जीवनका विविध पाठशालाहरु
Written By Neplee on Wednesday, February 13, 2013 | 11:17 PM
ज्ञानको भोक मान्छेका लागि निकै महत्वपूर्ण छ । ज्ञानको यही तृष्णाले मान्छे निरन्तर खोज, अध्ययन, आविष्कार र प्रयोगमा संलग्न छ । यो कुरा व्यक्ति, समाज र देशको समग्र सीमा हँुदै अगाडि बढ्छ र मान्छेको ज्ञान विश्व मानव सभ्यता निर्माणमा समेत सहयोगी हुन पुग्छ । तर, ज्ञान कसरी हासिल हुन्छ ? मान्छेले कसरी सिक्छ ? यो निकै महत्वपूर्ण प्रश्न हो । मान्छेले सिक्ने प्रक्रिया बुझ्यो भने ज्ञान प्राप्त गर्न अझ सजिलो हुन्छ । मान्छेले सिक्ने अभिलाषाबाट नै ज्ञान प्राप्त गर्ने हो । तर, सिक्नका लागि फरक माध्यम, प्रक्रिया र विधिहरू हुन्छन् । कतिपय यस्ता विधिहरू प्राकृतिक, स्वाभाविक र सरल छन् । जस्तो आमाको माया, पारिवारिक वातावरण, मित्रहरूको सङ्गत मान्छेले सिक्नका लागि सामाजिक माध्यमहरू हुन् । कतिपय विधिहरू मान्छेले पछि बनाएको हो । स्कुल, कलेज, पुस्तकालयहरू मान्छेले सिक्नका लागि पछि बनाउँदै लगेका माध्यमहरू हुन् । सिक्नका लागि मान्छेले नयाँ–नयाँ माध्यम र साधनाहरूको विकास गरेको छ ।
मान्छेका लागि आमाको काख, आमाको माया, आमासँगका बालसुलभ अन्तक्र्रियाहरू, आमाको व्यवहार र आमाको दैनिक जीवन पहिलो पाठशाला हो । तर, यो निकै महत्वपूर्ण पाठशाला हो । यो ज्ञानको पहिलो स्रोत हो । तसर्थ असल सन्तान तयार गर्न असल आमा आवश्यक हुन्छ । भनिन्छ, एउटी आमाले आफ्ना सन्तानलाई योग्य बनाउन सबैभन्दा धेरै योगदान गर्छिन् । आमा सन्तानको ज्ञान निर्माण प्रक्रियामा सचेत भइन् भने उनीहरूले जीवनकै सबैभन्दा महत्वपूर्ण ज्ञानहरू आमाको काखमा सिक्छन् । यसर्थ मान्छेका लागि आमा पहिलो पाठशाला हुन् । यदि हामी आफ्ना सन्ततिलाई ज्ञान, सूचना र अनुभवले समृद्ध बनाउन चाहन्छौँ भने आमा ज्ञान, सूचना र अनुभवले समृद्ध बन्नुपर्छ । त्यसैले नै आमाहरूका लागि राज्य, समाज र परिवारले समेत विशेष अवसरहरू दिन आवश्यक भएको हो । आमा आफ्ना सन्तानलाई के सिकाउँदै छु भन्ने विचार गर्न सक्षम हुनुपर्छ । आमाकै माध्यमबाट मान्छेले माया, प्रेम, करुणा, वात्सल्यजस्ता संवेगात्मक शिक्षाहरू प्राप्त गर्छ । ज्ञान निर्माणका लागि आमापछिको अर्को पाठशाला मान्छेको आफ्नै घर हो । मान्छेको परिवार र सम्बन्ध हरू ज्ञानका स्रोतहरू हुन् । बुबा, हजुरबा–हजुरआमा, दाजुभाइ तथा दिदीबहिनीहरू बालबालिकाका पाठशालाहरू हुन् । परिवारमा हुने हरेक घटनाहरूले मान्छेलाई सिकाइरहेको हुन्छ । चाडपर्व, मेला, जात्राहरू यस्ता घटनाहरू हुन्, जसले मान्छेका लागि समाज र सामाजिक महत्वको ज्ञान प्राप्त हुन्छ । परिवारमा बसेर मान्छेले अन्तक्र्रिया गर्ने, अरूको मनोविज्ञान बुझ्ने, अरूलाई सम्मान गर्ने, मिलेर काम गर्ने, साझा परिणाम निकाल्ने भन्ने विषयसम्बन्धी ज्ञान पाउँछ ।
घरमा उचित वातावरण भएन भने मान्छे समाजसँग गर्ने व्यवहारिक ज्ञानबाट वञ्चित हुन्छ । मान्छेको सामाजिक जीवन कमजोर हुन्छ । आजकल साना परिवारतर्फ मान्छेको ध्यान गएको छ तर सामाजिक ज्ञानहरूका लागि यस्तो अभ्यास राम्रो होइन । बहुआयामिक परिवार र समाजले मान्छेलाई भविष्यमा अरूसँग मिलेर बस्ने ज्ञान दिन्छ । तर, घरमा यस्तो वातावरण दिन सकिएन भने मान्छेले समाजको असल सदस्य बन्ने महत्वपूर्ण ज्ञान र सम्भावनाहरू गुमाउँछ । भनिन्छ, आमा र आफ्नै परिवारबाट मान्छेले आधा सिक्छ । बाँकी आधा उसले आफ्नै अभ्यास, अनुभव, किताब, स्कुल र शिक्षक आदिबाट सिक्छ । यसर्थ आमा र परिवार मान्छेका लागि ज्ञानको सबैभन्दा महत्वपूर्ण स्रोत हो ।
समाजमा एउटा महत्वपूर्ण भनाइ छ कि मान्छे पढेर भन्दा परेर सिक्छ । किताब कण्ठ गर्नेले मात्र ज्ञान प्राप्त गर्दैन । शब्दहरूको सारलाई जीवनमा प्रयोग गर्ने, ज्ञानलाई व्यवहारमा उतार्ने र गर्दै, सिक्दै जाने तरिकाबाट मान्छेले धेरै ज्ञान पाउँछ । चुपचाप पढेर ज्ञान आर्जन हुँदैन । ज्ञान आर्जन गर्नका लागि मान्छेले आफैँ घटनाहरूमा सहभागी हुनपर्छ । यसका लागि समाज र ऊसँगको सम्बन्ध सबैभन्दा महत्वपूर्ण हुन्छ । आफैँ अभ्यासहरू गरेर सिक्नका लागि मान्छेलाई समाज सबैभन्दा महत्वपूर्ण पाठशाला हो । भनिन्छ, ज्ञानको बिरुवा उमार्न समाज सबैभन्दा राम्रो करेसाबारी हो । स्कुल वा कलेज पनि समाजकै अङ्गहरू हुन् । शिक्षालयमा हुने किताबी ज्ञानभन्दा संवाद, छलफल र अन्तक्र्रियाहरू मान्छेका लागि धेरै महत्वपूर्ण हुन्छन् । खेलकुद, साथीसँगको वार्तालाप, सभा–समारोहहरू एउटा बच्चा, किशोरकिशोरी वा युवाका लागि खुला पाठशाला हुन् । उनीहरूले जीवनको महत्व, यसको सुन्दरता, यसको सार्थकता यहीबाट सिक्छन् । ज्ञानको कमाइ गर्ने यो महत्वपूर्ण माध्यम हो । समाज, शिक्षालय र साथीहरू हरेकका लागि ज्ञानका स्रोतहरू हुन् । यिनीहरूको प्रभावकारितामा नै ज्ञानको गहिराइ निहित छ ।
अन्त्यमा, मान्छेले सिक्नका लागि उसको आफ्नै जीवनबाट स्रोतहरू प्राप्त गर्छ । यसैलाई जीवनको बोध गर्नु भनिन्छ । आफैँलाई पढ्नु भनिन्छ । आफैँबाट सिक्ने कुरा सुन्दा निकै अनौठो लाग्दछ । तर मान्छेले आफैबाट सिक्छ । आफ्ना दैनिक जीवनका घटना, सन्दर्भ, सफलता, असफलताहरूलाई विचार गरेर मान्छेले निकै सिक्छ । यसैमा पुस्तकबाट प्राप्त हुने ज्ञानहरू पनि पर्छन् । पुस्तक पढ्यो, पुस्तकका सन्दर्भलाई बुझ्यो, त्यसलाई आफैँभित्र परीक्षण ग¥यो । महसुस ग¥यो । यसले धेरै कुरा सिकाउँछ । यस्ता ज्ञानहरू किताबलाई पढेर हैन किताबलाई बुझेर प्राप्त हुन्छन् । किताब पढ्नु र किताबलाई बुझ्नु निकै फरक कुरा हो । किताब पढेर मात्र हँुदैन, किताबलाई बुझ्यो भने ज्ञानका अथाह स्रोतहरू प्राप्त गर्न सकिन्छ । किताब पढ्ने, महसुस गर्ने, किताबका ज्ञानहरूलाई जीवनमा परीक्षण गर्ने र त्यस्ता ज्ञानहरूलाई अझ परिष्कृत र समृद्ध बनाउँदै लैजाने तरिका ज्ञान आर्जनको महत्वपूर्ण तरिका हो । मान्छेले सधै सिकिरहन्छ । मान्छेले सकारात्मक कुरा पनि सिकिरहेको हुन्छ र नकारात्मक कुरा पनि सिकिरहेको हुन्छ । तर, मान्छेले आफूले सिकेको कुरा बुझ्न सक्यो, नकारात्मक र सकारात्मक कुरा छुट्याउन सक्यो भने त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यसर्थ सिक्ने कुरा मात्र महत्वपूर्ण हैन के सिक्ने र कसरी त्यसलाई प्रयोग गर्ने भन्ने पनि निकै महत्वपूर्ण हुन्छ । यसर्थ आमा, परिवार, समाज र आफ्नै जीवन सिक्नका लागि सबैभन्दा उत्तम माध्यमहरू हुन् । यी हाम्रा पाठशालाहरू हुन् । यस्ता माध्यमहरूमा ज्ञानको अथाह खानी छिपेको छ ।
मिनु श्रेष्ठ

0 comments:
Speak up your mind
Tell us what you're thinking... !