Home »
नयाँ पुस्ता
» काम–पढाइ–अभिनय
काम–पढाइ–अभिनय
Written By Neplee on Tuesday, May 15, 2012 | 5:46 PM
कलालयले वैशाखको अन्तिम साता इटहरीमा सञ्चालन गरेको स्कुल थिएटरका लागि ७८ बालबालिकाले एक महिनासम्म अभिनय साधना गरे । आफूमा रहेको अभिनय प्रतिभा निखार्नुका साथै उनीहरूले बोल्ने र अभिनय गर्ने क्षमतासमेत विकास गरे । तिनै बालबालिकामध्ये थिए, एकराज र रविन ।
भोजपुरमा जन्मिएका एकराज दाहाल पाँच वर्षअघि इटहरी आइपुगेका थिए । आमाले छाडेर हिँडेपछि बुबाले उनको पालनपोषणमा ध्यान दिन सकेनन् । फलस्वरूप उनलाई पढ्न त के दुई छाक खानसमेत गाह्रो हुने भयो । पढ्ने इच्छा पूरा गर्न उनी एकजना साथीसँग मिलेर इटहरी झरे ।
अहिले इटहरीस्थित अम्बिका श्रेष्ठको घरमा घरेलु कामदारको रूपमा बसेका उनलाई श्रेष्ठ परिवारले स्थानीय कविर माविमा पढ्ने व्यवस्थासमेत गरिदिएको छ । फुर्सदको समयमा उनी कविता लेख्न र पत्रपत्रिका पढ्न रुचाउँछन् । भविष्यमा शिक्षक बन्ने सपना सँगालेका १७ वर्षीय दाहालले काम गर्ने समय बचाएर कलालयले आयोजना गरेको स्कुल थिएटर–२ मासमेत सहभागी भए ।
राम्रो कलाकारसमेत रहेका उनी विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने र आफ्नो प्रतिभा प्रदर्शन गर्ने गर्छन् । ‘मैले कार्यक्रममा देखाएको प्रतिभा देखेर नै उमेश सरले मलाई कलालयको स्कुल थिएटरमा सहभागी हुन भन्नुभयो ।’ उनले भने, ‘मैले काम गरिरहेको घरको सहयोगमा स्कुल थिएटरमा सहभागिता जनाएँ ।’ उनले स्कुल थिएटरको एक नाटकमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए ।
सामुहिक भावना विकास हुने गरी नाटकमा सहभागी हुन पाउँदा दङ्ग परेका उनी पढ्न पाएकोमा झनै खुसी छन् । भन्छन्, ‘पढेर ठूलो मान्छे बन्ने सपना देखेको छु ।’ उनले कस्तो ठूलो मान्छे भन्ने लक्ष्य अहिले नै निर्धारण भइनसकेको पनि बताए ।
घरेलु कामदारको रूपमा काम गर्दै पढ्दै कलाक्षेत्रमा लाग्न अलि गाह्रो भए पनि इच्छा भयो भने र सहयोग गर्ने मानिस भए सबै इच्छा पूरा हुने उनको अनुभव छ । ‘कला तथा नाटकको क्षेत्रबाट समाजलाई केही दिन सकिन्छ भन्ने उद्देश्यले आएका हौँ,’ उनले भने । उनले काम गरेको घरबाट कोही पनि नाटक हेर्न नआए पनि चर्चा सुनेरै घरबाटसमेत प्रोत्साहन पाएको उनले बताए । नाटकलाई कतिसम्म निरन्तरता दिने त ? उनी भन्छन्, ‘जीविकोपार्जन गर्न सकियो र समयले साथ दियो भने अभिनय गरिरहन्छु ।
कविर विद्यालयमै पढ्ने १७ वर्षका रविन थापामगर पढाइपछिको समय दाइको पसलमा काम गरेर बिताउँछन् । कक्षा ९ मा अध्ययनरत् उनले पनि स्कुल थिएटर–२ मा सहभागिता जनाएका थिए । कुशल कराँते खेलाडीसमेत रहेका उनी दाजुको व्यापारलाई सहयोग गरिरहेका छन् ।
पढाइबाट बचेको समयमा काम गर्ने रविन कलालयको स्कुल थिएटर–२ मा सहभागी भएर नाटक सिक्न र समूहमा खेल्न पाएकोमा दङ्ग देखिन्थे ।
उदयपुरबाट चार वर्षअघि पढ्नकै लागि इटहरी आएका उनी दाजु–भाउजुकोमा बसेर काम र पढाइलाई साथसाथै लगिरहका छन् । फुर्सदको समयमा कलालयमा पुगेर नाटकमा अभिनयसमेत गर्छन् । ‘दाजु–भाउजुबाट माया पाएको छु,’ उनले भने, ‘पढ्न पाउँदा खुसी छु, अनि साथीहरूसँग मिलेर अभिनय गर्न पाउँदा झन् खुसी ।’
रविन पढाइलाई पहिलो प्राथमिकतामा राखेर अभिनय गर्ने सोचमा छन् । ‘पहिले त जीवन चल्नुप¥यो, त्यसपछि अभिनयका कुरा आउँछन् ।’ उनले दुई महिना अघिदेखि मात्र अभिनय सिक्न थालेका हुन् । अभिनयसँग आफ्नो अटुट नाता गाँसिएको बताउँदै जीविकोपार्जनको व्यवस्था गर्न सकियो भने फुर्सदको समय नाटकलाई दिने सोचमा छन् । उनी समाजमा विकृति र विसङ्गति प्रशस्त रहेको बताउँदै भन्छन्, ‘युवाले गरेनौँ भने कसले गर्छ ?’
इमान्दार र पढाइमा समेत लगनशील उनीहरूको अध्ययनबाट परिवारका साथै शिक्षकहरू समेत खुसी छन् । उनीहरूलाई नाटकको मञ्चमा ल्याउने शिक्षक उमेश सुवेदी प्रतिभा भएका बालबालिकाको सिर्जनात्मक विकासमा अभिभावक र शिक्षकले जोड दिनुपर्ने बताउँछन् ।
‘कामदारको रूपमा घर र पसलमा काम गरिरहेका बालबालिकालाई एक महिना चलेको प्रशिक्षणमा सहभागी गराएर दुई दिनसम्म पूर्णरूपमा मञ्चमा उतार्नु सहज थिएन’ सुवेदी भन्छन्, ‘उनीहरूले काम गरेको ठाउँबाट सहयोग नपाएको भए यो सम्भव थिएन ।’ लामो अनुरोधपछि रविन र एकराजलाई अभिनयमा जान अनुमति दिलाउन सफल भएको सम्झँदै सुवेदी भन्छन्, ‘कलाको विकासका लागि अभिनय गर्ने र अभिनयको लागि वातावरण बनाउने दुवैको भूमिका महत्वपूर्ण रह्यो ।’
कलालय इटहरीले गतवर्षझैँ यसपटक पनि इटहरीमा स्कुल थिएटरको आयोजना गरी ७८ बालबालिकालाई उनीहरूकै लेखन र निर्देशनका नाटकसहित मञ्चमा उतारेको थियो । कलालयका अध्यक्ष सोनु जयन्ती नाटकका लागि बालबालिका मात्र होइन, सहयोग गर्ने विद्यालय, परिवारलगायतका सबै पक्षहरूको समान देन रहेको बताउँछन् । उनले भने, ‘नाटकमा सहभागी बालबालिकाको अभिनय क्षमता विकासका लागि स्थायी थिएटर बनाउन सकेमा अझ राम्रो हुने थियो ।’
अतिथीलाई खाली खुत्रुके उपहार
प्रमुख अतिथीले कुनै कार्यक्रममा सहभागि भएपछि चिनोस्वरुप के लग्लान् ? आयोजकले कुनै मुल्यवान् वस्तु वा उपहार देलान् भन्ने तपाइलाई लाग्नसक्छ । तर कलालय इटहरीको आयोजनामा शनिबारबाट सुनसरीको इटहरीमा सुरु भएको दुई दिने स्कुल थिएटरको समापनसँगै कार्यक्रमका प्रमुख अतिथीलाई खुत्रुके प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्न आइपुगेका कवि तथा नाटककार प्राध्यापक डाक्टर अभि सुवेदी र नाट्य विषयमा पीएचडी गरेका विद्वान डा. शिव रिजाललाई कलालयका अध्यक्ष सोनु जयन्तीले खाली खुत्रुके प्रदान गरे ।
कवि मनु मञ्जिलको परिकल्पनाअनुसार प्रमुख अतिथी तथा विशेष अतिथीलाई खुत्रुके दिइएको हो । दुवै अतिथीले सो खुत्रुकेमा जम्मा गरेको रकमले अर्को वर्षको स्कुल थिएटर ३ आयोजना गर्न सहयोग दिने प्रतिबद्धता जनाएका थिए ।
समालोचक राम्जी तिम्सिनाले समेत आर्थिक अभावकै कारण स्कुल थिएटर जस्तो कार्यक्रम रोकिन नहुने जनाउँदै खुत्रुके बचतमार्फत् बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
Labels:
नयाँ पुस्ता
0 comments:
Speak up your mind
Tell us what you're thinking... !