मर्यादित आन्दोलनको आवश्यकता (सम्पादकीय जेठ)
Written By Neplee on Thursday, May 17, 2012 | 6:33 PM
अहिले सडकमा बन्द–हडतालको रमाइलो मेला लागेजस्तो वातावरण बनाइएको छ । अधिकारप्राप्तिको नाममा चलेको होडबाजी र हानाथापको मात्रा जति बढ्दो छ, उति यो रमिताले किसोरा र नयाँपुस्ताको मनमा नकारात्मक प्रभाव पारिरहेको छ । अभिभावकपुस्ताले सन्ततिपुस्तालाई थोपरेको यो नियतिले गुणस्तरीय शिक्षा, बालअधिकार, विद्यालय शान्तिक्षेत्रको वकालत, सहजीकरण र कार्यान्वयनका सवालमा गम्भीर जिज्ञासाहरू देखिएका छन् । के भन्नु ? के बोल्नु ?
अभिभावक आफैँले भन्दा नथाकेको ‘लोकप्रिय नारा’ शान्ति, सहकार्य र एकताको मर्म बर्खिलाप हुनेगरी सडकमा किन आएका हुन् ? छ वर्षअघि जनआन्दोलन हुँदा यो अन्तिम युद्ध हुने छ र उप्रान्त भावीपुस्ताले कहिले पनि अधिकारप्राप्तिका लागि रगतको खोलो बगाउनुपर्ने छैन भनिएको थियो । तर, आफ्नै प्रतिबद्धताविपरित अघिल्लोपुस्ताले यो दुर्भाग्य किन निरन्तर लादिरहेको छ ? के युवापुस्ता र बालबालिकाले नित्य यसरी नै आन्दोलन, बन्द, हडताल, मसालजुलुस, चक्काजाम र मनमुटावको दुर्भाग्य बेहोरिरहनुपर्ने हो ? के ‘गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता’को सार्थकतालाई लत्याइएको हो ?
समय आउँछ तर पर्खिदैन, बगेको खोला फर्किदैन भन्ने सामान्यज्ञान हाम्रा अभिभावकमा छैन कसरी भन्नु ? तर, संविधानसभाको निर्वाचन यता हाम्रा अभिभावकले निरन्तर समयको गरिमा नबुझेको मात्र होइन, राजनीतिक स्थिरता दिएर शैक्षिक, आर्थिक तथा सामाजिक क्रान्ति गर्नुपर्नेमा समयलाई उही मियोमा उल्टो घुमाउन खोजिएको सार्वजनिक नाटकको साक्षी हाम्रै बालबालिका छन् । महत्वपूर्ण समय मूल्यहीन बनाइएको छ । अधिकांश हाम्रा अभिभावकरू न आफू खुसी हुनसक्ने न छोराछोरीलाई खुसी दिनसक्ने स्तरका देखिएका छन् ।
अहिले एक जुगमा एकदिन एकचोटी आउँछ भनिएको नयाँनेपालको संविधान घोषणा गरिने अभूतपूर्व २०६९ जेठ १४ गतेको दिनको स्वागतका लागि अभिभावकले छोराछोरीलाई फूलमाला उन्न सिकाउनुपर्नेमा जुत्ताको माला उन्न प्रेरित गर्दै छन् । सो दिन खुसीयालीमा आँगनमा दियो बालेर राष्ट्रिय उत्सवमा सहभागी हुने कि कोही आफन्तको मृत्युशोक व्यहोरेर मलामीमा सहभागी हुने ? खुसी हुनुपर्ने दिनमा भय र आतङ्कको वातावरण सघन बनाइएको छ ।
यो बढ्दो अन्योल र गैरजवाफदेहिताले मुलुकको भविष्य बालबालिकाका सुन्दर सपनाहरू तुहाउँदै लगेको मात्र छैन, उनीहरूलाई अकर्मण्यताको कुमार्गमा हिँड्न प्रेरित गरिरहेको छ । यदि आफ्ना छोराछोरीलाई भविष्यमा समयानुकूल प्रतिष्पर्धी र योग्य भएको हेर्न चाहने हो भने सत्ता र व्यक्तिगत स्वार्थ केन्द्रित राजनीतिको दुश्चक्रबाट बाहिर निस्केर अधिकार र माग परिपूर्तिका लागि भद्रअवज्ञाको बाटो हिँडेको उदाहरण नयाँपुस्तालाई देखाउनसक्नु पर्दछ । दुःख लाग्छ अहिलेको वातावरणबाट नयाँपुस्ताले दुर्भाग्य सिकाइ गरिरहेको छ । नयाँपुस्ताको बीउ नै गलत भयो भने भोलि कस्तो फल लाग्ला कल्पना गरौँ !
0 comments:
Speak up your mind
Tell us what you're thinking... !