माया साह्रै महँगो - College Times : Educational Magazine
Headlines News :
Home » » माया साह्रै महँगो

माया साह्रै महँगो

Written By Neplee on Wednesday, February 13, 2013 | 7:05 PM


न तेजाबी सुन हो माया, न हो छापावाल,
एकै तोला पाउन पनि कस्तो महाजाल,
माया साह्रै महँगो ...!
यो चर्चित गीतका शब्दहरू सामयिक छन् । कुनै सुन, चाँदी, हिरा, जवाहरात होइन माया । न त तौलिने, न देखिने वस्तु नै हो । तर पनि मायाको एक झल्को पाउन गाह्रो छ । साँचो माया गर्ने मनहरू वासनाका सारथी भएर हावामा उडिरहँदा साँचो माया अनि माया गर्ने मान्छे भेट्न गाह्रो छ ।
पश्चिमी सभ्यताले दिनैपिच्छे धूलाम्मे बनाइरहेको पूर्वीय संस्कृतिमा साँचो मायाका रङहरू फिका हुँदैछन् । चौतारीमा साटिने माया बन्द कोठामा मोलमोलाइ गर्ने हदसम्म पुगेर टुङ्गिएका अनेकन घटनाहरू सार्वजनिक भइरहेका छन् । यौन दुव्र्यवहारका घटनाहरू सस्तिएका छन् । त्यसैले त साँचो र चोखो मायाहरू महँगिएका छन् ।
आजकाल केही माया नोटका हरिया बिटामा साटिन्छन् अनि नयाँ–नयाँ मनसँग रातभरि पोखिन्छन् । केही माया स्वार्थपूर्तिका औजार बन्छन् अनि केही बाध्यात्मक दासहरू । त्यसैले त स्वच्छ माया पाउनै गाह्रो छ । त्यही भएर नै भएका थोरै माया महँगिएका हुन् । लाग्छ, अब यो संसारमा अर्की मुना जन्मिने छैन, अर्की लैला र जुलियटको कहानी लेखिने छैन । किनकि, अर्को मदन, मजनु र रोमियो पनि पाइँदैनन् अब । मदन, मजनु र रोमियोहरूलाई दोबाटो ढुकेर राम्री केटी जिस्क्याउँदैमा फुर्सद छैन ।
कहिलेकाहीँ अँध्यारोमा ¥याल चुहाउने दानव बन्छन् । लैला, मुना र जुलियट पनि मायाको भागबन्डा लगाउँछन् । चोखो मायामा दागैदाग उद्दत देखिन्छन्, आधुनिक लैला–मजनुहरू  ! अचेल मुनाहरू आफ्ना विदेसिएका चोखो पिरतीलाई छिमेकीको न्यानो आलिङ्गनमा बिर्सिन थालेका छन् । मदनहरू पनि के कम, उनीहरूकै शब्दमा ‘खुट्टा बन्छन्, जुत्ता फेरिरहन्छन् ।’ त्यसैले चोखो माया अब पाइनै नसक्ने खजाना बनेको छ । त्यसैले त माया साह्रै महँगो छ । यहाँ स्वार्थी मायाहरू पाइला–पाइलामा भेटिन्छन् । तर, चोखो माया अजम्मरी बुटी बनेको छ । चोखो माया किताबमा पाइन्छ, व्यवहारमा छैन, मुना–मदनजस्तै, लैला–मजनुजस्तै, रोमियो–जुलियट जस्तै ।
संसारमा सबैभन्दा गाह्रो कुनै काम छ भने त्यो हो, मानिसको मन जित्नु । मनमा नै माया हुन्छ भन्छन्, मायालाई नजिकबाट व्याख्या गर्नेहरू । त्यसैले मन जित्न सके माया बस्छ रे ! तर, कुरा मात्र जित र हारको होइन । मायामासमर्पण र त्याग पनि चाहिन्छ । आफ्नो स्वार्थ मात्र हेरेर गरिने माया, माया होइन । आफूलाई पर्दा मात्र याद गरिन्छ भने त्यो माया हुनै सक्दैन । त्यो त व्यवसाय हो, जसमा समय र लगानी तौलेर माया दिइन्छ र माया पाउने आशा गरिन्छ । अनि पैसामा तौलेको माया दीर्घकालीन हुँदैन न त भावनात्मक नै । त्यही भएर मायाको गरिमा सस्तिएर व्यावसायिकस्तरमा खस्छ ।
माया नगर्ने र नपाउने मानिस कोही छैन यो संसारमा । सबै मायाका आकाङ्क्षी र अनुयायी छन् । कसैले गरोस्–नगरोस्, मान्छेले आफैँलाई मात्र भए पनि माया गर्छ नै । आफूलाई ध्यान दिन्छ, सेवा स्याहार गर्छ । अनि अर्कोसँग माया गाँस्छ । परिवार, आफन्त, साथी हुँदै मायाका विभिन्न रङ र रूपलाई आफूमा समाहित गर्छ मानिस । त्यसैले त मायाको सञ्जाल व्यापक छ । तर, त्यो जालोमा कहीँ कतै स्वार्थ, लोभ अनि महत्वाकाङ्क्षाले हस्तक्षेप गर्छ । मनमा जमेर रहेको निष्ठा, एकाग्रता र इमान्दारितामा धमिरा लाग्छ । अन्त्यमा सबै धुलाम्मे हुन्छ । त्यसैले होला माया निकै सस्तो हुँदै गएको छ ।
महँगो माया त्यस्तो हो, जुन जहीँतहीँ प्रदर्शित हुँदैन, पैसामा बिक्दैन, निस्वार्थ हुन्छ । माया गरिँदैन, आफैँ हुन्छ । माया भएको कुरा बिछोडमा थाहा हुन्छ । अनुपस्थितिमा अनुभूति हुन्छ । मायालुविनाको निरस, एक्लो जिन्दगीले बारम्बार कोट्याइरहन्छ । जहीँतहीँ झझल्को आउँछ । फोन गर्न, म्यासेज गर्न मन लाग्छ । टाढा भए पनि छुन मन लागिरहन्छ । कसैले सम्झाइरहनुपर्दैन, आफैँ याद आउँछ ।
तर, आजकाल माया धेरै सस्तिएको छ । सम्झना आउँदैन, गरिन्छ । त्यो पनि स्वार्थका लागि । बनावटी माया गरिन्छ । जहीँतहीँ छरिन्छ । वनावटी माया अर्थात् व्यवसाय जहीँतहीँ भेटिन्छ तर वास्तविक माया दुर्लभ भएको छ । त्यसैले त दिउँसै लालटिन बालेर खोज्दा पनि वास्तविक माया भेटिन्न । माया साह्रै महँगिएको छ ।
yugpath
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved