College Times : Educational Magazine: कलेज लाइफ
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label कलेज लाइफ. Show all posts
Showing posts with label कलेज लाइफ. Show all posts

केटी भनेपछि लाज लाग्थ्यो

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:47 AM


  • गिरिराज आचार्य, अग्रज पत्रकार/लेखक

पब्लिक उच्चमावि धरानबाट २०२४ सालमा एसएलसी सिध्याएँ । २०२५ सालमा महेन्द्र बहुमुखी कलेजमा पाइला हालेसँगै मेरो दिनचर्यामा राजनीतिको बीजारोपण भयो । त्यो बेला राजनीतिक उद्देश्य र गतिविधि गोप्य र पढाइ बाहिर देखाउने विषय थियो । मैले दुवैलाई राम्ररी धान्ने प्रयास गरे पनि राजनीतिक गतिविधिमा बढी नै संलग्न हुँदा पढाइ सन्तोषजनक हुन पाएन । तथापि २०३३ सालमा जसोतसो बिए सिध्याएँ । बिएपछि राजनीतिक उद्देश्यले पत्रकारिताको काम सुरु गरें । पढाइ यत्तिकैमा बिट मारियो । 
तिनताका राजनीति बढी पत्रकारिता कम हुन्थ्यो । अहिले ती दिनका सङ्घर्ष र जोखिमका कुरा इतिहास बनिसक्यो । आधा दर्जनभन्दा बढी पटक जेल नै परें । एक रातको बसाइदेखि छ महिनासम्मको जेल जीवन भोगें । तिनै दिनमा पत्रकारिताको क्षेत्रमा आधा दर्जनभन्दा बढी पत्रपत्रिका तथा साहित्यिक पुस्तकहरूको पनि सम्पादन तथा लेखन गरें ।

२०२८ सालमा प्रजातन्त्र दिवस मनाउने क्रममा हालको कोसी अञ्चल प्रहरी कार्यालय धरानले पक्राउ ग¥यो । सबैभन्दा सानो ठानेर होला मलाई २१ पल्ट उठबस गराएर र अरू तीन जना नेतालाई तारेखमा छाडियो । त्यसबेला गोविन्दकृष्ण पलिखे र सतिसचन्द्र गिरि मसँगै थिए । २०२८ सालको धरपकडको त्यही घटना मेरो जीवनमा पत्रकारिताको सुरुवाती बिन्दु प्रमाणित भयो । आज पत्रिका प्रकाशन थालेकै ३३ वर्ष पुगेछ ।
जनकपुरबाट प्रकाशित हुने जनआकाङ्क्षा पत्रिकाको धरान प्रतिनिधि बनेर मैले संवाददाताको काम आरम्भ गरें । त्यो पत्रिकालाई मैले पहिलोपल्ट प्रजातान्त्रिक विचार आन्दोलनको समाचार पठाएको थिएँ । त्यसपछि नियमित समाचार पठाउने प्रस्ताव आएको थियो । 

मेरो साहित्यमा कलम चलेको भने २०२५ साल अर्थात् कलेज लाइफ सुरु भएदेखि नै हो । पब्लिक स्कुलबाट निस्किने पियुष नामक वार्षिक मुखपत्रमा अधिकार र कर्तव्य शीर्षकको पहिलो कविता छापिँदा खुसीले भुइँमा खुट्टा थिएने । २०२९ सालमा सानो गोजिका भन्ने साहित्यिक पत्रिकाको झलक निकाल्न थालेपछि पत्रकारिताको सुत्रपात भयो । फेरि २०३१ सालमा अजित बिहारी सम्पादक रहेको नौलो अभियानमा पनि मेरा रचनाहरू छापिन्थे । २०३२ सालमा मैले धरानबाटै प्रकाशित विस्फोट कविता सङ्ग्रहको सम्पादनसमेत गरेको थिएँ ।

२०३५ सालमा मोतीस्मृति भवनले प्रकाशित गर्ने मोती मुखपत्रको सम्पादनको जिम्मेवारी पाएँ । त्योसँगै मेरो जिम्मेवारी राजनीतिक क्षेत्रमा पनि उत्तिकै थियो । त्यसबेला म नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति थिएँ र प्रतिबन्धित नेपाली काङ्ग्रेसको संस्थापक सदस्य । जुन २०१९ सालमा नेपाली काङ्ग्रेसले सङ्गठन निर्माण गरे पनि आधिकारिक मान्यता प्रदान गरिएको थिएन । 

गिरिजाप्रसाद कोइरालाले भारतको फारबिसगन्जमा त्यसको गठन गरेका थिए । सभापति हरिनाथ बाँस्तोला थिए । बीचमा, २०३४ सालमा भारतका पत्रपत्रिकाहरूमा पनि मेरा विचारहरू प्रकाशित हुन थाले तर गोप्य रूपमा । राजनीतिक यात्राको मोडमा मैले २०२८, २०३६, २०४२ र २०४६ मा जेल जीवनको उल्लेख्य तीतो अनुभव गरें । जेलको अनुभवलाई मैले यातनागृहबाट फर्किदा शीर्षकको पुस्तकमा हुबहु लेखेको छु । 

२०४० मा आफ्नै प्रकाशन÷सम्पादनमा पूर्व टाइम्स पत्रिका आरम्भ गरें । सुरुमा कहिले निस्किने कहिले ननिस्किने थियो । तर, २०४३ बाट भने त्यसलाई निरन्तरता दिएँ । पत्रकार महासङ्घ सुनसरी र प्रेस युनियन गठन गर्न मैले सक्रिय भूमिका निर्वाह गरेको थिएँ । यी दुवै संस्थाको नेतृत्व गर्ने मौका पाएको थिएँ । 

कलेज लाइफमा माया–पिरतीका कुरामा उति ध्यान गएन । त्यो बेला राजनीतिक कार्यक्रममा सहभागी हुन र नेतृत्व लिन निकै सक्रिय केटो भए पनि केटी भन्नेबित्तिकै लाजले मुख रातपिरो हुन्थ्यो । राजनीति र पत्रकारिताको काममै बढी समय भुलिन्थ्यो । समय–अन्तरमा अनेक चिनजानहरू भए तर श्रीमतीभन्दा अर्कोसँग माया–प्रेम गाँसिएन । २०३९ सालमा मायाप्रेमबिनै बिहे भयो । 

मेरा मौलिक कृति विस्थापित यौवन (उपन्यास), मेरी रजनी (कविता सङ्ग्रह), सानीको सपना (कथा सङ्ग्रह) जन उदय (नाटक) हुन् । साहित्य, राजनीति र पत्रकारितामा दर्जनभन्दा बढी सम्पादित कृति छन् ।
अहिले मोती–संस्मरण समिति र युसाज र सुनसरी साहित्य प्रतिष्ठानस“ग सम्बन्धित भएर समाज तथा साहित्य सेवाको काममा सक्रिय छु । पत्रकारिता र राजनीति क्षेत्रमा भने ‘सेवानिवृत’ दिनहरू बिताउँदै छु ।
प्रस्तुतिः भोजराज श्रेष्ठ

फिल्म हेर्न गएको जेरी खाएर फर्कियौं

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:08 AM

झण्डै दुईदशक दुई दशकदेखि विराटनगरको शैक्षिक सेरोफेरोमा सक्रिय नाम हो अमित ढकाल । विराट साइन्स, लर्डबुद्ध, सिटी, गोग्राहालगायतका कलेजमा अध्यापन अनुभव सँगालेका ढकालले गुरुकुल, एजेलिया जेम्सलगायतका स्कुलबाट अध्यापकीय क्षमता निखार्दै शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गराएका हुन् । २०६५ देखि अर्किड उच्चमाविको कोअर्डिनेटर, प्रिन्सिपल हुँदै अहिले अध्यक्षको भूमिका निर्वाह गरिरहेका ढकालको कलेजलाइफ उनकै स्मरणमा ।
कलेज पढ्दाका थुप्रै मीठा–नमीठा अनुभव र अनुभूतिहरू छन् । गाउँको सरकारी विद्यालयबाट २०४६ सालमा एसएलसी पास गर्दा म सामुदायिक विद्यालयतर्फबाट जिल्ला प्रथम भएको थिएँ । अमरसिंह उच्चमावि हसन्दहमा एसएलसीसम्मको अध्ययन गरेपछि म उच्चशिक्षाका लागि काठमाडौंको अस्कल कलेज पुगेँ । त्यहाँ आइएससीमा भर्ना भए पनि विविध कारणले मेरो काठमाडौं बसाइ लामो हुन सकेन । एक वर्षपछि विराटनगर आइयो । आइएसी दोस्रो वर्ष र बिएससी महेन्द्र मोरङ कलेजबाट पूरा गरियो ।
बिएससीको पढाइसगैं मैले बोर्डिङ स्कुलमा पढाउन पनि सुरु गरिसकेको थिएँ । एकातिर आफ्नो पढाइ अर्काेतिर पढाउनुपर्ने बाध्यता भएकाले धेरै मेहनत गरियो । कलेजमा गाउँबाट आएका विद्यार्थीलाई सहरका विद्यार्थीले हेर्ने दृष्टिकोण फरक थियो । हरेक क्षेत्रमा सहरका विद्यार्थीले हामीजस्ता बाहिरबाट आएकालाई नराम्रो व्यवहार गर्थे । उनीहरूको तुलनामा हामी सक्षम भए पनि धेरै अवसरहरूबाट हामीलाई वञ्चित गरिन्थ्यो । पैसा हुनेहरू ट्युसनको भर पर्थे । पैसा नहुनेहरू आफैं मेहनत गर्ने गर्थे । त्यसबेला एकदम कम विद्यार्थी उत्तीर्ण हुन्थे । त्यो सङ्ख्या अहिले बढेको छ ।
सहरिया विद्यार्थीको आफ्नै खालको दादागिरी थियो । त्यसवेला क्याम्पसमा राजनीतिको प्रभाव पनि राम्रै थियो । भर्खर–भर्खर प्रजातन्त्र आएको र आम निर्वाचनको पनि समय परेकाले राजनीतिक वातावरणले क्याम्पस तातेको हुन्थ्यो ।
महेन्द्र मोरङबाट बिएससी सकेपछि २०५३ सालमा डिग्री क्याम्पस पढियो । त्यहीँबाट पढाइ पूरा पनि भयो । बिएसी पढ्दाभन्दा डिग्री पढ्दा पढ्ने शैली फरक भयो किनभने डिग्री सुरु गर्दा स्कुलहरूमा पढाउने क्रम पनि बाक्लिएको थियो । त्यसले गर्दा आफ्नो पढ्ने शैली पनि फरक भयो ।
हामीले कलेज पढ्दा र अहिलेको कलेजको वातावरण निकै फरक छ । त्यसबेला अहिलेजस्तो हात(हातमा मोबाइल थिएन । सञ्चारका साधनसमेत कम थिए । क्याम्पसमा कुनै केटाले कुनै केटीलाई मन परायो भने ब्ल्याकबोर्डमा लेख्थे । उनीहरूले अहिलेजस्तो प्रत्यक्ष कुरा राख्न सक्दैनथे । त्यसबेला र अहिलेको क्याम्पसको वातावरणमा धेरै परिवर्तन भएको छ ।
क्याम्पस सुरु गर्दाको एउटा रमाइलो प्रसङ्ग प्रायः सम्झिने गर्छु । एक वर्षको काठमाडौं बसाइपछि आइएससी दोस्रो वर्षको अध्ययन गर्न  भर्खर–भर्खर महेन्द्र मोरङमा भर्ना भएको थिएँ । त्यसबेला हामी साना विद्यार्थीमा पथ्र्यौं । हामी आठ १० जनाको समूह थियो । समूहमा विनोद पोखरेल भन्ने साथी थिए । उनले हामीलाई धेरै हँसाउथे । पढाइ नभएको घन्टी उनको जोक सुनेर रमाइलो गर्दै बित्थ्यो ।
एकदिन एकजना दाइले हामीलाई फिल्म हेर्न जोगबनी लिएर गए । हाम्रो समूह हिँड्दै(हिँड्दै जोगबनी पुग्यो । तर, हामीले त्यहाँ फिल्म हेर्न पाएनौं । के कारण हेर्न पाइएन त्यो पनि थाहा भएन । अन्ततः जोगबनीमा दुई(दुई वटा जेरी खाएर फिल्म नहेरी हिँड्दै(हिँड्दै विराटनगर फर्कियौं । मलाई मेरो कलेजलाइफको सबैभन्दा रमाइलो क्षण लाग्छ त्यो ।

जति अभाव, उति रमाइलो

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:23 AM



राजनीतिक विचार लेखक, वैकल्पिक विचार मञ्च संयोजक, कथाकार, प्रध्यापन पेसामा संलग्न, वाणिज्यशास्त्रमा स्नातकोत्तर डम्बर खतिवडाले राजनीतिक क्षेत्रमा धेरै वर्षहरु बिताए । राष्ट्रियस्तरका अखबारमा उनका विचारले अग्र ठाउँ पाउने गरेका छन् । उनका ‘एउटा अतिरिक्त गाउँ’ (कथा सङ्ग्रह), ‘कुस्तुन्तुनियाको पतन’ (राजनीतिक लेख सङ्ग्रह) ‘सङ्घीयता र पूर्वी तराई’ (साझा विचार सञ्चयन), ‘बीस वर्षको नेपाल’ (अनुसन्धानमूलक ग्रन्थ) आदि प्रकासित छन् । दुर्गम गाउँ मानपुरबाट उच्चशिक्षाको लक्ष्य बोकेर दिनदिनै सदरमुकाम धाएका खतिवडा कलेज लाइफका पुराना दिन सम्झँदै लेख्छन् :

२०४३ सालको ब्याचमा महेन्द्र मावि चक्रघट्टीबाट एसएलसी पास गरेपछि २०४४ भदौबाट मेरो कलेज जीवन सुरु भयो । मैले कलेज जीवनको पहिलो पाइला टेकेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाको आफ्नै भवन थिएन । क्याम्पस भनेको स्कुलभन्दा फरक, अलि ठूलो भवन, आधुनिक फर्निचर, आकर्षक व्यक्तित्व भएका फरक शैलीमा पढाउने प्राध्यापक, अन्य सुविधाहरू होलान् भन्ने कलेजबारेको मेरो मानसिक चित्र व्यवहारमा उपलब्ध थिएन । क्याम्पस भनिने भगवती माविको भव्यता हामीले पढेको स्कुलभन्दा पनि कमजोर थियो । तसर्थ कलेजले कुनै ‘सस्पेन्स’ सिर्जना गरेन । इनरुवा कलेज पढ्न हामी बिहान पाँच बजेतिर उठेर हिँड्थ्यौं सिंगियाको मानपुर गाउँबाट । साइकल पनि थिएन । झुम्का पुगेर गाडी चढी इनरुवा पुग्थ्यौं । भाडा एक रूपैयाँ तिर्नुपथ्र्यो विद्यार्थीले । त्यो पनि नभएर बेलाबेला कन्डक्टरसँग झगडा भइरहन्थ्यो । क्लास सकेर, भोकले लखतरान भएर घर पुग्दा प्रायः दिउँसो एक बजेको हुन्थ्यो ।
इनरुवाबाट आइकम सकेपछि बिकम पढ्न धरानको महेन्द्र क्याम्पस गएँ । २०४६ को जनआन्दोलन भर्खरै सकिएको थियो । जताततै राजनीतिक वातावरण थियो । जनआन्दोलनमा दुई महिना जेल बसेर निस्किएको थिएँ । पञ्चायतकालदेखि नै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य थिएँ । महेन्द्र क्याम्पसमा अनेरास्ववियुको बलियो पकड थियो । यी कारणहरूले धरान पुगेर एकाएक थुप्रै साथीहरू पाएँ । साथीहरूको ठूलो ग्रुप बनाएर बजार डुल्दा, कलेजको चौर वा क्यान्टिनमा चिया पिउँदै गफिँदा संसारकै सबैभन्दा जान्ने मान्छे भएजस्तो लाग्थ्यो । आइकम, पढ्दा होस् वा बिकम हाम्रो क्लासमा अत्यन्तै थोरै छात्राहरू थिए । त्यतिखेर अधिकतर केटीहरू आर्टस् पढ्थे । आइकम पढ्दाका केटी साथीहरूको अनुहार अहिले पनि सम्झिन्छु । नाम भने थाहा छैन । बोल्ने त कुरै छोडौं ।
धरानमा बिकम पढ्दा भने त्यस्तो स्थिति थिएन । जम्मा चार जना केटी साथीहरू थिए । चारै जना पढाइमा तेज, हामीलाई नै जित्ने खालका थिए । उनीहरूसँग बोलचाल गर्न कुनै गाह्रो थिएन । तर, मेरो स्वभाव सानैदेखि ‘इन्ट्रोभर्ट’ नै थियो । मन मिल्ने साथीबाहेक काम नपरी अरूसँग बोल्दिनथेँ । त्यसैले कतिपय यो मान्छे घमन्डी छ भनेर परपरै अनुमान गर्थे । अग्लो देखेर हो कि किन हो (६ फिट) दादा र चल्तापूर्जा खालका केटाहरू मसँग सङ्गत गर्न मन पराउँथे ।
कलेज जीवनमा क्लासमा म कहिल्यै सिरियस भएर पढ्दिनथेँ । सरको लेक्चर सुन्थे र कपीमा टिप्थे । तर, बुझ्न पिटिक्कै प्रयास गर्दिनथेँ । वास्तवमा दिउँसो पढेर नबुझ्ने खालको दिमाग थियो मेरो । कुरा बुझ्न राति एकान्तमा पढ्नुपथ्र्यो । क्लास नोट किताबसँग भिडाएर रातभरि अर्थ लगाउने प्रयास गर्थें । तर, परीक्षाको दुई महिनाअघि मात्र । अरू बेला त राजनीतिक भेला, जुलुस, सम्मेलन र मिटिङमा हिँड्दा नै समय स्वाहा हुन्थ्यो । क्याम्पसमा हुने कविता गोष्ठीमा अधिकतर त प्रथम नै हुन्थें । क्याम्पसमा भित्ते पत्रिका र पर्चा साहित्य निकाल्ने लहर नै थियो त्यतिखेर । यस्ता पत्रिकामा कविता छाँपिदा कलेजमा साथीहरू बीच शान बढ्थ्यो । बढो खुसी लाग्थ्यो । तर, मैले भने कलेज जीवनसँगै कविता जीवन समाप्त गरिदिएँ ।
एमबिए भने मैले नेपाल कमर्स क्याम्पस मीनभवन, काठमाडौंबाट पढेको हुँ । पढेको हुँ भन्नु मात्र हो, दुई वर्षको कलेज अवधिमा चार महिना पनि क्लास लिइनँ । त्यतिखेर म सानोतिनो नेताजस्तो भइसकेको थिएँ । २३ वर्षको उमेरमा एमाले सुनसरीको सदस्य भएको थिएँ । त्यही अवधिमा २०५१ सालको मध्यावधि चुनाव भएको थियो । स्कुलदेखिका साथी हरिबाबु आचार्य र म सँगै थियौं मीनभवन पढ्दा । एमबिए पढ्दा म जिल्लामा राजनीति गर्थे । परीक्षा आएपछि कुदेर काठमाडौं पुग्थे र हरिजीका नोटहरू घोक्न थाल्थेँ । कसरी पास हुन्थे कुन्नि आफैँलाई आश्चर्य लाग्छ । अहिले लाग्छ, पढाइमा यस्तो लापरवाही कुनै विद्यार्थीले नगरोस् ।
कलेज जीवनमा पैसाको सधैँ अभाव हुन्थ्यो । अलिकति पैसा भयो कि सिनेमा हेर्ने मन थाम्नै सकिँदैनथ्यो । सिनेमा हलमा गएर सिनेमा हेर्न खुबै मजा लाग्थ्यो । साथीहरूसँग ग्रुप बनाएर सिनेमा जाँदा आफूले टिकट काट्ने पालो प¥यो भने एक महिनाको खर्च सकिन्थ्यो । कलेज जीवन फर्केर हेर्दा के भन्न मन लाग्छ भने विद्यार्थीकालमा पहिलो ध्यान पढाइमा नै लगाउनु राम्रो हुने रहेछ । दोस्रो आफ्नो रुचिको रचनात्मक क्षेत्रमा । तेस्रो मात्र राजनीतिमा । २५ वर्ष उमेर नपुग्दै पढाइ सकिइहाल्छ । त्यसपछि जेजे गर्दा पनि भो । कलेज जीवन सबैभन्दा अभाव थियो तर सबैभन्दा रमाइलो थियो । अहिलो हिजोजस्तो अभाव छैन, जीवन हिजोजस्तो रमाइलो पनि छैन ।

बिएमा केटीसँग बोलियो

Written By Neplee on Wednesday, April 24, 2013 | 10:56 PM


डिग्री कलेज विराटनगरका सह–प्रध्यापक तथा कोवास कलेज विराटनगरका चिफ एग्जुकेटिभ डाइरेक्टर डाक्टर रमेशप्रसाद अधिकारी अर्थशास्त्रमा पूर्वका विज्ञ मानिन्छन् । उनले कलेज पढ्दाको अनुभव उनकै शब्दमा ः
२०३२ सालमा धरान पब्लिक हाइस्कुलबाट एसएलसी परीक्षा दिएकोमा एक वर्षपछि रिजल्ट आयो । त्यो बेला इन्जिनियरिङको क्रेज थियो । तर, आर्थिक अभावले गर्दा म भने मानविकी सङ्कायमा धरानकै महेन्द्र बहुमुखी कलेजमा अर्थशास्त्र मुख्य विषय रोजेर भर्ना भएँ । त्यो बेला कलेजमा त्यति सारो खर्च नभए तापनि घरबाट चाहिँदो खर्च पाइँदैनथ्यो । अनि, गाउँका केटाकेटीलाई ट्युसन पढाएर खर्च जुटाउँथे । त्यो बेला घरबाट खर्च नबेहोरे पनि हरेकमा पढ्नुपर्छ भन्ने सोच हुन्थ्यो । अहिलेका विद्यार्थीमा घरबाट जतिसुकै खर्च गरे पनि पढ्नुपर्छ भन्ने भावनाको कमी छ ।
म मानविकी सङ्कायमा पढ्दा नियमित कलेज जान्थेँ । अनि, गुरुहरूले पढाएको आधारमा आफैँ नोट बनाउने अनि मिहिनेत गरेर पढ्ने गर्थें । विषयवस्तुसँग सम्बन्धित किताब खोजी–खोजी पढ्थेँ । २०३५ सालमा प्रवीणता प्रमाणपत्र तह सकेपछि सोही वर्ष पुनः धरानको महेन्द्र कलेजमै स्नातक तहमा भर्ना भएँ । स्नातक तह अध्ययन गर्दा बिहान कलेज सञ्चालन हुने भएकाले दिउँसो र बेलुका गरेर हरेक दिन चार घन्टा अनिवार्य पढ्थेँ ।
प्रवीणता प्रमाणपत्र तहमा भने त्यसरी पढिएन । स्नातक तह पढ्ने क्रममै २०३६ सालमा विद्यार्थी आन्दोलन भयो । विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा सहभागी भइयो । एक–दुईपटक प्रहरी खोरमा समेत पुगियो । अनि, राजनीतितिर पनि प्रवेश गरियो । राजनीतितिर प्रवेश गर्ने क्रममा साथीहरूको करकापले सुरुवातमै स्ववियुको खेलकुद सचिव भएको थिएँ । राजनीतिमा इच्छा नहुदाँ–नहुदै पनि जवर्जस्ती लागेकाले गर्दा त्यो कलेजको मेरो अविस्मरणीय क्षण बनेर रहेको छ । राजनीतिमा त्यसरी जवर्जस्ती लाग्दा पनि पढाइमा भने कुनै असर गरेन ।
२०३८ सालमा स्नातक तहको पढाइ सकेपछि शिक्षकमा जागिर खान थालेँ । त्यो बेला झन्डै पाँच वर्षसम्म मोरङ बाहुनीको जनता माविमा काम गरेँ ।
२०४३ सालमा स्नातकोत्तर अध्ययन गर्नका लागि डिग्री क्याम्पस विराटनगरमा भर्ना भएँ । पहिलो वर्ष बोर्ड प्रथम भएँ । दोस्रो वर्ष भने त्योअनुसार अङ्क ल्याउन सकिएन तर पनि राम्रै अङ्क ल्याएको थिएँ । स्नातकोत्तर प्रथम वर्षमा बोर्ड प्रथम भएकोमा सरकारीस्तरबाट जापान भ्रमण गर्ने अवसर पाएँ । त्यहाँको भ्रमणले गर्दा विकसित राष्ट्र कस्तो हुँदोरहेछ भन्ने प्रत्यक्ष हेर्ने मौका पाएँ ।
२०४६ सालदेखि डिग्री क्याम्पसकै सहप्रध्यापकको रूपमा कार्यरत छु । २०५२ सालदेखि निजीस्तरमा कोवास कलेज पनि सुरुवात ग¥यौं । पढने क्रममै २०६३ सालमा भारतको नर्थ बङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेँ । विकसित राष्ट्रको शैक्षिक अनुभव बटुल्नका लागि २०६८ सालमा आफ्नै खर्चमा अमेरिका र बेलायतको पनि भ्रमण गरेँ ।
विकसित राष्ट्र अनि मैले अहिलेसम्म शिक्षण गरेको अनुभवमा शिक्षकहरूले आधुनिक सुविधा प्रयोग गरेर शिक्षण गर्नुपर्छ । र, शिक्षक हरेक समय अपडेट भइरहनुपर्छ, विद्यार्थीहरूले पनि कक्षामा पढाएको भरमा केन्द्रित नभएर आफ्नै तरिकाले लेख्न सक्ने नयाँ प्रविधिको प्रयोग गरेर नयाँ–नयाँ कुरा सिक्न सल्लाह दिन्छु । साथै, अभिभावकलाई पनि राम्रो कलेज बुझेर जहाँको रिजल्ट राम्रो हुन्छ त्यही भर्ना पनि सल्लाह दिन्छु ।
 विद्यालयस्तरको पढाइ सरकारी स्कुलमा पढे पनि म अङ्ग्रेजी विषयमा पोख्त थिए । कलेजमा अङ्ग्रेजी राम्रो भएकै कारण केटीहरू नजिक हुन खोज्थे । म भने केटीसँग एकदमै लजाउँथे । भरसक बोल्न नपाए पनि हुन्थ्योजस्तो लाग्थ्यो ।
स्नातक तहमा अध्ययन गर्दा स्ववियु निर्वाचनबाट खेलकुद सचिव भएपछि भने शैक्षिक भ्रमण जानुपर्ने, खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यताले केटीसँग बोल्ने बानी सुरु गरेँ । त्यसैले आई पढ्दासम्म केटीसँग नबोलेको म बिए पढ्दादेखि भने मजाले बोल्न थालेँ ।
प्रस्तुति ः अम्बर

केटीसँग गफ हुँदैनथ्यो

Written By Neplee on Saturday, March 16, 2013 | 6:26 PM


भगीरथ पोखरेल विराटनगरको आदर्श उच्चमाविका अङ्ग्रेजी शिक्षक हुन् । सफल र असल विद्यार्थी तयार गर्नका लागि मरिमेट्ने नगन्य शिक्षकमध्ये एक मानिन्छन् उनी । उनै पोखरेलले कलेज पढ्दा बिताएको जीवन उनकै शब्दमा ः
२०४४ साल अन्त्यतिर एसएलसी परीक्षा दिएँ । त्यसको रिजल्ट २०४५ सालको असारतिर सार्वजनिक भयो । अनि, मानविकी सङ्कायमा महेन्द्र मोरङ कलेज विराटनगरमा भर्ना भएँ । त्यो बेला पढ्दा एकदमै सस्तो शुल्क थियो । मासिक १३ रुपैयाँ मात्र लाग्थ्यो । शुल्क सस्तो भए पनि पढ्दा बस्ने–खाने र अन्य आवश्यक खर्च आफैंले जुटाउनुपर्ने अवस्था थियो । त्यसो हुदाँ ट्युसन पढाउने गर्थें । आइए पढ्दाताका कलेजमा कमै मात्रामा पढाइ हुने भए पनि त्यो बेला पढाइका लागि राम्रो वातावरण थियो । एक महिनासम्म नियमित कलेज जाँदा मलाई पाँचवटै विषय पढाइ भएको याद छैन ।
एक महिनापछि ऐच्छिक अङ्ग्रेजीबाहेक अरूको क्लास लिइनँ । अरु विषय आफ्नै किसिमले पढेथेँ । अङ्ग्रेजी विषयको क्लास लिइसकेपछि बचेको समयमा बरु पुस्तकालयमा गएर विभिन्न लेखकका उपन्यास र कोर्सका पुस्तक पढ्थँे । बढी चाहिँ उपन्यास नै पढ्न रुचाउँथे । आइए पहिलो वर्षको पढाइ सहज ढङ्गले बितेको थियो ।
दोस्रो वर्ष कलेज पढ्दा क्लास गइनँ । दोस्रो वर्षको परीक्षाको पूर्वसन्ध्यामा भारतले पारवहन सन्धि गरे पनि कलेज नै बन्द भएर केही समयसम्म पठनपाठन अवरुद्ध हुदाँ दुई वर्षको कोर्स तीन वर्ष लागेको थियो । पढ्दा परीक्षाको बेला राम्रोसँग पढ्थे । आइए नै पढ्दा एक रात त नसुतिकन उज्यालो बनाएको पनि थिए । आइए पहिलो वर्षको कल्चर विषयको परीक्षा पनि पूरै उज्यालो त बनाइनँ तर राति अबेरसम्म एकैदिन पढेका भरमा परीक्षा दिएको थिएँ । त्यसरी परीक्षा दिँदा पूर्णाङ्कको ७५ प्रतिशत अङ्क ल्याएको थिएँ । पढाइबाहेक बाहिरी कुरा लेखेर बस्नु पर्दा राति अबेरसम्म बस्थेँ । राति अबेरसम्म बस्न कुनै समस्या थिएन, बरु बिहान चाँडो उठ्न भने सक्दिनथेँ ।
स्नातक पनि महेन्द्र मोरङ विराटनगरमै पढेँ । स्नातक पढ्दा स्वअध्ययन नै गरे । त्यो बेला मोरङकै सिजुवा–५ को तत्कालीन समयमा सरस्वती निमाविमा शिक्षण गर्थें । स्नातकमा हुँदा तत्कालीन क्याम्पस प्रमुख ध्रुवनारायणलाल दासले एक दिन क्लास लिएको याद छ । स्वअध्ययन गर्ने क्रममा ऐच्छिक अङ्ग्रेजीलाई बढी समय खर्चिन्थेँ । २०५० सालमा स्वअध्ययनकै भरमा नराम्रो पनि होइन, सामान्य अङ्क ल्याएर स्नातक पूरा गरेँ ।
२०५१ सालमा स्नातकोत्तर गर्न कीर्तिपुर गएँ । घरबाट बोकेर गएको पैसा एक महिनामै सकियो । काठमाडौंमा बस्ने–खाने खर्च धान्न नसकेपछि जोरपाटीको शान्तिआदर्श स्कुलमा एक वर्ष शिक्षण गरेँ र खर्च जोहो गरेर अर्को वर्षदेखि पुनः कलेज भर्ना भएँ । पढ्दा असाध्यै मिहिनेत गरेर पढेँ । स्नातकोत्तर दोस्रो वर्षको पढाइ पूरा नगरीकनै सिजुवाको सौठा उच्चमाविमा आएर शिक्षण गर्न थालेँ । त्यहाँ सात वर्ष काम गरेँ ।
हामी कलेज पढ्दा केटाकेटीबीच गफ गरेको पनि सुनिँदैनथ्यो । म त झन् गफगाफ नै त्यति सारो गर्दिनथेँ । बरु कक्षा–१० सम्म पढ्दा बोलचाल हुने गथ्र्यो । नगन्य उच्छृङ्खल स्वभाव भएकाले कसैलाई जिस्काउनु त अलग्गै कुरा थियो । मलाई सानैदेखि अङ्ग्रेजीमा चाख भएकाले गर्दा सबैले सोध्थे । कतिपय विषयमा छलफल गथ्र्यौं । पढाइमा लगनशीलसँग मात्र सङ्गत हुन्थ्यो । म कलेज पढ्दा कहिल्यै पिकनिक र भ्रमणमा पनि गइनँ ।
मेरो कलेज पढ्दाको अनुभवले त अहिलेको पुस्तालाई बोरिङ नै हुन सक्छ । त्यो बेला मैले  आफ्नै पाराले पढेको हुनाले अबका विद्यार्थीलाई भने जति पढे पनि एकदमै मस्तिष्कलाई केन्द्रित गरेर पढ्न सल्लाह दिन्छु । पढ्दा दृश्य देखेको अनुभव गरी पढेमा त्यो दीर्घकालीन समयसम्म स्मरण रहिरहन्छ । विषयवस्तुलाई बुझ्न/पढ्न जति समय खर्चेको छ, त्यति नै समय सोच्नमा पनि खर्च गरौं भन्ने सल्लाह दिन चाहन्छु ।

केटाहरुले पिछा गर्थे

Written By Neplee on Wednesday, February 13, 2013 | 11:15 PM


टीका आत्रेय पौडेल (प्रध्यापक), जनता बहुमुखी क्याम्पस, इटहरी
२०४७ सालमा पाँचथर, रविको दुर्गा माध्यमिक विद्यालयबाट एसएलसी दिएँ । एसएलसीको रिजल्टपछि २०४८ सालमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न मोरङको उर्लाबारी कलेजमा भर्ना भएँ । उर्लाबारी कलेज पढ्न दमकबाट धाउने गर्थें । दमकमा पनि कलेज थियो तर दुवै स्थानमा पढाउने सरले दमकभन्दा उर्लाबारीमै राम्रो पढाइ हुने सल्लाह दिएपछि उर्लाबारी साइकलमा धाउथेँ ।
कलेज पढ्दा दिदी र म बस्ने गथ्र्यांै । दमक नै बस्नुपर्ने बाध्यता चाहिँ रेखदेख गर्ने अगुवा भएकाले हो । प्रवीणता प्रमाणपत्र तहमा मानविकी सङ्कायबाट मैले गणित, अर्थशास्त्र र इतिहास रोजेर पढेँ । पढ्ने क्रममा बिहान तीन बजेदेखि उठेर पढथेँ । बेलुका चाहिँ कम्ती पढ्थेँ । कलेजमा पढाइ भएका महत्वपूर्ण बुँदा टिपेर नोट बनाउने गर्थेँ । सुरुवातमा कलेज पढ्दा बँुदा टिपोट नगरेको देखेर एकदिन इतिहास पढाउने निराजन ढुङ्गाना सरले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘यहाँ पुराण सुन्न आएको कि पढ्न ?’ सरको यस्तो भनाइले हरेक विषयको टिपोट गरी नोट बनाउने बानी बस्यो । हामी पढेको बेला केटीले पढ्नु भनेको बिहेको लाइसेन्स लिनका लागि हो भन्थे । त्यो बेला थुप्रैमा त्यस्तै सोचाइ थियो । तर, मेरो बाबु भने शिक्षक नै भएकाले मलाई भने स्वावलम्बी बनाउनकै लागि पढाउनुभएको थियो । म पनि बुबाको भावना बुझेर सोहीअनुसारको मिहिनेत गरेर पढ्थेँ । 
प्रवीणता प्रमाणपत्र तह पूरा गरपछि स्नातक अध्ययनका लागि इलाम गए । उर्लाबारीमा स्नातक तहमा मेरो रोजाइको विषय गणित नहँुदा इलाम जानुपरेको थियो । इलाममा दिदी–भिनाजुकोमा बसेर पढेँ । त्यहाँ स्कुल तह पढ्दाका धेरै साथी थिए । स्नातकोत्तर भने कीर्तिपुरबाट जनसङ्ख्या विषयमा पूरा गरेँ । लगनशील भएर पढेकै कारण क्रमशः सफलता हात लाग्दै गयो ।  
कलेज लाइफमा सबैभन्दा बढी दुःखका दिन प्रवीणता प्रमाणपत्र तह पढ्दा नै बिताइयो । कोइलामा खाना पकाएर खाइन्थ्यो । तपेसमा खाना पकाइन्थ्यो । स्टोप र प्रेसर कुकर थिएन । कलेज पढ्ने क्रममा कहिल्यै रमाइलो गर्नेतिर मन बरालिएन । थुप्र्रै केटाहरूले पिछा गर्थे । तर, संस्कारयुक्त परिवारमा हुर्केकी हुनाले ‘बजारका’ केटाहरूप्रति नजिकिने भाव र दृष्टिकोण बन्न पाएन । स्नातकोत्तर पढ्दासम्म केटी पछ्याउने केटालाई नकारात्मक दृष्टिले हेरिन्थ्यो । एकदिन केही केटाले अलि बढी नै गरेजस्तो लाग्यो । हामीले ती केटालाई केटी साथीहरू मिलेर थुकी दियौँ । तर, अहिले त्यो घटना सोच्दा हामीले त्यति साह्रो नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । 
केटाबाट टाढा रहँदा–रहँदै पनि मलाई सँगै पढ्ने टोलनाथजी (हाल जनता बहुमुखी क्याम्पसकै प्राध्यापक)ले दुई वर्षसम्म पिछा गर्नुभयो । एकदिन अर्कै साथीको सहयोगमा मलाई एउटा गिफ्ट दिनुभो । स्वयम्ले नदिई अरूमार्फत् नै पठाएको गिफ्ट स्वीकार गरेँ । तर, उहाँसँगै विवाह भएपछि त्यो त भ्यालेनटाइनको गिफ्ट भएको सुनाउनुभएको थियो । मलाई त्यो दिन भ्यालेन्टाइन डे भन्ने थाहा पनि थिएन ।
कलेजमा पढने–पढाउने वातावरण पहिलोको तुलनामा अहिले बदलिएको छ । अहिलेका विद्यार्थी पूरै शिक्षकमा भर पर्ने गर्छन् । एकातिर त पाठ्यक्रम प्रभावकारी नहुनु र अर्कोतर्फ शिक्षक–विद्यार्थी अल्छे हुनुले गुणस्तरीय शिक्षा प्रदानमा समस्या सिर्जना भएको छ । तथापि अचेल पढाउने क्रममा शिक्षक–शिक्षिकालाई सहज छ ।  शिक्षकले नयाँ उपाय अपनाएर पढाएको भने पाइँदैन । ‘राम्रो भन्दा हाम्रो नियुक्तिले’ प्रवेश पाएको छ । 
विद्यार्थीले पनि खोजी गरेर पढेको पाइँदैन । हुन त प्रमाणपत्रका लागि कुनै विद्यार्थीले पास त गर्ला तर उसमा अध्ययनको गहिरो छाप परेको हँुदैन ।
प्रस्तुतीः अमर

ग्रिन सिग्नलमा ध्यान दिइएन-

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:35 PM


२०४६ सालको जनआन्दोलन चलिरहेका बेला धनकुटा डाँडाबजारको भानु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि धरानमा मानविकी सङ्कायमा प्राइभेट कलेजमा भर्ना भएर नेपाली, अर्थशास्त्र र राजनीतिशास्त्र रोजेँ ।
त्यतिबेला प्राइभेट कलेज पढ्दा लाजमर्दो हुन्थ्यो । अधिकतर विद्यार्थी सरकारी कलेजमा पढ्थे । कतै नाम निकाल्न नसक्नेहरु प्राइभेट कलेज पढ्छन् भन्ने सोचले गर्दा परिचय लुकाउनुपर्ने अवस्था पनि थियो । तर, प्राइभेट कलेजमा थोरै विद्यार्थी हुन्थ्यौँ । पढाइ ट्युसनजस्तै हुन्थ्यो । त्यो बेला मासिक शुल्क पनि सस्तो एक सय ८० रुपैयाँ थियो । सरकारी कलेजमा भने मासिक शुल्क मात्र १८ रुपैयाँ थियो ।
आइए पढ्दा साथीहरुसँग मिलेर डेरामा बस्थ्यौँ । अरु साथीभन्दा म पढ्नमा अलिक अल्छे तर सुन्न सिपालु थिएँ । आफूले पढेको भन्दा अरुले भनेको मेरो मस्तिष्कमा चाँडो छाउँथ्यो । त्यसैले डेरामा साथीहरुलाई आवाज निकालेर पढ्न लगाउँथे । उनीहरुले पढेको सुनेरै मलाई सबै याद हुथ्यो । एउटै विषयमा दुई–तीन जना साथीलाई पढन लगाउँथे । त्यसरी पढ्दा उनीहरुलाई पनि फाइदा, मलाई पनि कण्ठस्थ । परीक्षा आउँने बेलामा भने एकदमै मिहिनेत गरेर पढथेँ । त्यो बेला गृहकार्य फिटिक्कै हँुदैन्थ्यो तर नोट भने तयार गरिन्थ्यो ।
आइए अध्ययन गर्ने बेला आन्दोलन भएकाले राजनीतिक गतिविधिमा पनि बढी चासो राखियो । त्यो अवधिमा कतै घुम्ने, डुल्ने अनि मनोरञ्जन गर्नपट्टि फिटिक्कै ध्यान गएन । आन्दोलनले गर्दा परीक्षा ढिलो गरी हुनाले आइए सक्न तीन वर्ष लाग्यो । आइए सक्नासाथ धरानको महेन्द्र बहुमुखी क्याम्पसमै स्नातक तहमा भर्ना भएँ । स्नातक तहमा नेपाली र अर्थशास्त्र मुख्य विषय रोजेँ । आइएकै फर्मुलाले काम ग¥यो बिएमा पनि, साथीहरु पढ्ने म सुन्ने । साथीलाई पढ्न लगाएर धारणा बनाउँथे अनि राति सम्झदै सुतेर बिहान उठ्नसाथ लेख्थँे । यस्तो पढाइ लामो समयसम्म स्मरणमा रहँदोरहेछ ।
आइएभन्दा बिए पढ्दा क्यारिअर बनाउने चिन्ताले सताउँथ्यो । क्यारिअर बनाउने चिन्ताले गर्दा केटी साथीहरु भए पनि माया प्रेम गर्ने धारणा नै बनेन । थुप्रै केटीहरुले ग्रीन सिग्नल दिन्थे तरपनि क्यारिअरको सोचले त्यता ध्यान तानिएन ।
२०५१ सालमा बिए सके अनि व्यवसाय गर्ने सोच जाग्यो । त्यो बेला हामी तीन जना साथी मिलेर टेक्सटायल, चाउचाउ र मासु सप्लाई गर्ने योजना बन्यो । त्यही योजनाअनुसार एउटा ट्रक किन्यौ । ट्रकमा छ दिन म हिँड्थे तर एक दिन नहिँड्दा चालकले एकैदिनमा कहिले गाडीको इन्जिन त कहिले अरु सामान बिग्रिएको बिल लिएर आउँथ्यो । अनि, सबै पैसा स्वाहा हुन्थ्यो । यो काम झन्डै दुई वर्ष गरियो  । बाबुले जोडेको एक बिघा धान खेत सकेँ । ट्रक काण्डले गर्दा व्यवसायमा हात हाल्ने सपना त्यत्तिकै तुहियो ।
व्यवसायमा लाग्ने सुनौलो सपना तुहिएपछि स्नातकोत्तर नगरी हुँदैन भन्ने लागेर कीर्तिपुर पढ्न गएँ । स्नातकोत्तर पढ्न जाँदा ‘म निकै जान्ने छु’ भन्ने दम्भ थियो । तर, झन्डै पाँच हजार विद्यार्थी देख्नासाथ ‘केही जानेको छुइनँ कि क्या हो’ जस्तो भयो । यद्यपि ठूला–ठूला विद्वानसँग साँठगाँठ भएर पढ्दा रमाइलो हुन्थ्यो । कक्षा नछोडिकन पढेँ । अध्ययनलाई परिपक्क बनाएँ । लेखन पनि त्यही बेलादेखि थाले । लेखन थालेकाले गर्दा साहित्यिक गतिविधिमा पनि बढी सहभागी हुन थालें । त्यही भएर साहित्यकुञ्ज नेपाली केन्द्रिय विभागको अध्यक्ष बनेको थिएँ । वार्षिक साहित्यिक गतिविधि समेटेर कुञ्जिनी पत्रिका पनि निकाल्थ्यौं । अनि, गरिमा, मधुपर्कलगायतका राष्ट्रिय पत्रपत्रिकामा लेख प्रकाशन गरी विषयवस्तुलाई परिपक्क बनाएको थिएँ ।
मैले कलेज पढ्दा र अहिलेको तुलना गर्दा धेरै अन्तर छ । अहिलेका स्नातक तह पढने र प्लस टु पढनेको मानसिकता एउटै छ । हामी कलेज पढ्दा पाठ्यसामग्री हत्तपत्त पाइदैनथ्यो भने अहिले प्रशस्त पाइन्छन् । अहिले पढाइ पनि नियमित हुने गर्छ तर, हामी पढ्दा नियमित हँुदैनथ्यो । तर पनि हाम्रो पालामा पढनुपर्छ भन्ने धारणा थियो, अहिलेका विद्यार्थीमा यस्तो धारणा कम पाइन्छ । अहिलेको पुस्तामा पढाइप्रति रुचि नै देखिँदैन । पुरानै ढङ्गको अध्ययन–अध्यापन शैली छ । मूल्याङ्कन पद्दति पनि सही छैन । समयको मागअनुसार यो परिवर्तन हुनुपर्छ । अबका विद्यार्थीलाई सक्षम र मिहिनेती बनाउन अनुसन्धानमा आधारित शिक्षा दिनु जरुरी छ ।

- मुकुन्द घिमिरे, प्राचार्य
कोसी सेन्टजेम्स कलेज, इटहरी

‘दिदीले छोडेपछि बहिनीलाई बाटो छेकें’

Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:51 AM

सुकदल लिम्बू (अध्यक्ष)
पब्लिक क्याम्पस प्रध्यापक संघ 
सुकुना क्याम्पस मोरङ,
मेरो कलेज लाइफ भन्नुभन्दा पहिला स्कुलजीवनकै प्रसङ्ग कोट्याएरभन्दा अलिक प्रस्ट हुनेछ । कुरो २०३० तालतिरको हो, ताप्लेजुङ सिनाममा कक्षा पाँच पास गरेपछि केही वर्ष त्यतिकै भौँतारिएर बसेँ । भौँतारिएर हिँड्दा तराई झर्ने सोच आयो । ताप्लेजुङबाट तराई भनेर झर्दा पाँचथरको आरुभोटे स्कुलमा ढाँटेर शिक्षक भएँ । मलाई अहिले त्यहाँको स्थानीय सरको नाम हेक्का छैन । उहाँले भन्नुभएको थियोे, ‘तिमी चुप लाग, म एसएलसी पास गरेको भनिदिन्छु पढाउन पाइहाल्छौ ।’ नभन्दै उहाँले भनेजस्तै सहजै शिक्षक जागिर पाएँ । यो २०३५ सालतिरको कुरा हो । मैले त्यहाँ तीन महिना मात्र काम गरेँ । अनि, काँकडभिट्टा आएँ । काँकडभिट्टा आएर कामको खोजी गर्दा कन्काई यातायात सेवा प्रालिमा खलासीको काम गरेँ । ११ महिना खलासीमा काम गरेपछि मलाई बढुवा गरी स्टोर किपरमा तानियो । स्टोर किपरको रुपमा छ महिनाजस्तो काम गरेपछि मलाई इटहरीमा सहायक प्रमुख बनाएर ल्याइयो ।
इटहरीमा आएर काम गर्ने क्रममा साजीलाल उच्चमावि मोरङका यादव थरका सरलाई मेरो इतिवृतान्त सुनाए । अनि, उहाँसँग ट्युसन पढाइदिनुहोस् र एसएलसी पनि पास गर्ने व्यवस्था मिलाइदिनुहोस् भने । उहाँकै सहयोगमा जिल्ला शिक्षा कार्यालय मोरङमा प्राइभेटबाट टेस्ट परीक्षा दिए अनि तीनपटकमा एसएलसी पास गरेँ ।
कलेज पढ्ने तयारी गरिरहेकै बेला २०३८ सालतिर होलीको अवसरमा रमाइलो गर्दा भाङ खाइयो, जनकपुर जाने बसमा टिकट काटेकोमा इन्ट्री छुटेको निहुँमा जागिरबाट निकालिएँ । अब झन् समस्या प¥र्यो । के गरौँ र कसो गरौँ भयो । त्यो अप्ठ्यारो बोलामा इटहरीका रामकुमार सुब्बाको संरक्षणमा बसेका अरुणकुमार सुब्बाले सहयोग गरे ।
उनकैमा लामो समयसम्म बसेँ । पछि कन्काई यातायात प्रालि फुटेर कञ्चन भो, फेरि त्यसैमा बुकिङ गर्न थालेँ ।
२०४१ सालमा यता बुकिङ काम पनि चल्दै थियो, उता महेन्द्र बहुमुखी क्याम्पस धरानमा भर्ना भएँ । मलाई मुख्य विषय अङ्ग्रेजी लिएर पढ्ने असाध्यै रहर थियो । गुरु श्यामप्रसाद शर्माले टेस्ट लिँदा सक्छौ भन्नुभयो । मैले अङ्ग्रेजी लिने सबै तयारी गरी पढ्न थाले । अङ्ग्रेजीसहित राजनीतिशास्त्र र भूगोल विषय रोजे ।
तर, अङ्ग्रेजी बिहानी सत्रको चौथो पिरियडमा पढाइ हुने भएकाले कक्षा छाडेर त्यही बेला धरानमै मैले बसमा बुकिङ गर्न जानुपर्ने भयो । र, अग्रेजीको सट्टा अर्थशास्त्र रोजेँ । प्रमाणपत्र तह पढ्दा छात्रवृत्ति पाएँ । दिनभर काम गर्ने हुनाले राति अबेरसम्म पढ्ने गर्थेँ । परीक्षाको रुटिङ आएपछि भने ढोका थुनेर मिहिनेत गरेर पढने गर्थेँ । प्रवीणता प्रमाणपत्र तहमा एउटा अङ्ग्रेजीबाहेक सबै बिषय नियमित पास गरेँ ।
पढ्ने क्रममा गाइड, गेसपेपरभन्दा पनि किताब पढ्ने चलन थियो । किताब पढ्ने अनि सरले पढाएको आधारमा नोट बनाउने गरिन्थ्यो । स्नातक तह पनि २०४४ सालमा धरानमै भर्ना भएर पढेँ । प्रमाणपत्र तह जसरी दुःख गरेर पढे त्यही ढङ्गले स्नातक तह पूरा गरेँ ।
पढ्दै, काम गर्दै गर्ने क्रममा २०४२ सालमा कोसी बस व्यवसायी सङ्घमाआबद्ध भइसकेको थिएँ । २०४७ सालमा स्नातकोत्तर पढ्न विराटनगरमा भर्ना भए । पहिलो वर्षको परीक्षाको समय आउने बेलामा बसन्तपुर सरुवा गरियो । छोटो समयमै भए पनि तयारी गरेर एउटा परीक्षा दिए त्यो पास गरेँ । अर्को वर्ष दोस्रो वर्षको र बाँकी पहिलो वर्षको विषय दिनुपर्ने भयो ।
तर, परीक्षाको रुटिङ आउनुभन्दा एक महिनाअघि ठूलोबुबा बित्नुभयो । ठूलीआमा नभएकाले गर्दा ठूलोबाबु हाम्रै परिवारमा बस्नुहुन्थ्यो । यसरी परीक्षा दिन नपाउँदा म एकदमै निरास भए । तर, हरेस नखाइकन मेहेनत गरेर स्नात्तकोत्तर पूरा गरे । पढाई पूरा गरेपछि सुरुवातमा जनता कलेज इटहरीमा अध्यापनको काम थालेँ । केही वर्षपछिदेखि सुकुना बहुमुखी क्याम्पसमा पढाउन थालेँ । अहिले सुकुना र कोसी सेन्टजेम्स इटहरीका अध्यायन–अध्यापन गरिरहेको छु ।
कलेज पढ्ने क्रममा प्रमाणपत्र तह पढ्दा शैक्षिक भ्रमण गएको याद आइरहन्छ । मेरो उमेर पनि सिनिएर भएकाले भ्रमणको सम्पूर्ण व्यस्थापन गर्ने जिम्मेवारी पाएको थिएँ । र, आइए नै पढ्दा एक जना पुनम भन्ने साथीले मलाई हदै मन पराउँथिन् । उनी अति सुन्दर रुपकी थिइन् । उनको तुलनामा त म कुरुप नै थिए, तर पनि के कुराबाट प्रभावित भइन् मरिहत्ते गर्ने गर्थिन् । बेलामौकामा म उनको घरमा पनि जान्थेँ ।
अन्ततः म सर्वहारा भएकैले होला उनी अलग बाटो हिँड्न थालिन् । मैले पनि अलग साइड लिएँ । पछि उनले प्रमाणपत्र तह पास गरिनन्, म स्नातक तह पढन थाले । त्यही बेला उनकी बहिनी पूर्णिमा आइएल पढ्दै थिएन् । उनी भने झनै नाम जस्तै सुन्दर थिइन् ।
दिदी छाडेको पश्चतापमा मैले त तिनलाई मन पराएर बाटै पो छेकँेछु । त्यसपछि भने केटी साथीहरु भए पनि त्यसतो मायाप्रेम गरिएन । २०५४ सालमा बिहे भो तर काठमाडौकी केटी भएकाले गर्दा व्यवहार चलेन अनि तीन वर्षपछि फेरि अर्को बिहे गरे । र, अन्तिममा मलाई के लाग्छ भने दुःख गरेर अहिले यो अवस्थामा पुगे पनि आर्थिक रुपमा भने प्रगति गर्न सकेको छुइन् । पेसालाई भने सानो ठूलो सोच्नुहँुदैन ।  

विवाहले रोकेन पढाइ

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:12 PM

एसएलसी पास भएपछि २०४१ सालमा महेन्द्ररत्न क्याम्पस काठमाडांैमा भर्ना भएँ । शिक्षाशास्त्र सङ्काय पढ्ने इच्छा थियो र त्यही लिने निधो गरी भर्ना भएँ । पढ्नका लागि परिवारको सल्लाहअनुसार होस्टल बस्ने तय भयो । महेन्द्ररत्नमा शिक्षाशास्त्र विषय अध्ययन गर्दैगर्दा प्राइभेटबाट आइएल पनि सँगै लिएर अघि बढछु भन्ने सोच जाग्यो ।
कलेज पढ्दा मेरो मिलनसार साथी नन्दिता शर्मा थिइन् । उनी विवाहित भएकाले गर्दा व्यावहारिक थिइन् । उनले मलाई हरेक क्षण पढ्न प्रेरणा जगाउँथिन् । होस्टलमा बस्ने क्रममा अन्य साथीहरु आफूभन्दा सिनियर मात्र थिए । थुप्रै जना स्नातकोत्तर पढ्थे । सबै व्यावहारिक भएकाले असल  सङ्गतले म पनि व्यावहारिक भएँ । मलाई कलेज पढ्दा ‘टिनएजर’ उमेरमा छु भन्ने कुनै सोच नै आएन । हरेक समय सिनियरको प्रेरणा हुने गथ्र्यो । त्यो बेला प्रशस्तै केटी साथीहरु भएकाले पनि केही अहसज महसुस भएन । पढ्दा पुराना प्रश्नपत्र हरेर त्यहीअनुसारको नोट तयार गरी पढ्ने गर्थेँ । दिउँसो नोट तयार गर्ने र राति अबेरसम्म पढ्ने गरिन्थ्यो । एकैपटक दुईवटा सङ्काय पढ्ने क्रममा शिक्षाशास्त्रलाई प्राथमिकता दिए पनि आइएल नै छिटो पास गरे । अनि, शिक्षाशास्त्र पढ्न छोडिदिएँ ।
२०४४ सालमा फेरि फर्किएर धरान महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह भर्ना भए । राजनीतिशास्त्र र नेपाली विषय राखेर मानविकी सङ्कायमा भर्ना भए । धरानमा रहेर पढ्दा दिदीबहिनी थियौं । कलेज पढ्दा केटाकेटी बराबरी जस्तो थियौं । त्यसैले एक–अर्काबीच घुलमिल हुने कुनै समस्या थिएन  । छोरीले पढनुपर्छ भन्ने बाबुको सोचाइ थियो । उहाँ ‘छोरीले पढेको मैले देख्नुपर्छ’ भनी हौसला दिनु गर्नुहुन्थ्यो । तर, स्नातक तह पहिलो वर्ष सकेर दोस्रो वर्षमा अध्ययन गर्दागर्दै विवाह भयो । कलेज पढ्ने क्रममै हामी दुई जनाबीच मन परापर भयो । छोटो समयमै हामी नजिक भयौं । अनि, ‘लभ–एरेन्ज’ विवाह भयो ।
स्नातक तहको पहिलो वर्ष सहज पास गरें । दोस्रो वर्षमा भने विवाह भएकाले पढाइमा असर प¥यो, परीक्षा बिग्रियो । सासुले जहिले पनि ‘पढेको हुनुपर्छ’ भन्नुहुन्थ्यो । हरेक समय पढ्नलाई घच्घच्याइरहनुहुन्थ्यो । तर, विवाहपछि पढाइमा केही न केही असर गर्दो रहेछ, त्यसैले गर्दा दोस्रो वर्ष सफल भइनँ । तर, म निरास नभई झन् राम्रो गर्छु भन्ने सोचले अगाडि बढेंँ अन्ततः सफल भएँ ।
त्यो बेला स्नातक तह दुई बर्से मात्र थियो । साथै प्राइभेटबाट बिएलमा परीक्षा दिएकाले गर्दा २०४८ सालमा राजनीतिक शास्त्रमा स्नातकोत्तर पढ्नका लागि स्नातकोत्तर क्याम्पस बिराटनगर भर्ना हुनासाथ नै बिएल पनि उत्तीर्ण
गरेँ । स्नातकोत्तर पढ्दा डेरा गरी बसेँ । स्नातकोत्तर पढ्ने बेलामा भने नगन्य केटी साथीहरु थिए । त्यो बेला एक सय ५० जना विद्यार्थीमध्ये हामी पाँच जना मात्र केटी थियौँ ।
हामी असाध्यै मिहिनेत गरेर पढ्थ्यौँ । २०५२ सालमा स्नातकोत्तर सकेँ । स्नातकोत्तर सकेर चार वर्ष त्यतिकै घरमै बसेँ । २०५६ सालदेखि भने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्यापन गराउन थालेकी हुँ ।
मेरो  अनुभवअनुसार अहिलेका विद्यार्थी ‘दुई हातमा लड्डु’ खोज्ने खालका छन् । विद्यार्थीमा पढ्ने संस्कार घट्दो छ, यो राम्रो होइन । विद्यार्थीले कक्षामा पढाएको बेला ध्यान दिएर सुन्नुपर्छ अनि सूचना प्रविधिसँग सम्पर्कमा रहेमा भविष्यमा रहेक क्षेत्रमा सफल हुन मद्दत गर्छ । विद्यार्थीले समय अनुसार अपडेट हुर्नैपर्छ ।
प्रस्तुति ः अमर 

"क्याम्पस जीवन साधुझैँ बिताएँ"

Written By Neplee on Friday, September 21, 2012 | 5:42 AM


२०२६ सालमा धरान पब्लिक हाइस्कुलबाट एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि विराटनगरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ ।
सुरुमा ठूला–ठूला घर अनि ठूलो सङ्ख्यामा विद्यार्थी हुदाँ अनौठो लाग्थ्यो । बिस्तारै बानी पर्दै गइयो । त्यतिबेला त्यहाँ पढ्दा जागिर पाइने प्रशस्तै सम्भावना हुन्छ भनेर पढेको थिएँ । जागिर भने पाइएन । तर, बिहानको सिप्mटमा पढेकाले त्यतिबेला निकै नाम चलेका वकिल रामप्रसाद
भट्टराईसँग सङ्गत बढ्यो । उहाँकै सङ्गतमा लागेर मुद्दा तारेक पेश गर्ने काम गरेँ । यसरी पढाइमा अवरोध नपुगी मैले अदालती काम–कारबाहीबारे ज्ञान लिएको हुँदा व्यवहारिक र सैद्धान्तिक दुवै पक्षको ज्ञान भयो ।
प्रवीणता प्रमाणपत्र तहको दुई बर्से पढाइ पूरा
गरेपछि आफ्नै गाउँ दुलारी फर्किएँ । दुलारीमा दुई वर्ष सहकारी संस्थामा जागिरे भए । त्यही बेलामा एकाउन्ट बारे व्यवहारिक ज्ञान पाऐँ । २०२९ सालदेखि दुई वर्षसम्म जागिर खाएपछि मलाई सहकारी र कानुनी ज्ञानले गर्दा थप अनुभवी बनायो । काम गर्न थाले पनि पढ्ने रहर अझै पूरा भइसकेको थिएन । त्यसैले स्नातक तह पढ्नका लागि विराटनगर पुगेँ । छँदा–खाँदाको जागिर चटक्कै छाडेर शुद्ध विद्यार्थीको रुपमा बिहान छ बजेदेखि ११ बजेसम्म पढ्न थालेँ ।
कलेजबाट फर्केर आएपछि सरले पढाउने क्रममा टिपेका मुख्य–मुख्य बुदाँसँगै पाठ्यपुस्तक अध्ययन गरेर त्यसैका आधारमा नोट तयार गर्थेँ । दिनभर विषयपिच्छेको नोट तयार गर्थेँ अनि रातभरि त्यही नोट पढ्थेँ । कलेजमा पढाउँने अधिकतर सरहरु किताब लेखक थिए । अनि एसिसमेन्टमा तोकेको नम्बर ल्याउनेलाई ती पुस्तक उपहार दिन्थे । मैले तीनवटै एसिसमेन्टमा पुरस्कारस्वरुप पुस्तक प्राप्त गरेको थिएँ । मिहिनेत गरेर पढ्दा पनि त्यो बेला परीक्षकले सोचेजस्तो नम्बर दिदैनथे । २०३२ सालमा विद्यार्थी आन्दोलन भएपछि भने परीक्षकको प्रवृत्तिमा केही सुधार आयो ।
स्नातक तह उत्तीर्ण गरेपछि निमावि शिक्षकमा नाम निकालेँ । केही वर्ष अस्थायी काम गरेपछि स्थायी नियुक्ति पाएँ । शिक्षक भएर जागिर खान थालेकाले ३३ देखि ३५ सालसम्म पढाइलाई थप अगाडि बढाउन सकिनँ । २०३६ सालमा भने स्नातकोत्तर पढ्नका लागि काठमाडौं गएँ र राजनीतिशास्त्र पढ्न थालेँ । त्यो बेला राम्रा–राम्रा साथीहरुसँग घुलमिल भएको थियो । सँगै पढेका र घुलमिल भएका साथीहरु मन्त्री, सचिवलगायत माथिल्लो तहका सरकारी कर्मचारी भए । जागिर छोडेर भए पनि पढ्न गएको त्यति फाइदा भयो ।
शिक्षक छँदा मेची महाकाली शिक्षक आन्दोलनमा पनि सहभागी हुने मौका मिलेको थियो । स्नातकोत्तर गर्ने क्रममै बिएड र बिएलमा पनि भर्ना भएर परीक्षा दिएँ । बद्लिँदो समय अनुसार सवै विषयको ज्ञान हुनुपर्छ भनेर शिक्षाशास्त्र सङ्कायमा पनि स्नातकोत्तर भर्ना भएँ । स्नातकोत्तर पढने क्रममा सवै साथीहरु मिलेर गोदावरीमा पिकनिक गएको चाहिँ याद छ । क्याम्पस जीवन अरुहरुको जस्तो रमाइलोमा कहिल्यै बिताइएन । कहिल्यै मज्जाले घुमफिर गरिएन ।
कलेज जीवनमा केटीसाथीसँग कहिल्यै मज्जाले नबोली पढाइ पूरा भयो । अझ स्नातक तहमा अध्ययन गर्दा त पिरियड नै पिच्छे कक्षा परिवर्तन गर्नुपर्ने हुदाँ हाम्रो समूह जहिले पहिलो बेञ्चमा बस्न मरिहत्ते गथ्र्यो । ठूलो सङ्ख्यामा विद्यार्थी हुने गरेकाले पहिलो बेञ्चमा नबसे पढाएको राम्रोसँग बुझिदैनथ्यो । केही केटीहरु पनि पहिलो बेञ्चमा बस्न मरिहत्ते गर्थे तर हामी उछिनी हाल्थ्यौं, त्यही भएर प्रतिस्पर्धाका कारण उनीहरुसँग ‘राम्रो सम्बन्ध’ भएन । त्यो बेला कसैले प्रेम प्रस्ताव राख्ने अहिलेको जस्तो खुला वातावरण पनि थिएन । त्यसैले गर्दा क्याम्पस जीवन साधुजस्तो भएर बिताइयो ।
प्रस्तुति; अमर खड्का

‘हरेक साँझ प्रेमपत्र लेखिन्थ्यो’ : मनु मन्जिल (कवि)

Written By Neplee on Friday, August 17, 2012 | 7:05 PM

 एसएलसी पास गरेपछि छोरालाई रेञ्जर, फरेस्टर बनाउनुप¥यो भनेर बुबाले वन–विज्ञान अध्ययन संस्थान हेटौंडामा भर्ना गरिदिनु भयो । रुख र पातबारे मात्र पढाइ भएको मलाई मन परेन । म पहिलेदेखि नै साहित्य मन पराउने मान्छे, दुई दिनपछि भागेँ र काठमाडौंमा गएर पाटन बहुमुखी क्याम्पसमा भर्ना भएँ । अनि साहित्य पढ्न थाले । बुबाले त्यसको दुई महिनापछि मात्र मैले हेटांैडा छाडेको थाहा पाउनुभयो ।
स्थिति निकै अप्ठेरो थियो, घरबाट खर्च नदिने । आमाले मात्र लुकी–लुकी खर्च पठाउनुहुन्थ्यो । बुबा रिसाएर खर्च दिने कुरै थिएन । एकपटक घर आएँ, आमाले गाई बेचेको १२ सय रूपैयाँ दिनुभयो । त्यो बेला काठमाडौंमा गायक भक्तराज आचार्यको जिव्रो काटिएको खबर आएर सहयोग सङ्कलन गर्दै थिए । म एउटा युवा, चलचित्रको प्रभाव पनि परेको हुनुपर्छ सायद । गोजीबाट फुत्त तानेको हजारको नोट आयो, मैले त्यो दिए । कलेजमा परीक्षा आइसकेको थियो । मैले शुल्क नतिरे परीक्षा दिन पाउने थिइनँ । त्यो बेला साढे चारसय तिरेपछि मात्र मैले परीक्षा  दिन पाउँथे । १२ सयमा हजार रूपैयाँ दिएपछि मसँग दुई सय रूपैयाँमात्र बाँकी रह्यो । अनि त्रिपुरेश्वरमा सानिमासँग तीनचोटी धाएर रोएपछि मात्र पाँच सय रूपैयाँ दिनुभयो र शुल्क तिर्न पाएँ । उहाँ आँखा अस्पतालमा काम गर्नुहुन्थ्यो ।
म कलेज पढ्दा गजल लेख्थेँ । त्यसैले मैले राम्रा–राम्रा साथीहरू भेटेको थिएँ । उनीहरूसँग मेरो मित्रता पनि गाढा थियो । मेरा गजल सुनेर साथीहरू वाह–वाह गर्थे । त्यो बेला कस्ता गजल लेख्थेँ भन्ने कुरा अहिले नभनौं तर युवाका लागि काफी थिए ती । मेरा गजल सुन्न उनीहरू रेष्टुरेन्टमा लिएर जान्थे । म सातवटासम्म गजल सुनाउँथे । साथीहरू खुसीले, प्रेमले, जति खर्च गर्नु परे पनि गर्थे । साथीहरूका गोजीबाट पर्स कसरी निस्कन्छ भन्ने मलाई राम्रोसँग थाहा भयो ।
अर्को रमाइलो कुरा के छ भने, एकजना झापाका साथी ज्ञानेन्द्र, अरू दुईजना पश्चिमका साथी थिए । उनीहरू को–को केटीसँग प्रेम गर्थे । उनीहरू यो गजल लेख्ने मान्छे, कविता लेख्ने, मान्छे यसले चाहिँ राम्रो प्रेमपत्र लेख्छ भनेर मलाई होमवर्क दिन्थे । तीनजनाका लागि हरेक साँझजसो प्रेमपत्र लेख्नुपर्थो । अपरिचित अनुहारलाई प्रेम गरेर, अनेक विम्बहरू कहिले राजकुमारी सम्झेर, नीला आँखा भएका युवती सम्झेर, गोरा युवती सम्झेर यसरी अनेक प्रकारका युवती सम्झेर मैले प्रेमपत्र लेखेँ उनीहरूका लागि । किनभने सही प्रेममा नपरी प्रेमपत्र लेख्न सकिँदैनथ्यो । मैले लेखेको प्रेमपत्रले एकजनाको विवाह भयो । अरू दुईजनाको चाहिँ प्रेम सफल हुन सकेन । प्रेम सफल हुने साथीलाई उनको श्रीमती पहिले–पहिले त्यति राम्रो प्रेमपत्र लेख्ने मान्छे विवाह गरेपछि चाहिँ किन नबोलेको भनेर गुनासो गर्ने गरेको साथी सुनाउँछन् कहिलेकाहीँ । प्रेम असफल भएका साथीका पे्रमिकाले पनि उनीहरूको प्रेमपत्र लेख्ने क्षमताको प्रशंसा गरिरहे रे ! यसरी भावनामा डुबेर उनीहरूका प्रेमपत्र लेख्दा–लेख्दै म झन् भावनामा बग्ने र कल्पनामा डुब्ने भएँ, त्यसैले सिर्जनामा झन्–झन् भासिँदै गएँ । उनीहरू प्रेममा सफल–असफल हुँदै गए ।  म साहित्यमा डुब्दै गएँ ।
म अलिक चतुर किसिमको मान्छे थिएँ । म अलिक अङ्ग्रेजी बोल्ने । पातलो मान्छे, कालो सुट लगाएर हिँड्ने । सयौं साधारण नेपालीका छोराछोरीको नेतृत्व गर्थेँ । त्यो कसरी गर्थेँ भने सेन्टजेभियर पढेर आएकाहरू रातभर पढ्ने र दिनभर अरूलाई बिगार्ने स्वभावका हुन्थे । तिनीहरू चाहिँ ज्यादै राम्रो अङ्ग्रेजी बोल्ने । तिनीहरूका विरुद्धमा उभिने पात्र चाहिँ म थिए । अङ्ग्रेजी बोल्न सक्ने, उनीहरूसँग बाझ्न सक्ने तर उनीहरूसँग नमिलेर म सयौं सोझा–सिधाको नेतृत्व गर्ने भएकाले म युवतीहरूको आर्कषणको केन्द्र थिएँ ।
त्यसबेला थुप्रै युवतीहरू मसँग नजिक हुन खोज्थे । अङ्ग्रेजी सिक्नेदेखि लिएर विभिन्न बहानामा उनीहरू नजिकिन चाहन्थे । म भागी हिँड्ने स्वभाव भएकाले सयौं छायासँग भागेँ, कति छायाहरू सडकमै छुटे । भाग्दा–भाग्दै  करिब चार वर्ष एउटा छायाको प्रेममा परे । त्यो बारे धेरै बताउन सक्दिनँ । तर, ती विम्बहरू मेरा कवितामा अनेक तरहले आएका छन् ।
पढाइ अब्बलै थियो । काम गर्दै पढ्नुपर्ने । त्यसबेलाको एउटा सम्झना छ । मलाई खाना पकाउन नआउने, पैसा पनि नभएको । काम गर्दै पढ्दा एउटा युवा थियो, सागर नामको । त्यो युवालाई मैले उसलाई पढ्न–बस्न पनि मिल्ने र मलाई खाना बनाउन पनि सघाउने व्यवस्था मिलाएँ । मभन्दा एक तह तल पढ्ने त्यो युवालाई बीएसम्म पढाएँ । एक दिन त्यो युवाले मेरा केही हजार रूपैयाँ र मेरा लगाउने लुगासमेत लिएर भाग्यो । त्यसबेला आफूले प्रेम गरेको मानिसले पनि केसम्म गर्न सक्छ भन्ने लाग्यो ।
एमालेनिकटका विद्यार्थी सङ्गठनका सदस्यहरू एकदम नम्र बोल्ने, नरम हात तेस्र्याउँदै आउँथे । त्यसबेला अहो ! राजनीति यिनीहरूसँग गर्नुपर्ने रहेछ भन्ने लाग्थ्यो र तिनीहरूको प्रारम्भिक कमिटीमा पनि केही दिन हिँडे । सुरुमा कम्युनिज्मको आदर्श युवा हृदयले राम्ररी बोक्छ । केही पछि मानिस अलि स्वतन्त्र हुन खोज्छ । अनेक वाद र सिद्धान्त बुझ्न थालेपछि एउटैको पछि लागेर हिँड्न मन लागेन । राजनीति बोकी हिँडौंजस्तो, काँध हालौंजस्तो लागेन । अनि राजनीतिलाई चटक्कै छाडेर बिलकुल साहित्यमा समर्पित रहेँ ।
साथीहरूको लहैलहैमा लागेर २०४६ सालको आन्दोलनमा गए । एकदिन चाहिँ  पुलिसले खेदाउँदा–खेदाउँदै क्याम्पस भित्रै पुगेपछि लाठी हान्यो । लाठी लागेर म ढलेँ । त्यसको भोलिपल्टदेखि गोडा खोच्याउँदै भए पनि इन्जिन्यरिङ क्याम्पसको कम्पाउन्डभित्र लुकेर पुलिसको गाडी देख्यो कि ढुङ्गाले हानिहाल्थे । एकदम ठूलो राजनीतिक आन्दोलन गरिरहेजस्तो ढुङ्गा फ्याँकिरहन्थे । तर, मेरो उद्देश्य चाहिँ त्यस्तो व्यवस्था परिवर्तन गर्नु, पञ्चायत ढाल्नु मेरो दिमागमा थियोजस्तो लाग्दैन । मलाई त पुलिससँग एउटै कुरामा रिस उठेको थियो । मेरो गोली–गाँठो फुट्ने गरी किन हान्यो ? त्यसो भएर म ढुङ्गा फाल्न गइरहन्थेँ । करिब २०–२५ दिनजस्तो त्यसरी ढुङ्गा हान्ने क्रम चल्यो । एउटै रिस फेर्न गोली–गाँठो निको नभइन्जेल पुलिसलाई हानिरहँे । आन्दोलन गरेजस्तो पनि देखियो, पछि साथीहरूले धन्यवाद दिँदा पो थाहा भयो म त्यसरी पनि आन्दोलन गरिरहेको रहेछु ।
केही खुसी र धेरै दुःख र अप्ठेराहरू आइपरे कलेज पढ्दा । अहिले सम्झिन्छु, म त्यसबेला गन्तव्यहीन यात्रामा रहेछु । तर, त्यो निश्चित गन्तव्य नभएको दौड–अनुभव ज्यादै सुन्दर थियो । जहाँ पुग्यो त्यहीँ गन्तव्य, जसलाई भेट्यो त्यही साथी, जुन छायालाई देख्यो त्यही प्रेम । सायद त्यसले नै जीवनलाई सङ्घर्ष गर्न सिकायो र अहिले यहाँसम्म आइपुगेको छु ।

बहानाबाजीमै बित्यो कलेजलाइफ

Written By Neplee on Tuesday, May 15, 2012 | 9:34 AM

कलेजलाइफ भन्नेबित्तिकै स्वतन्त्र जीवनको रूपमा अझै पनि परिभाषित गरिन्छ । बाल्यावस्था पार गरेर युवावस्थामा आइपुग्दा क्याम्पसको अध्ययन सुरु हुन्छ । स्कुलको कडा नियमबाट दिक्क भएको मन क्याम्पसमा जाँदा अलि बढी स्वतन्त्र हुन खोज्छ नै । त्यसैले क्याम्पस जीवनलाई मैले पनि मोजमस्तीमा बिताउन चाहेँ ।
व्यवसायमा जुटेको पारिवारिक पृष्ठभूमिका कारण कमर्स विषय अध्ययनको लागि २०४० सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भर्ना भएँ । अधिकांश साथीहरू स्कुल जीवनकै भएकाले क्याम्पसलाइफमा सोचेभन्दा बढी रमाइलो गर्न पाइयो ।
घरबाट पनि स्कुलमाजस्तो धेरै कडीकडाउ नगरेपछि कलेजलाइफले नयाँ रङ लिन थाल्यो । केही दिन त नियमित कक्षा लिइयो तर पछि १४ जनाको सर्कल बन्यो । बिस्तारै मोजमस्तीले जरा गाड्दै गयो । कक्षा बङ्क गरेर क्यान्टिन जाने, टेबल–टेनिस खेलेर समय बिताउने गर्न थाल्यौँ । कक्षा नलिएपछि घरमा भने अलि बढी मेहनत गर्न कर लाग्थ्यो । घरमा गरिएको मेहनतले भने परिवारको बढी विश्वास जित्न सकेँ ।
त्यो बेला विराटनगरमा जलजला, हिमालय र अरूण गरी तीनवटा चलचित्र हल थिए । यी तीनवटै हलमा लागेका प्रायः कुनै पनि चलचित्र हेर्न छुटाउँदैनथ्यौँ । क्याम्पस जाने भनेर फिल्म हलमा दिन बिताउँदाका क्षणहरू निकै रमाइला लाग्थे । झन् कक्षामा फिल्मको कहानी सुनाउन खुब रमाइलो हुन्थ्यो । कुनै प्राध्यापक मन परेन भने पूरा ¥यागिङ गरिन्थ्यो । यसको नेतृत्व म र एउटा साथीले गथ्र्यौँ ।
सबै साथीभाई समय बिताउन क्यारामबोर्ड खेल्थ्यौँ । यसबाहेक हाम्रो सौख भनेको मोटरसाइकल ड्राइभिङ गर्दै भेडेटार जाने र फर्किने हुन्थ्यो । कलेज जाँदा हामी सबै साइकलमा नै जान्थ्यौँ । मसँग पनि एउटा स्पोर्टस साइकल थियो । तर, बाहिर घुम्न जानुप¥यो भने घरमा बहाना बनाएर मोटरसाइकल लिएर घरबाट निस्कन्थ्यौँ ।
एक दिनको कुरा हो, साथीको आफन्त बिरामी हुनुभएर हामी सबै साथी कोसी अञ्चल अस्पताल गयौँ । त्यहाँकी नर्ससँग सामान्य झगडा भयो । बेलुका घर फर्किदा ठूलोबुबाले थाहा पाउनुभएछ, उहाँले झपार्नुभयो । त्यो घटनाले अहिले पनि मलाई पाठ सिकाउँछ ।
कलेजलाइफमा केटाहरूलाई त ¥यागिङ गरियो । तर केटीको मामलामा भने म अलि फरक थिएँ । साथीहरूले कहिलेकाहीँ केटीहरूलाई जिस्काए भने पनि म रिसाइदिन्थेँ । प्रायः साथीहरूका गर्लफ्रेन्ड थिए । तर, मैले त्यसरी कसैलाई हेरिनँ । मन पराउने भए पनि प्रस्ताव राख्ने मौका मिलेन ।
एक दिन मेरो एउटा साथीले वीरगञ्जकी एउटी केटीलाई भगाएर ल्याएछ । उसलाई लुकाउन मैले मेरो गाडी प्रयोग गर्न दिएँ । पछि प्रहरीले यो कुरा थाहा पायो । भगाउनको साटो पारिवारिक वातावरण मिलाउन पहल गरेको भए उचित हुन्थ्यो होला भन्ने लागिरह्यो ।
स्नातक तहमा पुगेपछि भने पढाइमा म अलि बढी गम्भीर बन्न पुगेँ । हुन त म पढाइमा कहिल्यै फेल त भइनँ तर पनि पारिवारिक जिम्मेवारी बढ्दै थियो । म एक वर्षको हुँदा बुबा बित्नुभएकाले पनि मैले गम्भीर बन्नुपर्ने वातावरण हुँदै गयो । साथीहरू पनि कतिपय बाहिर गए । भएकाहरूसँग पनि पहिलेजस्ता घुम्ने र मोजमस्ती गर्ने क्रम घट्दै गयो । त्यो बेला मैले पाँचवटा व्यवसाय सम्हालेको थिएँ । स्नातकोत्तर अध्ययन भने पहिलो वर्ष मात्रै पढेँ । व्यवसायमा लागिसकेको थिएँ । यसले गर्दा पढाइलाई पूरा गर्न सकिनँ ।
अहिले सम्झँदा त्यो क्षण निकै रमाइलो लाग्छ । तर, कतिपय साथीहरूले घरमा मेहनत नगर्दा पढाइ बीचबाटै पनि छाडे । क्याम्पसमा राम्रो पढ्न नसकेकाहरूले घरमा बढी मेहनत गरे पारिवारिकरूपमा र आप्mनो भविष्यका लागि हितकर हुन्छ भन्ने बुझाइ मेरो छ । झन् अहिले त समय आधुनिक बन्दै गएको छ । हरेक विद्यार्थीले फरवार्ड हुन र अध्ययन पूरा गर्न आवश्यक छ । त्यसैले राम्रा र नराम्रा जस्तासुकै काम गरिए पनि सही–गलत छुट्याएर सुधार्दै अघि बढ्न सके अवश्य सफल भइन्छ ।
अविनाश बोहोरा (अध्यक्ष) मोरङ व्यापार सङ्घ
बोहरा हाल बोहरा इन्डस्टिूज, हिमालयन इन्डस्टिूज, अन्नपूर्ण लघु उद्योग, एभरेष्ट सोल्भेन्ट, बोहरा टूेड कन्सर्नका सञ्चालक हुन् ।
प्रस्तुति : सुदीप कोइराला

चिठीमा हुन्थे रगतका टाटा

Written By Neplee on Friday, February 17, 2012 | 6:23 PM


- गायक आनन्द कार्की
धेरै ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने बानीले मैले कहिले पनि एक्लो महसुस गर्न परेन । सबैजना मसँग साथी बन्न आतुर हुन्थे । कलेजमा हुने प्रायजसो सबै कार्यक्रममा मलाई सहभागी गराउन पाए साथीहरू खुसी हुन्थे ।
सोलुखुम्बुबाट पढाइ सुरु गरे पनि मेरो अधिकांश पढाइ भारतको लखनउमा भयो । विद्यालयको पढाइ सकेपछि मैले कजेल पनि उतै पढे । बाबाको जागिर भारतमा भएकाले मैले भारतमा नै पढ्नुपर्ने बाध्यता बन्यो । यताको र उताको वातावरणमा धेरै भिन्नता थियो, अहिले पनि छ । त्यहाँ वर्गअनुसार शिक्षा–दीक्षा र हैसियत हुन्छ । त्यसको प्रभाव विद्यालय र क्याम्पसमा पनि थियो ।
मैले नेपालका कलेजमा पढ्ने मौका त पाइनँ तर यताको वातावरण हेर्दा लखनउका कलेजमा बढी अनुशासन हुन्छजस्तो मलाई लाग्छ । त्यसबेला त झन् कडा अनुशासन थियो । हामी गुरु र आपूmभन्दा ठूलाका सबै कुरा मान्थ्यौँ । अहिले बिस्तारै त्यो कमी हुँदै आएको छ । उतातिर स्कुल कलेजका विद्यार्थीलाई आफ्ना अभिभावक मात्र नभएर सारा समाजले नै नियाल्ने गर्छ । अरूका बच्चा खेल्न निस्किए पनि छिमेकीले समेत नियाल्ने भएकाले बच्चाले नराम्रो काम गर्ने आँटै गर्न सक्दैन । कलेज बङ्क गर्ने त कुरै हुँदैनथ्यो । मैले त्यहाँ पढ्दा सिकेको मूल कुरा के हो भने हामीले जीवनमा सुरुका २५ वर्ष दुःख ग¥यौँ भने बाँकी २५ वर्ष सुखमय हुन्छ । त्यसैले जीवनमा खुसी हुनु छ भने सानै उमेरमा दुःख गर्नुपर्छ, नानीहरूलाई त्यो कुरा बुझाउन सक्नुपर्छ । विषेशगरी कलेज जाने उमेर भएकाले यो मनन् गर्नुपर्छ ।
करिब २५ वर्ष पहिले म भारतको लखनउमा रहेको भारतखण्डे कलेजमा पढ्दा सानैदेखि गायनमा लागेकाले थुपै तीता–मीठा अनुभूतिहरू छन् । त्यसबेलाको एउटा दुःखद क्षणले अहिले पनि नमीठो बनाउँछ । कलेज जाँदा दैनिक १५ किलोमिटर हिँड्नु पथ्र्यो । त्यसैले मैले धेरै दुःखले पैसा जुटाएर एउटा साइकल किनेको थिए । तर, त्यो दुई दिनमै क्याम्पसबाट हरायो । त्यसपछि  मैले क्याम्पस पढुन्जेल कहिल्यै साइकल किन्न सकिनँ ।
म गीत गाउने भएकाले मेरापछाडि धेरै केटीहरू लाग्थे । कतिले चिठी लेख्थे । धेरैल रगतले समेत चिठी लेखेर पठाए । उनीहरू हातका औंला चिरेर रगतले चिठी लेख्थे । कतिले विभिन्न परिकार बनाएर ल्याइदिन्थे । उनीहरू जसरी पनि मलाई प्रभावित पार्न खोज्थे । त्यतिबेला माया गर्नेहरू पनि थुप्रै थिए । त्यसबेलाको माया अहिलेको जस्तो आकर्षणमात्र थिएन, त्यसबेला प्रविधि पनि थिएन, समाज पनि अहिलेजस्तो खुला थिएन, त्यसैले पनि भावनात्कम सम्बन्ध बढी महत्वपूर्ण हुन्थ्यो ।
एकदिन सँगै पढ्ने एकजना केटी साथीले खाना खान घरमा बोलाएकी थिइन् । उनका दुईजना बहिनी पनि थिए । उनीहरूको घरँबाट फर्किएपछि मलाई तीनैजनाले चिठी लेख्न थाले । तीनैजना माया गर्छु भन्न थाले । तर, त्यो कुरा मैले अरूलाई थाहा दिइनँ, आफूसम्मै सीमित राखेँ । कलेजको पढाइ सकेर म नेपाली गीत–सङगीतको दुनियामा छिरेँ । त्यसपछि लखनउमा मलाई चिठी लेख्नेहरूसँग मेरो सम्पर्क हरायो ।  (शेखर ढकालसँगको कुराकानीमा आधारित)

‘केटालाई विवाहमा समस्या’ – नन्दकिशोर राठी (उद्योगी)

Written By Neplee on Tuesday, January 17, 2012 | 7:46 PM


अङ्ग्रेजी  मज्जाले बोल्न नआउँदा निक्कै ठाउँमा अप्ठेरो परेको छ । हामीले पढ्ने बेलामा विराटनगरमा अङ्ग्रेजी माध्यमका स्कुल थिएनन् । क्याम्पस पनि सरकारी मात्र थिए । त्यसैले अङ्ग्रेजी पढ्न पाइएन । अहिलेको जमाना भनेको सबै अङ्ग्रेजीमा बोल्ने–लेख्ने  भइसक्यो ।  स–साना नानीहरुले समेत अङ्ग्रेजी मज्जाले बोल्छन् । नानीहरु बेलेको देख्दा आपूmलाई पनि त्यस्तै बोल्न मन लाग्छ तर उनीहरुजस्तो फरर कुरा गर्न सकिँदैन । अन्तर्राष्ट्रिय बजारमा जानसमेत अङ्ग्रेजी नभए अप्ठेरो पर्ने हुँदा अबको शिक्षा प्रणाली अङ्ग्रेजी माध्यमको हुनुपर्छजस्तो लाग्छ ।
मैले २०३३ सालबाट महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट कलेज लाइफ सुरुवात गरे । त्यहीँबाट प्रमाणपत्र हुँदै स्नातक गरे । स्नातक पूरा गरेपछि व्यापारतिर लागे ।  त्यसपछि पढाइलाई अघि बढाउन सकिनँ, त्यत्तिमै पूर्णबिराम लाग्यो । त्यसबेला स्नातकभन्दा माथि पढ्ने चलन पनि थिएन । एकदमै थोरै व्यक्तिहरुले मात्र स्नातकोत्तर पढ्थेँ । धेरैको पढाइ स्नातकमै सीमित हुन्थ्यो । त्यसबेला घरमै बुवाले व्यापार गर्नुहुन्थ्यो । कलेज गएबाहेक वाबुलाई सघाउनु पथ्र्यो । अहिलेको जस्तो विद्यार्थीलाई सजिलो थिएन त्यसबेला । कलेजबाट आउन आधाघण्टा ढिला भएमा घरमा गाली खानुपथ्र्यो । अहिले त घण्टौँ नआउँदा पनि घरमा त्यतिधेरै गाली खानु पर्दैन ।
अहिले सम्झँदा कलेजका दिनहरु रमाइलो गरी बितेका थिए । आपूm साधारण विद्यार्थी भएकाले साथीहरुको सहयोग निक्कै महत्वपूर्ण हुन्थ्यो । साथीहरुले सहयोग नगरेका भए सायद स्नातक पास गर्न गाह्रो हुन्थ्यो होला । कलेज लाइफमा साथीहरुको साथ एकदमै महत्वपूर्ण हुँदोरहेछ । त्यो उमेरमा आउने समस्याहरु सिधै परिवारमा पनि भन्न सकिन्नँ । साथीसँग मिलेर समाधान गर्न सकिने समस्या त समाधान भइहाल्छन्, समाधान नहुने समस्याका पनि उपायहरु निकाल्न सकिन्छ । त्यसैले पढाइमा होस् या व्यावहारिक जीवनमा साथीहरुको उत्तिकै सहयोग चाहिन्छ त्यो उमेरमा । साथीको सहयोग त जीवनभर कुनै न कुनै रुपमा चाहिन्छ नै । यद्यपि, विद्यार्थी जीवनमा साथीको बढी महत्व हुन्छ । आफ्नो सफलताका लागि पनि साथीको भूमिका महत्वपूर्ण हुन्छ ।
कलेजमा पढ्न मात्र नभएर खेलकुदतर्फ पनि मेरो आकर्षण थियो । समय निकाल्न समस्या भए पनि जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै मनलाई रोक्न कहाँ सकिन्थ्यो र । म विशेषगरी क्रिकेट खेल्न रुचाउँथे । क्रिकेटमा राम्रो पनि थियो । त्यसबेला तीनवटा राष्ट्रिय खेल खेल्न पाएँ । पोखरा, चन्द्रगढी र काठमाण्डौमा भएका राष्ट्रिय खेलमा म विराटनगरको टिमबाट सहभागी भएको थिए । अहिले ती क्षण सम्झँदा खुसी लागेर आउँछ । एकपटक वीरगञ्जमा भारतबाट आएको रञ्जी ट्रफीको टीमसँग खेल्दा ५ विकेट लिएको थिएँ मैले । जीवनमा त्यो क्षण सबैभन्दा खुसी र रमाइलो क्षण बनेर बसेको छ । त्यसबेला खेलाडीलाई पनि अहिलेजस्तो तालिमको व्यवस्था थिएन । स्रोत र साधन त नगन्य थिए । तर पनि खेलाडीको उत्साह र लगनले गर्दा हामी भारतका थुप्रै टिमसँग खेल खेल्थ्यौं । राष्ट्रियस्तरका खेलमा त सहभागी हुने नै भयौ, क्षेत्रीयस्तरका खेल पनि थुप्रै हुन्थे । अहिले सम्झँदा लाग्छ विद्यार्थी जीवन नै जीवनको मुख्य पाटो रहेछ । धेरै कुरा सिक्न, बुझ्न र रमाइलो गर्न पनि । विद्यार्थी जीवनमा सङ्घर्ष गर्न परे पनि एउटा छुट्टै किसिमको रमाइलो हुन्थ्यो । अहिलेको व्यापारिक जीवन त्यसबेलाका क्षणसँग तुलना गर्नै सकिँदैन ।
त्यसबेला र अहिलेको कलेजको परिवेश आकाश जमिनको फरक छ । कक्षाकोठादेखि बाहिरी वातावरणको प्रभावसमेत तुलना गर्न नमिल्ने गरी बदलिएको छ । त्यसबेला विद्यार्थीहरु आफ्नो अनुशासनमा बस्थे । शिक्षकहरुसँग कुरा गर्न पनि डराउँथे । तर अहिले त्यस्तो छैन । राजनीतिक परिवर्तनले शिक्षक र विद्यार्थी दुवैलाई बदलेको छ । बन्द–हड्ताल र आन्दोलन भन्ने कुरा कलेजमा हुन्नथ्यो, त्यसबेला । मैले कहिले पनि बन्द–हड्ताल र आन्दोलन भएको थाहा पाइन कलेजमा । मलाई राजनीतिप्रति त्यति चाख नभएर पनि हुनुपर्छ । मैले विद्यार्थीका सङ्घ सङ्गठन भएको हेक्का भएन । त्यसबेलाको राज्यव्यवस्थाले गर्दा भएका सङ्घसङ्गठन पनि भूमिगत हुँदारहेछन् । पछि क्याम्पस छाडेपछि यो कुरा थाहा पाएँ मैले ।
हाम्रो पालामा क्याम्पसको वातावरण पनि बेग्लै थियो । छात्राहरुको सङ्ख्या एकदमै कम हुन्थ्यो । झन् हाम्रो समुदायका छात्राहरु त कलेज नै जाँदैन थिए । पढ्ने छात्रा पनि सीमित मात्रामा कलेजमा पढ्थे । त्यसैले गर्दा अहिले जस्तो केटाकेटीसँंगै कलेज जाने, सँगै बसेर पढ्ने त हामी कल्पना पनि गर्दैन थियांै । अहिलेजस्तो प्रविधि पनि त्यतिबेला थिएन । अहिले त मोबाइल, इमेल, इन्टरनेटले पनि विद्यालय र कलेजका केटाकेटीलाई नजिक बनाएको छ । प्रविधिले सजिलो बनाएको छ । साथै, विकृति  भित्र्याउन पनि सघाएझैं लाग्छ मलाई ।
अर्को कुरा अहिले परिस्थिति त्यसबेलाको भन्दा ठीक उल्टो भएको छ । त्यसबेला छात्राहरु कम पढ्थे अहिले केटाभन्दा केटीहरु धेरै पढ्ने भएका छन् । निजी क्याम्पसहरुमा केटीहरुकै सङ्ख्या बढी छ । त्यसले गर्दा आजकाल केटालाई विवाह गर्नसमेत समस्या आउन थालेको छ । धेरै पढेका केटी थेरै पढेका केटासँग विवाह गर्न मान्दैनन् । यस्ता समस्या अहिले हाम्रो समुदायमा देखिन थालिसकेका छन् । एउटा तहसम्म पढेर आफ्नो व्यवसायमा लाग्ने भएकाले केटाहरुको पढाइ सीमित हुन थालेको छ । केटीहरु भने पढाइमा मात्र लाग्ने भएकाले माथिल्लो तहसम्म पढ्न थालेका छन् ।
यतिबेला कलेज र प्लसटुमा पढ्ने विद्यार्थीमा गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउने फेशन चलेको पढ्न र सुन्न पाइन्छ । हामी कलेज पढ्दाको बेला त गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड के हो ? भन्ने नै थाहा थिएन । त्यसबेला भ्यालेन्टाइन डे, डेटिङ जस्ता शब्द नै सुन्न पाइँदैन थियो । अहिले त भ्यालेन्टाइन डेलाई युवा–युवतीले एउटा चाडकै रुपमा मनाउन थालेका छन् । जसले हाम्रो समाजमा विकृतिसमेत भित्र्याएको छ । गलत बुझाइले यसको उपयोग नकारात्मक तरिकाले भैरहेको छ । यो हाम्रो संस्कृति हैन ।  तर पनि यसलाई सकारात्मक रुपमा अँगाल्नु पर्छ । यसलाई विकृत हुनबाट जोगाउन सचेत हुनुपर्छ ।

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved