Home »
संघर्षको कथा
» मलेसियामा जन्मेर नेपालमा काम
मलेसियामा जन्मेर नेपालमा काम
Written By Neplee on Saturday, March 16, 2013 | 6:13 PM
व्रिटिस गोर्खा सैनिकको परिवारमा हुर्किए पनि उनलाई कहिल्यै गोर्खा सैनिकमा भर्ती हुने रहर पलाएन । धेरै युवाहरू अहिले मलेसिया, कतार पुग्छन् रोजगारीका लागि । तर, मलेसियामा जन्मेर पनि उनले नेपाललाई कर्मथलो बनाए । उनका उमेरका धेरै साथीभाइले आर्मीमा भर्ती भएर मनग्ये कमाए अनि मानपदवी पनि बटुले । तर, उनले भने आफ्नै देशका तीन हजार बढी युवालाई काम गरेर खानसक्ने बनाएका छन् । उनी हुन् सुनसरी टेक्निकल कलेजका संस्थापक अध्यक्ष लेखीराज सुब्बा ।
सैनिकका लागि लामबद्ध हुने उमेरमा पनि आफ्नै देशमा केही गरेर देखाउनुपर्छ भन्ने अडान लिएका उनी अन्ततः त्यही उचाइनजिक पुगिरहेका छन् । स्वदेशमा बसेर केही गर्ने अठोट लिएका लेखी बर्सेनि सयौं युवालाई सक्षम बनाइरहेका छन् । यो सङ्ख्या बढ्दो छ । उनलाई आफ्नै देशमा केही गर्न पाएकोमा गर्व लाग्छ ।
मलेसिलाको क्वालालाम्पुरमा १९६० डिसेम्बर २८ मा जन्मिए पनि उनले औपचारिक शिक्षाको प्रारम्भ भने ताप्लेजुङको डुम्रिसेबाट गरे । डाक्टर बन्ने सपना गुथेका उनी त्यो लक्ष्यमा पुग्न कहिले बुबाआमसँगै सिङ्गापुरमा, कहिले नेपालको घोपा धरान, हुँदै डिपो माविबाट एसएलसी पूरा गरे ।
डाक्टर पढ्नकै लागि राजधानीको महाराजगन्जस्थित इन्सिच्युट अफ् मेडिसनबाट प्रवीणता प्रमाणपत्र पूरा गरे । ‘त्यो बेलामा इन्टरमिडिएट पूरा गरेपछि अनिवार्य तीन वर्ष जागिर खानुपर्ने बाध्यता थियो, उनी भन्छन् ‘जागिर पूरा गरेपछि मात्रै एमबिबिएसमा पढ्न पाइने भएकाले त्यही सिलसिलामा धनकुटा आइपुगेँ ।’ उनले धनकुटामा प्राविधिकमा सुब्बासरह जागिर खाए, त्यतिबेलाको तलब पाँच सय ३५ रुपैया थियो ।
उनले धनकुटाकै क्याम्पसबाट बिए अध्यापन पूरा गरे । त्यसै बेला अचानक बुबाको देहान्तपछि उनको जीवनमा डाक्टर बन्ने सपना केवल सपनामै सीमित भयो । त्यसबेला बुबा घोपामा गोर्खा सैनिकका छोराछोरी तथा गोर्खा सैनिकलाई दिइने मेडिकल शिक्षा अहेबमा इन्स्टक्टरका रूपमा काम गर्दागर्दै देहान्त भएपछि उनमा घर–परिवार सञ्चालन गर्ने जिम्मेवारी थपियो । ‘एमबिबिएस एप्लाई गर्ने बेलामा बुबाको देहान्त भयो, जसको कारण पढाइलाई ब्रेक गर्नुप¥यो’, उनले भने । उनले तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पताल (हालको बिपी प्रतिष्ठान, धरान) मा एक्सरे प्राविधिकका रूपमा काम केही वर्ष काम गरे । त्यहाँको तीन बर्से अनुभवपछि धरान–९ पुतलीलाइनमा सवनम मेडिसिन सेन्टर सञ्चालनमा ल्याए ।
मेडिसिन सेन्टरबाट विस्तारित गर्दै उनले त्यसैबेला त्यसलाई पोलिक्लिनिक हुँदै डाइग्नोसिस सेन्टरको रूपमा विकास गरे । ‘त्यसबेला धरानमा सबै प्रकारका रोगको उपचार गर्ने एक मात्रै सेन्टरको रूपमा विकास गरेका थियौं’, उनले सुनाए ।तर, लगानीकर्ताको मनमुटावले गर्दा उनी त्यसबाट पछि हटे अनि २०५२ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २०५३ बाट सुनसरी टेक्निकल कलेजको स्थापना गरे । त्यसो त परिवारको जिद्धिकै कारण उनले ११ दिनका लागि भए पनि आर्मीको जागिरमा जानुप¥यो । ‘बुवा आर्मी भएकाले म पनि आर्मी नै हुनुपर्छ भन्ने परिवारको इच्छा थियो,’ उनले सुनाए, ‘केही दिन काम गरेँ पनि । पछि, मन लागेन र छोडिदिएँ ।’
अनमी र ल्याब असिस्टेन्टका कक्षाबाट सुरु गरिएको उनको कलेजमा सिएमए, डिप्लोमा कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा फार्मेसी, डिप्लोमा सिभिल इन्जिनियरिङ्ग, ल्याब टेक्निसियन, बिएसी माइक्रोबायलोजी, जेनरल बिएसी, बि फार्मेसी, बिएस्सी फुड टेक्नोलोजी, एमएस्सी माइक्रोबायोलोजी, एमएस्सी बायोटेक्नोलोजीको समेत अध्यापन हुने गरेको छ ।
अध्ययनशील लेखीलाई अहिले पनि अध्ययन गर्न मन लाग्छ । खेलकुद र भ्रमणका सोखिन उनले धरान गल्फ क्लबसँगको सम्झौतामा सुनसरी टेक्निकल ओपन गल्फ खेलाउने गरेका छन् । सुब्बा हालै सम्पन्न नेपाल अटोमोबाइल्स स्पोर्ट एसोसिएसन (नासा)को आयोजनामा भएको राष्ट्रिय कार रेसमा प्रथमसमेत बनेका थिए ।
भोजराज श्रेष्ठ
Labels:
संघर्षको कथा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !