College Times : Educational Magazine: नयाँ पुस्ता
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label नयाँ पुस्ता. Show all posts
Showing posts with label नयाँ पुस्ता. Show all posts

विद्यार्थीले गरे आविस्कार

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:49 AM


  • दुर्गा बस्नेत


महेन्द्रनगर–७ पुलाहा शान्तिचोकका १६ वर्षीय लालबहादुर भुजेल (सुरेन)ले विभिन्न वैज्ञानिक आविस्कार गरेर सबैलाई चकित बनाइरहेका छन् । उनले पछिल्लो पटक निर्माण सार्वजनिक गरेको आश्चर्यजनक वैज्ञानिक उपकरण हो, क्लाप अपरेटेड स्वीच । उनले बनाएको ‘क्लाप अपरेटेड स्वीच’ नामक बत्ती आवाजले चल्छ । थपडी मार्दा बल्ने र बन्द हुने यो बत्ती उनले कन्डिस्नरको बट्टा, माइक, चार्जरका पार्टस्हरू र विद्युतीय तारको प्रयोग गरेर कुनै तालिमबिना नै घरमै बनाएका हुन् । 

भुजेलले थपडी मार्दा बल्ने र निभ्ने क्लाप अपरेटेड बत्ती मात्र हैन, अटो कन्ट्रोल मोटर–पम्पसमेत बनाएका छन् । ट्याङ्कीमा पानी भरिँदा बन्द हुने र ट्याङ्की खाली हुँदा आफैं मोटर चल्ने विशेषता रहेको मोटर पम्पले गर्दा पानी पोखिने र ट्याङ्की खाली हुने डर नहुने भुजेलले बताए । 

उनले एक वर्षअगाडि घरेलु सामानको प्रयोग गरेर इन्भर्टर बनाएका थिए । रेडियो, टेलिभिजन, मोबाइल आदिका चार्जर र एम्लिफायरका टुक्राहरू जोडेर बनाइएको इन्भर्टर एक वर्षसम्म चलेको उनकी दिदी मीना श्रेष्ठले बताइन् । रत्नबहादुर र मिठुमाया भुजेलका कान्छा छोरा लालबहादुर यसै वर्ष भरौल–३ इक्राहीस्थित मर्निङ स्टार इङ्लिस स्कुलबाट एसएलसी दिएका छात्र हुन् । आर्थिक रूपले विपन्न परिवारका भुजेलले स्थानीय समाजसेवीको सहयोगमा सो स्कुलमा नर्सरीदेखि एसएलसीसम्म निःशुल्क अध्ययन गरेका हुन् । 

सानैदेखि नया“–नया“ आविस्कार गर्न खोज्ने भुजेलले यस्ता काम गर्ने प्रेरणा हिन्दी फिल्म ‘थ्री इडियटस्’बाट पाएको बताए । ‘अरूले सक्दैनस् भन्दा पनि आत्मविश्वासका साथ सक्छु भनेर नछाडेको कारण सफल भएको हु“,’ उनी भन्छन्, ‘मान्छेको जीवनमा फिल्मले पनि ठुलो प्रभाव पार्दोरहेछ !’ सानै उमेरदेखि चित्रकला र सङ्गीतमा रुचि राख्ने भुजेल वैज्ञानिक आविस्कारको कामलाई पढाइ स“ग–स“गै लैजाने बताउ“छन् । उनले आफ्नो घरको भित्तामा आफैंले कोरेको बुबा–आमा, साथीहरू, भगवान् बुद्ध, नेल्सन मण्डेला र कलाकार सलमान खानको चित्रसमेत टा“सेका छन् । उनी इन्जिनियरिङ पढ्ने आफ्नो इच्छा भए पनि एसएलसीपछि कसरी पढाइ अगाडि बढाउने भन्ने चिन्तामा छन् । उनी घरको आर्थिक अवस्था अति कमजोर रहेका कारण कलेज अध्ययनमा समेत कसैले सहयोग गरिदिए कडा मेहनतका साथ पढेर देशलाई नया“–नया“ आविस्कार दिन चाहन्छन् ।

आठौं कीर्तिमान नजिक थानेश्वर

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:52 AM

हरेक व्यक्तिमा आ–आफ्नै खाले प्रतिभा रहेको हुन्छ । केही नगन्य व्यक्तिमा भने अनौठो खालको प्रतिभा हुने गर्छ । यस्तै, नौलो काम गरेर आफ्नो कीर्तिमान कायम राख्ने अभियानमा जुटेका छन्, सुनसरी खनारका थानेश्वर गुरागाई । गिनिज बुक अफ् वल्र्ड रेकर्डस्मा सात वटा कीर्तिमान बनाइसकेका खनार–४ का २३ वर्षीय गुरागाई नयाँ–नयाँ अभ्यासमा अहोरात्र खटिएका छन् । गुरागाईले हालै टाउकोमा सबैभन्दा बढी समयसम्म बास्केटबल घुमाएर अर्को कीर्तिमान राख्ने योजनाअन्तर्गत सफल प्रदर्शन गरेका छन् । कीर्तिमान कायम राख्ने योजनाका लागि अभ्यासमा जुटेका उनले जेठ २३ गते इटहरीमा २३ सेकेन्डसम्म टाउकोमा बल घुमाएर देखाए ।
उनले तीन वर्षको अभ्यासपछि त्यसरी टाउकोमा राखेर २३ सेकेन्डसम्म बल घुमाउन सफल भएको बताए । ‘हरेक कामलाई अभ्यासले नै सफल बनाउँदो रहेछ,’ उनले भने, ‘मान्छेले जब प्रमाणित गर्छ अनि मात्र प्रसंशा गर्छन् । तर, प्रयास गर्दा नै अर्काले आलोचना गर्दा काम छाडियो भने सफलता हात लाग्नेछैन ।’
गुरागाईका अनुसार जर्मनीका नागरिक मेहेमेट केकीले १८.११ सेकेन्डसम्म बास्केटबल घुमाएर विश्व कीर्तिमान बनाएका छन् । तर, मेहेमेट केकीको कीर्तिमानलाई आफूले अब तोड्न सफल भएको बताउँछन् ।
गुरागाईले अहिलेसम्म एक मिनेटमा चार सय ४४ पटक बास्केट बल बाउन्स गर्ने, बास्केट बललाई कम्मर वरपर तीस सेकेन्डसम्म औंलामा घुमाउने, गिनिज बुकलाई तीस सेकेन्डसम्म औंलामा घुमाउने, टेनिस ¥याकेटबाट ४.९१ सेकेन्डमा तीनपटक छिर्ने, एक मिनेटमा ३८ पटक र तीन मिनेटमा ९६ पटक टेनिस ¥याकेटबाट छिर्न सफल व्यक्तिको रूपमा उनको नाम लेखिएको  छ ।  सन् २०१० देखि २०१२ सम्मको अवधिमा गुरागाईले  गिनिजबुकमा यी रेकर्डहरू बनाएका हुन् । ‘यस्ता रेकर्ड राख्नका लागि धेरै मेहनत गर्नुपर्छ,’ उनले भने, ‘अभ्यासले नै हरेक मान्छेलाई सफल बनाउँछ ।’
 एकपछि अर्को सफल परीक्षण गरी नयाँ कीर्तिमान कायम राख्ने लक्ष्य राखेका उनले बास्केटबललाई टुथब्रसमा २७ सेकेन्डसम्म घुमाएका पनि छन् । यो रेकर्डको सर्टिफिकेट भने आइसकेको छैन । उनले अब बास्केट बललाई नाकमा सबैभन्दा बढी घुमाउने र २१ मिटर अग्लो वस्तुलाई चिउँडोमा अड्याउनेजस्ता परीक्षण गर्ने योजना रहेको सुनाए । यस्ता ५१ वटा परीक्षण पूरा गर्ने उनको लक्ष्य छ ।
आफ्नो प्रतिभा देखाउने अनेक तरिका भए पनि सवैभन्दा प्रभावकारी भनेकै गिनिज बुक भएकाले रेकर्ड राख्न यस्ता अभ्यास निरन्तर गर्दै आएको उनले बताए । उनले विदेशी आश्रित फरम्यान, चिहान हुलट ग्रिन्ट, कान्छो सगरमाथा आरोही तेम्बाछिरी शेर्पा र आप्पा शेर्पाबाट प्रभावित भएर आफूले पनि रेकर्ड राख्ने अभियान थालेको बताए ।
आफूलाई परिवारको पनि पर्याप्त सहयोग रहेको उनको भनाइ छ । ‘केही गर्छु भनेर अगाडि बढ्दा परिवारका तर्फबाट निकै हौसला पाएँ,’ उनले भने ।
व्यवस्थापन सङ्कायमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत गुरागाईले कीर्तिमानी यात्रासँगै पढाइलाई पनि निरन्तरता दिँदै आएका छन् । स्नातकतह अध्ययन गर्दादेखि अभ्यासमा जुटेर सफलता हात लागेपछि कलेजले पनि उनलाई सय प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । अहिले उनी ब्रिलियन्ट मल्टिपल कलेजमा अध्ययनरत छन् ।


माध्यमिक तहसम्म पढ्दा उनी मध्यम खाले विद्यार्थीका रूपमा चिनिन्थे । ‘मध्यम खाले विद्यार्थी भए पनि केही नयाँ र नौलो काम गर्ने सोच थियो, एसएलसी प्रथम श्रेणीमा पास गरेर कलेज पढन थालेपछि फरक काम गरेर कीर्तिमान कायम राख्ने योजना मनमा आयो,’ उनले भने ।
योजनाअनुसार पहिलो कामको सफलताले हौस्याएको उल्लेखगर्दै उनी भन्छन्, ‘सुरुवातमा नयाँ काम गर्ने सोचले थालिए पनि पूरा हुने वा नहुनेमा कन्फ्युजन थियो तर एउटा काममा सफलता हुनासाथ त्यसपछिका हरेक काममा इनर्जी पैदा हुँदो रहेछ ।’

घरेलु कामदारबाट सञ्चारकर्मी

Written By Neplee on Wednesday, April 24, 2013 | 7:19 PM


रेडियोभित्र मान्छे कसरी अटेको होला ? रेडियो त सानो छ तर यहाँ बोल्ने मान्छेहरू त ठूल्ठूलाजस्तो लाग्छ । सधैँ यस्तै कुरामा जिज्ञासा राख्ने विराटनगरका–१३ वर्षीय निरज मल्ललाई पछि रेडियोमा बोल्ने रहर जाग्यो ।
स्थानीय सत्यनारायण उच्चमाविमा कक्षा ८ मा अध्ययनरत् मल्ल विराटनगरमा बाल श्रमिकको रूपमा काम गर्छन् । पारिवारिक, आर्थिक असहजताका बाबजुद आफ्नो क्षमता प्रदर्शन गर्दै बालबालिकाका लागि केही काम गर्ने चाहनालाई मूर्तरूप दिन सात वर्षको हुँदा उनी बाल क्लबका सदस्य बने । स्थानीय दीपक श्रमिक बाल क्लबमा आबद्ध भएर सामाजिक र सामूहिक कार्यमा सक्रिय उनी दुई वर्षको सक्रियतापछि सोही क्लबको अध्यक्ष बने ।
अन्य बालबालिका जस्तो सजिलो घरेलु बाल श्रमिकलाई हुँदैन पनि । तर, उनले बाल क्लबमार्फत् आफ्ना प्रतिभाहरू देखाउँदै गए । आफूमा नेतृत्वमा विकास पनि गर्दै गए । आफ्नो बाल क्लबमा आबद्ध भएकै वर्ष उनी विराटनगर स्तरीय श्रमिक बाल क्लब नगर समन्वय समिति विराटनगरको सहसचिव पनि बने ।
सोही क्रममा मल्लले विराटनगरमा फरेन नामक गैरसरकारी संस्थाले आयोजना गरेको पाँच दिने आधारभूत रेडियो उद्घोषण तालिम लिए । तालिमपछि उनले आफ्नो सपना साकार गर्ने बाटो देखे । तालिमलगतै उनले विराटनगरको बीएफएममा उपमहानगरकै श्रमिक बालबालिकामा आधारित रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर पाए । अवसर पाएको केही समयमै रेडियो कार्यक्रम बन्द भयो तर उनले आफ्नो प्रतिभालाई रेडियो कार्यक्रममा मात्रै सीमित नराखी विराटनगरमा हुने बालबालिकासम्बन्धी कार्यक्रममा उद्घोषणसमेत गर्न थाले ।
अहिले उनी प्रयास नेपाल नामक गैससले इटहरीको सप्तकोशी एफएममार्फत् बालबालिकाको हित र प्रवर्धनका लागि सञ्चालन गर्दै आएको ‘बाल आवाज’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
बालक्लबमा आबद्ध हुँदै रेडियो कार्यक्रम चलाएका उनले बेला–बेलामा भ्रमणको मौकासमेत पाउने गरेका छन् । थ्यही क्रममा उनले पोखराका श्रमिक बालबालिकाको अवस्थाका बारेमा बुझेका थिए । यस्तै सन् २०१२ मा युनिसेफले काठमाडौंमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको विमोचन पनि उनैले गरेका थिए । २०६६ सालमा सम्पन्न श्रमिक बालबालिकाको राष्ट्रिय सम्मेलनमा सहभागी भई उनी श्रमिक बालबालिकाको जन्मदर्ता, उनीहरूलाई मनोरञ्जन र पत्रकारितामा पहुँच वृद्धि गर्नुपर्ने विषय उठान गरी लिपिबद्ध गर्न सफलसमेत भएका थिए ।
भविष्यमा पनि बालबालिकाकै हितमा काम गर्ने र श्रमिक बालबालिकाको क्षमता वृद्धिमा अग्रसर हुने उनको योजना छ । हाल पत्रकारितामा दखल बढाउँदै गएका निरज भन्छन्, ‘म पनि श्रमिक हुँ त्यही भएर श्रमिककै हितमा काम गरी जीवन व्यतित गर्नेछु ।’
नेत्र पी अधिकारी

अद्भूत कलाका धनी मनोज

Written By Neplee on Saturday, March 16, 2013 | 6:14 PM


दाहिने–देव्रे दुवै हात, दुवै खुट्टा, दुवै कुहिना अनि मुखले कलम च्यापेर लेख्न कसैले सक्छ ? तपाईलाई पत्यार नलाग्न सक्ला तर सुदरपश्चिमम बैतडीका २५ बर्से मनोज चन्दमा सबै अङ्गले लेख्न सक्ने अदभूत कला छ । उनी एकसाथ एकै रफ्तारमा छ वटा कलम सबै अङ्गले च्याएर पनि लेख्न सक्छन् ।
विद्यालय तहको अध्ययन गर्दा उनले देब्रे हातले लेख्ने भएकाले गर्दा सबैले ‘देब्रे’ भनेर खिसी गर्थे । उनलाई खिसी गर्दा एउटा सोच जाग्यो, ‘अब दाहिने पनि सबैलाई लेखेर देखाउँछु अनि देब्रे भन्न छाड्छन् ।’ उनी आफ्नो अठोटप्रति सफल भए । उनी विद्यालय तहको पढाइ पूरा नगर्दै दाहिने हातले पनि देब्रेले जतिकै रफ्तारमा लेख्न सक्ने भएका थिए ।
स्नातक तह पुग्दासम्म उनी एकसाथ दुवै हातले लेख्न सक्ने भइसकेका थिए । ‘अरूभन्दा फरक देखिन थालेपछि सबैले सपोर्ट गर्दै गए,’ उनले भने, ‘अनि शरीरका अन्य अङ्गले पनि लेख्ने अभ्यास गर्न थालेँ र सफल भएँ ।’ यतिबेला उनी गिनिजबुकमा रेकर्ड राख्ने अभियानमा छन् । तर, यसका लागि उनले सरकारीस्तरबाट कुनै सहयोग पाएका छैनन् । सरकारले सहयोग गरे अवश्य पनि गिनिजबुकमा पर्ने उनको दाबी छ ।
 ‘सुरुमा नयाँ रेकर्ड दर्ता गर्न समस्या हुने भएकाले सरकारी सहयोग मागेँ, तर अझै सहयोग पाएको छुइनँ,’ मनोजले भने ।  अहिलेम्म गिनिजबुकमा ‘मल्टी राइटिङ आर्ट’ रेकर्ड दर्ता भएको छैन । पुरानो दर्ता भएकोमा कसैले उछिनेमा रेकर्ड दर्ता गराउन समस्या नहुने तर नयाँ रेकर्डमा समस्या हुने भएकैले गर्दा आफ्नो नाम गिनिजबुकमा पर्ने सम्भावना भने क्षीण रहेको उनको भनाइ छ ।
उनले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व गृहमन्त्री भीम रावल, प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री विजयकुमार गच्छदारलगायतलाई भेटेर सहयोगका लागि पटक–पटक आग्रह गरे पनि आश्वासन मात्र पाएको गुनासो गरे । उनी आफ्नो प्रतिभा देखाउनकै लागि देश दौडाहामा रहेका छन् । उनले फागुनमा पूर्वका धरान, इटहरी, विराटनगरका स्कुल र कलेजमा  आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
‘सरकारीस्तरबाट सहयोग नहुँदा गिनिजबुकमा नाम लेखिने सम्भावना क्षीण भएकैले नेपालमा यस्ता पनि प्रतिभा रहेछन् भनेर देखाउनका लागि देशका विभिन्न स्थानमा पुगेर प्रतिभा प्रदर्शन गर्न थालेको हुँ,’ उनले भने । उनलाई राजधानीका विभिन्न स्कुल र कलेजले बोलाएर प्रतिभा प्रदर्शन गर्न लगाउने होडबाजी नै चल्ने गर्छ । उनी अहिले एमबिए छैठौं सेमेस्टारमा अध्ययनरत छन् । समाजशास्त्रमा स्नातकोत्तर पनि गदैंछन् । मनोज अहिले राजधानीमै बस्ने गर्छन् ।
अम्बर

इखले जन्मियो कला

Written By Neplee on Wednesday, February 13, 2013 | 11:40 PM



दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुलसी घिमिरे ‘समर्पण’ बिहान चार बजेको मिठो निन्द्रा र सुनौलो सपना त्यागेर काममा लागेपछि राति १० बजेसम्म काममै व्यस्त हुने गरेका छन् ।
२३ वर्षीय घिमिरे अभिनय, गायन र नृत्य प्रशिक्षकका रूपमा चिन्छिन् । स्कुल तहदेखि नै उनी नृत्यमा पोख्त थिए । अहिले उनको दिनचर्या दुहवी र इटहरीमा नृत्य सिकाउन काममा बित्ने गरेको छ । बिहान नृत्य प्रशिक्षणमा व्यस्त हुने उनी दिउँसो इटहरीकै कन्चनजङ्घा बोर्डिङ स्कुलमा शिक्षणको काम गर्छन् । साँझमा खनारको रिलायन्स उद्योग परिसरमा ट्युसन पढाउँछन् । ट्युसन पढाएर राति १० बजेपछि मात्र घर फर्किन्छन् । स्थानीयस्तरमा उनी गायकका रूपमा पनि परिचित छन् ।
पछिल्लो समयमा उनी टेलिभिजनको सिरियलमा समेत देखिन थालेका छन् । उनलाई इटहरीको ऐरिना टेलिभिजनबाट प्रसारण हुने ‘चलेको चलन’ सिरियलका लागि उनले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । सो सिरियल अहिले २४औँ शृङ्खला पूरा भएको छ । उनले गर्दै आएका काममध्ये सबैभन्दा बढी भविष्य अभिनयमा रहेको बताउँछन् ।
‘हुन त मेरो करिअर नृत्यबाट सुरु भएको हो तर अचेल नृत्यसँगै अभिनय जोडेर लान सके मात्र भविष्य आशालाग्दो रहेको देख्छु,’ उनले भने । उनी अभिनय कला तिखार्नका लागि भारतमा प्रशिक्षण लिन जाने
तयारीमा छन् । भारत र फ्रान्सका नृत्य प्रतियोगितामा पनि सहभागी भएका उनी अभिनयमा लोकप्रियता बढ्दो देखेर त्यही बाटोमा अघि बढ्न चाहेको बताउँछन् ।
‘नृत्यबाट सङ्घर्ष गर्न थालेको १२ वर्ष पूरा भइसक्यो तर आर्थिक हिसाबले त्यति सन्तोषजनक भएन,’ उनले भने, ‘अब भने अभिनयमै केन्द्रित हुने सोच बनाएको छु ।’
स्कुलमा पढ्दाका दिनमा अरूलाई सिकाएको झ्यालबाट हेर्दा माथिल्लो कक्षाका दाइले ‘ए, के हेरेको तँलाई त नाच्न आए पो हेर्छस्, तिमीहरूको जात त टपरा सोहोर्ने हो,’ भनेर हप्काएको इख उनको मनमा बसेको रहेछ । ‘सिनियर दाइले त्यसो भनेपछि निकै चित्त दुख्यो, त्यसपछि अन्यत्रै गएर तीन दिनभित्रमा नाच्न जान्ने भएँ ।’ उनले भने ।
तीन दिन सिकेको भरमा सिनियर दाइहरूले सिकाएकाहरूले भन्दा राम्रो नृत्य प्रस्तुत गरेपछि पाँच वटा प्लेट र चम्चा पुरस्कार पाएको उनले सुनाए ।
उनले त्यो बेला ‘लौ लौ आयो, लिलीलाई देखेर’ भन्ने गीतमा नाचेर सबैको मन जितेका थिए । ‘तिनै सिनियर दाइहरूले प्लेट र चम्चा पुरस्कार दिएका थिए,’ उनले भने ।
पुरस्कार पाएपछि भने उनलाई विद्यालयमा मात्र होइन समुदायस्तरमा गरिने हरेक नाचका कार्यक्रममा सहभागी गराउन थालियो । यसरी क्रमशः एकपछि अर्को गीतमा नाच देखाउँदै उनी पोख्त भए ।

पारस र स्मृति आए पूर्वमा

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:31 PM


उच्चमाध्यमिक शिक्षा परिषद्ले मङ्सिर अन्तिम साता सार्वजनिक गरेको कक्षा–११ को नतिजाअनुसार सुनसरी दुहवीका पारसकुमार विश्वास पूर्वाञ्चलकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा परेका छन् । ग्रिनल्यान्ड कलेज विराटनगरमा अध्ययनरत विश्वास पा“च सय पूर्णाङ्कमा चार सय २७ अर्थात ८५.५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट भएका हुन् । कलेजमा पढने विराटनगरकी स्मृति रिजाल दोस्रो अर्थात् छात्रातर्फ पूर्वाञ्चलमा पहिलो भएकी छन् । उनले चार सय २६ अर्थात् ८५.२ प्रतिशत अंक ल्याइन् ।
परिवारका अरु सदस्य निरक्षर भए पनि पारस आफू पहिलो हुने सानैदेखिको धोको पूरा गर्दै यसपटकको परीक्षामा पूर्वमै उत्कृष्ट हुन सफल भए । नर्सरीदेखि नै पढाइमा ‘मस्ट ट्यालेन्ट’ विद्यार्थीमा पर्ने स्मृतिका बुबा शिक्षक भएकाले उनले सानैदेखि उपयुक्त वातावरण पाइन् । दुवै अहिलेको सफलताको श्रेय परिवार र कलेजलाई दिन्छन् । उनीहरु यो सफलताको राजबारे कलेज टाइम्ससँग भन्छन् ः

अठोटअनुसार काम गरेँ
म सानैदेखि राम्रै विद्यार्थीमा पर्थे । सुनसरी, दुहवीको महेन्द्र मेमोरियल उच्चमाविबाट ८४.३ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गरे पनि म प्रथम भने हुन सकेको थिइनँ । कक्षा–११ मा पूर्वाञ्चलबाटै सर्वोत्कृष्ट अङ्क ल्याउँदा मेरो जीवनकै पहिलो सबैभन्दा उच्च उपलब्धि हासिल गरेको महसुस भएको छ ।
मेरो सफलताको श्रेय म अध्ययनरत कलेज परिवारलाई दिन्छु । किनकि मेरो पढाइमा गुरुहरुले बारम्बार हौसला प्रदान गर्नुहुन्थ्यो, त्यही कारणले गर्दा मलाई यो सफलता प्राप्त भएको हो । सफलता प्राप्त गरेपछि मेरो आत्मबल बढेको छ । अब थप मिहिनेत गरेर पढ्नेछु । र, यो सफलताले मलाई माथिल्लो तहमा पुग्न र थप मेहनत गर्न हौसला थपेको छ ।
केटाकेटीको पढाइ राम्रो र नराम्रो हुने सवालमा घरपरिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ  । त्यसबाहेक व्यक्तिको आफ्नै इच्छाशक्तिका पनि यो भरपर्छ । मेरै कुरा गर्दा, म १४ वर्षकै हुदाँ बाबु बित्नुभएकाले मैले परिवारलाई दैनिक काममा सघाउनुपर्ने बाध्यता थियो । तर पनि मेरो मस्तिष्कमा पढ्ने दृढ अठोट थियो । त्यही अठोट लिएर जुन ढङ्गले अघि बढे त्यसैको सफलता नै हो ।
हुन त परिवारमा म एउटा मात्र छोरा भएकाले गर्दा आमाले पनि पढन हौसला प्रदान गर्नुहुन्छ । यद्यपि, मेरो परिवारमा आमासँगै हजुरबुबा र हजुरआमा साक्षर हुनुहुन्न । परिवारमा साक्षर मान्छे नहुदाँ पढाइका लागि जति मात्रामा सहजता हुनुपर्ने हो, त्यसमा त केहीहदसम्म कमी आउँछ नै ।
एसएलसीसम्म विषयवस्तु एकपटक पढेपछि अरु बेला विरलै पढने गरिन्थ्यो । तर, जब कक्षा–११ मा भर्ना भएँ छदेखि आठ घन्टासम्म पढन थालेँ । कलेजमा पढाएको कुरा घरमा दोहो¥याएर पढने बानी बनाएँ । पढाइमा अल्छी गर्नु राम्रो होइन, पढ्न अल्छी गर्नु भनेको आफ्नै भविष्य बर्बाद पार्नु हो भन्ने लागेर सुनौलो भविष्यका लागि मेहनत गरिहेको छु ।

मेहनतको फल पाइन्छ नै भन्ने थियो
उत्कृष्ट हुने आशा थियो ? 
परीक्षा राम्रो हुने आशा चाहिँ थियो तर पूर्वमा नै उत्कृष्ट हुँला भन्ने लागेको थिएन ।
भनेपछि नजिता अप्रत्यासित भएछ ? 
उत्कृष्ट भएको चाँहि अप्रत्यासित नै भन्दा पनि हुन्छ तर पनि परीक्षा राम्रो भएकाले गर्दा राम्रो नम्बर ल्याएर पास गर्छु भन्ने त छँदैथियो । मेहनत गरेअनुसार फल पाइन्छ नै भन्ने थियो ।
पढने वातावरण चाहिँ कस्तो छ नि ? 
घर र कलेज दुवै ठाउँमा पढने  वातावरण एकदमै सहज छ । कलेजमा सरहरुले पढाइका कुरामा निकै हौसला प्रदान गर्नुहुन्छ । मेरो बाबु पनि शिक्षक नै भएकाले गर्दा घरमा पढ्ने–पढाउने वातावरण एकदमै सहज छ ।
कक्षा–११ को परीक्षा समयमा भने आमा बिरामीले हुनुभएकाले गर्दा मानसिक तनाव परेर केही समस्या भएको थियो । यदि परीक्षाको समयमा आमा बिरामी नहुनु भएको भए अझ राम्रो नम्बर ल्याउने रहेँछु ।
एसएलसीसम्मको र अहिलेको पढ्ने शैली कस्तो छ ? 
एलएलसीसम्म पढ्दा सतही रुपमा पढ्ने गरिन्थ्यो । अहिले भने कुनै पनि विषयवस्तुलाई एकदमै गहिरो गरी अध्ययन गर्ने गरेकी छु । कक्षा–११ मा भर्ना भएको सुरुवातदेखि नै कलेजमा पढाएको विषयवस्तुलाई हरेक दिन बेलुका अबेरसम्म रिभिजन गरेर पढने गरेकी छु ।

नेपाल सुन्दरी हुने सपनामा ज्योती

Written By Collegetimes on Tuesday, December 4, 2012 | 6:06 AM


केही वर्षअघिसम्म सुन्दरी प्रतियोगितामा कसैले भाग लिएमा ‘फ्लानी त बाइफाले भई’ भन्ने धेरैको मुखबाट टिप्पणी सुनिनेगथ्र्यो । तर, छोटो अवधिमै पुरानो मान्यता र टिप्पणी परिवर्तन भएको छ । आधुनिक समयले कोल्टे फरेकै कारण पुरानो मान्यतामा परिवर्तन आएको हो  ।
सुन्दर रुपका धनी व्यक्तिप्रति सबै लोभिने भएकाले गर्दा पुरानो मान्यतामा परिवर्तन आएको हो । यसैक्रममा इटहरीमा पहिलोपटक भएको सुनसरी कलेज आइकनको उपाधि जितेकी इटहरीकी ज्योति गौतमले अब हुने मिस नेपालमा भाग लिएर नेपाल सुन्दरीको ताज पहिरिने सुनौलो सपना साँचेकी छन् ।
स्कुल पढ्दादेखि नै नाचगानमा विशेष दखल भएकी, हाल कस्तुरी कलेजमा बिबिए छैठौं सेमेस्टारमा अध्ययनरत गौतमले कलेजस्तरीय सो प्रतियोगितामा १५ जनालाई प्रस्पिर्धीलाई उछिनेकी थिइन् ।
गार्डेन एकेडेमी इटहरीकी शिक्षिकासमेत रहेकी गौतमले कलेज आइकन भएपछि जीवनमा पहिलो ठूलो सफलता हात लागेको र अब हुने प्रतिस्पर्धाका लागि आत्मविश्वास बढाएको प्रतिक्रिया दिइन् । ‘मेरो जीवनको यो पहिलो उपलब्धि हो । यसले मेरो लक्ष्यअनुरुप मिस नेपालमा प्रतिस्पर्धा गर्न सहयोग पुग्छ,’ उनले भनिन् ।
आफ्नो स्वतन्त्रतालाई मिसयुज नगरेमा अवश्य पनि चिताएको सफलता प्राप्त गर्न सकिने उनले बताइन् । गौतमले कलेज आइकन भएकोमा एकातिर गर्व लागेको र अर्कातर्फ नराम्रो लागेको मिश्रित विचार सुनाइन् । ‘प्रतियोगिता जितेर चिनिएकोमा गर्व लागे पनि एक्कासी सबैको आँखामा परिएकाले नरमाइलो पनि लागेको छ,’ उनले खुलेर भनिन् ।
मूलत नारीको व्यक्तित्व विकास र प्रतिभा सार्वजनिक गर्ने उद्देश्य लिएर आयोजना गरिने सुन्दरी प्रतियोगितालाई केहीले गलत रुपमा प्रयोग र केहीले गलत टिप्पणी गर्ने फेसन बनेकोप्रति उनको चित्त दुखाइ छ । ‘एक–दुई जनाले गर्दा सबैलाई नराम्रो भन्न हुँदैन,’ उनले भनिन्, ‘समाजको दृष्टिकोण र व्यवहारमा एकैचोटी परिवर्तन आउने होइन, बिस्तारै आउँछ ।’
कलेज आइकनको उपाधि हात पार्नुअघिसम्म उनी आफूलाई सामान्य मान्थिन् भने उपाधि हात पारेपछि समाजका सबैले पहिचान गर्ने भएकाले आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन पनि आएको बताइन् ।
आगामी दिनमा आफ्नो पढाइ, शिक्षिकाको कामसँगसँगै अघि बढाएर मिस नेपालमा भाग लिएरै छोड्ने उनको योजना छ । घर–परिवार तथा समाजबाट सहयोग भएकाले आफ्नो योजना पूरा हुनेमा उनी विश्वस्त छिन् ।
उनको पढाइ एसएससी उत्तीर्ण गरेदेखि अहिलेसम्म लोभलाग्दै छ । ‘एसएलसीदेखि अहिलेसम्म फस्ट डिभिजनभन्दा तल आएको छैन,’ उनले भनिन्, ‘अब हुने नेपाल सुन्दरी प्रतियोगिताका लागि पनि कम्तीमा फस्ट डिभिजन हुनेगरी तयारी र मिहिनेत गर्छु ।’

अभिनय र कविताले लोभ्याउँदै पूजन

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:25 PM

एक नाटकमा अभिनय गर्दै पूजन थापा

कक्षा–६ मा पढ्दा पहिलोपटक अभिनय गर्न शिक्षकले लगाउँदा अलमलमा परेकी पूजन थापा चार वर्षकै अवधिमा नाट्य कलाकारितामा पोख्त भइसकेकी छन् । कक्षा–१० मा पढ्दै गरेकी इटहरी–२ की पूजनले यो अवधिमा थुप्रैपटक आफ्नो प्रतिभा अभिनयमार्फत प्रस्तुत गरेकी छन् । उनको अभिनय देख्दा मख्ख नपर्ने सायदै होलान् ।
अभिनयसँगै उनले लेखेका कविता मन पराउनेको जमात पनि सानो छैन । ‘अभिनयमा रुचि भएकाले गर्दा त्यसमा राम्रो गरौं भनेर लागेकी छु, अनि सानैदेखि कविता लेख्ने बानी हो, मेरो दौंतरीको तुलनामा कविता पनि गतिला लेख्छु भन्ने लाग्छ,’ उनले भनिन् ।  कवितासँगै निबन्धमा पनि उनलाई विशेष चासो छ । प्रतियोगितामा भाग लिँदा गतिला कविता लिएर भिडसामु जाने गरेकी पूजनले अधिकतर कार्यक्रममा पुरस्कार हात पार्ने गरेकी छन् । यस वर्ष जुनियर रेडक्रस सोसाइटीले आयोजना गरेको जिल्लास्तरिय कविता प्रतियोगितामा तेस्रो पुरस्कार उनकै भागमा प¥यो ।
स्कुल, विभिन्न क्लब, सङ्गीत प्रतिष्ठानले बेला–बेलामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदाहुँदै अभिनयतर्फ  लगाव बढेको सफलता हात पार्दै आएको उनको बुझाइ छ ।  अभिनयमा आफूलाई निखार्न सुरुवातमा पूर्वाञ्चल सङ्गीत विद्यालयमा प्रशिक्षण लिएकी पूजन अहिले कलालयमा कला र अभिनयकी विद्यार्थी पनि हुन् ।
कलालय इटहरीले सञ्चालन गरेको स्कुल थिएटरको पहिलो र दोस्रो संस्करणमा उनको जोडदार अभिनयले प्रशस्तै प्रशंसा कमायो । गएको भदौ महिनामा कलालयले नै आयोजना गरेको गृहिणीहरुको नाटक होम थिएटरमा सहयोगी भूमिकामै उनका प्रशंसकहरु थपिए । होम थिएटरमा ‘सङ्गी...’ बोलको गीतमा गरेको अभिनय र स्कुल थिएटरमा ‘रङ्गमञ्च उठेपछि आयौ...’ बोलको गीति नाटकमा उनले गरेको अभिनयले थुप्रैका आँखा मात्र रसाएनन्, उनको चर्चा समेत चुलिँदै गयो ।
अघिल्लो वर्ष ‘को बन्छ कलाकार’ रियालिटी सोमा भाग लिँदा मुलुकभरबाट उनी टप ट्वाइन्टीमा परेको सुनाइन् । ब्राइट फ्यूचर सेकेन्डरी स्कुल आँपगाछीमा अध्ययनरत् उनलाई सुरुवातमा आमाको मात्र साथ भए पनि सफल अभिनय गर्न थालेको थाहा पाएर बुबालेसमेत सहयोग गर्न थालेका छन् । उनको अभिनयलाई थप प्रमोसन गर्न उनलाई नाटकको प्रशिक्षण दिने कलालयले पनि प्रयत्न गरिरहेको  छ । आफ्नै गुरु भरत पोखरेललाई अभिनयमा लाग्न प्रेरणाको स्रोत सम्झिन्छिन् उनी । ‘भरत सरले स्कुलमा अभिनय गर्न लगाएकै कारण बिस्तारै सफलता हात पार्दैछु,’ उनले भनिन् ।
उनी पढाइमा पनि राम्रो विद्यार्थीमा पर्छिन् । कक्षामा पाँचौभन्दा पछाडि उनको रोल नम्बर छैन । पढाइलाई असर नपर्ने गरी अभिनयमा लाग्ने गरेको उनले सुनाइन । अभिनयले पढाइलाई सहयोग पु¥याएको उनले महसुस गरेकी छन् । असल कलाकार बन्ने सुनौलो सपना साँचेर दुःख गरिरहेकी पूजनको भविष्य आशालाग्दो छ ।
प्रस्तुति ः अमर

रङ्गकर्ममा अनुजा र मन्जिल

Written By Neplee on Friday, August 17, 2012 | 7:05 PM

अनुजा र मन्जिल एउटै कक्षामा पढ्ने भए पनि जीवनको लक्ष्य फरक छ । योजना, चाहना, सपना र इच्छा पनि फरक–फरक छन् । तर, दुवैको बाटो एउटै हो, जीवन बुझ्ने । दुवैले जीवन बुझ्ने माध्यम भने रङ्गमञ्चलाई बनाएका छन् ।
भविष्यमा चाटर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य बोकेकी अनुजा पौडेल र लेखक बन्ने सपना बोकेकी मन्जिल खुलाल अहिले रङ्गकर्मको एउटै बाटोमा छन् । कलालयले आयोजना गरेको स्कुल थिएटरमा दुवैको सशक्त अभिनय देख्न पाइन्छ । दुवैले नाटक निर्देशनसमेत गरेका छन् । मन्जिलले नाटक लेखेकी पनि छन् भने अनुजाको अभिनय कलाको सबैले तारिफ गर्छन् ।
स्कुल थिएटरमार्फत्् दुवैले आधा दर्जन नाटकमा अभिनय गरिसकेका छन् । दुई वर्षदेखि अभिनयमा लागेका उनीहरू फरक–फरक चरित्रमा देखापर्छन् । मन्जिल आफूलाई शिक्षक र छुच्चीको चरित्रमा सबैले मन पराएको बताउँछिन् । उनले शिक्षक, विद्यार्थी, साथी, दिदी–बहिनीलगायतका चरित्रमा अभिनय गरेकी छन् । उनलाई हँसाउने भूमिकामा अभिनय गरेर सबैलाई हँसाउने र प्रशंसा पाउने रहर छ । अनुजाले भने रोवर्ट, प्रहरी, कलाकार, मूर्ति, छोरीलगायतका चरित्रमा आफूलाई प्रस्तुत गरेकी छन् । उनलाई अरूभन्दा फरक र आफूलाई सहज लाग्ने भूमिका मन पर्छ । त्यस्ता भूमिकामा अभिनय गरेर फरक पहिचान बनाउने उनको इच्छा छ ।
बालबालिकाले अवसर पाए आफूमा भएकोे प्रतिभा प्रस्तुत गरेर समाजमा उदाहरण बन्न सक्छन् भन्ने मान्यता व्यवहारमा प्रमाणित गरेर देखाएका छन् अनुजा र मन्जिलले । उनीहरू अभिनयमा मात्र अब्बल छैनन्, पढाइमा पनि कोहीभन्दा कम छैनन् । गुरु–गुरुआमाहरुको मन जितेका छन् ।
विद्यालयमा जत्तिकै घरमा पनि मेहनत गर्न अल्छी गर्दैनन् दुवै । मन्जिललाई अङ्ग्रेजी, विज्ञान र स्वास्थ्य विषयमा विशेष रुचि छ । गणित, विज्ञान, अङ्ग्रेजी अनुजाका मनपर्ने विषय हुन् ।
अभिनय यात्रा सुरु गरेपछि आफूमा धेरै परिवर्तन आएको मन्जिलले बताइन् । उनले अभिनय थालेपछि आफ्नो रिसाउने बानी कम भएको र साथीहरू बढेको बताइन् ।  अभिनयले धैर्यता, लगनशीलता, आत्मविश्वास र सकारात्मक सोचको पनि विकास गरेको छ । मन्जिलले भनिन्, ‘त्यसैले लक्ष्मीप्रसाद देवकोटाजस्तो लेखक बन्ने आफ्नो लक्ष्य पूरा गर्न अभिनयलाई पनि निरन्तरता दिन्छु । परिवार र विद्यालयको सहयोग नभएको भए अहिले म पनि अरूजस्तै सामान्य हुने थिएँ । परिवार र विद्यालयको सहयोगले गर्दा मलाई अलि फरक हुन सहयोग पुगेको छ । मजस्तै सबै विद्यार्थीले यस्तो अवसर पाउन् भन्ने कामना गर्छु ।’
‘पहिले–पहिले नाटक हेर्दा अभिनय सजिलो होला भन्ने लागेको थियो,’ अनुजा भन्छिन्, ‘तर हैन रहेछ । अभिनय गर्न धेरै मेहनत, क्षमता र धैर्यता चाहिँदो रहेछ । म कम बोल्ने मान्छे साथीहरूसँग अभिनय सिक्न गएँ । सिक्न थालेपछि छाड्न मन लागेन । अभिनयले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ । आफूलाई लागेका कुरा बोल्न सक्नेमात्र भएकी छैन, जानेका कुरा अरूलाई सिकाउन पनि सक्छु । आत्मबल बढेको महसुस भएको छ ।’ उनले पनि परिवार र विद्यालयको सहयोग आवश्यक हुने बताइन् । आफूलाई परिवार र विद्यालयले अवसर दिएजस्तै विद्यालयमा पढ्दै गरेका सबैले यस्तो अवसर पाउनुपर्ने धारणा राखिन् ।

हाँस्य कलाकारिताको यात्रामा विराज

Written By Neplee on Friday, June 15, 2012 | 5:53 PM


बाहिरबाट हेरेर मानिसभित्रको प्रतिभा बुझ्न गाह्रो छ । हेर्दा सामान्य देखिने मान्छेभित्र पनि धेरै प्रतिभा हुन्छन् । बाहिरबाट हेर्दा भावुक देखिने धेरै व्यक्तिहरू रमाइला हुन्छन् । यस्तै नपत्याउँदा प्रतिभा भएका बालक हुन् इटहरीका विराज गौतम ।
हेर्दा लाग्छ, उनी धेरै लजालु छन् । त्यसो त उनी बोल्न पनि कम बोल्छन् । तर, जब मञ्चमा उक्लन्छन् तब उनको अनुहारमा मात्र हैन सबै दर्शकको अनुहारमा चमक भर्नसक्ने कला छ उनमा । उनका हरेक गतिविधिबाट दर्शक कुनै न कुनैरूपमा मनोरञ्जन लिइरहेका हुन्छन् । जस्तोसुकै मानिसलाई पनि हँसाउन सक्ने उनको कलालाई आजकाल सबैले कदर गर्न थालेका छन् ।
चाटर्ड एकाउन्टेन बन्ने लक्ष्य लिएका १३ वर्षीय विराजले रङ्गमञ्चमा कला प्रस्तुत गर्ने आफ्नै शैली स्थापित गरिसकेका छन् । विराजको अभिनय हेरेर नरमाउने सायदै भेटिएलान् । गम्भीर भूमिकामा पनि उनको अभिनयले दर्शकलाई प्रभावित पारेकै हुन्छ । उनको प्रस्तुतिमा दर्शकलाई मनोरञ्जन दिनसक्ने विशेष खुबी छ ।
एसओएस बालग्राम इटहरीमा कक्षा ८ मा पढ्ने  विराजले अहिलेसम्म आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका छन् । दुई वर्षदेखि नाटक खेल्न सुरु गरेका विराजको पढाइ नाटकसँगै राम्रो हुँदै गइरहेको छ । उनी भन्छन्, ‘पहिले–पहिले पढ्न त्यति मन लाग्दैन थियो, अहिले पढाइमा ध्यान दिन थालेको छु ।’ नपढी यो दुनियाँमा अगाडि बढ्न नसक्ने कुरा बुझिसकेकाले पढाइलाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।
‘मैले नाटक खेल्न थालेदेखि पढाइको महत्व पनि बुझेँ जिम्मेवारी थपिएजस्तो पनि लाग्छ,’ परिपक्व मान्छेझैँ उनले भने । प्रायः नाटकमा हाँस्यपात्रका रूपमा देखापर्छन् उनी । उनको कला पनि त्यसैमा छ । उनलाई मनपर्ने भूमिका पनि हाँस्य कलाका।को नै हो । त्यसैले हरेक भूमिकामा उनले दर्शकलाई मनोरञ्जन दिन सकेका छन् । स्कुल थिएटरको दोस्रो संस्करणमा सबैभन्दा धेरै ताली र वाह–वाही पाउने उनी नै भए । पहिले–पहिले मञ्चमा चढ्दा लाज लागेको सम्झँदै उनी भन्छन्, ‘अहिले त्यस्तो हुँदैन जीवनमा समेत ठूलो परिवर्तन आएको छ । सकारात्मक सोचको विकास हुन थालेको छ ।’ समस्यासँग जुध्न र सङ्घर्ष गर्दै अगाडि बढ्न नाटक र त्यसमा भएका कथावस्तुले प्रेरणा दिने गरेको उनको अनुभव छ ।
नेपाली रङ्गमञ्चको अहिलेको सुस्त अवस्थामा कलालयले आयोजना गरेको स्कुल थिएटरले नयाँ कलाकार जन्माउन विराजजस्ता थुप्रै बालबालिकालाई अभिनयकलाको महत्व बुझाउँदैछ । विराज पनि भन्छन्, ‘कलालाय नभएको भए मैले यो क्षेत्र रोज्न पाउने थिइनँ र मेरो पढाइ पनि औसतभन्दा तल नै हुन्थ्यो ।’ आफूले अभिनयबाट धेरैलाई आकर्षण गर्न सक्नुमा कलालयका अध्यक्ष तथा प्रशिक्षक सोनु जयन्तीको महत्वपूर्ण हात रहेको उनी पटक–पटक दोहो¥याउँछन् ।
नाटकबाहेक खेलकुद र सङ्गीतमा समेत उत्तिकै लगाव राख्ने उनी सङ्गीतको प्रशिक्षण पनि लिइरहेका छन् । परिवारको सहयोग राम्रो भएकाले आफूले इच्छाअनुसार गर्न पाएको उनको भनाइ छ । परिवारको हौसलाकै कारण आफूलाई सकारात्मक परिवर्तन गर्न मद्दत पुगेको बताउने विराज आजभोलि पढाइमा व्यस्त छन् ।

काम–पढाइ–अभिनय

Written By Neplee on Tuesday, May 15, 2012 | 5:46 PM


कलालयले वैशाखको अन्तिम साता इटहरीमा सञ्चालन गरेको स्कुल थिएटरका लागि ७८ बालबालिकाले एक महिनासम्म अभिनय साधना गरे । आफूमा रहेको अभिनय प्रतिभा निखार्नुका साथै उनीहरूले बोल्ने र अभिनय गर्ने क्षमतासमेत विकास गरे । तिनै बालबालिकामध्ये थिए, एकराज र रविन ।
भोजपुरमा जन्मिएका एकराज दाहाल पाँच वर्षअघि इटहरी आइपुगेका थिए । आमाले छाडेर हिँडेपछि बुबाले उनको पालनपोषणमा ध्यान दिन सकेनन् । फलस्वरूप उनलाई पढ्न त के दुई छाक खानसमेत गाह्रो हुने भयो । पढ्ने इच्छा पूरा गर्न उनी एकजना साथीसँग मिलेर इटहरी झरे ।
अहिले इटहरीस्थित अम्बिका श्रेष्ठको घरमा घरेलु कामदारको रूपमा बसेका उनलाई श्रेष्ठ परिवारले स्थानीय कविर माविमा पढ्ने व्यवस्थासमेत गरिदिएको छ । फुर्सदको समयमा उनी कविता लेख्न र पत्रपत्रिका पढ्न रुचाउँछन् । भविष्यमा शिक्षक बन्ने सपना सँगालेका १७ वर्षीय दाहालले काम गर्ने समय बचाएर कलालयले आयोजना गरेको स्कुल थिएटर–२ मासमेत सहभागी भए ।
राम्रो कलाकारसमेत रहेका उनी विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने र आफ्नो प्रतिभा प्रदर्शन गर्ने गर्छन् । ‘मैले कार्यक्रममा देखाएको प्रतिभा देखेर नै उमेश सरले मलाई कलालयको स्कुल थिएटरमा सहभागी हुन भन्नुभयो ।’ उनले भने, ‘मैले काम गरिरहेको घरको सहयोगमा स्कुल थिएटरमा सहभागिता जनाएँ ।’ उनले स्कुल थिएटरको एक नाटकमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए ।
सामुहिक भावना विकास हुने गरी नाटकमा सहभागी हुन पाउँदा दङ्ग परेका उनी पढ्न पाएकोमा झनै खुसी छन् । भन्छन्, ‘पढेर ठूलो मान्छे बन्ने सपना देखेको छु ।’ उनले कस्तो ठूलो मान्छे भन्ने लक्ष्य अहिले नै निर्धारण भइनसकेको पनि बताए ।
घरेलु कामदारको रूपमा काम गर्दै पढ्दै कलाक्षेत्रमा लाग्न अलि गाह्रो भए पनि इच्छा भयो भने र सहयोग गर्ने मानिस भए सबै इच्छा पूरा हुने उनको अनुभव छ । ‘कला तथा नाटकको क्षेत्रबाट समाजलाई केही दिन सकिन्छ भन्ने उद्देश्यले आएका हौँ,’ उनले भने । उनले काम गरेको घरबाट कोही पनि नाटक हेर्न नआए पनि चर्चा सुनेरै घरबाटसमेत प्रोत्साहन पाएको उनले बताए । नाटकलाई कतिसम्म निरन्तरता दिने त ? उनी भन्छन्, ‘जीविकोपार्जन गर्न सकियो र समयले साथ दियो भने अभिनय गरिरहन्छु ।
कविर विद्यालयमै पढ्ने १७ वर्षका रविन थापामगर पढाइपछिको समय दाइको पसलमा काम गरेर बिताउँछन् । कक्षा ९ मा अध्ययनरत् उनले पनि स्कुल थिएटर–२ मा सहभागिता जनाएका थिए । कुशल कराँते खेलाडीसमेत रहेका उनी दाजुको व्यापारलाई सहयोग गरिरहेका छन् ।
पढाइबाट बचेको समयमा काम गर्ने रविन कलालयको स्कुल थिएटर–२ मा सहभागी भएर नाटक सिक्न र समूहमा खेल्न पाएकोमा दङ्ग देखिन्थे ।
उदयपुरबाट चार वर्षअघि पढ्नकै लागि इटहरी आएका उनी दाजु–भाउजुकोमा बसेर काम र पढाइलाई साथसाथै लगिरहका छन् । फुर्सदको समयमा कलालयमा पुगेर नाटकमा अभिनयसमेत गर्छन् । ‘दाजु–भाउजुबाट माया पाएको छु,’ उनले भने, ‘पढ्न पाउँदा खुसी छु, अनि साथीहरूसँग मिलेर अभिनय गर्न पाउँदा झन् खुसी ।’
रविन पढाइलाई पहिलो प्राथमिकतामा राखेर अभिनय गर्ने सोचमा छन् । ‘पहिले त जीवन चल्नुप¥यो, त्यसपछि अभिनयका कुरा आउँछन् ।’ उनले दुई महिना अघिदेखि मात्र अभिनय सिक्न थालेका हुन् । अभिनयसँग आफ्नो अटुट नाता गाँसिएको बताउँदै जीविकोपार्जनको व्यवस्था गर्न सकियो भने फुर्सदको समय नाटकलाई दिने सोचमा छन् । उनी समाजमा विकृति र विसङ्गति प्रशस्त रहेको बताउँदै भन्छन्, ‘युवाले गरेनौँ भने कसले गर्छ ?’
इमान्दार र पढाइमा समेत लगनशील उनीहरूको अध्ययनबाट परिवारका साथै शिक्षकहरू समेत खुसी छन् । उनीहरूलाई नाटकको मञ्चमा ल्याउने शिक्षक उमेश सुवेदी प्रतिभा भएका बालबालिकाको सिर्जनात्मक विकासमा अभिभावक र शिक्षकले जोड दिनुपर्ने बताउँछन् ।
‘कामदारको रूपमा घर र पसलमा काम गरिरहेका बालबालिकालाई एक महिना चलेको प्रशिक्षणमा सहभागी गराएर दुई दिनसम्म पूर्णरूपमा मञ्चमा उतार्नु सहज थिएन’ सुवेदी भन्छन्, ‘उनीहरूले काम गरेको ठाउँबाट सहयोग नपाएको भए यो सम्भव थिएन ।’ लामो अनुरोधपछि रविन र एकराजलाई अभिनयमा जान अनुमति दिलाउन सफल भएको सम्झँदै सुवेदी भन्छन्, ‘कलाको विकासका लागि अभिनय गर्ने र अभिनयको लागि वातावरण बनाउने दुवैको भूमिका महत्वपूर्ण रह्यो ।’
कलालय इटहरीले गतवर्षझैँ यसपटक पनि इटहरीमा स्कुल थिएटरको आयोजना गरी ७८ बालबालिकालाई उनीहरूकै लेखन र निर्देशनका नाटकसहित मञ्चमा उतारेको थियो । कलालयका अध्यक्ष सोनु जयन्ती नाटकका लागि  बालबालिका मात्र होइन, सहयोग गर्ने विद्यालय, परिवारलगायतका सबै पक्षहरूको समान देन रहेको बताउँछन् । उनले भने, ‘नाटकमा सहभागी बालबालिकाको अभिनय क्षमता विकासका लागि स्थायी थिएटर बनाउन सकेमा अझ राम्रो हुने थियो ।’
अतिथीलाई खाली खुत्रुके उपहार
प्रमुख अतिथीले कुनै कार्यक्रममा सहभागि भएपछि चिनोस्वरुप के लग्लान् ? आयोजकले कुनै मुल्यवान् वस्तु वा उपहार देलान् भन्ने तपाइलाई लाग्नसक्छ । तर कलालय इटहरीको आयोजनामा शनिबारबाट सुनसरीको इटहरीमा सुरु भएको दुई दिने स्कुल थिएटरको समापनसँगै कार्यक्रमका प्रमुख अतिथीलाई खुत्रुके प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्न आइपुगेका कवि तथा नाटककार प्राध्यापक डाक्टर अभि सुवेदी र नाट्य विषयमा पीएचडी गरेका विद्वान डा. शिव रिजाललाई कलालयका अध्यक्ष सोनु जयन्तीले खाली खुत्रुके प्रदान गरे ।
कवि मनु मञ्जिलको परिकल्पनाअनुसार प्रमुख अतिथी तथा विशेष अतिथीलाई खुत्रुके दिइएको हो । दुवै अतिथीले सो खुत्रुकेमा जम्मा गरेको रकमले अर्को वर्षको स्कुल थिएटर ३ आयोजना गर्न सहयोग दिने प्रतिबद्धता जनाएका थिए ।
समालोचक राम्जी तिम्सिनाले समेत आर्थिक अभावकै कारण स्कुल थिएटर जस्तो कार्यक्रम रोकिन नहुने जनाउँदै खुत्रुके बचतमार्फत् बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नृत्य, नाटक र पढाइमा उत्तिकै वर्षा

Written By Neplee on Friday, February 17, 2012 | 6:27 PM


उनलाई सानैदेखि नाचौँ–नाचौँ लाग्थ्यो । तर, नाँच्नका लागि ठाउँ पाएकी थिइनन् । पढ्न थालेपछि भने विद्यालयका कार्यक्रममा सहभागी हुने अवसर मिल्न थाल्यो । नृत्य प्रतियोगितामा पनि भाग लिने मौका पाइन् । कक्षा ७ पुग्दा विद्यालयमा अहिले उनको ‘राम्रो नृत्य गर्ने केटी’का रूपमा छुट्टै पहिचान भैसकेको छ ।
कोसी सेन्टजेम्स स्कुलमा कक्षा ७ पढ्दै गरेकी इटहरी–८ की वर्षा केसीले करिब आधा दर्जन नाटकमा अभिनय गरिसकेकी छन् । गीता भेटी, छुवाछुत र कलालय इटहरीले आयोजना गरेको स्कुल थिएटरमा उनको प्रस्तुति धेरैले मन पराएका थिए ।
नृत्य र नाटकसँगैं उनलाई पढ्न पनि उत्तिकै रुचि छ । गणित र विज्ञान उनका मन पर्ने विषय हुन् । प्रायः राती १० बजेसम्म पढ्ने बानीले उनलाई अरू साथीहरूसँग प्रतिस्पर्धा गर्न अप्ठेरो परेको छैन । जे गरे पनि पढाइलाई प्राथमिकतामा राख्ने उनले बताइन् । पढाइ पूरा गरेन भने आजको युगमा प्रतिस्पर्धामा अगाडि पुगिँदैन भन्ने गुरुहरूबाट सिकेको  उनले  सुनाइन् ।
अचेल उनी बिहानको समय नृत्य सिक्नमा लगाउँछिन् । कलाकार बन्ने आफ्नो सपना पूरा गर्न विगत एक महिनादेखि कलालय इटहरीमा नृत्यको प्रशिक्षण लिन थालेकी छन् । इच्छा भएर मात्र हुँदैन, इच्छा पूरा गर्ने जाँगर पनि चाहिन्छ । आफ्ना इच्छा पूरा गर्न अभ्यास र मेहनत गर्नुपर्छ भन्ने उनले बुझेकी छिन् ।
बाबा–आमाको सहयोगले नृत्यको कक्षा लिन सुरु गर्नुअघि नै थुप्रै स्टेज कार्यक्रममा आफ्नो कला देखाइसकेकी वर्षा प्रतिभालाई अरुसामु पु¥याउन आपूmलाई कला क्षेत्रमा समर्पित गर्ने प्रतिबद्धता जनाउँछिन् । नृत्य र अभिनयका क्षेत्रमा आपूmलाई उभ्याउने उनको रहर छ । पेन्टिङ गर्न पनि रुचाउने उनी उनी साथीहरूभन्दा भिन्न स्वभावकी छन् । उमेरले चन्चले भए पनि उनको स्वभाव त्योभन्दा फरक छ । सानै उमेरमा उनी परिपक्वजस्तै देखिने साथीहरूको भनाइ छ ।
कलाकार बन्ने लक्ष्य पूरा गर्न अहिलेदेखि नै अभ्यास थालेकी वर्षाले जे गरे पनि पढाइलाई असर नपारी गर्ने बताइन् । मेहनत गर्नुपर्छ अनि मात्र हुन्छ उनी भन्छिन्, ‘राम्रो कलाकार बन्न कलासँगैं मेहनत, अभ्यास, लगनशीलता र शिक्षा हुनु जरुरी हुन्छ ।’

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved