शिक्षा र मानवीयताको सम्बन्ध - College Times : Educational Magazine
Headlines News :
Home » » शिक्षा र मानवीयताको सम्बन्ध

शिक्षा र मानवीयताको सम्बन्ध

Written By Neplee on Saturday, March 16, 2013 | 6:24 PM


समयक्रम सँगै द्रूत गतिमा २१औं शताब्दीको मानव समुदाय उल्लेख्य उपलब्धिहरूको पोको लिएर एउटा बिछट्टै मिठासका साथ जीवन जङ्घारमा खडा छ । सभ्यताको विकासक्रमसँगै करोडौं वर्ष पहिले यथास्थितिमा भएको पूर्ण परिवर्तन वस्तुतः मानव समुदायले आर्जन गरेको शैक्षिक सम्पन्ताको व्यावहारिक उपयोगबाट सम्भव बनेको कुरामा सायदै दुईमत होला । विभिन्न समयमा भएका अनेकौं आविस्कारहरू शैक्षिक उपज नै हुन् भन्दा पक्कै अत्युक्ति हुँदैन । इतिहासदेखि वर्तमान सन्दर्भसम्म आइपुग्दा शिक्षाको महत्व अतुलनीय बनेको सर्वविदितै छ ।
शैक्षिक उपलब्धताले समृद्ध बन्दै गएको मानव मात्रको कुरा गर्दा सँगै मस्तिष्कमा उत्पन्न मानवीय संवेदनाहीन भावका बारेमा कतैबाट पनि कुरा उठाइएको पाइँदैन । ऐतिहासिक समयको कुनै कालखण्डमा मानवहित खातिर ज्यान उत्सर्ग गर्न उत्प्रेरितहरूको अनेकौं कथाक्रम अहिले अस्तित्व समाप्त पार्न उद्दत रहनुले मानसिक विचलन एउटा प्रमुख बाधकको रूपमा अग्रपङ्क्तिमा रहेको सहजै ठम्याउन सकिने कुरा हो । विश्वव्यापी रूपान्तरणमा अहम् भूमिका निर्वाह गरेको शिक्षा आर्जनबाट आजको मानव एउटा वितृष्णायुक्त जीवन मोडमा आइपुगेको यथास्थितिले भोलिको कहालीलाग्दो समयतर्फ इङ्गित गर्छ ।
पुर्खापुस्ताका नेपाली द्रष्टा कवि शिरोमणि लेखनाथ पौड्यालको यो उक्ति सान्दर्भिक भएकाले यहाँ प्रस्तुत छ ः
मै खाऊ, मै लाऊ, सुख–सयल मोज म गरु“,
मै बा“चु, मै नाचु, अरू सब मरुन् दुर्बलहरू ।
पुरातन परिवेशदेखि वर्तमानसम्म समेट्न सफल यो युक्तिको आशयझैँ अहिलेको मानवमा आएको संवेदनहीन भावका कारण सृष्टिको सुन्दर संरचना नै तहसनहस बन्न सक्ने भयले हरेक सजग मनमा डेरा जमाएको छ । व्यक्तिवादी प्रवृत्तिले ग्रसित वर्तमान मानसिक सङ्कीर्णताले अनिश्चित भविष्यलाई पार्ने कुप्रभावको सतही आँकलन गरिरहेको विश्वसमुदाय भाविपुस्ताका रूपमा आउने आफ्नै सुन्दर सिर्जनालाई एउटा अपहरिहार्य वास्तविकताबाट जानेर वा नजानेर विमुख गराइरहेको छ ।
भौतिक उपार्जनको मात्र मार्गमा प्रदर्शक बनेको वर्तमान अभिभावकपुस्तामा उत्पन्न मानवीय संवेदनहीनताको नैराश्य भावले भावीपुस्ताका जाज्वल्यमान मस्तिष्कमा व्यक्तिपरक सङ्कीर्ण सोचको विकास हुनु सर्वथा मानवहितविपरीत हुने प्रष्ट छ । कसैको अप्ठ्यारो स्थितिमा मानवीय पीडाबोध गर्ने मानव अहिले अरूको अप्ठ्यारोबाट आफ्नो सहज मार्ग प्रशस्त हुने रुग्ण मानसिकताबाट ग्रसित छ । भनिन्छ, आजको पुस्तालाई आफ्नो दुःखको भन्दा अरूको सुखको चिन्ता बढी छ । धेरै थोक पाएर पनि सन्तुष्टि बोध गर्न पाएको छैन ।
मपाईत्व मात्रको मिथ्याबोधले ग्रस्त मानवसमाज कालान्तरमा कल्पनै गर्न नसकिने संरचनामा रूपान्तरित नहोला भन्न सकिने अवस्था छैन । प्रकृतिको अनुपम सृष्टि मानवले विगतको गौरवशाली इतिहास बिर्सिएर एक–अर्का बीचमा कायम राख्नुपर्ने अन्योन्यास्रित सम्बन्धको अवमूल्यन गर्नुले आफ्नै भविष्यप्रति उदासिन बनेको स्पष्ट हुन्छ ।
हजारौं वर्ष पहिलेका गहन अनुसन्धानबाट प्राप्त उपलब्धिलाई आत्मसात गर्न नसकिरहेको मानव आफ्नै निश्चित दृष्टिकोणसमेतको अभावमा भुलवश शून्य जीवन बाँचिरहेको छ । पूर्वीय एवम् पाश्चात्य दर्शनका जीवनोपयोगी शाश्वततालाई आफ्नो सम्पूर्णतामा विकसित गरेको अस्पष्ट रूपान्तरणले जीवन र जगतबारेको सदियांैदेखिको स्पष्ट अवधारणालाईसमेत मिथ्या सावित गर्ने दुस्प्रयासमा लागेको सहज आभास हुन्छ । ‘ढुङ्गााको भर माटो’ भन्ने सामाजिक मान्यतालाई लत्याएर दैनन्दिन असामाजिकतातर्फ उन्मुख मानव कालान्तरमा एक–अर्काप्रति पूर्ण अनुत्तरदायी बन्न सक्ने सम्भावना निकै बढेर गएको छ ।
उल्लिखित यथार्थ विषयवस्तुमा गहन विचार एवम् विश्लेषण गर्दा तत्कालै यो विकराल स्थितिको निरूपणार्थ नयाँ चिन्तन आवश्यक बनेको छ । शैक्षिक उपयोगको सकारात्मकता एवम् सामाजिक आध्यात्मिक चिन्तनको महत्वलाई कलिलो मस्तिष्कमा समयमै बिजारोपण गर्न सके समुन्नत समाज निर्माणमा एउटा सफल सुरुवात हुनेछ । शिक्षालाई किताबी ज्ञानको रूपमा मात्र नलिएर असल मानवीय गुण अभिवृद्धि गराउने समेत माध्यम बनाइनु अपरिहार्य छ । यसबाट उत्पन्न असल मानवीय गुणलाई उपयोगितामा ल्याउन सके वर्तमान वितृष्णायुक्त परिवेशबाट मानव जीवनले एउटा ऐतिहासिक मोड लिनेछ ।
यसर्थ पूर्ण सामाजिक मानवले आजैबाटै मानवीय संवेदनायुक्त शिक्षा आदान–प्रदानमा सक्रिय बनी समुन्नत संसार निर्माणको मार्गमा अग्रसर रहन सके वास्तवमै २१औं शताब्दीको विश्वसमुदाय व्यक्तिवादी साँघुरो सोच त्यागेर मानवहित खातिर केही गर्न तत्पर हुनेछ । एकअर्काप्रति सकारात्मक सोचको निर्माणले नै मानव जातिको अस्तित्व सदैव जाज्वल्यमान रहिरहने कुरा पक्का छ ।
भेषराज दङ्गाल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved