प्रेम र यौन फरक विषय (सम्पादकीय २०६९ फागुन)
Written By Neplee on Wednesday, February 13, 2013 | 7:12 PM
प्रेम र यौनलाई एउटै रूपमा बुझ्दा आज शारीरिक, मानसिक, सामाजिक रूपमा थुप्रै समस्या देखापरेका छन् । विशेषगरी आजको पुस्ताले प्रेमलाई यौनसँग जोडेर हेर्ने गरेकाले यस्ता समस्या देखिएका हुन् । तर, प्रेम र यौन नितान्त फरक कुरा हुन् । प्रेम सार्वजनिक सम्बन्ध हो भने यौन नितान्त व्यक्तिगत । हरेक धर्मले प्रेम गर्न सिकाउँछ । प्रेम बाँड्न सिकाउँछ । प्रेम संसारका कुनै पनि बन्धनले बाध्न सक्दैन् र बाँधेको पनि छैन । कथंकदाचित प्रेमलाई बन्धन लगाउने प्रयास भए ती सधैँ असफल हँुदै आएका छन् ।
तर, यौनका लागि धर्म–संस्कृतिअनुसार आ–आफ्नै व्याख्या, उपयोगका तरिका र सीमाहरू छन् । यसको व्याख्या ठाउँ र परिवेशअनुसार फरक हँुदै आएको छ । प्रेमको व्याख्या र उपयोगका तरिका संसारभर एउटै छ । प्रेम सीमाहीन छ, जो जीवनको उर्जा र प्रकृतिको उपहार हो ।
प्रेमसम्बन्ध संसारका जुनसुकै जीवसँग गाँस्न सकिन्छ । यसमा कसैको रोकछेक हँुदैन । आमाबाबुसँगको प्रेम, दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, साथीभाइ, इस्टमित्रबीचको प्रेम, यति मात्र नभएर केही अपरिचित र घरपालुवालगायत जीवजन्तुसँग पनि गहिरो प्रेम हुन्छ । सजीवमा मात्र होइन, आफ्नो ठानिएका निर्जीव वस्तुमा पनि हाम्रो प्रेम बसेको हुन्छ । आफूले सधैँ लगाउने सिराने, आफू जन्मेको ठाउँ, साथीले उपहार दिएको मोबाइल आदि पनि हाम्रा प्रेमभावका वाहकहरू हुन् । हामीले अनुभूत गरेकै छौँ कि घरमा पालेको गाईलाई जति पे्रमिल तरिकाले स्याहार गरिन्छ, उसले त्यति नै राम्रोसँग र बढी दुध दिन्छ । घरमा पालेको कुकुर प्रेमिल व्यवहार गर्ने सदस्यसँग बढी नजिक हुन्छ । समस्याको समाधान गर्न असमर्थ विद्यार्थीलाई प्रेमपूर्ण सिकाइ वातावरण समाधाननजिक पुग्ने माध्यम बनिरहेको हुन्छ ।
तर, प्राकृतिक आवश्यकता भए पनि यौनले समस्या निम्त्याउँछ, खासगरी कानुन र समाजद्वारा वर्जित यौनसम्बन्धले । संसारका कुनै पनि कानुनले प्रेमसम्बन्धलाई निषेध वा नियन्त्रित गर्न चाहेको छैन । यौनलाई कानुन र समाजले सीमा तोकेको छ । यौनसम्बन्ध सीमित गर्न समाजले निर्देशित गरिहेको हुन्छ, किनकि छाडा यौनसम्बन्धको धमिराले सभ्य समाजको जग नै धरासायी बनाइदिन्छ । स्वभावतः एउटा उमेर पार गरेपछि सामाजिक मान्यता पूरा गरेर यौन सम्बन्ध राख्न छुट छ यो दुनियाँमा । तर, सार्वजनिक र धेरैसँग यौन सम्बन्ध बनाउने छुट कसैलाई छैन ।
यौन जीवनका लागि आवश्यक त छ तर यौनक्रिया समयअनुसार सम्पादन हुन नसके त्यसका दुस्परिणामहरू अनगिन्ती हुन्छन् । प्रेममा त्यस्ता केही मान्यता र सीमाहरू छैन । भनिन्छ, प्रेममा सबैथोक जायज हुन्छ । तर, वर्जित यौनसम्बन्ध नाजायज मानिन्छ । फेरि प्रेमविनाको यौनसम्बन्धलाई समेत अर्थहीन जैविक क्रिया मानिँदै आएको छ । त्यस्तो सम्बन्धले आनन्द होइन पीडा मात्र दिन्छ । त्यसैले प्रेम र यौनसम्बन्धको फरक छुट्याउन नसकेर नै आजको पुस्ता दुखी भएको हो । विना यौनसम्बन्ध पनि युवायुवतीबीच गहिरो प्रेम सम्बन्ध राख्न सकिन्छ । लैला–मजनुको प्रेमकथामा यौनको कुनै ठाउँ थिएन । यस्तो सम्बन्धले मात्र प्रेमको मूल्य, जीवनको उच्चतम् सुन्दरता र आनन्द दिन्छ । यसर्थ अहिलेका किशोर–किशोरीलाई प्रेम र यौन फरक विषय हुन् भनेर बुझाउनु जरुरी छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !