साइकल चढेर पाइडिल चलाउँदै सरर गुड्ने सपनाले उनलाई निकै अघिदेखि कुत्कुत्याए पनि २०४९ सालमा मात्र सपनाले साकार रूप लियो । एक हजार रूपैयाँमा सेकेन्ड ह्यान्ड हिरो रेन्जर साइकल किनेको रात उनी खुसीले निदाउनै सकेनन् । भन्छन्, ‘त्यतिखेर त संसारै जिते झैं लागेको थियो ।’
साइकल हात परेलगत्तै उनी मोरङको विराटचौकबाट पूर्वतर्फ हानिए । बिहान ४ बजे उठेर झापाको सुरुङ्गा पुगेर पैसा उठाएर फर्किए । आफ्नै मेहनत र पौरखले साइकल किनेका उनी अहिले लाखौँ पर्ने गाडी चढ्छन् । भन्छन्, ‘मेहेनत गरेपछि फल पाउनु स्वभाविक हो ।’
माथिको अनुभव व्यवसायी तथा समाजसेवी भोला दुलालको हो । सामान्य परिवारमा जन्मिएर किसोरावस्थामै मजदुरी गर्न बाध्य उनी आफ्नो अथक मेहनत र सङ्घर्षका कारण आज २६ वटा उद्योग–व्यवसायका मालिक बनेका छन् । निरन्तर सङ्घर्ष गरे प्रतिफल राम्रै आउँछ भन्ने कुराको पुष्टि दुलालको जीवनीले गरेको छ ।
२०३२ साल वैसाख १८ गते घनश्याम दुलाल र आमा दुर्गादेवीको कान्छो सन्तानका रूपमा मोरङ राजघाटमा जन्मेका भोला (भोलेश्वर) दुलालले २८ वर्षको अन्तरालमा ठूलो आर्थिक फड्को मारे ।
छ महिनाको शिशु अवस्थामा पितालाई गुमाएका उनले पिरामा माटोले लेखेर अध्ययन सुरु गरेका हुन् । आर्थिक अभावका कारण अध्ययनका लागि समेत समस्या भएपछि उनलाई सामान्य सरकारी विद्यालयमा भर्ना गरियो । राजघाटकै भानु निमाविबाट उनले आठ कक्षासम्म अध्ययन गरे । त्यसपछि एसएलसीसम्मको अध्ययन गर्न उनी उर्लाबारीको राधिका मावि पुगे । आईए र बीए पनि उर्लाबारीमा पढेका उनी त्यतिञ्जेलसम्म आफ्नै खुट्टामा उभिन सक्ने भइसकेका थिए । मजदुरी गरेरै उनले आफ्नो व्यावसायिक जीवनको सुरुवात गरेका हुन् ।
जीवन निर्वाहको सङ्घर्षको क्रममा उनले झापाको दमकमा रहेको सञ्जीव मिल–मेसिनरीमा काम गरे । त्यतिखेर उनको पारिश्रमिक मासिक दुई सय रूपैयाँ थियो । ‘मलाई दुई सय रूपैयाँभन्दा पनि खान र लाउन पुगे केही चाहिन्नथ्यो,’ उनले भने, ‘त्यो बेला आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मनोभाव त थियो तर ठूलो सपना केही थिएन ।’
पसलको काम गर्न राखिएका उनलाई घरको समेत काम लगाइन्थ्यो । उनी चुपचाप गर्थे । उनले अढाइ वर्षसम्म यो काम गरे । अढाई वर्षपछि उनले आफूले कमाएको र पाउन बाँकी रकमको हिसाबकिताब गरे । ‘मैले अढाई वर्षमा १५० रूपैयाँ मात्रै थापेको रहेछु,’ उनले भने, ‘हिसाबकिताब गर्दा मैले पाउन बाँकी १८ हजार रूपैयाँ रहेछ ।’ एकैपटक धेरै रकम पाएको त्यही पहिलो घटना भएको उनले सुनाए ।
पाएको रकमले व्यवसाय गर्ने विचार गरेर उनले आफ्नो योजना परिवारमा सुनाए । त्यसपछि दाजुले भारत गएर श्रम गरी ल्याएको ३६ हजार नेपाली रूपैयाँ र माइजुले गहना राखेर दिएको १६ हजार मिलाएर ७० हजारमा २०४८ साल जेठमा सत्कार मिल मेसिनरी कन्सर्न सञ्चालनमा ल्याए । त्यही कन्सर्नले उनलाई आजका मितिमा निकै ठूलो व्यापारी बन्न सघाएको हो ।
मोरङको विराटचोकमा रहेको एकमात्र पक्की घरमा एकहजार रूपैयाँ भाडा तिर्ने गरी सुरु गरेको उनको व्यवसाय कृषक केन्द्रित थियो । भारतको रक्सौलबाट वीरगञ्ज हुँदै सामग्री ल्याएर बिक्री गर्ने उनले होम सर्भिससमेत प्रदान गर्न थाले । कामप्रतिको लगाव र मेहनतका कारण उनी चाँडै सबैको विश्वासपात्र भए । दाजु कृष्णप्रसाद दुलाल र उनलाई व्यवसाय चलाउन भ्याई–नभ्याई हुन थाल्यो । सुरुवातमा आफैँ काम गर्न बसेका उनीहरूले पछि मेकानिक राखे । ‘त्यतिबेलाका कर्मचारीले अहिलेसम्म पनि काम गरिरहेका छन्’, उनले भने ।
दुलालले १० वर्षसम्म त्यही कामलाई निरन्तरता दिए । २०५८ सालमा भने एक करोड १० लाख रूपैयाँको लगानीमा पूर्वाञ्चल ल्यूब आयल स्थापना गरे । यस उद्योगले पनि उनलाई सफलता दिलायो । क्रमशः उनले एकपछि अर्को व्यवसाय सञ्चालन गर्दै गए । अहिले उनी अटो ल्यूब प्रालि, जी सेभेन पेन्ट्स प्रालि, ओस्कर इण्डष्ट्रिज प्रालि, अन्नपूर्ण अटो ट्रेड लिङ्क, हेलेन इन्टरनेशनल प्रालि, जीप्याक इण्डष्ट्रिज प्रालि, चाँदनी आयल प्रालि, कलश अटो प्रालिलगायतका २६ वटा उद्योग व्यवसायका मालिक छन् । उनको उद्योग व्यवसायमा करिब पाँच सय युवाले रोजगार पाएका छन् ।
दुलालका अनुसार सफल व्यवसायी बन्नुमा व्यवसायको प्रकृति र आफूले जानेको सीप नै प्रमुख कारक थियो । उनले गरेका व्यवसाय डेट एक्सपायर नहुने खालका थिए । मिल मेसिनरी, लुब्रिकेन्टसलगायत चाँडै नबिग्रने सामग्रीको व्यापारले सफल बन्न सहयोग गरेको हो । अहिलेको परिवेशमा युवापुस्ता श्रमका लागि विदेशिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै उनले मेहनत र सङ्घर्षबाट बिचलित नहुन आग्रहसमेत गर्ने गरेका छन् ।
दुलाल व्यवसायी मात्र होइनन्, समाजसेवी पनि हुन् । सानैदेखि रक्तदानलाई जीवनदान मान्ने उनले हालसम्ममा ९१ पटक रक्तदान गरिसकेका छन् । व्यवसायीको हकहितका लागि उनले विभिन्न सङ्गठनको नेतृत्वसमेत सम्हालेका छन् । इन्द्रपुर व्यापार प्रबन्ध समितिका पूर्वअध्यक्ष, मोरङ व्यापार सङ्घका सचिव, उर्लाबारी जेसीज वर्ष २००५ का अध्यक्ष, लायन्स क्लब अफ इन्द्रपुरका संस्थापक अध्यक्षसमेत भएका उनी अहिले पनि दर्जनभन्दा बढी सामाजिक सङ्घ–संस्थामा आवद्ध छन् । व्यावसायिक सफलताका लागि कल्पनामा रम्ने मात्रै नभई निरन्तर लगनशील भएर काम गर्नुपर्ने तथा व्यवसायको सम्भाव्यता र जोखिमको अध्ययन भने सुरुमै गर्नु राम्रो हुर्न सुझाव उनको छ ।
प्रस्तुति : सुदीप कोइराला
Home »
संघर्षको कथा
» सङ्घर्षले बनायो करोडपति
सङ्घर्षले बनायो करोडपति
Written By Neplee on Friday, June 15, 2012 | 9:44 AM
Labels:
संघर्षको कथा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !