राजनीतिक विचार लेखक, वैकल्पिक विचार मञ्च संयोजक, कथाकार, प्रध्यापन पेसामा
संलग्न, वाणिज्यशास्त्रमा स्नातकोत्तर डम्बर खतिवडाले राजनीतिक क्षेत्रमा धेरै
वर्षहरु बिताए । राष्ट्रियस्तरका अखबारमा उनका विचारले अग्र ठाउँ पाउने गरेका छन्
। उनका ‘एउटा अतिरिक्त गाउँ’ (कथा सङ्ग्रह), ‘कुस्तुन्तुनियाको पतन’ (राजनीतिक लेख सङ्ग्रह) ‘सङ्घीयता र
पूर्वी तराई’ (साझा विचार सञ्चयन), ‘बीस वर्षको नेपाल’ (अनुसन्धानमूलक ग्रन्थ) आदि प्रकासित छन्
। दुर्गम गाउँ मानपुरबाट उच्चशिक्षाको लक्ष्य बोकेर दिनदिनै सदरमुकाम धाएका खतिवडा
कलेज लाइफका पुराना दिन सम्झँदै लेख्छन् :
२०४३ सालको ब्याचमा महेन्द्र मावि चक्रघट्टीबाट एसएलसी पास गरेपछि २०४४
भदौबाट मेरो कलेज जीवन सुरु भयो । मैले कलेज जीवनको पहिलो पाइला टेकेको सुनसरी
बहुमुखी क्याम्पस इनरुवाको आफ्नै भवन थिएन । क्याम्पस भनेको स्कुलभन्दा फरक, अलि ठूलो भवन, आधुनिक फर्निचर, आकर्षक
व्यक्तित्व भएका फरक शैलीमा पढाउने प्राध्यापक, अन्य सुविधाहरू होलान् भन्ने कलेजबारेको
मेरो मानसिक चित्र व्यवहारमा उपलब्ध थिएन । क्याम्पस भनिने भगवती माविको भव्यता
हामीले पढेको स्कुलभन्दा पनि कमजोर थियो । तसर्थ कलेजले कुनै ‘सस्पेन्स’ सिर्जना गरेन । इनरुवा कलेज पढ्न हामी बिहान पाँच बजेतिर उठेर
हिँड्थ्यौं सिंगियाको मानपुर गाउँबाट । साइकल पनि थिएन । झुम्का पुगेर गाडी चढी
इनरुवा पुग्थ्यौं । भाडा एक रूपैयाँ तिर्नुपथ्र्यो विद्यार्थीले । त्यो पनि नभएर
बेलाबेला कन्डक्टरसँग झगडा भइरहन्थ्यो । क्लास सकेर, भोकले लखतरान भएर घर पुग्दा प्रायः
दिउँसो एक बजेको हुन्थ्यो ।
इनरुवाबाट आइकम सकेपछि बिकम पढ्न धरानको महेन्द्र क्याम्पस गएँ । २०४६
को जनआन्दोलन भर्खरै सकिएको थियो । जताततै राजनीतिक वातावरण थियो । जनआन्दोलनमा
दुई महिना जेल बसेर निस्किएको थिएँ । पञ्चायतकालदेखि नै अनेरास्ववियुको जिल्ला
कमिटी सदस्य थिएँ । महेन्द्र क्याम्पसमा अनेरास्ववियुको बलियो पकड थियो । यी
कारणहरूले धरान पुगेर एकाएक थुप्रै साथीहरू पाएँ । साथीहरूको ठूलो ग्रुप बनाएर
बजार डुल्दा, कलेजको चौर वा क्यान्टिनमा चिया पिउँदै गफिँदा संसारकै सबैभन्दा जान्ने
मान्छे भएजस्तो लाग्थ्यो । आइकम, पढ्दा होस् वा बिकम हाम्रो क्लासमा
अत्यन्तै थोरै छात्राहरू थिए । त्यतिखेर अधिकतर केटीहरू आर्टस् पढ्थे । आइकम
पढ्दाका केटी साथीहरूको अनुहार अहिले पनि सम्झिन्छु । नाम भने थाहा छैन । बोल्ने त
कुरै छोडौं ।
धरानमा बिकम पढ्दा भने त्यस्तो स्थिति थिएन । जम्मा चार जना केटी
साथीहरू थिए । चारै जना पढाइमा तेज, हामीलाई नै जित्ने खालका थिए ।
उनीहरूसँग बोलचाल गर्न कुनै गाह्रो थिएन । तर, मेरो स्वभाव सानैदेखि ‘इन्ट्रोभर्ट’ नै थियो । मन मिल्ने साथीबाहेक काम नपरी अरूसँग बोल्दिनथेँ । त्यसैले
कतिपय यो मान्छे घमन्डी छ भनेर परपरै अनुमान गर्थे । अग्लो देखेर हो कि किन हो (६
फिट) दादा र चल्तापूर्जा खालका केटाहरू मसँग सङ्गत गर्न मन पराउँथे ।
कलेज जीवनमा क्लासमा म कहिल्यै सिरियस भएर पढ्दिनथेँ । सरको लेक्चर
सुन्थे र कपीमा टिप्थे । तर, बुझ्न पिटिक्कै प्रयास गर्दिनथेँ ।
वास्तवमा दिउँसो पढेर नबुझ्ने खालको दिमाग थियो मेरो । कुरा बुझ्न राति एकान्तमा
पढ्नुपथ्र्यो । क्लास नोट किताबसँग भिडाएर रातभरि अर्थ लगाउने प्रयास गर्थें । तर, परीक्षाको दुई
महिनाअघि मात्र । अरू बेला त राजनीतिक भेला, जुलुस, सम्मेलन र मिटिङमा हिँड्दा नै समय
स्वाहा हुन्थ्यो । क्याम्पसमा हुने कविता गोष्ठीमा अधिकतर त प्रथम नै हुन्थें ।
क्याम्पसमा भित्ते पत्रिका र पर्चा साहित्य निकाल्ने लहर नै थियो त्यतिखेर । यस्ता
पत्रिकामा कविता छाँपिदा कलेजमा साथीहरू बीच शान बढ्थ्यो । बढो खुसी लाग्थ्यो । तर, मैले भने कलेज
जीवनसँगै कविता जीवन समाप्त गरिदिएँ ।
एमबिए भने मैले नेपाल कमर्स क्याम्पस मीनभवन, काठमाडौंबाट
पढेको हुँ । पढेको हुँ भन्नु मात्र हो, दुई वर्षको कलेज अवधिमा चार महिना पनि
क्लास लिइनँ । त्यतिखेर म सानोतिनो नेताजस्तो भइसकेको थिएँ । २३ वर्षको उमेरमा
एमाले सुनसरीको सदस्य भएको थिएँ । त्यही अवधिमा २०५१ सालको मध्यावधि चुनाव भएको
थियो । स्कुलदेखिका साथी हरिबाबु आचार्य र म सँगै थियौं मीनभवन पढ्दा । एमबिए
पढ्दा म जिल्लामा राजनीति गर्थे । परीक्षा आएपछि कुदेर काठमाडौं पुग्थे र हरिजीका
नोटहरू घोक्न थाल्थेँ । कसरी पास हुन्थे कुन्नि आफैँलाई आश्चर्य लाग्छ । अहिले
लाग्छ, पढाइमा यस्तो लापरवाही कुनै विद्यार्थीले नगरोस् ।
कलेज
जीवनमा पैसाको सधैँ अभाव हुन्थ्यो । अलिकति पैसा भयो कि सिनेमा हेर्ने मन थाम्नै
सकिँदैनथ्यो । सिनेमा हलमा गएर सिनेमा हेर्न खुबै मजा लाग्थ्यो । साथीहरूसँग ग्रुप
बनाएर सिनेमा जाँदा आफूले टिकट काट्ने पालो प¥यो भने एक महिनाको खर्च सकिन्थ्यो । कलेज जीवन फर्केर
हेर्दा के भन्न मन लाग्छ भने विद्यार्थीकालमा पहिलो ध्यान पढाइमा नै लगाउनु राम्रो
हुने रहेछ । दोस्रो आफ्नो रुचिको रचनात्मक क्षेत्रमा । तेस्रो मात्र राजनीतिमा ।
२५ वर्ष उमेर नपुग्दै पढाइ सकिइहाल्छ । त्यसपछि जेजे गर्दा पनि भो । कलेज जीवन
सबैभन्दा अभाव थियो तर सबैभन्दा रमाइलो थियो । अहिलो हिजोजस्तो अभाव छैन, जीवन
हिजोजस्तो रमाइलो पनि छैन ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !