‘हरेक साँझ प्रेमपत्र लेखिन्थ्यो’ : मनु मन्जिल (कवि) - College Times : Educational Magazine
Headlines News :
Home » » ‘हरेक साँझ प्रेमपत्र लेखिन्थ्यो’ : मनु मन्जिल (कवि)

‘हरेक साँझ प्रेमपत्र लेखिन्थ्यो’ : मनु मन्जिल (कवि)

Written By Neplee on Friday, August 17, 2012 | 7:05 PM

 एसएलसी पास गरेपछि छोरालाई रेञ्जर, फरेस्टर बनाउनुप¥यो भनेर बुबाले वन–विज्ञान अध्ययन संस्थान हेटौंडामा भर्ना गरिदिनु भयो । रुख र पातबारे मात्र पढाइ भएको मलाई मन परेन । म पहिलेदेखि नै साहित्य मन पराउने मान्छे, दुई दिनपछि भागेँ र काठमाडौंमा गएर पाटन बहुमुखी क्याम्पसमा भर्ना भएँ । अनि साहित्य पढ्न थाले । बुबाले त्यसको दुई महिनापछि मात्र मैले हेटांैडा छाडेको थाहा पाउनुभयो ।
स्थिति निकै अप्ठेरो थियो, घरबाट खर्च नदिने । आमाले मात्र लुकी–लुकी खर्च पठाउनुहुन्थ्यो । बुबा रिसाएर खर्च दिने कुरै थिएन । एकपटक घर आएँ, आमाले गाई बेचेको १२ सय रूपैयाँ दिनुभयो । त्यो बेला काठमाडौंमा गायक भक्तराज आचार्यको जिव्रो काटिएको खबर आएर सहयोग सङ्कलन गर्दै थिए । म एउटा युवा, चलचित्रको प्रभाव पनि परेको हुनुपर्छ सायद । गोजीबाट फुत्त तानेको हजारको नोट आयो, मैले त्यो दिए । कलेजमा परीक्षा आइसकेको थियो । मैले शुल्क नतिरे परीक्षा दिन पाउने थिइनँ । त्यो बेला साढे चारसय तिरेपछि मात्र मैले परीक्षा  दिन पाउँथे । १२ सयमा हजार रूपैयाँ दिएपछि मसँग दुई सय रूपैयाँमात्र बाँकी रह्यो । अनि त्रिपुरेश्वरमा सानिमासँग तीनचोटी धाएर रोएपछि मात्र पाँच सय रूपैयाँ दिनुभयो र शुल्क तिर्न पाएँ । उहाँ आँखा अस्पतालमा काम गर्नुहुन्थ्यो ।
म कलेज पढ्दा गजल लेख्थेँ । त्यसैले मैले राम्रा–राम्रा साथीहरू भेटेको थिएँ । उनीहरूसँग मेरो मित्रता पनि गाढा थियो । मेरा गजल सुनेर साथीहरू वाह–वाह गर्थे । त्यो बेला कस्ता गजल लेख्थेँ भन्ने कुरा अहिले नभनौं तर युवाका लागि काफी थिए ती । मेरा गजल सुन्न उनीहरू रेष्टुरेन्टमा लिएर जान्थे । म सातवटासम्म गजल सुनाउँथे । साथीहरू खुसीले, प्रेमले, जति खर्च गर्नु परे पनि गर्थे । साथीहरूका गोजीबाट पर्स कसरी निस्कन्छ भन्ने मलाई राम्रोसँग थाहा भयो ।
अर्को रमाइलो कुरा के छ भने, एकजना झापाका साथी ज्ञानेन्द्र, अरू दुईजना पश्चिमका साथी थिए । उनीहरू को–को केटीसँग प्रेम गर्थे । उनीहरू यो गजल लेख्ने मान्छे, कविता लेख्ने, मान्छे यसले चाहिँ राम्रो प्रेमपत्र लेख्छ भनेर मलाई होमवर्क दिन्थे । तीनजनाका लागि हरेक साँझजसो प्रेमपत्र लेख्नुपर्थो । अपरिचित अनुहारलाई प्रेम गरेर, अनेक विम्बहरू कहिले राजकुमारी सम्झेर, नीला आँखा भएका युवती सम्झेर, गोरा युवती सम्झेर यसरी अनेक प्रकारका युवती सम्झेर मैले प्रेमपत्र लेखेँ उनीहरूका लागि । किनभने सही प्रेममा नपरी प्रेमपत्र लेख्न सकिँदैनथ्यो । मैले लेखेको प्रेमपत्रले एकजनाको विवाह भयो । अरू दुईजनाको चाहिँ प्रेम सफल हुन सकेन । प्रेम सफल हुने साथीलाई उनको श्रीमती पहिले–पहिले त्यति राम्रो प्रेमपत्र लेख्ने मान्छे विवाह गरेपछि चाहिँ किन नबोलेको भनेर गुनासो गर्ने गरेको साथी सुनाउँछन् कहिलेकाहीँ । प्रेम असफल भएका साथीका पे्रमिकाले पनि उनीहरूको प्रेमपत्र लेख्ने क्षमताको प्रशंसा गरिरहे रे ! यसरी भावनामा डुबेर उनीहरूका प्रेमपत्र लेख्दा–लेख्दै म झन् भावनामा बग्ने र कल्पनामा डुब्ने भएँ, त्यसैले सिर्जनामा झन्–झन् भासिँदै गएँ । उनीहरू प्रेममा सफल–असफल हुँदै गए ।  म साहित्यमा डुब्दै गएँ ।
म अलिक चतुर किसिमको मान्छे थिएँ । म अलिक अङ्ग्रेजी बोल्ने । पातलो मान्छे, कालो सुट लगाएर हिँड्ने । सयौं साधारण नेपालीका छोराछोरीको नेतृत्व गर्थेँ । त्यो कसरी गर्थेँ भने सेन्टजेभियर पढेर आएकाहरू रातभर पढ्ने र दिनभर अरूलाई बिगार्ने स्वभावका हुन्थे । तिनीहरू चाहिँ ज्यादै राम्रो अङ्ग्रेजी बोल्ने । तिनीहरूका विरुद्धमा उभिने पात्र चाहिँ म थिए । अङ्ग्रेजी बोल्न सक्ने, उनीहरूसँग बाझ्न सक्ने तर उनीहरूसँग नमिलेर म सयौं सोझा–सिधाको नेतृत्व गर्ने भएकाले म युवतीहरूको आर्कषणको केन्द्र थिएँ ।
त्यसबेला थुप्रै युवतीहरू मसँग नजिक हुन खोज्थे । अङ्ग्रेजी सिक्नेदेखि लिएर विभिन्न बहानामा उनीहरू नजिकिन चाहन्थे । म भागी हिँड्ने स्वभाव भएकाले सयौं छायासँग भागेँ, कति छायाहरू सडकमै छुटे । भाग्दा–भाग्दै  करिब चार वर्ष एउटा छायाको प्रेममा परे । त्यो बारे धेरै बताउन सक्दिनँ । तर, ती विम्बहरू मेरा कवितामा अनेक तरहले आएका छन् ।
पढाइ अब्बलै थियो । काम गर्दै पढ्नुपर्ने । त्यसबेलाको एउटा सम्झना छ । मलाई खाना पकाउन नआउने, पैसा पनि नभएको । काम गर्दै पढ्दा एउटा युवा थियो, सागर नामको । त्यो युवालाई मैले उसलाई पढ्न–बस्न पनि मिल्ने र मलाई खाना बनाउन पनि सघाउने व्यवस्था मिलाएँ । मभन्दा एक तह तल पढ्ने त्यो युवालाई बीएसम्म पढाएँ । एक दिन त्यो युवाले मेरा केही हजार रूपैयाँ र मेरा लगाउने लुगासमेत लिएर भाग्यो । त्यसबेला आफूले प्रेम गरेको मानिसले पनि केसम्म गर्न सक्छ भन्ने लाग्यो ।
एमालेनिकटका विद्यार्थी सङ्गठनका सदस्यहरू एकदम नम्र बोल्ने, नरम हात तेस्र्याउँदै आउँथे । त्यसबेला अहो ! राजनीति यिनीहरूसँग गर्नुपर्ने रहेछ भन्ने लाग्थ्यो र तिनीहरूको प्रारम्भिक कमिटीमा पनि केही दिन हिँडे । सुरुमा कम्युनिज्मको आदर्श युवा हृदयले राम्ररी बोक्छ । केही पछि मानिस अलि स्वतन्त्र हुन खोज्छ । अनेक वाद र सिद्धान्त बुझ्न थालेपछि एउटैको पछि लागेर हिँड्न मन लागेन । राजनीति बोकी हिँडौंजस्तो, काँध हालौंजस्तो लागेन । अनि राजनीतिलाई चटक्कै छाडेर बिलकुल साहित्यमा समर्पित रहेँ ।
साथीहरूको लहैलहैमा लागेर २०४६ सालको आन्दोलनमा गए । एकदिन चाहिँ  पुलिसले खेदाउँदा–खेदाउँदै क्याम्पस भित्रै पुगेपछि लाठी हान्यो । लाठी लागेर म ढलेँ । त्यसको भोलिपल्टदेखि गोडा खोच्याउँदै भए पनि इन्जिन्यरिङ क्याम्पसको कम्पाउन्डभित्र लुकेर पुलिसको गाडी देख्यो कि ढुङ्गाले हानिहाल्थे । एकदम ठूलो राजनीतिक आन्दोलन गरिरहेजस्तो ढुङ्गा फ्याँकिरहन्थे । तर, मेरो उद्देश्य चाहिँ त्यस्तो व्यवस्था परिवर्तन गर्नु, पञ्चायत ढाल्नु मेरो दिमागमा थियोजस्तो लाग्दैन । मलाई त पुलिससँग एउटै कुरामा रिस उठेको थियो । मेरो गोली–गाँठो फुट्ने गरी किन हान्यो ? त्यसो भएर म ढुङ्गा फाल्न गइरहन्थेँ । करिब २०–२५ दिनजस्तो त्यसरी ढुङ्गा हान्ने क्रम चल्यो । एउटै रिस फेर्न गोली–गाँठो निको नभइन्जेल पुलिसलाई हानिरहँे । आन्दोलन गरेजस्तो पनि देखियो, पछि साथीहरूले धन्यवाद दिँदा पो थाहा भयो म त्यसरी पनि आन्दोलन गरिरहेको रहेछु ।
केही खुसी र धेरै दुःख र अप्ठेराहरू आइपरे कलेज पढ्दा । अहिले सम्झिन्छु, म त्यसबेला गन्तव्यहीन यात्रामा रहेछु । तर, त्यो निश्चित गन्तव्य नभएको दौड–अनुभव ज्यादै सुन्दर थियो । जहाँ पुग्यो त्यहीँ गन्तव्य, जसलाई भेट्यो त्यही साथी, जुन छायालाई देख्यो त्यही प्रेम । सायद त्यसले नै जीवनलाई सङ्घर्ष गर्न सिकायो र अहिले यहाँसम्म आइपुगेको छु ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved