अङ्ग्रेजी पढाउने ज्योतिष प्राध्यापक
Written By Neplee on Saturday, March 16, 2013 | 6:10 PM
कुनै व्यक्तिको जीवनमा पूर्व र पश्चिमको मेल भएको कमै मात्र देख्न र सुन्न पाइन्छ । त्यसैको एक उदाहरण हुन्, इलामका चेवन दुलाल । पेसाले अङ्ग्रेजीका प्राध्यापक दुलालसँग ट्युसन पढ्ने विद्यार्थीको भिड लाग्छ । तर, पढ्ने–पढाउनेबाहेक उनको पहिचान अलि फरक काम गराइमा पनि छ । प्राध्यापनबाट फुर्सदको समयमा उनी दुनियाँको ग्रहदशा पत्ता लगाउने काम गर्छन् । ४२ वर्षीय दुलाल महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा बिहान अङ्ग्रेजी साहित्य पढाउँछन् भने दिउँसो सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रमा स्वयम्सेवकको रूपमा काम गर्छन् । भविष्य भन्ने, दशाग्रह हेर्ने, चिना–टिप्पणी कोर्ने र राशिफल लेख्ने काम उनको रुचिको विषय मात्र होइन, वैकल्पिक व्यवसाय पनि बनेको छ ।
श्रीमती र छोरासहित इलाम–६ को लेक्चर बस्तीमा बस्दै आएका चेवनको बेलुकाको काम नै चिना हेर्ने र चिना–टिप्पणी बनाउने हुन्छ । छिमेकी, आफन्तका साथै अन्य ठाउँबाट चिना बनाउन आउनेको भिड लाग्छ । बिदाको दिन उनी अझ व्यस्त हुन्छन् । अङ्ग्रेजी विषय लिएर पढेका दुलालले ज्योतिष कसरी सिके त ? ‘सानैमा बुबाले बनाएका चिनालाई साफी गर्थेँ,’ उनले भने, ‘त्यसैबाट धेरै कुरा सिकियो, चासो बढ्दै गएपछि यस विषयमा अध्ययन पनि गरेँ, हुँदा–हुँदै व्यावसायिक नै बनियो ।’
सुरुमा उनले ज्योतिषीका साथ लागेर ज्योतिष विद्यामा ज्ञान बटुल्ने प्रयास गरे । तर, सङ्गतले मात्र उनको जिज्ञासा समाप्त भएन । सैद्धान्तिक ज्ञानका लागि पूर्वीय दर्शन विद्यापिठ काठमाडौंमा एक वर्ष ज्योतिष विद्या पनि पढे । ज्योतिषविज्ञानसम्बन्धी पत्रिका पनि निकाले । २०५४ सालमा गाईखाने भाषा अङ्ग्रेजी विषयमा स्नातकोत्तर सक्ने बेलासम्म उनी ज्योतिषमा शास्त्री (डिप्लोमा) बनिसकेका थिए ।
मिजासिलो, कम बोल्ने स्वभावका दुलाल सानैदेखि ज्योतिषमा भिजे । मक्किसकेका कागज र पात्रो हेर्दै चिना बनाउन बुबालाई धेरै वर्ष सघाएका उनी अहिले कम्प्युटरबाट चिना–टिप्पणी हेर्छन् । सूचना–प्रविधिको युगमा उनी पनि प्रविधिसँग अपडेट छन् । ‘जन्ममिति र समयबाट कम्प्युटरमा सेटिङ गरिएको हँुदा, दशाग्रह कसलाई कस्तो छ, एकछिनमै हेरेर भन्न सकिन्छ, प्रविधिले धेरै साथ दिएको छ,’ उनले भने ।
‘ज्योतिष त जीवनभरलाई काम दिने पेसा हो,’ उनले भने, ‘ज्योतिष सिक्न आउनेलाई सिकाउँछु पनि ।’ २०५८ सालमा अन्तर्राष्ट्रिय ज्योतिष तथा पूर्वीय दर्शन सम्मेलनमा भाग लिने मौका पाएका उनी अहिले जिल्लाभरिका ज्योतिषहरूको सङ्गठनको अध्यक्षसमेत छन् । २०५० सालदेखि नै स्कुलबाट अध्यापन थालेका उनले स्वयम्सेवक हुनुअघि उनले चार वर्ष गुरुकुलमा समेत पढाएका थिए । पश्चिमी भाषा–संस्कृति अङ्ग्रेजी र पूर्वीय ज्योतिष विद्या दुई फरक विषयहरू हुन् । उनी भने ज्योतिष र अङ्ग्रेजी दुवैमा पारङ्गत छन् । दुवै विषय मानिसको जीवनकै अभिन्न अङ्ग बनिसकेकाले सँगसँगै अघि बढाएको बताउने उनले भने, ‘ज्योतिष मेरो पेसा होइन, तर दैनिकीको एक अभिन्न अङ्ग भने हो ।’
कमला थापा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !