केटीसँग गफ हुँदैनथ्यो - College Times : Educational Magazine
Headlines News :
Home » » केटीसँग गफ हुँदैनथ्यो

केटीसँग गफ हुँदैनथ्यो

Written By Neplee on Saturday, March 16, 2013 | 6:26 PM


भगीरथ पोखरेल विराटनगरको आदर्श उच्चमाविका अङ्ग्रेजी शिक्षक हुन् । सफल र असल विद्यार्थी तयार गर्नका लागि मरिमेट्ने नगन्य शिक्षकमध्ये एक मानिन्छन् उनी । उनै पोखरेलले कलेज पढ्दा बिताएको जीवन उनकै शब्दमा ः
२०४४ साल अन्त्यतिर एसएलसी परीक्षा दिएँ । त्यसको रिजल्ट २०४५ सालको असारतिर सार्वजनिक भयो । अनि, मानविकी सङ्कायमा महेन्द्र मोरङ कलेज विराटनगरमा भर्ना भएँ । त्यो बेला पढ्दा एकदमै सस्तो शुल्क थियो । मासिक १३ रुपैयाँ मात्र लाग्थ्यो । शुल्क सस्तो भए पनि पढ्दा बस्ने–खाने र अन्य आवश्यक खर्च आफैंले जुटाउनुपर्ने अवस्था थियो । त्यसो हुदाँ ट्युसन पढाउने गर्थें । आइए पढ्दाताका कलेजमा कमै मात्रामा पढाइ हुने भए पनि त्यो बेला पढाइका लागि राम्रो वातावरण थियो । एक महिनासम्म नियमित कलेज जाँदा मलाई पाँचवटै विषय पढाइ भएको याद छैन ।
एक महिनापछि ऐच्छिक अङ्ग्रेजीबाहेक अरूको क्लास लिइनँ । अरु विषय आफ्नै किसिमले पढेथेँ । अङ्ग्रेजी विषयको क्लास लिइसकेपछि बचेको समयमा बरु पुस्तकालयमा गएर विभिन्न लेखकका उपन्यास र कोर्सका पुस्तक पढ्थँे । बढी चाहिँ उपन्यास नै पढ्न रुचाउँथे । आइए पहिलो वर्षको पढाइ सहज ढङ्गले बितेको थियो ।
दोस्रो वर्ष कलेज पढ्दा क्लास गइनँ । दोस्रो वर्षको परीक्षाको पूर्वसन्ध्यामा भारतले पारवहन सन्धि गरे पनि कलेज नै बन्द भएर केही समयसम्म पठनपाठन अवरुद्ध हुदाँ दुई वर्षको कोर्स तीन वर्ष लागेको थियो । पढ्दा परीक्षाको बेला राम्रोसँग पढ्थे । आइए नै पढ्दा एक रात त नसुतिकन उज्यालो बनाएको पनि थिए । आइए पहिलो वर्षको कल्चर विषयको परीक्षा पनि पूरै उज्यालो त बनाइनँ तर राति अबेरसम्म एकैदिन पढेका भरमा परीक्षा दिएको थिएँ । त्यसरी परीक्षा दिँदा पूर्णाङ्कको ७५ प्रतिशत अङ्क ल्याएको थिएँ । पढाइबाहेक बाहिरी कुरा लेखेर बस्नु पर्दा राति अबेरसम्म बस्थेँ । राति अबेरसम्म बस्न कुनै समस्या थिएन, बरु बिहान चाँडो उठ्न भने सक्दिनथेँ ।
स्नातक पनि महेन्द्र मोरङ विराटनगरमै पढेँ । स्नातक पढ्दा स्वअध्ययन नै गरे । त्यो बेला मोरङकै सिजुवा–५ को तत्कालीन समयमा सरस्वती निमाविमा शिक्षण गर्थें । स्नातकमा हुँदा तत्कालीन क्याम्पस प्रमुख ध्रुवनारायणलाल दासले एक दिन क्लास लिएको याद छ । स्वअध्ययन गर्ने क्रममा ऐच्छिक अङ्ग्रेजीलाई बढी समय खर्चिन्थेँ । २०५० सालमा स्वअध्ययनकै भरमा नराम्रो पनि होइन, सामान्य अङ्क ल्याएर स्नातक पूरा गरेँ ।
२०५१ सालमा स्नातकोत्तर गर्न कीर्तिपुर गएँ । घरबाट बोकेर गएको पैसा एक महिनामै सकियो । काठमाडौंमा बस्ने–खाने खर्च धान्न नसकेपछि जोरपाटीको शान्तिआदर्श स्कुलमा एक वर्ष शिक्षण गरेँ र खर्च जोहो गरेर अर्को वर्षदेखि पुनः कलेज भर्ना भएँ । पढ्दा असाध्यै मिहिनेत गरेर पढेँ । स्नातकोत्तर दोस्रो वर्षको पढाइ पूरा नगरीकनै सिजुवाको सौठा उच्चमाविमा आएर शिक्षण गर्न थालेँ । त्यहाँ सात वर्ष काम गरेँ ।
हामी कलेज पढ्दा केटाकेटीबीच गफ गरेको पनि सुनिँदैनथ्यो । म त झन् गफगाफ नै त्यति सारो गर्दिनथेँ । बरु कक्षा–१० सम्म पढ्दा बोलचाल हुने गथ्र्यो । नगन्य उच्छृङ्खल स्वभाव भएकाले कसैलाई जिस्काउनु त अलग्गै कुरा थियो । मलाई सानैदेखि अङ्ग्रेजीमा चाख भएकाले गर्दा सबैले सोध्थे । कतिपय विषयमा छलफल गथ्र्यौं । पढाइमा लगनशीलसँग मात्र सङ्गत हुन्थ्यो । म कलेज पढ्दा कहिल्यै पिकनिक र भ्रमणमा पनि गइनँ ।
मेरो कलेज पढ्दाको अनुभवले त अहिलेको पुस्तालाई बोरिङ नै हुन सक्छ । त्यो बेला मैले  आफ्नै पाराले पढेको हुनाले अबका विद्यार्थीलाई भने जति पढे पनि एकदमै मस्तिष्कलाई केन्द्रित गरेर पढ्न सल्लाह दिन्छु । पढ्दा दृश्य देखेको अनुभव गरी पढेमा त्यो दीर्घकालीन समयसम्म स्मरण रहिरहन्छ । विषयवस्तुलाई बुझ्न/पढ्न जति समय खर्चेको छ, त्यति नै समय सोच्नमा पनि खर्च गरौं भन्ने सल्लाह दिन चाहन्छु ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved