फिल्म हेर्न गएको जेरी खाएर फर्कियौं - College Times : Educational Magazine
Headlines News :
Home » » फिल्म हेर्न गएको जेरी खाएर फर्कियौं

फिल्म हेर्न गएको जेरी खाएर फर्कियौं

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:08 AM

झण्डै दुईदशक दुई दशकदेखि विराटनगरको शैक्षिक सेरोफेरोमा सक्रिय नाम हो अमित ढकाल । विराट साइन्स, लर्डबुद्ध, सिटी, गोग्राहालगायतका कलेजमा अध्यापन अनुभव सँगालेका ढकालले गुरुकुल, एजेलिया जेम्सलगायतका स्कुलबाट अध्यापकीय क्षमता निखार्दै शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गराएका हुन् । २०६५ देखि अर्किड उच्चमाविको कोअर्डिनेटर, प्रिन्सिपल हुँदै अहिले अध्यक्षको भूमिका निर्वाह गरिरहेका ढकालको कलेजलाइफ उनकै स्मरणमा ।
कलेज पढ्दाका थुप्रै मीठा–नमीठा अनुभव र अनुभूतिहरू छन् । गाउँको सरकारी विद्यालयबाट २०४६ सालमा एसएलसी पास गर्दा म सामुदायिक विद्यालयतर्फबाट जिल्ला प्रथम भएको थिएँ । अमरसिंह उच्चमावि हसन्दहमा एसएलसीसम्मको अध्ययन गरेपछि म उच्चशिक्षाका लागि काठमाडौंको अस्कल कलेज पुगेँ । त्यहाँ आइएससीमा भर्ना भए पनि विविध कारणले मेरो काठमाडौं बसाइ लामो हुन सकेन । एक वर्षपछि विराटनगर आइयो । आइएसी दोस्रो वर्ष र बिएससी महेन्द्र मोरङ कलेजबाट पूरा गरियो ।
बिएससीको पढाइसगैं मैले बोर्डिङ स्कुलमा पढाउन पनि सुरु गरिसकेको थिएँ । एकातिर आफ्नो पढाइ अर्काेतिर पढाउनुपर्ने बाध्यता भएकाले धेरै मेहनत गरियो । कलेजमा गाउँबाट आएका विद्यार्थीलाई सहरका विद्यार्थीले हेर्ने दृष्टिकोण फरक थियो । हरेक क्षेत्रमा सहरका विद्यार्थीले हामीजस्ता बाहिरबाट आएकालाई नराम्रो व्यवहार गर्थे । उनीहरूको तुलनामा हामी सक्षम भए पनि धेरै अवसरहरूबाट हामीलाई वञ्चित गरिन्थ्यो । पैसा हुनेहरू ट्युसनको भर पर्थे । पैसा नहुनेहरू आफैं मेहनत गर्ने गर्थे । त्यसबेला एकदम कम विद्यार्थी उत्तीर्ण हुन्थे । त्यो सङ्ख्या अहिले बढेको छ ।
सहरिया विद्यार्थीको आफ्नै खालको दादागिरी थियो । त्यसवेला क्याम्पसमा राजनीतिको प्रभाव पनि राम्रै थियो । भर्खर–भर्खर प्रजातन्त्र आएको र आम निर्वाचनको पनि समय परेकाले राजनीतिक वातावरणले क्याम्पस तातेको हुन्थ्यो ।
महेन्द्र मोरङबाट बिएससी सकेपछि २०५३ सालमा डिग्री क्याम्पस पढियो । त्यहीँबाट पढाइ पूरा पनि भयो । बिएसी पढ्दाभन्दा डिग्री पढ्दा पढ्ने शैली फरक भयो किनभने डिग्री सुरु गर्दा स्कुलहरूमा पढाउने क्रम पनि बाक्लिएको थियो । त्यसले गर्दा आफ्नो पढ्ने शैली पनि फरक भयो ।
हामीले कलेज पढ्दा र अहिलेको कलेजको वातावरण निकै फरक छ । त्यसबेला अहिलेजस्तो हात(हातमा मोबाइल थिएन । सञ्चारका साधनसमेत कम थिए । क्याम्पसमा कुनै केटाले कुनै केटीलाई मन परायो भने ब्ल्याकबोर्डमा लेख्थे । उनीहरूले अहिलेजस्तो प्रत्यक्ष कुरा राख्न सक्दैनथे । त्यसबेला र अहिलेको क्याम्पसको वातावरणमा धेरै परिवर्तन भएको छ ।
क्याम्पस सुरु गर्दाको एउटा रमाइलो प्रसङ्ग प्रायः सम्झिने गर्छु । एक वर्षको काठमाडौं बसाइपछि आइएससी दोस्रो वर्षको अध्ययन गर्न  भर्खर–भर्खर महेन्द्र मोरङमा भर्ना भएको थिएँ । त्यसबेला हामी साना विद्यार्थीमा पथ्र्यौं । हामी आठ १० जनाको समूह थियो । समूहमा विनोद पोखरेल भन्ने साथी थिए । उनले हामीलाई धेरै हँसाउथे । पढाइ नभएको घन्टी उनको जोक सुनेर रमाइलो गर्दै बित्थ्यो ।
एकदिन एकजना दाइले हामीलाई फिल्म हेर्न जोगबनी लिएर गए । हाम्रो समूह हिँड्दै(हिँड्दै जोगबनी पुग्यो । तर, हामीले त्यहाँ फिल्म हेर्न पाएनौं । के कारण हेर्न पाइएन त्यो पनि थाहा भएन । अन्ततः जोगबनीमा दुई(दुई वटा जेरी खाएर फिल्म नहेरी हिँड्दै(हिँड्दै विराटनगर फर्कियौं । मलाई मेरो कलेजलाइफको सबैभन्दा रमाइलो क्षण लाग्छ त्यो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved