Home »
नयाँ पुस्ता
» अद्भूत कलाका धनी मनोज
अद्भूत कलाका धनी मनोज
Written By Neplee on Saturday, March 16, 2013 | 6:14 PM
दाहिने–देव्रे दुवै हात, दुवै खुट्टा, दुवै कुहिना अनि मुखले कलम च्यापेर लेख्न कसैले सक्छ ? तपाईलाई पत्यार नलाग्न सक्ला तर सुदरपश्चिमम बैतडीका २५ बर्से मनोज चन्दमा सबै अङ्गले लेख्न सक्ने अदभूत कला छ । उनी एकसाथ एकै रफ्तारमा छ वटा कलम सबै अङ्गले च्याएर पनि लेख्न सक्छन् ।
विद्यालय तहको अध्ययन गर्दा उनले देब्रे हातले लेख्ने भएकाले गर्दा सबैले ‘देब्रे’ भनेर खिसी गर्थे । उनलाई खिसी गर्दा एउटा सोच जाग्यो, ‘अब दाहिने पनि सबैलाई लेखेर देखाउँछु अनि देब्रे भन्न छाड्छन् ।’ उनी आफ्नो अठोटप्रति सफल भए । उनी विद्यालय तहको पढाइ पूरा नगर्दै दाहिने हातले पनि देब्रेले जतिकै रफ्तारमा लेख्न सक्ने भएका थिए ।
स्नातक तह पुग्दासम्म उनी एकसाथ दुवै हातले लेख्न सक्ने भइसकेका थिए । ‘अरूभन्दा फरक देखिन थालेपछि सबैले सपोर्ट गर्दै गए,’ उनले भने, ‘अनि शरीरका अन्य अङ्गले पनि लेख्ने अभ्यास गर्न थालेँ र सफल भएँ ।’ यतिबेला उनी गिनिजबुकमा रेकर्ड राख्ने अभियानमा छन् । तर, यसका लागि उनले सरकारीस्तरबाट कुनै सहयोग पाएका छैनन् । सरकारले सहयोग गरे अवश्य पनि गिनिजबुकमा पर्ने उनको दाबी छ ।
‘सुरुमा नयाँ रेकर्ड दर्ता गर्न समस्या हुने भएकाले सरकारी सहयोग मागेँ, तर अझै सहयोग पाएको छुइनँ,’ मनोजले भने । अहिलेम्म गिनिजबुकमा ‘मल्टी राइटिङ आर्ट’ रेकर्ड दर्ता भएको छैन । पुरानो दर्ता भएकोमा कसैले उछिनेमा रेकर्ड दर्ता गराउन समस्या नहुने तर नयाँ रेकर्डमा समस्या हुने भएकैले गर्दा आफ्नो नाम गिनिजबुकमा पर्ने सम्भावना भने क्षीण रहेको उनको भनाइ छ ।
उनले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व गृहमन्त्री भीम रावल, प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री विजयकुमार गच्छदारलगायतलाई भेटेर सहयोगका लागि पटक–पटक आग्रह गरे पनि आश्वासन मात्र पाएको गुनासो गरे । उनी आफ्नो प्रतिभा देखाउनकै लागि देश दौडाहामा रहेका छन् । उनले फागुनमा पूर्वका धरान, इटहरी, विराटनगरका स्कुल र कलेजमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
‘सरकारीस्तरबाट सहयोग नहुँदा गिनिजबुकमा नाम लेखिने सम्भावना क्षीण भएकैले नेपालमा यस्ता पनि प्रतिभा रहेछन् भनेर देखाउनका लागि देशका विभिन्न स्थानमा पुगेर प्रतिभा प्रदर्शन गर्न थालेको हुँ,’ उनले भने । उनलाई राजधानीका विभिन्न स्कुल र कलेजले बोलाएर प्रतिभा प्रदर्शन गर्न लगाउने होडबाजी नै चल्ने गर्छ । उनी अहिले एमबिए छैठौं सेमेस्टारमा अध्ययनरत छन् । समाजशास्त्रमा स्नातकोत्तर पनि गदैंछन् । मनोज अहिले राजधानीमै बस्ने गर्छन् ।
अम्बर
Labels:
नयाँ पुस्ता
0 comments:
Speak up your mind
Tell us what you're thinking... !