अनुजा र मन्जिल एउटै कक्षामा पढ्ने भए पनि जीवनको लक्ष्य फरक छ । योजना, चाहना, सपना र इच्छा पनि फरक–फरक छन् । तर, दुवैको बाटो एउटै हो, जीवन बुझ्ने । दुवैले जीवन बुझ्ने माध्यम भने रङ्गमञ्चलाई बनाएका छन् ।
भविष्यमा चाटर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य बोकेकी अनुजा पौडेल र लेखक बन्ने सपना बोकेकी मन्जिल खुलाल अहिले रङ्गकर्मको एउटै बाटोमा छन् । कलालयले आयोजना गरेको स्कुल थिएटरमा दुवैको सशक्त अभिनय देख्न पाइन्छ । दुवैले नाटक निर्देशनसमेत गरेका छन् । मन्जिलले नाटक लेखेकी पनि छन् भने अनुजाको अभिनय कलाको सबैले तारिफ गर्छन् ।
स्कुल थिएटरमार्फत्् दुवैले आधा दर्जन नाटकमा अभिनय गरिसकेका छन् । दुई वर्षदेखि अभिनयमा लागेका उनीहरू फरक–फरक चरित्रमा देखापर्छन् । मन्जिल आफूलाई शिक्षक र छुच्चीको चरित्रमा सबैले मन पराएको बताउँछिन् । उनले शिक्षक, विद्यार्थी, साथी, दिदी–बहिनीलगायतका चरित्रमा अभिनय गरेकी छन् । उनलाई हँसाउने भूमिकामा अभिनय गरेर सबैलाई हँसाउने र प्रशंसा पाउने रहर छ । अनुजाले भने रोवर्ट, प्रहरी, कलाकार, मूर्ति, छोरीलगायतका चरित्रमा आफूलाई प्रस्तुत गरेकी छन् । उनलाई अरूभन्दा फरक र आफूलाई सहज लाग्ने भूमिका मन पर्छ । त्यस्ता भूमिकामा अभिनय गरेर फरक पहिचान बनाउने उनको इच्छा छ ।
बालबालिकाले अवसर पाए आफूमा भएकोे प्रतिभा प्रस्तुत गरेर समाजमा उदाहरण बन्न सक्छन् भन्ने मान्यता व्यवहारमा प्रमाणित गरेर देखाएका छन् अनुजा र मन्जिलले । उनीहरू अभिनयमा मात्र अब्बल छैनन्, पढाइमा पनि कोहीभन्दा कम छैनन् । गुरु–गुरुआमाहरुको मन जितेका छन् ।
विद्यालयमा जत्तिकै घरमा पनि मेहनत गर्न अल्छी गर्दैनन् दुवै । मन्जिललाई अङ्ग्रेजी, विज्ञान र स्वास्थ्य विषयमा विशेष रुचि छ । गणित, विज्ञान, अङ्ग्रेजी अनुजाका मनपर्ने विषय हुन् ।
अभिनय यात्रा सुरु गरेपछि आफूमा धेरै परिवर्तन आएको मन्जिलले बताइन् । उनले अभिनय थालेपछि आफ्नो रिसाउने बानी कम भएको र साथीहरू बढेको बताइन् । अभिनयले धैर्यता, लगनशीलता, आत्मविश्वास र सकारात्मक सोचको पनि विकास गरेको छ । मन्जिलले भनिन्, ‘त्यसैले लक्ष्मीप्रसाद देवकोटाजस्तो लेखक बन्ने आफ्नो लक्ष्य पूरा गर्न अभिनयलाई पनि निरन्तरता दिन्छु । परिवार र विद्यालयको सहयोग नभएको भए अहिले म पनि अरूजस्तै सामान्य हुने थिएँ । परिवार र विद्यालयको सहयोगले गर्दा मलाई अलि फरक हुन सहयोग पुगेको छ । मजस्तै सबै विद्यार्थीले यस्तो अवसर पाउन् भन्ने कामना गर्छु ।’
‘पहिले–पहिले नाटक हेर्दा अभिनय सजिलो होला भन्ने लागेको थियो,’ अनुजा भन्छिन्, ‘तर हैन रहेछ । अभिनय गर्न धेरै मेहनत, क्षमता र धैर्यता चाहिँदो रहेछ । म कम बोल्ने मान्छे साथीहरूसँग अभिनय सिक्न गएँ । सिक्न थालेपछि छाड्न मन लागेन । अभिनयले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ । आफूलाई लागेका कुरा बोल्न सक्नेमात्र भएकी छैन, जानेका कुरा अरूलाई सिकाउन पनि सक्छु । आत्मबल बढेको महसुस भएको छ ।’ उनले पनि परिवार र विद्यालयको सहयोग आवश्यक हुने बताइन् । आफूलाई परिवार र विद्यालयले अवसर दिएजस्तै विद्यालयमा पढ्दै गरेका सबैले यस्तो अवसर पाउनुपर्ने धारणा राखिन् ।
Home »
नयाँ पुस्ता
» रङ्गकर्ममा अनुजा र मन्जिल
रङ्गकर्ममा अनुजा र मन्जिल
Written By Neplee on Friday, August 17, 2012 | 7:05 PM
Labels:
नयाँ पुस्ता

0 comments:
Speak up your mind
Tell us what you're thinking... !