गौचरन बन्दै क्याम्पस - College Times : Educational Magazine
Headlines News :
Home » , » गौचरन बन्दै क्याम्पस

गौचरन बन्दै क्याम्पस

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:57 AM


  • सन्तोष कुरुम्बाङ


पूर्वी नेपालको तराई र पहाडको सङ्गमस्थल धरान बजार कुनै समय लाहुरेहरूको बस्तीका रूपमा पहिचान बनाउन सफल थियो । यसबाहेक संस्कृति र शिक्षाको उर्वर भूमिका रूपमा पनि चिनिँदै आएको यो ठाउँले हिजोआज भने आफ्नो दुवै पहिचान बिस्तारै गुमाउँदै छ । 

धरानमा महेन्द्र बहुमुखी, खाद्य–प्रविधि (हात्तीसार), पिण्डेश्वर संस्कृत, पूर्वाञ्चल इन्जिनियरिङ, बिपी प्रतिष्ठान जस्ता सरकारी क्याम्पसहरू छन् । कुनै ताका यी क्याम्पसहरू धेरै विद्यार्थीहरूको उच्चशिक्षा हासिल गर्ने सपनाको निर्विकल्प शिक्षालयका रूपमा रहेका थिए । यिनै क्याम्पसबाट हजारौं विद्यार्थीले आफ्नो भविष्यको सुन्दर अक्षरहरू कोर्ने गरेका थिए । पछिल्लो समयमा आएर यी सरकारी शैक्षिक संस्थाहरूको अवस्था भने अलि फरक छ । यिनीहरू कमजोर र जीर्ण बन्दै छन् ।

२०१२ सालमा स्थापित धरानको महेन्द्र बहुमुखी क्याम्पस कुनै समय सबैभन्दा बढी विद्यार्थीहरूको रोजाइको केन्द्र थियो । तर, अहिले यो क्याम्पसले पुरानो आकर्षण गुमाएको छ । कलेज स्वभावैले सफा–सुरघर र फोहोर–मैलामुक्त हुनुपर्ने हो । तर, सोचेजस्तो वातावरण छैन यहाँ । स्नातकोत्तरसम्म अध्यापन हुने क्याम्पसको नयाँ ‘नेपाल–भारत मैत्री शिक्षा’ भवन जताततै भत्केको र चर्केको छ । सोही भवनअगाडिको मैदान गौचरनमा परिणत भएको छ, जहाँ गाईको गोबरको थुप्रो लागेको हुन्छ । क्याम्पसको खेल मैदान छेउमा गोठ बनाई गाई पालिएको छ भने खेल मैदानमा गोबर थुपारिएको छ । स्वभावैले क्याम्पसको खेल मैदानमा विद्यार्थीहरूले विभिन्न खेलकुदका गतिविधिहरू गर्नुपर्ने हो तर त्यसो नभएर त्यहाँ दिनभर गाई–बाख्र्राहरू खेल्ने–चर्ने गर्छन् ।

कलेजमा प्रवेश गर्ने प्रवेशद्वार आकर्षक र सुन्दर हुनुपर्ने हो त्यसो नभएर कलेजमा प्रवेश गर्ने गेटको छेउमा बाख्रा बान्ने खोर बनाइएको छ । अब बाख्राको खोर कति आकर्षक हुन्छ, भनिरहनु पर्दैन ।
क्याम्पसको पल्लो छेउमा रहेको शौचालय मर्मत नगरेर भत्किसकेको छ । हेर्दा लाग्छ, यो प्रयोग हुन छोडेको धेरै भइसक्यो । 

क्याम्पसको नेपाल भारत मैत्री शिक्षा भवनसँगै रहेकोे एउटा भवनभित्र टिटि बोर्ड बनाइएको छ, जहाँ टिटि खेलाडीको सट्टा फोहोर–मैलाको ‘भिड’ लागेको हुन्छ । यो क्याम्पसको खेल मैदान काम नलाग्ने, प्रयोगविहीन भइसकेको छ । 

धरानका सरकारी क्याम्पसहरूको यो एउटा उदाहरण मात्र हो । अन्य क्याम्पसहरूको अवस्था पनि योसँग मिल्दो–जुल्दो छ । यसरी नै सरकारी क्याम्पसहरू दिनानुदिन भत्किदै, मासिदै, जीर्ण हुँदै जाने हो भने भोलि यहाँको शैक्षिक अवस्था कस्तो होला ? यो सोचनीय विषय बनेको छ । 

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयकै पूर्णकालीन शिक्षकहरू मिलेर व्यवसायका नाममा त्रिविबाट सम्बन्धन लिई विभिन्न तहका कलेजहरू खोल्नु यसरी सरकारी क्याम्पसहरू कमजोर र धरासायी बन्नुको एउटा कारण मानिएको छ । यो क्रम दिनादुदिन बढ्दो छ । शिक्षकहरू लगानीकर्ता बन्ने प्रवृत्तिले पढ्नकै लागि धरान आएका गरिब तथा जेहेनदार विद्यार्थीहरू मारमा परिरहेका छन् । सरकारी क्याम्पसमा राम्रो शैक्षिक वातावरण नहुने भएपछि उनीहरू निजी कलेजमा जान बाध्य हुन्छन् । यस्तो क्रियाकलापले यहाँका आङ्गिक क्याम्पसहरू दिनानुदिन धरासायी बन्दै गएका हुन् । यस विषयमा सरकार र सरोकारवाला दुवै पक्षको ध्यान जान सकिरहेको छैन ।

‘सरहरू अरू ठाउँमा पढाइसकेपछि मात्र यहाँ पढाउन आउने गर्छन्,’ महेन्द्र क्याम्पसछेउ क्यान्टिन चलाएर बस्ने एक जना दिदीको भनाइमा पनि यो क्याम्पसको शैक्षिक अवस्था बोध गर्न सकिन्छ । धरानका अधिकारकर्मी कमल तिगेलाका शब्दमा भन्दा, ‘पढाउने शिक्षकले विद्यार्थीले भन्दा बढी पढ्नुपर्ने हो तर पूर्णकालिक शिक्षकहरू आफैंले अरू–अरू व्यवसाय गरिसकेपछि त्यसमा पनि आफ्नै कलेज खोलेर व्यवसाय हेर्ने–पढाउने भइसकेपछि मातृथलो (सरकारी क्याम्पस)का विद्यार्थीप्रति केन्द्रत हुँदैनन् । यसले गर्दा सरकारी कलेजका विद्यार्थीको पढाइ र शैक्षिक वातावरण बिग्रिने नै भयो ।’

यस विषयमा महेन्द्र बहुमुखी क्याम्पसका पूर्र्णकालीन शिक्षक तथा सिटी कलेजका प्रिन्सिपल विशाल श्रेष्ठ भन्छन्, ‘धरानभरि नै यस्तै छ । कलेज जान्नेले नै त खोल्ने हो नि हामीले जानेको सीप प्रयोग गरेर शैक्षिक सेवा गर्न किन नहुने ?’

श्रेष्ठले जे भने पनि सरकारी क्याम्पसका पूर्णकालीन शिक्षकहरूले अन्य कुनै क्याम्पस खोलेर त्यहाँको कार्यकारी भूमिका निर्वाह गर्नु त्रिवि नियमावलीविपरीत हुन जान्छ । यदि सिप्ट मिलेको खण्डमा मात्र अनुमति लिई अन्य कुनै कलेजमा पढाउन पाउने व्यवस्था छ । तर, यो नियमविपरीत यहाँ सरकारी क्याम्पसका शिक्षकहरूले खोलेका कलेजहरू थुपै्र रहेका छन् । 

महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सूर्यकुमार राई पूर्णकालीन शिक्षकहरूले बाहिर बढी समय दिएको बारे अनभिज्ञता व्यक्त गर्छन् । भन्छन्, ‘यहाँका सरहरूले बाहिर बढी समय दिएको भन्ने कुरा मलाई थाहा भएन । यदि यस्तो हो भने छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँछौ । यसबारे आजसम्म कुनै गुनासो र उजुरी आएको छैन ।’ 

पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको यो विकृतिले सरकारी शैक्षिक सम्पदा र सम्पत्तिहरू विनास हुन बल पुगिरहेको छ । सरकारी कलेजहरू गौचरन बन्दै गइरहेका छन् । सँगसँगै हाम्रा विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको छ । यो ज्यादै संवेदनशील विषय हो । 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved