छैन, आजका मितिसम्म । प्रेम सेयर दलालहरूको बाजारी सरहदको विषय पनि त होइन !

प्रेमले अनेक महारोगहरूमा अचुक ओखतीको काम गरेको छ, प्राप्तिमा । अनि कस्ताकस्ता घघडान चिकित्सकहरूले पनि प्रेमरोगीहरूलाई उपचार गर्न नसकेर तिनीहरूको अकालमै ज्यान गएको छ, अप्राप्तिमा । यसको रोग के अनि ओखती के ? त्यसको सन्धान अहिलेसम्म भएको पाइएको छैन । वाह ! प्रेमको त पाठ्यक्रम र शिक्षक पनि हुँदैन । जसले आफूले प्रेम गर्छ, उसले स्वयम् आफैंले आफ्नो बाटो बनाउँदै स्वयम्मा आफ्नो विषयवस्तु र पाठ्यक्रम छान्दै निरन्तर अगाडि बढ्नुपर्छ । आफूखुसीको स्वविवेक या स्वमार्गदर्शनले अनुभूतिको स्वप्रेम पथमा आफैंलाई गमन गराउँछ । यो प्रेमको निवृत्त मार्ग पनि हो । प्रवृत्त मार्गका कुराहरू अरू नै छन् । सबैका प्रेमपथहरू चौडा र चिल्ला हुँदैनन् । सबै उही स्तर र शैलीमा प्रेमपथहरूमा सफर गर्न पनि जान्दैनन् । नादानीका बीचमा स्वार्थले अनावश्यक रूपमा फाइदा उठाउँछ । त्यसो नहुन त प्रेम चाहने दुवैका हृदय शुष्क हुनुभएन । दुईमा एउटाको हृदय पनि शुष्क भयो भने त्यहाँ चाहनाको मृगतृष्णा मरुभूमिमा दुई बुँद पानीका खातिर भौंतिरिइरहेको शावक झैं हुन्छ । त्यसैले प्रेमिल व्यवहारमा दुवैको उही सोच र स्तर हुनुपर्छ ।

यो त भयो व्यक्ति व्यक्तिको प्रेमको फेहरिस्त । मानिसले भगवान्लाई गर्ने प्रेम अर्कै किसिमको छ । भगवान् मूर्त रूपमा नदेखिए पनि मानिसहरू अहोरात्र भगवान्को प्राप्तिका लागि अझ भनौं एक झुल्को दर्शनका लागि जीवनपर्यन्त लालयित भइरहन्छन् । यसो किन हुन्छ ? दार्शनिकहरू यस मामलामा चुप छन् । सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन् । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै नदी तर्न नसकिए झैं, सबै फूल टिप्न नपाए झैं, सबै रस आस्वादन गर्न नमिले झैं, सबै पुस्तक पढ्ने सौभाग्य नभए झैं जीवनमा मानिसका लागि केही न केही तुस रहिरहेको हुन्छ । हो, त्यही तुसका कारणले मानिस आफू मरेपछि पनि बाँच्नका लागि जिउँदो हुँदैमा केही न केही अजर–अमर कार्य गरेर जान चाहन्छ । यो उसको जिन्दगीप्रतिको जिजीविषा हो । उदाहरणका लागि रोमियो–जुलियट हुन् या चाहे वैरनेस–इलोइजा हुन् अझ भनौं शाहजहाँ र मुमताज नै किन नहुन् ? तिनीहरूमा दुनियाँले निस्वार्थ प्रेमका पउल उदाहरणहरू पायो र गद्गद् हुँदै तिनीहरूलाई अमर प्रेमी–प्रेमिकाका रूपमा आदर गरेर राख्यो । मुनामदनकै नेपाली उदाहरण पनि प्रेमका लागि कम छैन । अझ त्यो त गार्हस्थ प्रेम हो । प्रेमका कित्ताकाट गरिए र गार्हस्थ प्रेमलाई जानी–जानीकन ओझेलमा पारियो । टटोल्न सक्यो भने गार्हस्थ प्रेममा पनि स्वर्गको अवर्णनीय सुखानुभूति पाइन्छ । मलाई त के लाग्छ भने प्रेमको सोझो सम्बन्ध मनसँग हुने भएकाले यसको फ्रिक्वेन्सी ज्यादा छ । यो यति सूक्ष्म तत्व हो कि यसको रसानुभूति र व्यवहारले एकर्कालाई जुनीजुनीसम्म जुटाउन र पलभरमै फुटाउन पनि सक्छ ।

अहिलेको जमानामा ‘कुखुरे प्रेम’ का बग्रेल्ती उदाहरणहरू पाइन्छन् । जब बजारमा ‘ब्रोइलर संस्कृति’ को उहापोह भयो तब नै समाजमा कुखुरे प्रेमको ‘प्रोमो’ बनाइयो । हो, त्यही कुखुरे प्रेमले मायालाई जनाउँछ । माया र प्रेममा अन्तर छ । कुखुरे प्रेमको सूर्य मुस्कानको छटासँगै उदाउँछ भने निराशाको खुइइयसँगै अस्ताउँछ । जहाँ जुनसुकै प्रकारले शरीर लिप्साको अनुरोध भइरहेको हुन्छ । एकत्वको चाहनाले कुनै न कुनै बिन्दुमा पु¥याएपछि मानिसलाई उपयोगिताको ह्रासनियम लागू हुन्छ । मायाको सकाम भेदमा यो आकर्षित हुन्छ भने प्रेमको निष्काम भेदमा यो आकर्षित हुँदैन ।

संसारमा माया र प्रेमका पछि लाग्ने खालखालका मानिसहरू पाइन्छन् । विचारमा विविधता छ, जसरी फूलका नाम र सुगन्धमा पृथकता भेटिन्छ । आफ्नो मर्जीको मालिक हरेकलाई त्यो छनोटको सुविधा छ । आफैं त हो, उम्रिने, फैलने, फुल्ने र फल्ने । माटो त सबैका लागि उही नै हो तर किन उखु गुलियो र खोर्सानी पिरो हुन्छ । कुनै वृक्षका जरामा अमृत र कुनै लहराका पातमा प्रकृतिले किन गरल घोलेको होला ? अनुत्तरित छ प्रश्न ।

मायाको वृत्त प्रेमको वृत्तभन्दा सानो हुन्छ । यसको कणकणमा घातका बुँदहरू तप्किन्छन् अनि हुन्छन् स्वार्थका घिनलाग्दा यायावरी खेलहरू । प्रेम–वियोगमा आफू र आफ्ना सबै स्वजनलाई परजनको तिक्ततामा चटक्क संसारलाई छाड्ने या नकार्नेवालाहरू पनि नभएका होइनन् । घनत्वका हिसाबले माया शारीरिक हुने र प्रेमचाहिँ आत्मिक हुने कुरा दार्शनिकहरूले बताएका छन् । संसार हल्लाउने लेखकहरूले पनि अनेकानेक प्रसङ्गमा जायज वा नाजायज प्रेम गरेका छन् । कोही–कोही त महान् प्रेमी नै कहलिएका पनि छन् । कसै–कसैले जीवनमा आफ्ना प्रेमी या प्रेमिकाबाट नराम्रोसँग धोका खाएका छन् । यस्तो प्रकारको धोका र सम्बन्धलाई ऊर्जामा अनुवाद गरेर संसारका महान् लेखकहरूले कयौं कालजयी कृतिहरू लेखेका छन् । नेपालमै पनि साहित्यकार सरुभक्त कुनै जमानामा ‘सरू’ नाम गरेकी केटीसँग प्रेम गर्थे । जब भक्त श्रेष्ठ प्रेमबाट विमुख भए तब सरुभक्त लेख्न थाले । अलिअलि गर्दै उनी विख्यात अहंवादी र विसङ्गतिवादी साहित्यकारका रूपमा स्थापित भएका छन् । प्रेमका आयामहरू यामभन्दा शक्तिशाली हुन्छन् । यसमा विवाद छैन ।

मायाका पनि सकाम र निस्काम गरी दुई प्रकार छन् । आमाले आफ्ना सन्ततीलाई गर्ने मायामा निस्वार्थ भाव भेटिने या प्राकृतिक तत्वको निर्वाहका लागि मात्र आमा तत्व मातृवात्सल्यताका लागि चलायमान हुने कुरा विभिन्न संहिता र शास्त्रमा पाइन्छ । त्यसैले संसारको सबैभन्दा महान् सन्तुष्टि नै आमा बन्दा हुने कुरा बताइएको छ । यो निःस्वार्थ माया हो । समकालीन मायाको कुरामा स्वार्थ नै सबैभन्दा बढी भेटिन्छ । शरीर सुखका लागि निवेदन गर्ने प्रेमले पनि सोझो या घुमाउरो दुवै पारामा यौनकै अपील गरिरहेको हुन्छ । त्यो पनि प्रेमकै आवरणमा मायाको छनक हो ।

यसरी माया र प्रेमलाई एउटै तराजुका दुई वटा पल्लामा राख्दा अवश्य प्रेमकै पल्ला भारी हुन्छ । वातावरण र पर्यावरणका हिसाबले पनि प्रेमको आकाशगङ्गा धेरै फैलिएको छ । यसको वृत्त या परावृत्तमा माया कुनै पनि अर्थ या प्रसङ्गमा आउन सक्दैन । यसर्थ माया, माया नै हो,–प्रेम, प्रेम नै हो ।

स्व–प्रेम, पर–प्रेम, देश–प्रेम, विश्व–प्रेम, जाति–प्रेम, भाषा–प्रेम, संस्कृति–प्रेम, युद्ध–प्रेम, शान्ति–प्रेम, पेसा–प्रेम, पैसा–प्रेम, वातावरण–प्रेम, पर्यावरण–प्रेम, कला–प्रेम, अभिनय–प्रेम, अध्ययन–प्रेम, उमेर–प्रेम, इच्छा–प्रेम आदि अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ । हुन त निस्वार्थ मायाका पनि अनेक उदाहरण छन् । ती विभिन्न शैली, प्रसङ्ग, हाउभाउ, कटाक्षमा देखिएका छन् । भनिएको पनि छ, ‘हामीलाई कसै न कसैको माया कुनै न कुनै कोण–प्रतिकोणबाट व्यक्त भइरहेको हुन्छ । यस्तोमा निश्चित छ, हामीलाई प्रत्यक्ष या अप्रत्यक्ष रूपले माया गर्नेहरूले माया गर्न छाडिदिए भने हाम्रो जीवन समाप्त हुन्छ !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved