एसएलसीपछिका विकल्प - College Times : Educational Magazine
Headlines News :
Home » » एसएलसीपछिका विकल्प

एसएलसीपछिका विकल्प

Written By Neplee on Saturday, March 16, 2013 | 6:28 PM


यतिबेला विद्यार्थीहरू एसएलसी परीक्षामा राम्रो नम्बर ल्याउन कम्मर कसेर लागेका छन् । फलामे गेट, फलामको च्युरा आदि संज्ञा दिइएको एसएलसी परीक्षा त्यति गाह्रो विषय भने होइन । तर पनि विद्यार्थीहरू स्वास्थ्य बिग्रने गरी अध्ययनमा जुट्छन् । परीक्षाअघिको समयलाई खेर फाल्न चाहँदैनन् । जे काम पनि परीक्षापछि भन्ने गर्छन् । यसरी परीक्षाअघिको समयलाई महत्व दिए पनि परीक्षापछिको समयलाई भने वास्ता गर्दैनन् र रमाइलोमा बिताउने भन्दै योजना बनाउँछन् ।
सबैका आफ्ना आफ्नै योजना होलान्, तर फुर्सद भन्दैमा जीवनको कुनै पनि समय खेर फाल्नुहुँदैन । जीवनको एक क्षण पनि काम र सिर्जनशीलताबेगर बितायो भने त्यसले हामीलाई सामान्य मानिसबाट कहिल्यै माथि उठाउँदैन । त्यसैले केही नयाँ कुरा सिक्नको लागि हामी सधैँ तयार रहनुपर्छ । नयाँ कुरा सिक्नु निकै रमाइलो र फाइदाजनक हुन्छ । नयाँ कुराको जानकारीले हामीलाई ज्ञान र मनोरञ्जन दुवै दिन्छ । त्यसका लागि आफूले कुन विषय पढ्ने हो, त्यो विषयसँग सम्बन्धित ठाउँ घुम्ने, सम्बन्धित व्यक्ति भेट्ने, उनीहरूसँग काम गर्ने, सम्बन्धित पुस्तक पढ्ने, फिल्म हेर्ने गर्दा राम्रो हुन्छ । जस्तो कि व्यवस्थापन पढ्ने हो भने विश्वका ठूला कम्पनीको व्यवस्थापन कसरी भइरहेको छ भनेर इन्टरनेटबाट जानकारी लिन सकिन्छ । त्यस्तै, घरेलु, साना तथा ठूला उद्योग कसरी चल्छन् ? जनशक्ति कति लाग्छ ? बजार कहाँ हो ? लगायतका विषयमा आफैंले भ्रमण, खोजीनिधी गर्न सकिन्छ । केही सिक्दै खालि समयको सदुपयोग सिर्जनात्मक तरिकाले गर्न सकिन्छ । के–के हुनसक्छन् त विकल्पहरू ?

मनोरञ्जन : एसएलसीपछि म यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु, त्यहाँ जान्छु भनेर धेरैको योजना हुन्छ । खान, सुत्न पनि बिर्सेर परीक्षाको तयारीमा लागेकाहरू परीक्षापछि तनावपूर्ण दिनहरू बिताउन चाहँदैनन् । त्यसैले पनि आफन्तकोमा जाने, घुम्न जाने, टिभी तथा फिल्म हेर्ने, अन्य ज्ञानबद्र्धक र रमाइला किताब पढ्ने काम परीक्षापछि प्राथमिकतामा पर्ने कामहरू हुन् । महिनौंको मानसिक तनावपछि फ्रेस हुनका लागि घुम्ने योजना धेरैको प्राथमिकतामा पर्छ । नजिकै वा टाढाका भ्रमणयोग्य ठाउँहरू, पार्क आदि घुम्न सकिन्छ । झन् ऐतिहासिक र सांस्कृतिक ठाउँहरू भए भने त घुमघामसँगै ज्ञानसमेत बढ्छ । त्यसैले जीवनलाई हरेक क्षण केही न केही सिक्नका लागि प्रयोग गर्न घुमघामलाई पनि बहुउपयोगी बनाउन सकिन्छ । घुम्ने सिलसिलामा भेटिने मानिसहरूसँग बढीभन्दा बढी कुरा गर्नुहोस्, भरिया, चिया पसले, बटुवा सबैसँग कुरा गर्दा तपाईलाई त्यो ठाउँ, त्यहाँको जीवनशैलीका बारेमा बढी जानकारी मिल्छ । के थाहा, कुनै भेटघाट, भ्रमण र कुराकानीले तपाईको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पो पारिदिन्छ कि ?
अतिरिक्त पुस्तक ः सधैँ कोर्सका किताब पढेर थाकेकालाई यो समय अतिरिक्त पुस्तकहरू उपन्यास, कथा, आत्मकथा, प्रसिद्ध व्यक्तिका जीवनी आदि पढ्ने उपयुक्त मौका हो । कुनै पुस्तकको बारेमा धेरै सुनेको, पढ्न मन लागेको तर समय नभ्याएको हुनसक्छ । त्यस्तो अवस्थामा यो तीन महिनाको समयलाई सदुपयोग गर्ने हो भने धेरै उपयोगी हुन्छ । उपन्यास, कथा, आलेखहरू पढ्दा लेख्ने शैलीको पनि विकास गर्छ । अतिरिक्त पुस्तकबाट समाजको वास्तविक चित्रका बारेमा जानकारी पाइन्छ, जसले पछि काम गर्दाको समयमा धेरै फाइदा दिन्छ ।

ब्रिजकोर्स : पछिल्लो दशक नेपाली शिक्षा बजारमा ब्रिजकोर्स भित्रिएको छ । ब्रिजकोर्सलाई केही समूहले अनावश्यक भने पनि विशेष शिक्षा लिने एउटा अवसरको रूपमा भने सबैले स्वीकारेका छन् । एसएलसी दिएका स्कुले विद्यार्थीलाई क्याम्पसमा जानयोग्य बनाउने र क्याम्पसमा उनीहरूले रोजेका विषयको अग्रीम जानकारी दिने कक्षा नै ब्रिजकोर्स हो । अचेल मार्कसिट देखाएर मात्र क्याम्पसमा भर्ना पाइँदैन । खासगरी एसएलसीमा बढ्दै गएको चिट चोर्ने प्रवृत्तिका कारण क्याम्पसहरूले विद्यार्थी भर्ना लिनुअघि विद्यार्थीको जाँच लिन थालेका छन् । यस्तो जाँचलाई प्रवेश परीक्षा भनिन्छ । सम्बन्धित विषयमा विद्यार्थी कत्तिको जानकार छ भनेर लिइने यो परीक्षाले नै तपाईले क्याम्पसमा भर्ना पाउने वा नपाउने निधो गर्छ । त्यसैले यस्तो परीक्षामा राम्रो नम्बर ल्याउनु आवश्यक छ । अझ राम्रा क्याम्पसहरूमा विद्यार्थीको चाप बढी हुन्छ । उनीहरूले धान्नेभन्दा बढी विद्यार्थीलाई क्याम्पसमा प्रवेश गर्न नदिनका लागि पनि प्रवेश परीक्षा लिन्छन् ।
नजान्ने विद्यार्थी क्याम्पसमा भर्ना भएमा क्याम्पसको उत्तीर्ण प्रतिशत घट्छ र विद्यार्थीमा आकर्षण घट्छ भन्ने त्रास हुन्छ । त्यसैले क्याम्पसहरू राम्रा विद्यार्थी राख्ने ध्याउन्नमा हुन्छन् र प्रवेश परीक्षा लिन्छन् । त्यसैले प्रवेश परीक्षामा राम्रो गर्नु आवश्यक हुन्छ । प्रवेश परीक्षामा राम्रो गर्नका लागि पनि ब्रिजकोर्स लिने विद्यार्थीहरू पाइन्छन् । ब्रिजकोर्सले पढाइको असहजता कम गर्छ । स्कुले जीवनमा पढ्ने शैलीले क्याम्पस जीवनमा काम दिँदैन । दिनहुँ नोट बनाउनु, सहयोगी पुस्तिका पढ्नुलगायतका क्रियाकलापले नै क्याम्पस र स्कुल बीचको फरक अनुभव गराउँछ । त्यसमाथि टेक्निकल विषयहरू पढ्ने हुँदा त ब्रिजकोर्सले रामवाणको नै काम गर्छ । टेक्निकल विषयको बारेमा जानकारी दिन्छ र अगाडिदेखि नै तयार पार्छ ।

कम्प्युटर शिक्षा: प्रवेशिका परीक्षा सकिएपछिको तीन महिने समय सम्भवतः विद्यार्थी जीवनकैै सबैभन्दा बढी फुर्सदको समय हो । यो समयलाई कम्प्युटर सिकेर बिताउनु सबैभन्दा राम्रो उपाय मानिएको छ । कम्प्युटर सिक्दा राम्रो सिकाउने ठाउँको खोजी गर्नुपर्छ । एसएलसी दिएका विद्यार्थीलाई भन्दै इन्स्टिच्युटहरूले सस्तोमा सिकाउने प्रचार गर्छन् तर दुई(तीन महिना इन्स्टिच्युटमा धाउँदा पनि केही जानेकै हुँदैनन् । तीन महिना सिक्दा पनि कम्प्युटर खोल्न र बन्द गर्न नै नजान्ने विद्यार्थीहरू प्रशस्तै भेटिन्छन् । त्यसैले सस्तोको पछि नलागी राम्रोको पछि लाग्नुपर्छ । कम्प्युटर सिक्दा वर्ड, एक्सल, पावर प्वाइन्ट, पेजमेकर, फोटोसप चलाउन जान्ने गरी सिक्नुपर्छ भने इमेल( इन्टरनेट चलाउन जान्ने गरी सिक्नुपर्छ । प्रयोगात्मक अभ्यासमा बढी जोड गर्नुपर्छ । उदाहरणसहित सिक्दा प्रोग्रामको सही उपयोग गर्न सकिन्छ । कम्प्युटर सिक्दा वर्डमा अङ्ग्रेजी र नेपाली टाइप, चिठी, थेसिस तयार गर्ने, एक्सलमा तथ्याङ्क राखेर हिसाब गर्ने, पावर प्वाइन्टमा प्रेजेन्टेसन तयार गर्ने, फोटोसपमा फोटोहरू मिलाउने, कार्ड, प्रमाणपत्र डिजाइन सीप जान्ने गरी सिक्दा राम्रो हुन्छ । फायल एट्याचसहित इमेल, गुगल अर्थलगायत सर्च गर्ने सीप पनि सिक्नुपर्छ ।
आजको व्यक्तिको विकासस्तर मापनको एउटा सूचक पनि कम्प्युटर शिक्षा मानिन थालेको छ । त्यसैले कम्प्युटर ज्ञानविनाको शैक्षिक र व्यावसायिक भविष्य असम्भव नै छ । त्यसैले कम्प्युटरको आधारभूत शिक्षा लिएर यो समय सदुपयोग गर्ने हो भने त्यसले पढाइ र काम गराइ दुवैलाई सहयोग गर्छ ।

लाक्षेत्र: कसैको सङ्गीत, कसैको अभिनय, कसैको चित्रकला, कसैको साहित्यलेखन, कसैको खेलकुद, कसैको समाजेवामा रुचि हुनसक्छ । कतिलाई खेती किसानीबारे उत्सुकता रहला वा कसैलाई आफ्नै सानो व्यापार–व्यवसाय चलाउने वा काम गर्ने रहर होला । सबैलाई यी कुरा सिक्ने सबैभन्दा उपयुक्त समय पनि यही हो । सङ्गीतमा रुचि हुनेहरू सङ्गीत सिक्न सक्छन् भने अभिनय सिक्न चाहनेहरूको लागि समेत यो राम्रो मौका हो ।
स्मरणीय छ, छुटिसकेको पढ्ने बानी बसाल्नु फेरि त्यति सहज नहुन सक्छ । त्यसैले जे–जस्तो काम परे पनि पढ्ने बानी सकभर नछुटाउनु राम्रो हो । यो बेला जेसुकै गरे पनि त्यो आफ्नै रुचि र क्षमताको निर्णयमा रहेर गर्नुपर्छ । मनले रोजेको बाटो छाड्नुहुँदैन । तर एउटा कुरा चाहिँ अवश्य हो कि केही नगरी खालि बस्नुहुँदैन । किनकि जीवनको हरेक क्षण कर्तव्यले भरिएको हुन्छ । फेरि कामविहीन भएर फुर्सदमा रहँदा धेरै विद्यार्थीहरू बिग्रने खतरा हुन्छ । सङ्गत ठीक नभए बाटो बिराउन पनि सकिन्छ । किनकि मानिस सरसङ्गतले सुध्रने वा बिग्रने जात हो । फेरि खालि दिमाग सैतानको घर भन्ने त उखानै छ । यो समयमा गरिने सानो निर्णयले पनि धेरै पछिसम्म असर गर्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved