टीका आत्रेय पौडेल (प्रध्यापक), जनता बहुमुखी क्याम्पस, इटहरी
२०४७ सालमा पाँचथर, रविको दुर्गा माध्यमिक विद्यालयबाट एसएलसी दिएँ । एसएलसीको रिजल्टपछि २०४८ सालमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न मोरङको उर्लाबारी कलेजमा भर्ना भएँ । उर्लाबारी कलेज पढ्न दमकबाट धाउने गर्थें । दमकमा पनि कलेज थियो तर दुवै स्थानमा पढाउने सरले दमकभन्दा उर्लाबारीमै राम्रो पढाइ हुने सल्लाह दिएपछि उर्लाबारी साइकलमा धाउथेँ ।
कलेज पढ्दा दिदी र म बस्ने गथ्र्यांै । दमक नै बस्नुपर्ने बाध्यता चाहिँ रेखदेख गर्ने अगुवा भएकाले हो । प्रवीणता प्रमाणपत्र तहमा मानविकी सङ्कायबाट मैले गणित, अर्थशास्त्र र इतिहास रोजेर पढेँ । पढ्ने क्रममा बिहान तीन बजेदेखि उठेर पढथेँ । बेलुका चाहिँ कम्ती पढ्थेँ । कलेजमा पढाइ भएका महत्वपूर्ण बुँदा टिपेर नोट बनाउने गर्थेँ । सुरुवातमा कलेज पढ्दा बँुदा टिपोट नगरेको देखेर एकदिन इतिहास पढाउने निराजन ढुङ्गाना सरले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘यहाँ पुराण सुन्न आएको कि पढ्न ?’ सरको यस्तो भनाइले हरेक विषयको टिपोट गरी नोट बनाउने बानी बस्यो । हामी पढेको बेला केटीले पढ्नु भनेको बिहेको लाइसेन्स लिनका लागि हो भन्थे । त्यो बेला थुप्रैमा त्यस्तै सोचाइ थियो । तर, मेरो बाबु भने शिक्षक नै भएकाले मलाई भने स्वावलम्बी बनाउनकै लागि पढाउनुभएको थियो । म पनि बुबाको भावना बुझेर सोहीअनुसारको मिहिनेत गरेर पढ्थेँ ।
प्रवीणता प्रमाणपत्र तह पूरा गरपछि स्नातक अध्ययनका लागि इलाम गए । उर्लाबारीमा स्नातक तहमा मेरो रोजाइको विषय गणित नहँुदा इलाम जानुपरेको थियो । इलाममा दिदी–भिनाजुकोमा बसेर पढेँ । त्यहाँ स्कुल तह पढ्दाका धेरै साथी थिए । स्नातकोत्तर भने कीर्तिपुरबाट जनसङ्ख्या विषयमा पूरा गरेँ । लगनशील भएर पढेकै कारण क्रमशः सफलता हात लाग्दै गयो ।
कलेज लाइफमा सबैभन्दा बढी दुःखका दिन प्रवीणता प्रमाणपत्र तह पढ्दा नै बिताइयो । कोइलामा खाना पकाएर खाइन्थ्यो । तपेसमा खाना पकाइन्थ्यो । स्टोप र प्रेसर कुकर थिएन । कलेज पढ्ने क्रममा कहिल्यै रमाइलो गर्नेतिर मन बरालिएन । थुप्र्रै केटाहरूले पिछा गर्थे । तर, संस्कारयुक्त परिवारमा हुर्केकी हुनाले ‘बजारका’ केटाहरूप्रति नजिकिने भाव र दृष्टिकोण बन्न पाएन । स्नातकोत्तर पढ्दासम्म केटी पछ्याउने केटालाई नकारात्मक दृष्टिले हेरिन्थ्यो । एकदिन केही केटाले अलि बढी नै गरेजस्तो लाग्यो । हामीले ती केटालाई केटी साथीहरू मिलेर थुकी दियौँ । तर, अहिले त्यो घटना सोच्दा हामीले त्यति साह्रो नगरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
केटाबाट टाढा रहँदा–रहँदै पनि मलाई सँगै पढ्ने टोलनाथजी (हाल जनता बहुमुखी क्याम्पसकै प्राध्यापक)ले दुई वर्षसम्म पिछा गर्नुभयो । एकदिन अर्कै साथीको सहयोगमा मलाई एउटा गिफ्ट दिनुभो । स्वयम्ले नदिई अरूमार्फत् नै पठाएको गिफ्ट स्वीकार गरेँ । तर, उहाँसँगै विवाह भएपछि त्यो त भ्यालेनटाइनको गिफ्ट भएको सुनाउनुभएको थियो । मलाई त्यो दिन भ्यालेन्टाइन डे भन्ने थाहा पनि थिएन ।
कलेजमा पढने–पढाउने वातावरण पहिलोको तुलनामा अहिले बदलिएको छ । अहिलेका विद्यार्थी पूरै शिक्षकमा भर पर्ने गर्छन् । एकातिर त पाठ्यक्रम प्रभावकारी नहुनु र अर्कोतर्फ शिक्षक–विद्यार्थी अल्छे हुनुले गुणस्तरीय शिक्षा प्रदानमा समस्या सिर्जना भएको छ । तथापि अचेल पढाउने क्रममा शिक्षक–शिक्षिकालाई सहज छ । शिक्षकले नयाँ उपाय अपनाएर पढाएको भने पाइँदैन । ‘राम्रो भन्दा हाम्रो नियुक्तिले’ प्रवेश पाएको छ ।
विद्यार्थीले पनि खोजी गरेर पढेको पाइँदैन । हुन त प्रमाणपत्रका लागि कुनै विद्यार्थीले पास त गर्ला तर उसमा अध्ययनको गहिरो छाप परेको हँुदैन ।
प्रस्तुतीः अमर
0 comments:
Speak up your mind
Tell us what you're thinking... !