सम्भावना बोकेको एच ए - College Times : Educational Magazine
Headlines News :
Home » » सम्भावना बोकेको एच ए

सम्भावना बोकेको एच ए

Written By Neplee on Saturday, March 16, 2013 | 6:15 PM


अहिलेको प्राथमिकता हो, गरिखाने शिक्षा । अध्ययनपछि रोजगार पाउने सम्भावना बढी भएकाले प्राविधिक शिक्षाप्रति युवायुवतीको झुकाव बढ्दै गएको छ । रोजगारमुखी कोर्स गराउने शिक्षालयहरू प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुनु अर्को फाइदाको कुरा हो । सर्टिफिकेट इन जेनरल असिस्टेन यस्तै कोर्स मध्येमा पर्छ । यो कोर्स गरिसकेपछि हेल्थ असिस्टेन अर्थात् एचए बन्न सकिन्छ । एचएलाई स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति मानिन्छ । यो कोर्स तीन वर्ष अवधिको हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का ४४ वटा शिक्षालयबाट यो कोर्स गर्न सकिन्छ ।
भर्ना प्रक्रिया तथा खर्च
एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवदेन दिन सक्छन् । उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ । प्रवेश परीक्षामा एसएलसीसरहको अङ्ग्रेजी, गणित र विज्ञानका अब्जेक्टिभ प्रश्नहरू सोधिन्छन् । मेडिकल साइन्सका लागि महत्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिएको सिटिइभिटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशङ्कर घिमिरे बताउँछन् ।
सिटिइभिटीको आङ्गिक कलेज अफ् हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ ।
तीन बर्से कोर्समा के पढ्ने ?
सर्टिफिकेट इन जेनरल असिस्टेन अन्र्तगत पहिलो वर्ष विभिन्न ९ वटा विषयहरू पढ्नुपर्छ । यसमा अङ्ग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्री, जुलोजी, बोटानी र म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन रहेका छन् । पहिलो वर्षको कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ । यस वर्ष १० वटा विषय समावेश छन् ।
मेडिसिन, सर्जन, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, इपिडिमियोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा विशेष प्रयोगात्मकसहितको कोर्स गराइन्छ ।
तेस्रो वर्षमा पनि यिनै विषयहरूको थप गहन अध्ययन र प्रयोग गर्नुपर्छ । खासगरी यो वर्ष मेडिसिन, सर्जन, हेल्थ म्यानेजमेन्ट लगायत इमरजेन्सी, मेडिसिन, सर्जन (इएनटी) समेटिएको छ । अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ । तेस्रो वर्षमा समुदायमा गएर उनीहरूले स्थलगत अध्ययन गर्नुपर्छ हुन्छ ।
योग्यता र अवसर
सर्टिफिकेट इन जेनरल असिस्टेनसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारको अवसर पाइन्छ । यस्ता जनशक्तिले हेल्थपोस्टमा प्रमुखको रूपमा समेत काम गर्न सक्छन् । एचएलाई प्राइभेट क्लिनिक, हेल्थ केयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम, अस्पतालमा स्वस्थ्य सहायक भएर काम गर्न सक्षम मानिन्छ । सर्टिफिकेट इन जेनरल असिस्टेनको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन र स्वस्थ्य परीक्षण गर्न सक्छन् । प्रोभिजनल डाइनोसिस गर्न सक्छन् । साथै, बिरामीका लागि इसेन्सियल औषधि (स्वस्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्नसमेत पाउँछन् ।
ग्रामीण क्षेत्रका डाक्टरको रूपमा चिनिने एचएले सामान्य बिरामीहरूको राम्रो उपचार गर्न सक्छन् । क्लिनिकल,  प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ । रोग प्रतिरोध र शारीरिक स्वस्थ्य कायम राख्न गरिने विभिन्न स्वस्थ्य कार्यक्रम तथा अभियानमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
कुनै पनि रोगविरूद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पेनजस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन् । साथै समुदायमा स्वास्थ्य समस्य पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन् । एनजिओ, आइएनजिओमार्फत् यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका हुन्छन्, जहाँ एचए  गरेकाले रोजगार पाउने सम्भावना हुन्छ ।
थप अध्ययन
सर्टिफिकेट इन जेनरल असिस्टेन कोर्स उत्तीर्ण गरिसकेपछि स्तातक तहमा विपिएच
(ब्याचलर अफ पब्लिक हेल्थ) अध्ययन गर्न बाटो खुल्छ । त्यसो त एमबिबिएस अध्ययन गर्न चाहनेहरूका लागि समेत यो राम्रो अवसर हो ।
एचएपछि पाटन एकेडेमी अफ् मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गर्न सकिन्छ । एचएपछि एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्णपछि केही महिनाको प्रि–मेडिकल साइन्सको कोर्स गराइन्छ ।
त्यसो त विज्ञानमा प्लसटु वा सोसरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि यहाँ प्रवेश पाउन सक्छन् । उनीहरूलाई भने प्रि–मेडिसिनको कोर्स गराइन्छ ।
यसरी फरक क्षेत्रबाट आएका दुवै किसिमका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि योग्य बनाइन्छ । कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ् पब्लिक हेल्थको अध्ययन गर्न सकिन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved